
काठमाडौं : २०८२ असोज १२ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी र संगठनहरूले रिपोर्टस क्लबमा एक पत्रकार सम्मेलन सम्पन्न गरेका छन् । त्यस अवसरमा एक प्रेस वक्तव्य पनि तिरण गरिएको थियो । वक्तव्यमा धर्मेन्द्र बास्तोला कञ्चन(नेपाल कम्युनिष्ट पार्टी बहुमत), सीताराम तामाङ (क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल), राजकुमार हिङमाङ (वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल), बसन्त बोगटी (नेपाल कम्युनिस्ट पार्टी) ,लोकनारायण सुवेदी (नेपाल कम्युनिस्ट पार्टी), माधव गौतम, दुर्गा बराइली (श्रमिक जनता पार्टी नेपाल), अरुण घिसिङ (नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी), कमरेड मुक्ति (ग्रेटर नेपाल कम्युनिस्ट पार्टी), प्रतिवाद ,नेकपा विद्रोही ,मार्सल (रेडफोर्स नेपाल पार्टी ) लगायतले वक्तव्यमा हस्ताक्षर गरेका छन् । वक्तव्यमा भनिएकको छ –
“साम्राज्यवाद परस्त, नोकरशाही दलाल पुँजीवादी व्यवस्थाको परिणाम देशमा भ्रष्टाचार , महंगी, बेरोजगारी सिर्जना भएको छ । राष्ट्रिय उद्योगहरू बन्द, औद्योगिक सम्पत्ति बेचबिखन, नातावाद, सत्तामा केही दल तथा तिनको गुट एवं गुटका सीमित नेता र कार्यकर्ताको सिन्डिकेट र कर्टेल, शिक्षा तथा स्वास्थ्यमा निजीकरण ,भूमाफिया तथा बिचौलियाबाट किसानका जमिनहरू बेदखली,बैंक र वित्तीय संस्थाहरूबाट निरन्तर वित्तीय शोषण, किसान मजदुरमाथि चरमशोषण उत्पीडन उपभोक्तामाथि दर्जनभन्दा बढी करको भारी, गरिबका छोराछोरीले विदेशमा काम गरी पठाएको बिप्रेसनमा कुलिन राजनीतिज्ञका सन्तानहरूको विलासिता जस्ता विकृति र विसंगतिले देशलाई विद्रोहको विस्फोटमा पुर्याएको थियो।
असंलग्न परराष्ट्र नीति रहनुपर्ने नेपालको विशिष्ट भूराजनीतिक अवस्थामा एमसीसी, एसपीपी, आइपीएस एवं आइएनजिओ, आइएनजिओ जस्ता साम्राज्यवादी संस्थाहरूलाई देशको भविष्य वास्ता नगरी कमिसनकै भरमा प्रवेश दिने सत्ताधारीहरूको मूर्खताले देशको सुरक्षा अझ भयावह बनेको थियो। भ्रष्टाचार र कमिसनबाट बदनाम सरकार र संसदीय व्यवस्थाको भण्डाफोर हुन थालेपछि आवश्यक नियमन र विकल्प बिना सामाजिक सञ्जाल बन्द गरियो। यसले सामाजिक जीवनलाई अस्तव्यस्त मात्र पारेन, लाखौं युवाहरूको जीवन र भविष्यलाई अन्योलतिर धकेल्यो ।
सुरुमा राजनीतिक स्थिरता,जननिर्वाचित कार्यकारी प्रमुखको व्यवस्था पछि भ्रष्टाचारको अन्त्य र २०४७ साल यता उच्च पदस्थहरूको सम्पत्ति छानबिन र भ्रष्टाचारीलाई कारबाहीको मागसहित भदौ २३ गते जेन्जीको पहिचानमा युवाहरूको आन्दोलन भयो। त्यही दिन १९ जना युवाहरूको हत्या भएपछि २४ गते स्वतस्फुर्त रुपमा जनताको प्रतिरोध विकास भयो । भदौ २४ गतेको आन्दोलनलाई सत्ताधारीहरुले गरेको कुकर्मको झोकमा राज्यका राजकीय संरचना व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका रहेका भवनहरूमा आगो लगाउन दुरुत्साहित गरी राजनीतिक समस्यालाई अन्तै मोड्ने कार्य गरियो। अग्रगामी संविधान निर्माण गर्ने जेन्जीको मागलाई पुरै वेवास्ता गरी अमेरिकी साम्राज्यवादको लगानीमा चलेका एनजीओ आइएनजीओका एजेन्टहरु सम्मिलित नोकरशाही दलाल पुँजीवादी तथा प्रतिक्रियावादी सरकार निर्माण गरियो । यसले नोकरशाही दलाल पुँजीवादी व्यवस्थाका अन्तरनिहित विकृतिलाई कहीँ पनि समाधान नदिने कुरा स्पष्ट छ। यसबाट स्पष्ट भएको छ कि नेपाली जनताले निरन्तर माग गरेको राज्य सत्ता परिवर्तन गर्ने आन्दोलनलाई शासकीय सत्ता परिवर्तनको चक्रव्युहमा सिमित गरी आन्दोलन विरुद्ध ठूलो धोका भएको छ । यस प्रकारको धोकाधडीबाट मुक्ति पाउन जेनजी युवाहरु स्वयंले राजनीतिक व्यवस्था, संगठनात्मक प्रणाली ,लक्ष्य प्राप्तिका लागि प्रतिबद्धता सहितको कार्यदिशा, कार्यनीति र कार्य योजना भएको राजनीतिक पार्टीको नेतृत्व निर्माण गरी अघि बढ्नुपर्दछ।
राष्ट्रको जन र धनको रक्षा गर्नु सेनाको प्रमुख कर्तव्य हो। जनताको आन्दोलनको बलमा शासकीय सत्ता परिवर्तन हुने अवस्थामा मात्र होइन राज्य सत्ता नै परिवर्तन हुने स्थिति आए पनि सेनाले राष्ट्रिय सम्पत्ति रक्षा गर्न सक्नुपर्थ्यो र संघर्षशील शक्ति अग्रगामी भएको अवस्थामा नयाँ राजनीतिक शक्तिको पक्षमा उभिन सक्नुपर्थ्यो। आन्दोलनले न जेन्जी सहितको नयाँ राजनीतिक शक्तिको उदय हुन पायो , न अग्रगामी बाटो पहिलाउन सक्यो । आन्दोलन पश्चगामी बाटोमा रहेको छ। र जनताका हक अधिकारहरू गुम्ने खतरा बढेको छ। यथास्थिति र पश्चगमनले जनताको लामो संघर्षबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्न सक्दैन। केवल समाजको अग्रगामी रूपान्तरणले मात्र जनताका अधिकारहरु रक्षा गर्न सम्भव हुनेछ ।अहिले हाम्रो सामु जुन राजनीतिक अवस्था देखा परेको छ त्यसले राष्ट्रिय स्वाधिनता माथि गम्भीर खतरा पैदा गरेको छ । राष्ट्रिय स्वाधीनताको रक्षा गर्न जनताको सार्वभौमिकता कायम राख्न जनताको अधिकार समाप्त हुने अवस्थाबाट देशलाई बचाउन फेरि एकपटक देशभक्त ,जनवादी, क्रान्तिकारी शक्तिहरु एकताबद्ध भएर स्वाधिन संयुक्त सरकार निर्माणको संघर्षमा अघि बढ्न आवश्यक छ। त्यसका लागि सम्पूर्ण देशभक्त, जनवादी, प्रगतिशील र क्रान्तिकारी एकताबद्ध होऔं ! जनताको शासन स्थापना गर्न सङ्घर्ष गरौं!
आजका मागहरू
राष्ट्रिय स्वाधीनताको रक्षा गरौं
साम्राज्यवाद विस्तारवादको मुकाबिला गरौ
अग्रगामी राजनीतिक मुद्दाहरू सम्बोधन गर
संसदीय व्यवस्था खारेज गरौं
जनसंविधान निर्माणको बाटोमा अघि बढौं
विध्वंसकारी घटनाका जिम्मेवारहरुलाई कारबाही गर
पार्टीमाथि प्रतिबन्ध लगाउने र नेतामाथि प्रतिशोध साध्ने षड्यन्त्र बन्द गर
भ्रष्टाचारीको सम्पत्ति जफत गरी राष्ट्रियकरण गर
शिक्षा र स्वास्थ्यमा निजीकरण बन्द गर
शिक्षा र स्वाथ्य निशुल्क गर
सहकारी र मिटर ब्याज पीडितहरूलाई कार्वाही गर
किसान मजदुर सुकुम्बासी घरबारविहीनहरूका समस्या समाधान गर
राष्ट्रिय उद्योग सञ्चालन गर्ने नीति लागू गर
स्वाधीन संयुक्त सरकारको बाटोमा अघि बढौँ।”

