पुस्तक

‘चारघरे’यो नाम उच्चारण गर्दा नै मनका कुनाकाप्चामा गएकादेखि आएका चित्रहरू बिस्तारै एकपछि अर्को गर्दै खुल्दै जान्छन्। गाउँको धुलो, आमाको चुल्हो, बाबुको रुखो अनुहार अनि ससाना रहरहरू, जसलाई जीवनले बटार्दै सहरको झिलिमिलीमा हराउने कोसिस गरेको छ। राजकुमार श्रेष्ठको ‘रोयल चारघरे’ पढ्दै जाँदा लाग्छ – यो मेरो पनि कथा हो। म पनि यिनै साँघुरा गल्ली, यिनै समाजका लाचारी र सपना बोकेर हिँडेको छु। यो उपन्यासले मलाई मेरो विगतसँग भेट गरायो, ती बिर्सिएर गएको पीडा, संघर्ष र प्रेमको कथा फेरि सम्झायो। यो कुनै काल्पनिक कथा होइन- यो त मनको गहिराइमा कुँदिएको एउटा जीवनचित्र हो, जसमा हाम्रै अनुहार झल्किन्छ, हाम्रै आवाज गुञ्जिन्छ। यथार्थका तिक्तता र संवेदनाका मिठास समेट्दै आएको यस कृतिले पाठकको आत्मामा हलचल पैदा गरिदिन्छ। ‘रोयल चारघरे’ केवल एउटा उपन्यास होइन, यो त हामी सबैको साझा डायरी हो- कहिल्यै लेखिएको नजस्तो लाग्ने, तर सधैं भोगिएको।
जीवनका प्रारम्भिक स्पन्दनहरू जहाँदेखि गुन्जिन थाल्छन्, त्यहीँबाट सुरु हुन्छ ‘रोयल चारघरे’ को कथा। म पनि बाल्यकालका ती ससाना पाइला सम्झन्छु- पत्थरिलो भिर, आमाको काख, बाबुको काँध, र कहिले नमेटिने सिङ्गारिएको पहाडको अनुहार। लेखक राजकुमार श्रेष्ठले आफ्नै जीवनका ती अधुरो बाँसुरी जस्ता स्वरहरू समेटेका छन्, जसमा गाउँको हरेक बाटो, गरो, कान्लो र हरेक आवाजले कथा भन्न खोज्छ।
चारघरेको बाटो म मात्र होइन, हजारौंले टेकेका छन्। तर ती प्रत्येक पाइला फरक छन्, भोगाइ फरक छन्। लेखकले “म” पात्रको आँखाबाट गाउँको सुगन्ध, अभाव, संघर्ष, रमाइलो र कठोर यथार्थ जसरी उतारेका छन्, त्यसले मलाई आफ्नै सम्झनाको गल्लीमा हिँडाउन थाल्छ।”घुमाउरा र भिरालो हुँदै सम्मिएका तिनका छाती…”कति गहिरो चित्रण! त्यो बालकको आँखा, जसले भर्खरै बामे सर्न थालेको छ, जिन्दगीको गति त्यहीँबाट सुरू भएको देख्छ। यही सरलता र आत्मीयले कथालाई कथा बनाउँदैन, एउटा जिउँदो अनुभव बनाउँछ, जसलाई महसुस गर्नुपर्छ; पढेर मात्र होइन, बाँचेर।
जीवनको बाटो सधैं सरल हुँदैन।कहिले बिझाउँछन् काँडा, कहिले ठोकिन्छन् ढुंगा। ‘रोयल चारघरे’ मा देखिएको बालकको जीवनपथ पनि त्यस्तै असहज मोडहरूले भरिएको छ। पिताको गैरजिम्मेवारी र आमाको असीम ममता: यी दुई ध्रुवबीच झुन्डिएको बालकको जीवनले मलाई आफ्नै छायामा भेट गरायो। एकातिर घरेलु हिंसा, अर्कोतिर आमाको थकित आँखामा पलाएको साहस; कति गहिरो द्वन्द्व! म ती शब्दहरू पढ्दिनँ, म त तिनमा बाँच्न थाल्छु।
गाउँकी लाटी, जसको मौनता समाजले बुझेको छैन, रामलालको पागलपन, जसको त्रासमा गाउँका सपना चकनाचुर छन्; यी सबै पात्र मेरो वरिपरि घुम्छन्, मकैको बोटझैं झुकेको असल मानवता र काँडाझैँ चुँडिने अत्याचारका कथाहरू लिएर। अनि सहर? त्यो झिलिमिली देखिए पनि, लुकाइरहेकोहुन्छ आँसु भित्रभित्रै। बालश्रम, गरिबी, पढाइको तिर्खा अनि मानवीय शोषणको पीडाले शहरलाई सजीव बनाइदिन्छ – यथार्थको कालो रङले।
तर संघर्षमा नै जीवनको सुगन्ध हुन्छ। “म” पात्रको एसएलसी पास गर्नु, पाटनको क्याम्पसमा नयाँ विचार र आन्दोलनसँग टाँसिनु, अनि दैलेखमा विकट समाजसँग साक्षात्कार गर्नु; यी सबै मोडहरू हामी सबैको जीवनका सम्भावित अध्याय हुन्।
शब्दहरू पढ्दै जाँदा लाग्छ, जीवन केवल श्वास तान्नु र छाड्नु होइन, यो त प्रत्येक दिन भोगिने प्रश्न हो, ‘अब के?’ र यस प्रश्नको उत्तर खोज्दै “म” पात्रले जुन यात्रा तय गर्छ, त्यो यात्रा पढ्दा म पनि मेरो उत्तर खोज्न थाल्छु- धेरै बुझिनसकेको, तर अझै पत्ता लगाउनुपर्ने उत्तर।
कहिलेकाहीँ कुनै पात्र केवल कथा होइन, एउटा जिउँदो स्मृति भएर आँखा अगाडि उभिन्छ। ‘रोयल चारघरे’ मा आमाको चरित्र पढ्दा मलाई पनि मेरी आमाको अनुहार झल्कन्छ;सधैं गम्भीर, सधैं संयमी, तर भित्र कतै पीडाले चिर्न नसेको एक शान्त शक्ति। यो उपन्यासमा आमाले खेपेको पीडा, उनले झेलेका अपमान र सन्तानप्रतिको उनको निःस्वार्थ ममता; यी सबैले मलाई एकाएक मौन बनाउँछन्।
“श्रीमती र ५ सन्तानको भारी बिसाएर बुबा चारघरे छाडेर हिँडे…”- यो पंक्तिमा केवल कथा होइन, हरेक नेपाली आमाको अदृश्य आँसु र लुकेको दुःख बोल्छ। त्यही पीडामा पनि आमाको धैर्य, त्याग र कठोर आत्मबललाई लेखकले जसरी चित्रण गरेका छन्, त्यो केवल साहित्यिक सौन्दर्य होइन, जीवनको आराधना हो।
जब डा. रामकृष्ण आचार्यको शब्दमा आमालाई “आकाश बोक्न सक्ने धरती” भनिन्छ, तब म शब्दभन्दा बाहिरको अनुभूतिमा पुग्छु। त्यही धर्ती मेरी आमा पनि थिइन्, जसले कहिल्यै हार मानिनन्। ‘रोयल चारघरे’ मा आमाको स्वरूप कुनै एक परिवारको मात्र होइन, यो त सम्पूर्ण नारीत्वको महिमा हो; न झुकेको, न रोएको, तर अविचल रहन सक्ने त्यो शक्ति, जसले विपत्तिका आँधीहुरीका बीच पनि आशाको दियो बालिरहन्छ।
कहिलेकाहीँ कुनै पुस्तक पढ्दा केवल कथा पढिएको हुँदैन, बरु एउटा समाजको ऐना हेर्दैछु जस्तो लाग्छ; त्यस्तो ऐना, जसमा अनुहारभन्दा बढी मनका घाउहरू प्रष्ट देखिन्छन्। ‘रोयल चारघरे’ पढ्दा म पनि त्यो ऐनामा अलमलिन पुग्छु, जहाँ लाटीको मौन पीडा, निर्मलीको अस्वीकृत प्रेम, अनि छाउपडीको अँध्यारो गोठ मेरा दृष्टिभरि फैलिन्छन्।
लाटी, एक अनाम आत्मा, जसको शरीरमाथि समाजले पटकपटक अधिकार जमायो तर उसको नाम कहिल्यै सोधिएन। उसको मौनता चिच्याहट बनेर मेरा कानमा बज्छ- “उसले होइन, समाजले पागलपन देखाएको हो।”
अनि निर्मली? उसले प्रेम गर्यो जुन अपराध भयो। ऊ दलित थिइन्, त्यसैले उसको प्रेम अपवित्र मानियो। एकचोटि लाग्यो – किन प्रेममा पनि जात हुन्छ? अनि दैलेख पुगेपछि लेखकले खोजेको छाउगोठ; त्यो केवल काठको गोठ होइन, समाजको सोचको कैदखाना हो, जहाँ महिलाहरूलाई मासिक धर्म होइन, अभिशाप लाग्छ।
यी प्रसङ्गहरू केवल घटनाहरू होइनन्, ती मेरो चेतनाको झ्याल ढकढक्याउने प्रश्नहरू हुन्; कति परिवर्तन सम्भव भयो होला अहिले? अनि म आफूभित्र पनि उत्तर खोज्न थाल्छु। ‘रोयल चारघरे’ मा लेखकले देखाएका यथार्थहरू आत्मामा काँढाझैँ गड्ने खालका छन्, छन्, तर ती नै त सच्चा साहित्यका सूत्र हुन्, जहाँ शब्दहरू साक्षी हुन्छन्, आँसुहरू साक्षात्कार।
म यी विकृतिहरू पढेर क्रुद्ध भएँ, लाचार भएँतर अन्ततः एक पाठक होइन, एक नागरिक भएर उठ्न चाहेँ; एक साक्षी भएर, जसले देखेको छ लाटी, निर्मली र छाउपडीको छायामा लुकेको हाम्रो समाजको अनुहार।
जीवन कहिलेकाहीँ त्यस्तो लामो साँघुरो गल्ली जस्तो लाग्छ, जहाँ उज्यालो देखिँदैन तर हरेक पाइला अघि बढ्नु नै प्रकाशको सम्भावना हो। ‘रोयल चारघरे’ को “म” पात्रको यात्रा त्यही सम्भावनाको खोज हो; अन्धकारबाट उज्यालोतर्फको पवित्र यात्राको प्रतीक।
म पनि कहिले काँडाहरूबीच हिँडेको थिएँ, कहिले मनभित्रको हुंकार थामेर चुप बसेको थिएँ। यही अनुभूतिका धुनमा “म” पात्रको बालश्रम र पढाइको कथा पढ्दा लाग्यो ऊ केवल उपन्यासको पात्र होइन, ऊ त म स्वयं हुँ, हाम्रै भीडभित्रको एक साधारण संघर्षशील आत्मा। जब ऊ भन्छ, “लगाम लगाएको घोडाको जस्तो जीवन बिताएर पढाइ अघि बढाएँ”, त्यो वाक्यले मेरो मन भारी बनाउँछ। किनभने मलाई थाहा छ, त्यो लगाम केवल बाहिर होइन, भित्रको भोक, डर र निराशाको पनि हो।

तर त्यही लगाम चुँडाउन सिक्नुपर्छ। यही सिकाइ हो ‘रोयल चारघरे’ को आत्मा। “म” पात्रले आफ्नो श्रम र लगनको बलमा बालकदेखि युवासम्मको यात्रा पार गर्छ र त्यो यात्रामा उसले केवल शिक्षा होइन, आत्मसम्मान पनि पाउँछ। संघर्षको सिँढी उक्लिंदै गर्दा ऊ केवल व्यक्तित्व होइन, प्रेरणा बन्छ।
जिन्दगी समुद्र हो भने, संघर्ष उसका छाल हुन्र ती छालहरूमाथि तैरिने रहस्य हो- आशा। ‘रोयल चारघरे’ को पाना पल्टिँदा मलाई लाग्योम कुनै पुस्तक होइन, एक जिन्दगी पढिरहेको छु- साहस, आँसु र मुस्कानले लेखिएको जिन्दगी।
“म” पात्र जब निराशाको गर्तमा चिप्लिन्छ, जब उसले भविष्य अन्धकारमय देख्छ, त्यही क्षण ऊभित्र कतै न कतै एक उज्यालो टल्कन्छ। त्यो टल्काइ हो;आशा। त्यो आशा कुनै प्रवचन होइन, त्यो त टिनको छानामुनि बलेको टुकी जस्तै हो, जसको झिल्को थोरै भए पनि बाटो देखाउँछ।
जमुना कुँवरको शब्दहरू, “कर्णाली र अरुणको प्रवाहझैँ मानिसको कर्तव्य पनि कहिल्यै नथाक्ने हुन्छ।” मेरा लागि केवल तर्क होइनन्, ती त जीवनका सूत्र हुन्। म पनि कहिले आफ्नो कर्तव्यबाट भट्किएको छुतर यही उपन्यासले सम्झाउँछ जुन बाटो कष्टकर देखिन्छ, त्यसैको अन्त्यमा सपनाको फुलबारी हुन्छ।
राजकुमार श्रेष्ठको आत्मकथात्मक यात्राले मलाई पुनः एकचोटि यो सत्य भुल्न दिएन कि जीवनको बगिरहेको धार रोक्न नसकिने भए पनि, त्यसमा डुब्नुपर्ने छैन। “म” पात्र बाँच्छ अर्थपूर्ण रूपमा, जिजीविषाले। र म पनि, पाठकको हैसियतमा, उसैसँग सास फेर्छु, बग्छु र अडिन्छु किनभने जहाँ संघर्ष हुन्छ, त्यहाँ आशा मर्दैन।
शब्द जब आत्माको ढोकाबाट निस्कन्छन्, तब ती केवल भाषा हुँदैनन्। ती अनुभूतिको संगीत बन्छन्। यस्तै लाग्यो मलाई ‘रोयल चारघरे’ पढ्दा। शब्दहरू बोलिरहेका थिए, हाँसिरहेका थिएर कतैकतै रोइरहेका पनि थिए। राजकुमार श्रेष्ठको कलमबाट निस्केका ती हरफहरू केवल अक्षर थिएनन्। ती त थिए मनको तार छुने हृदयको स्पन्दन।
उनको भाषा नदी जस्तो छ। ती न त कुनै कृत्रिम बाँधले थुनिएको, न कुनै अतिशयोक्तिको पहाडले अड्किएको। जसरी कुनै आमा आफ्ना बालबालिकालाई स्वाभाविक रूपमा बोलाउँछिन्। त्यसरी नै यो उपन्यासले पाठकलाई बोलाउँछ, नजिक ल्याउँछ र आफ्नो बनाउँछ।
म खासगरी तिन क्षणहरूमा रोकिएँ जहाँ लेखकले आमाको पीडा लेखेका छन्, जहाँ लाटीको मौन चिच्याहट सुन्न सकिन्छ, र जहाँ “म” पात्रले काठमाडौँको कोठाभित्र आफैंसँग संघर्ष गरिरहेको छ। ती ठाउँहरूमा भाषा मात्र बोल्दैन, त्यो चिच्याउँछ, बिसाउँछ र फेरि सान्त्वना दिन्छ।
हो, कतिपय परिच्छेदहरू लामा छन्, केही छोटा। तर जिन्दगी पनि त यस्तै हुन्छ,कतै छोटो सम्झना, कतै लामो पीडा। यसैले उपन्यासको संरचनामा जुन अलिकति असन्तुलन लाग्न सक्छ, त्यो पनि मलाई जीवनको नैसर्गिकता लाग्छ।
पात्रहरू सजीव छन् भने मात्र कथा साँच्चिकै बाँच्दछ। ‘रोयल चारघरे’ पढ्दा मलाई लाग्यो यी पात्रहरू मसँग कताकता भेट भइसकेका छन्, मसँग कतै बाँचिरहेका छन्। अनि मभित्र कतै गहिराइमा निदाइरहेका छन्। “म” पात्र ऊ केवल एक व्यक्ति होइन, ऊ त एउटा युगको संवेदना हो, जसमा जीवनको प्रत्येक चोट सुस्पष्ट देखिन्छ।
तर जसरी कुनै जीवनले अर्कोलाई अर्थ दिन्छ, त्यसैगरी उपन्यासमा “म” पात्रलाई गहिरो अर्थ दिने, जिउँदो बनाउने पात्र हुन्; आमा। आमा, जसको आँसु दुर्बलता होइन, प्रेरणा हो। उनको सहनशीलताले मलाई मेरो आफ्नै आमाको सम्झना गराउँछ। जीवनका हरेक चोटलाई मौनतामा बिसाउँदै उनले जसरी प्रेम र कर्तव्यको उज्यालो दीप बालिन्, त्यही उज्यालोमा म पनि मेरो आमा देख्न पुग्छु।
लेखकले आमालाई जसरी चित्रण गरेका छन्, त्यो श्रद्धा हो, त्यो ऋण हो, त्यो प्रेमको यस्तो चित्र हो, जसलाई हेर्दा शब्दहरू पनि मौन हुन्छन्। जब उपन्यासको समर्पण पृष्ठमा उहाँलाई “यस युगकी क्रान्तिकारी नारी” भनेर सम्बोधन गरिएको छ, मलाई लाग्यो यो त केवल एक उपमा होइन, यो त यथार्थको पूजा हो।
बुबा… यो शब्द उच्चारण गर्दा कहिलेकाहीँ मन गर्वले फुल्छ, कहिले आँखाबाट नमिठो विगत बग्छ। ‘रोयल चारघरे’ को पृष्ठ पल्टाउँदा बुबा नामक पात्र मेरो हृदयमा एक गहिरो पीडाको स्वरूपमा अवतरित हन्छ। ती बुबा, जो संरक्षणका देवता बन्नुपर्ने थिए तर आफ्नै सन्तानको भविष्यमा घाउ बने। ती बुबा, जसले पाँच सन्तान र एक साहसी पत्नीलाई जीवनको सुनसान गोरेटोमा अलपत्र छाडे।
उनी केवल एक व्यक्ति होइनन्, उनी त हाम्रो समाजमा गढिएको त्यो कठोर पितृसत्ता हुन्, जसले आफ्नो इच्छालाई धर्म ठान्छ र जिम्मेवारीलाई बोझ। उनी हिंसात्मक छन्, गैरजिम्मेवार छन् आत्मकेन्द्रित छन् तर त्योभन्दा ठूलो कुराउनी असंवेदनशील छन्। उनले घर त्यागेका मात्र होइनन्, सपनाहरूको मेरुदण्ड पनि भाँचिदिएका छन्।
उनी पाठकका लागि कुनै सहानुभूतिको पात्र होइनन्। बरु विडम्बनाको जीवित प्रतीक हुन्। मलाई लाग्छ, लेखकले बुबाको पात्रमार्फत एक असहज सत्यसँग आँखा जुधाएका छन्; एक यस्तो सत्य, जुन स्मृतिमा झन् चर्को पीडाको रूपमा बल्झिन्छ।
कथा केवल एकजनाको यात्राले पूर्ण हुँदैन, त्यो यात्रा सार्थक तब बन्छ जब त्यसमा अन्य आत्माहरूको सङ्गत हुन्छ – कहिलेकाहीँ उज्यालो बनेर, कहिले छायाँ बनेर। ‘रोयल चारघरे’ को पाना पल्टाउँदै जाँदा मलाई लाग्यो, ती कथाका सहायक पात्रहरू कुनै सादा रेखाचित्र मात्र होइनन्, ती लेखकको जीवनका रंगीन रङहरू हुन्, जसले उपन्यासलाई समग्र चित्रमा बदलिदिन्छन्।
हजुरआमाको उबेला जस्तो संवाद, निर्मलीको प्रेममा डुबेको सामाजिक निषेध, लाटीको पीडादायी मौनता, मितज्यूको अनुशासन, पाटन क्याम्पसका जीवन्त मित्रता, अनि दैलेखका सहकर्मीहरूका संघर्षले “म” पात्रको जीवनलाई केवल कथा मात्र होइन, हाम्रो आफ्नै समाजको ऐना जस्तो बनाइदिएको छ।
संसारको रङभूमिमा जहाँ जीवनका अनेकौँ रंग नाचिरहेका हुन्छन्, त्यही नाचमा आफ्नो थालभरि माटो बोकेर उभिएको देखिन्छ -राजकुमार श्रेष्ठको परिवेश। न ऊ केवल भूगोल हो, न केवल समाज; ऊ समयको छाप हो, पीडाको संगीत हो, अनि अस्तित्वको संघर्षपूर्ण गाथा हो।
चारघरे गाउँको हरियालीले मात्र होइन, त्यहाँको अभाव, श्रम, र मौनताले पनि हामीलाई बोलाउँछ। काठमाडौंको कोलाहल केवल ध्वनि होइन, त्यो आप्रवासी सपनाहरूको गुञ्जन हो। अनि दैलेख? त्यो त जीवनको एक यथार्थपरक अध्याय हो, जहाँ प्रत्येक पाइलाले संघर्षको एउटा नयाँ व्याख्या लेखेको छ।
राजकुमारले परिवेश चित्रण गर्दै गर्दा केवल दृश्य देखाएका छैनन्, उनले अनुभव गराएका छन्। खेतको राँको बाली मात्रै होइन, आमाको पसिनासँगको संगति, डेरामा कोठाभित्रको चिसोपना मात्रै होइन, सपनाहरूको ओछ्यान पनि कोरेका छन्। यही हो साहित्यको सार, जहाँ लेखकको भूगोल पाठकको मानस बनिदिन्छ।
जीवन एक किताब हो; अलिखित, अपूर्ण र कहिल्यै नथाक्ने एउटा कथा। त्यसै किताबको एउटा पाना हो ‘रोयल चारघरे’। हरेक अनुभूति कागजमा पोखिएको छ, हरेक वाक्यले पीडाको नासो बोकेको छ। लेखक राजकुमार श्रेष्ठले आफ्ना यथार्थहरूलाई केवल बाँचेका होइनन्, ती यथार्थलाई सिंगारेर साहित्य बनाएका छन्। यो उपन्यास एक आत्माको प्रतिध्वनि हो, जसले पाठकलाई केवल कथाको यात्रामा होइन, आफ्नो अन्तर्यात्रामा समेत डुबाउँछ।
‘रोयल चारघरे’कुनै दरबारको गाथा होइन-यो त एउटा नेपालीको अर्धनग्न पीडाको गीत हो, जुन गीतमा भोक, सपना र समर्पण एउटै तालमा बगेका छन्। पाठक यस गीतसँगै हाँस्न सक्छ, रुन सक्छ, सोध्न सक्छ र झस्किन सक्छ।
त्यसैले यो पुस्तक केवल ‘पढ्ने’ होइन, ‘भोग्ने’ र ‘बुझ्ने’ हो। नेपाली आत्मकथात्मक साहित्यमा ‘रोयल चारघरे’ले एउटा विशिष्ट स्थान ओगट्नेछ भन्ने कुरामा विश्वस्त हुन सकिन्छ। यो कृति पाठकका लागि पठनीय, मननीय र प्रेरणादायी छ। लेखक राजकुमार श्रेष्ठलाई यस साहसपूर्ण र मार्मिक कृतिका लागि धन्यवाद तथा आगामी साहित्यिक यात्राका लागि शुभकामना।