
अहिले एउटा समाचार निकै चर्चामा छ । त्यो हो–“विश्वको सबैभन्दा मूर्ख मतदाता नेपालमा छन् । जसले देश लिलाम गर्ने, भ्रष्टाचार र घुसपैठ गर्ने नेतालाई भोट दिन्छन् ।” यूरोपियन टाइम्समा छापिएको यो वाक्यांश त्यसमा भनिएको छः “यूरोपियन कमिशनका बाह्रौं अध्यक्ष जिन क्लाउड जिंगरको तस्वीर सँगै फैलिरहेको छ ।” यो वाक्यांश “२०७९ साल भदौमा ३० गते राजधानी डेली डटकममा डा. देवीप्रसाद आचार्यले” र “२०८० असोज १२ गते कर्पोरेट नेपाल डटकममा कुमार दाहाल ले पनि” त्यो वाक्यांश उल्लेख गरेर एउटा लेख लेखेको उल्लेख गरिएको छ ।
फेसबुकमा कतिपय समाचारहरु फेक पनि हुन्छन् । तर यो क्लीपमा स्रोतहरु खुलाएर भनिएको हुनाले यसको सत्यतामा शंका गर्नु पर्ने देखिंदैन । यो विश्लेषण २०७९/२०८० ताक को हो । यो विश्लेषण गरिएको समयदेखि अहिलेसम्मको अवस्थालाई हेर्दा देशमा झन ठूलाठूला भ्रष्टाचार, कमिशनखोरी, राष्ट्रघात तथा कैयौं जनघाती कार्यहरु शासकहरुबाट भएका छन् । नेपालबारे अन्तर्राष्ट्रिय संघसंस्थाहरुले कैयौं पर्यवेक्षणहरु गरिरहेका हुन्छन् । ती मध्ये कतिपय आर्थिक पर्यवेक्षणहरु धेरै नै लज्जास्पद देखिएका छन् । नेपाली शासकहरु त्यसमा सुधार गर्नुपर्ने कुरा त गर्छन् । तर त्यसको लागि प्रारम्भिक पहल पनि गर्दैनन् । उनीहरु जस्तो छ, त्यसलाई त्यस्तै चल्न दिने गर्छन् । उनीहरुको सम्पूर्ण ध्यान सत्तामा पुगेपछि अर्को निर्वाचनमा कसरी सत्तामा पुग्ने भन्ने विषयमा नै केन्द्रित गरिरहेका हुन्छन् । किनकि निर्वाचनमा जित्नका लागि ठूलो धनरासी आवश्यकता पर्छ । त्यसका लागि पटकपटक भ्रष्टाचार, कमिशनखोरी, राष्ट्रघात गरिरहन्छन् । त्यसकारण उनीहरु भ्रष्टाचारलाई रोक्न कुनै उपाय गर्दैनन् । उनीहरु रोक्न खोज्ने हो भने उनीहरुको आय स्रोत नै सुक्छ । जनताले त्यसै भनिरहेका छैनन् –हिजो चप्पल पडकाएर हिंड्ने नेता आज काठमाडौंमा महल ठड्याएका छन्, गाडी किनेका छन्, बैंक व्यालेन्स जम्मा गरेका छन् । तर जनता भने निर्वाचन आएपछि तिनै नेताहरुलाई विजयी बनाउन दिन रात खटिरहेका हुन्छन् , तिनैलाई भोट दिन्छन् । यो चक्र ०४८ सालदेखि नै चल्दै आएको छ । विडम्वना त के छ भने पंचायतकालका मन्त्री आजको गणतान्त्रिक सरकारमा पनि मन्त्री छन् । यसले के बताउँछ भने नेपाली मतदाताले लोकतन्त्र प्राप्त भएको र नयाँ संविधान बनेको, लोकतन्त्रमा पंचायतकालीन नियम कानुन नै बदलिएको परिस्थितिलाई बुझ्न सकेका छैनन् । अझ अचम्मको कुरो त के छ भने गणतन्त्र स्थापनाको दुई दशक पछि पनि “राजा आउ देश बचाउ” “हाम्रो राजा प्राण भन्दा प्यारो छ ।” आदि नारा लगाउँदै सडक आन्दोलन गर्छन् ।
रवि लामिछाने नेपालको राजनीतिमा पत्रकारबाट एक्कासी राजनीतिक नेताको रुपमा उदाए । उनी “सीधा कुरा जनतासँग” कार्यक्रम संचालन गर्दा केही जनसरोकारका काम गरेका थिए । त्यसैका आधारमा समर्थकहरुले नेता बन्नका लागि उक्साउने काम गरे । समर्थकहरुको आग्रहलाई स्वीकार गर्दै उनी भ्रष्टाचार उन्मूलन गर्छु भन्दै राजनीतिमा आए । उनी जनताको संघर्षबाट आएका होइनन । जनताको समस्या भ्रष्टाचार मात्र थिएन । जनताका समस्या हजारौंमा गन्न सकिन्छ । किसान, मजदुर, विद्यार्थी, युवा, महिला, दलित, जनजाति, आदिका गम्भीर समस्याहरु छन् । देशमा गरिबी, बेरोजगारी, महंगी , सुदखोरी, ठगी, कालाबजारी लुट, हत्या, कमिशनखोरी लगायत कैयौं समस्या छन् । अर्कोतिर देशको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको समस्या छन् । ती समस्या राजासत्तासित जोडिन्छन् । हाम्रो देश अहिले नव औपनिवेशिक विशेषता सहित अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा छ । त्यसैले दलाल पुँजीपति वर्गले शासन गर्न आधार तयार रहेको छ । राज्य सत्तामा परिवर्तन बिना दलाल पुँजीवादी व्यवस्थाले उत्पन्न गरेका ती समस्या समाधान हुँदैनन् । यो व्यवस्था अन्तर्गत कसैले म भ्रष्टाचार उन्मूलन गर्छु, महंगी, कालो बजारी नियन्त्रण गर्छु, रोजगारी सिर्जना गर्छु भन्छ भने त्यो गफास्टिक बाहेक केही होइन । केपी ओलीले त्यस्तै गफास्टिक कुुरा गर्दा आज उनी हाँस्य पात्र बनेका छन् । रवि लामिछानेले भ्रष्टाचारीलाई जेलमा कोच्छु, भ्रष्टाचारलाई सून्य सहनशीलतामा पु¥याउँछु भन्नु पनि त्यही गफास्टिक बाहेक केही थिएन । त्यो कुरा उनी आफै भ्रष्टाचारी भएपछि प्रमाणित भयो । किनकि देशलाई कुन दिशामा लैजाने भन्ने कुरा राजनीतिक व्यवस्थाले फैसला गर्छ । हाम्रो देशमा हिन्दु जनताले तैतीस कोटी देउता मान्छन् । लाखांैको संख्यामा मन्दिर छन् । धर्म कार्यमा अर्बौं रुपियाँ वर्षेनी खर्च भइरहन्छ । प्रत्येक घरमा चाहे त्यो हिन्दु, क्रिश्चियन, बुद्धिष्ट, मुस्लिम जो सुकै होस्, धार्मिक कार्य गरिन्छ । थोरै मात्र नास्तिक छन् । तर जनगणनामा छैनन् । चीनमा ९० प्रतिशत नास्तिक छन् । स्वडेनमा ७६ प्रतिशत नास्तिक छन् । जापानमा ६२ प्रतिशत नास्तिक छन्। यी देशहरुमा आफ्नो परम्परालाई मान्ने तर ईश्वर जस्तो कुनै अलौकिक चीजलाई मान्दैनन् । तर ०७८ को जनगणनाले नेपालीहरु शतप्रतिशत धार्मिक देखाइएको छ । नास्तिकहरुलाई पनि गणकले वा परिवारका सदस्यले नास्तिक लेखेनन् । जसका कारण जनगणनामा नास्तिक देखिंदैन । चीन, जापान जस्ता नास्तिकको बहुमत देशले चमत्कारिक विकास गर्छ । हाम्रो जस्तो शतप्रतिशत धार्मिक देशले ती देशहरुसँग अनुदान मागेर निर्वाह गर्छ । जनताको यही कमजोरीमाथि नेताहरु राजनीति गरेका छन् । जनतालाई धर्मले सधै कायर बनाइदिएको छ । आफ्नो मुक्तिको निम्ति लड्नुपर्छ आँट र साहस जनतामा छैन । भाग्य, दैव, कर्म, पुनर्जन्मले नेपालीहरुलाई गाँजेको छ ।
जनतालाई सधै निरिह र कमजोर बनाइएको छ । एक पेट खानका लागि विदेशमा गएर मालिकहरुको सेवा गर्नु पर्ने बनाइएको छ । राजनीतिक दलहरु जनतालाई “डेलिभरी दिने” भनेर वकालत गर्छन् । जनताले पनि तत्काल “डेलिभरी” दिन सक्ने नेताको खोजी गर्छन् । त्यही खोजी गर्दा रवि लामिछाने उदाएका हुन । जनतालाई के कुरा थाहा छैन भने जनताको गास, बास, कपास, शिक्षा र स्वास्थ्यको समाधान डेलिभरीले मात्र पूरा हुँदैन । देशलाई औद्योगिककरण र बजारीकरण गरेर विश्वका देशहरुबाट पुँजी भित्र्याउने प्रकारको जनताको जनवादी तथा समाजवादी व्यवस्था न हुँदासम्म जनता समृद्ध हुँदैनन् ।
यदि निरपेक्ष डेलीभरीको मात्र कुरा गर्छ र राजनीतिलाई उपेक्षा गर्छ भने त्यो मूर्ख बाहेक केही होइन । भारतमा केजरीवालले डेलिभरीका कुरा गरेर दिल्लीमा सरकार बनाए । केही सुधार पनि गरे । त्यो देखेर नेपालका सांसदहरु त्यहाँ अध्ययन भ्रमण पनि गरे । तर अहिले उनले आफ्नो अस्तित्व टिकाउन सकेनन् । किनकि दलाल पुँजीवादी व्यवस्थामा उनले चाहे जस्तो काम गर्ने सम्भावना थिएन । आज जनताको मनोविज्ञान के देखिन्छ भने जनताको सुख दुःख हेर्न कुनै वीर पुरुष यो देशमा जन्मिनु पर्छ । जनताको के मनोविज्ञान पनि देखिन्छ भने उसको समस्या आजको भोलि समाधान गर्ने पार्टी चाहिन्छ । निर्वाचनका बेला उम्मेदवारहरुसँग मतदाताहरुले हाम्रो यो काम गर्ने भए मात्र तिमीलाई भोट दिन्छौं भन्छन् । तर स्वयं आपूm भने राजनीति गर्नु हुँदैन यो फोहोरी खेल हो भन्छन् । छोराछोरीलाई पनि राजनीति नगर भन्छन् । राजनीति गर्नेलाई “झोले” भनेर तिरस्कार गर्छन । आज सामान्य गरिबले पनि आफ्नो अवस्था सुधार्ने प्रकारको स्तरीय शिक्षा दिने प्रयास गर्छ । शिक्षकहरुले पनि विद्यार्थीलाई पैसा कमाउने, घर घडेरी किन्ने तर्फ शिक्षा दिन्छ । त्यसैले तत्काल पैसा कमाउने र सुखी बन्ने जनताको मनोविज्ञान छ । देशमा प्रशस्त कमाउने सम्भावना नभएपछि छोराछोरी स्वयं बाबुआमाले नै विदेश पठाउँछन् । तर छोराछोरीलाई देशमा जनताको राज्यसत्ता ल्याउनका लागि संघर्ष गर्नु पर्छ भनेर सिकाउँदैन । जनतालाई दुःख दिने यो व्यवस्था परिवर्तन गर्नुपर्छ भनेर सिकाउँदैनन् । करोडौं मानिस जीवनलाई सुखी बनाउने खोजीमा विदेश पलायन भइसके । जनतालाई तत्काल डेलिभरी दिन्छु भनेर जसले गफ लगाउँछ, जनताले उसलाई विश्वास गर्छ । कुनै बेला कांग्रेसलाई , कुनै बेला एमालेलाई र कुनै बेला माओवादीलाई जनताले यसरी नै विश्वास गर्दै आएका छन् । उनीहरुबाट केही डेलिभरी पाएनन् । देशका सत्तापक्षका नेताहरुले मात्र आफ्नो जिल्ला र क्षेत्रमा मात्र डेलिभरीको नाममा बजेट खन्याउँछन् । अहिले सहकारी ठग रवि लामिछानेलाई ठूलो मर्यादा पुरुष मान्न थालेका छन् । उनलाई यति देवत्वकरण गरिसके कि अर्बौंै रुपियाँ ठगी गरेर अकाट्य प्रमाणका आधारमा सरकारले मुद्दा चलाउन थालेपछि सडकमा आन्दोलन गरिएको छ । समर्थकहरु उनलाई निर्दोष ठानिरहेका छन्। दुई दुईवटा नागरिकता, पासपोर्ट प्रयोग गर्ने आफ्नो बाटोमा अवरोध बन्यो भने त्यसलाई सिध्याउने, सहकारीको सदस्य नै नभइकन ग्यालेक्सी टीभीका नाममा जनताको रगत पसिनाबाट जम्मा गरेको सहकारीको रकम ठगी गर्ने व्यक्तिलाई देवत्वकरण गर्ने जनताले कस्तो नेता बनाउन खोजेका छन् ?
आज नेपाली जनताको देश विदेशमा जुन विजोग भएको छ, त्यसको पछाडि सही र जनताको पक्षमा काम गर्ने जनताको आफ्नै व्यवस्था स्थापित नभएर नै हो । ०६२÷६३ को आन्दोलनमा जनताले कांग्रेस, एमाले, माओवादीलाई विश्वास गरे । तर उनीहरुले दलाल संसदीय व्यवस्था स्थापना गरे । त्यसमा नेपाली जनताको कुनै सुझावलाई समेटिएन । जनताको सुझाव संकलन गर्ने काम भयो । तर त्यसबाट खासै सुझाव सामेल गरिएन । विदेशी साम्राज्यवादीहरु तथा भारतीय विस्तारवादी शासकको डिजाइनमा नेपालको संविधान बन्यो । संविधान नै भ्रष्ट, जनविरोधी तथा दलाल तथा नोकरशाहहरुको पक्षमा बनेपछि शासकहरु भ्रष्ट हुने कुरा स्वभाविक थियो र त्यो भयो पनि । अहिले देशको कुनै पनि क्षेत्र सन्तोषजनक छैन । नेताहरु देशको प्राकृतिक स्रोत साधनलाई विक्री गरेर त्यस वापत प्राप्त अनुदानबाट आफ्नो खर्च धान्ने र रेमिट्यान्स वृद्धि गर्न जोड दिने गर्दा देशको प्राकृतिक स्रोतहरु समाप्त हुँदै गएका छन् । कांग्रेस, एमाले र माओवादीको पालामा नदीनाला भारतीय पुँजीपतिहरुको हातमा गइसकेका छन् । प्रधानमन्त्री ओलीको भाद्रको अन्तमा भारत भ्रमण हुनेवाला छ । यो भ्रमणमा बाँकी रहेका नदीहरु उच्च कोशी, वेतन कर्णाली भारतलाई सुम्पने तयारी भइरहेको चर्चा छ । लामो समयदेखि भारतले दवाव दिंदै आए पनि नेपालले सहमति नदिएको सुपुर्दगी सन्धि यसपाली त्यसमा पनि ओलीद्वारा सहमति गराउने तयारी रहेको पनि चर्चा छ । महाकाली सन्धि गरे पछि एमाले प्रति भारत सकारात्मक हुँदै आएको थियो । बीचमा आफ्नो स्वार्थ पूरा नभएपछि ओलीप्रति सशंकित रहेको भारत अहिले भारतीय स्वार्थ पूरा गर्न कै लागि ओलीलाई निम्तो दिएको छ । राष्ट्रघाती सन्धि सम्झौता नहोस् भनेर व्यापक खबरदारी हुनु आवश्यक छ । तर केही नेताहरु बाहेक यो विषयमा कसैले चर्चा गरेको पाइँदैन । किनकि मोदीले जस्तै केपीले पनि मिडियालाई आफ्नो नियन्त्रणमा राख्ने गरेका छन् । यो अवस्थामा यसप्रकारका राष्ट्रघाती सन्धि, सहमतिको बारेमा चर्चा नै हुन नदिने योजना पनि रहेको हुन्छ ।
जुन देशका जनताले देशको व्यवस्था, राजनीतिक दलहरुको कार्यक्रम, नेताहरुको चरित्र आदि बारेमा ध्यान दिंदैनन्, त्यो देशमा कि त निरंकुशतन्त्र हावी हुन्छ कि अराजकता मात्र । आज देशमा लोकतन्त्रको नाममा अराजकता छ । यो अराजकता आउनुमा हाम्रो देशको व्यवस्था, विदेशी गुप्तचरहरुको विगविगी र नेताहरुको भ्रष्ट चरित्र आदि जिम्मेवार छन् । तर जनता उनीहरु कै वरिपरि परिक्रमा गरेका छन् । त्यसको परिणाम अन्ततः भ्रष्टहरुलाई नै निर्वाचनमा जनताले भोट हालेर जिताउँछन् । रवि लामिछानेलाई प्रधानमन्त्री भएको देख्न चाहने जनताको संख्या पनि ठूलै छ । उनलाई प्रधानमन्त्री देख्न चाहने जनताले यो पनि थाहा पाउनुु पर्छ कि राजधानीको एउटा होटलमा भारतीय राजदुतलाई भेटेर फर्कंदा रविसित स्वर्णिम वाग्लेले रविलाई भारतले प्रधानमन्त्री बनाइदिन्छ भने नेपाललाई भारतको एउटा प्रान्त बनाउन हामी तयार छौं भनेर प्रस्ताव लैजाउँ भनेका थिए । त्यो कुरा पूर्व महासचिव मुकुल ढकालले एउटा टिमी अन्तर्वार्तामा बताएका थिए । उनले यो पनि भनेका छन् कि उनीहरु राष्ट्रवादी नभएको थाहा पाएपछि रवीहरुको विरोध गर्न लागेको हुँ ।
रास्वपाले यो देशलाई कता लैजाँदैछ ? भन्ने कुरालाई पनि जनताले ख्याल गर्नुपर्छ । कुनै बेला वीपी कोइरालाले पनि नेपाललाई भारतमा गाभ्ने कुरा गरेका थिए । नेपाली मतदाताले राजनीतिक दलका स्वार्थहरुलाई नबुझ्नाले देश आज यो अवस्थामा आएको छ । आफ्नो दलको स्वार्थका लागि देश नै बेच्न तयार हुने दलहरुलाई चिन्ने कि नचिन्ने ?नेपाली मतदाताले यसप्रकारका विचारलाई ठीकसित नबुझ्ने हो भने अहिले जसरी हामी भारतको अप्रत्यक्ष नियन्त्रणमा छौं, भोलि प्रत्यक्ष नियन्त्रणमा जाने अवस्था नआउला भन्न सकिंदैन । सिक्किम जस्तो अवस्था आउन सक्छ । त्यतिबेला सिक्किमेली जनता झस्के जस्तो हामी नेपाली पनि झस्किन पुग्ने छौं। त्यतिबेलासम्म धेरै अबेर भइसक्नेछ । आज सिक्किमका जनताले स्वतन्त्र सिक्किम खोजेर पाउँदैनन् । त्यसकारण निर्वाचनमा जित्ने उम्मेदवारलाई भोट दिनुपर्छ भन्ने मान्यता राख्दा मूर्ख मतदाता बन्नु भन्दा कुनै पनि दलको आकार हेरेर होइन,, उसको पृष्ठभूमि, राजनीति, नेतृत्वको चरित्र आदिलाई हेरेर मात्र असल मतदाता बन्न आजैबाट प्रयास गर्नु पर्छ । जसले जनताको जनगणतन्त्रका लागि इतिहासदेखि नै संघर्ष गर्दै आएको छ, जसले इतिहासदेखि नै राष्ट्रियताको रक्षाका लागि संघर्ष गर्दै आएको छ, त्यो दल नै यो देशमा शासक बन्नुपर्छ भन्ने विषयमा अब छलफल गर्नुपर्छ । तब मात्र सर्वहारा शोषित उत्पीडित जनताको स्वतन्त्रता, समानता र न्याय प्राप्त हुन सक्दछ । त्यसैले कुनै संस्थाले नेपालीलाई मूर्ख मतदाता भन्यो भनेर हामी रिसाउने होइन, बरु हामीले आफूलाई सुधारौं ! सही राजनीतिक निर्णय लिन सिकौं ! यो दलाल संसदीय व्यवस्थालाई बदलौं र जनगणतन्त्रको स्थापना गरौं !