महिला हिंसा र अन्त्यको प्रश्न

लेखक : लक्ष्मी न्यौपाने

महिलाहरु पुरुष भन्दा प्राकृतिक रुपमा फरक हुन्छन तर कमजोर हुँदैनन्, विभिन्न मानव निर्मित परिस्थितिले कमजोर बनाइएको हुन्छ । आदिम काल महिला प्रधान समाज थियो । उत्पादन, संग्रह र स्वामित्वमा आएको फेरबदलले महिला प्रधान समाज पुरुष प्रधान समाजमा रुपान्तरण भयो । समाज अहिले सुचना संचार प्रविधिको हिसाबले धेरै अगाडि बढे पनि महिला माथिको अन्याय अत्याचारमा कमी आएको देखिन्न । शोषणका रुपहरु मात्रै परिवर्तन भएको छ । महिला भएको कारणले शारीरिक, मानसिक, बौद्धिक, आर्थिक, यौनजन्य, सामाजिक, सांस्कृतिक तथा धार्मिकरुपमा हुने सबै प्ररकारका हिंसात्मक कार्यहरूलाई महिला हिंसा भनिन्छ । महिला हिंसा सामाजिक कलंक मात्रै होइन, मानवअधिकार विरुद्धको अपराध हो । महिलाहरु घरभित्र मात्रै होइन, घर बाहिर समेत विभिन्न रुपले हिंसाको शिकार बन्न बाध्य छन् । नेपाल जस्ता मुलुकमा महिला हिंसाका घटनाहरु अत्यधिक घटिरहेका हुन्छन् । एक सर्वेक्षण अनुसार करिब २४ प्रतिशत महिलाले आफ्नो जीवनमा शारीरिक तथा यौन हिंसा भोग्नु पर्ने अवस्था कायम रहेको देखिन्छ । यसप्रकारका हिंसात्मक घटनामा अपराधी परिवार भित्री वा प्रेमी हुने तथ्यले बताउँछ । पछिल्ला वर्षहरुमा घरेलुु हिंसाका घटना ७८ प्रतिशत भन्दा माथि रहेको रिपोर्ट प्रहरी कार्यलयमा उपलब्ध छ । जसमा करिब १६७०० भन्दा धेरै घरेलु हिंसा र करिब २३८० बलात्कारका घटना दर्ता भएको देखिन्छ । यस्ता घटनामा पीडक चिनेका व्यक्ति, परिवारका सदस्य र नजिकका व्यक्ति रहेको देखिन्छ । नेपालको राष्ट्रिय महिला आयगले विगत ६ वर्षमा ७३४४ भन्दा बढी महिला हिंसाका उजुरी दर्ता भएको जनाएको छ । जसमा करिब ८८ प्रतिशत घरेलु हिंसा रहेको छ । २०८२÷८३ मा घरेलुु हिंसाका घटना बढेर ९१ प्रतिशत पुगेको प्रहरीको रिपोर्ट बताउँछ । एक दिनमा घरेलुु हिंसाका करिब ६० वटा घटना प्रहरी कार्यलयमा दर्ता हुन्छन् । प्रहरी कार्यलयमा दर्ता नभएका महिला हिंसाका घटनाको संख्या समेत उच्च रहेको अनुमान गर्न सकिन्छ । समाजमा रहेको पितृसत्तात्मक सोचका कारण बलात्कार, बलात्कार प्रयास , बाल यौन हिंसाका घटनाहरु लुकाइएको हुन्छ ।
महिला हिंंसा नियन्त्रण गर्ने उपाय –
१.निरन्तर प्रयत्न
महिला हिंसा महिला प्रतिको दृष्टिकोण संग सम्बन्धित छ । दृष्टिकोण निर्माणमा भौतिक परिस्थितिको मुख्य भुमिका रहन्छ । चेतना स्तर तथा सोचाइ लामो अभ्याासले विकास र बदल्न सकिन्छ । राजनीतिक आन्दोलनले सरकार र व्यवस्था समेत बदल्न सकिन्छ तर समाज र सामाजिक मान्यता बदल्न लामो समय लाग्दछ । अर्थात् व्यवस्था परिवर्तन संगै मानसिकता परिवर्तन हुँदैन, निरन्तर प्रयत्नले मात्रै मानसिकता परिवर्तन गर्न सम्भव हुन्छ । हामीले समाज परिवर्तन गर्न निरन्तर प्रयत्न गर्नु पर्दछ ।
२. कानुन निर्माण र कार्यनयन
हिंसाका दोषी वा पीडकलाई कडाभन्दा कडा सजाय दिन कानुन निर्माण गर्नुपर्दछ । कानुनी प्रक्रिया सहज हुनुपर्छ । कानुनी प्रक्रिया अगाडि बढाउन प्रेरित गर्नु पर्दछ । निर्मला पन्त जस्ता हजारौं चेलीले न्याय पाएका छैनन् । शक्ति र पैसाको प्रयोगले अपराधीलाई बचाउने प्रयत्न भएको छ । कानुनको कार्यान्वयन महत्त्वपूर्ण पक्ष हो । कार्यान्वयनको निम्ति निरन्तर दबाबको माग गर्दछ ।
३. धर्म,परम्परा, संस्कार प्रति वैज्ञानिक बुझाइ
धर्म, परम्परा, संस्कार संविधान भन्दा माथि हुन दिनु हुदैन । कुप्रथाको अन्त्य गरिनु पर्दछ । अबैज्ञानिक संस्कार संस्कृति छोड्नु पर्दछ । वैज्ञानिक संस्कृतिको विकास गर्नु पर्दछ । धर्मको नाममा हुने विभेदकारी परम्परा अन्त्य गरिनु पर्दछ ।
४.आर्थिक क्रियाकलाप
महिलाहरु आर्थिक क्रियाकलापमा सक्रिय रहनु पर्दछ । उत्पादनमा जोडिनु पर्दछ । आत्मनिर्भर बन्न पर्दछ । सम्पत्तिमा समान अधिकार व्यवहारमा लागू गर्नु पर्दछ ।
५. व्यवस्था परिवर्तन महिला हिंसा व्यवस्था संग सम्बन्धित छ । सामन्ती व्यवस्थामा महिलाहरु सामन्ती उत्पिडनमा थिए । सामन्ती संस्कार संस्कृतिले प्रताडित थिए । सामन्ती व्यवस्था कमजोर र पुँजीवादी व्यवस्था उदयसंगै महिलाहरु पुँपीवादी दासताको शिकार भएका छन् । नेपालको गणतान्त्रिक व्यवस्थाले महिला माथि हुने सामन्ती शोषणको अन्त्यको प्रयत्न ग¥यो साथै दलाल पुँजीवादी शोषणको शिकार बनायो । अहिले महिलाहरु विदेशमा अनेकौं हिंसा सहेर नारकीय जीवन बाँच्न दलाल व्यवस्थाले बनाएको छ । देशमा उत्पादन बढाउन अवरोध गर्ने दलाल व्यवस्था बदल्न पर्दछ ।
६.समाजवादी व्यवस्थाको स्थापना
समाजवादी व्यवस्था एक उन्नत व्यवस्था हो । यो व्यवस्थाको मुख्य पक्ष उत्पादन सम्बन्ध र वितरण प्रणालीमा न्याय हो । सम्पुर्ण मानव निर्मित विभेदको अन्त्य यसको विशेषता हो । उत्पादनमा समान सहभागिता र वैज्ञानिक दृष्टिकोणको विकासले महिला हिंसा मात्रै होइन सबै प्रकारका हिंसाको अन्त्य हुनेछ । महिला हिंसा विरुद्धको अभियानलाई समाजवादी व्यवस्था निर्माण संग जोडिएको हुनुपर्छ । सम्पुर्ण मानव जातीको मुक्ति संगै महिला मुक्ति हुनेहुँँदा विश्वभरिका सम्पुर्ण श्रमजीवी महिलाहरु समाजवादी आन्दोलनमा जोडिनु पर्दछ । समाजवादी व्यवस्थाले नै महिला हिंसा अन्त्य गर्नेछ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?