
२०५५ साल चैत्र ५ गते काभ्रेको अनेकोटमा भएको बीभत्स हत्याकाण्ड हो । र, राज्यको फासिवादी दमनको साहस, सौर्य र बलिदानीपूर्वक निःशस्त्र जनकलाकारहरुले प्रतिरोध गरेको एउटा रक्तरञ्जित इतहास हो । विचारको तागत कति हुन्छ भन्ने कुरा ती जनकलाकारहरुहरुले सान्दार रुपमा प्रस्तुत गरे, जो बरु गोली खान र जिउँदै आगोमा जल्न तयार भए तर वर्गवैरीसँग आत्मसमर्पण गर्न र झुक्न कदापि तयार भएनन् । अनेकोटमा जनकालाकारहरुले देखाएको यी वीरता, सौर्यता र उच्च क्रान्तिकारी आदर्शलाई ‘साँस्कृतिक प्रतिरोध दिवस’को रुपमा जनयुद्ध कालदेखि नै माओवादी तथा कम्युनिस्ट क्रान्तिकारीहरुले मनाउँदै आएका छन् । र, यसपटक पनि मनाए । विशेषगरी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता कार्यकतारुले घटनास्थलमै गएर– सहिदहरुको सपना अझै पूरा भएका छैनन् भन्दै ती महान सपना पूरा गर्ने संकल्पबद्ध प्रतिबद्धता व्यक्त गरे । र, छरिएर रहेका र बाटो बिराएका कम्युनिस्टहरुलाई एकताबद्ध भएर सहिदहरुको सपना पूरा गर्ने क्रान्तिको मार्ग कोर्न आव्हान पनि गरे ।

अनेकोटमा सहादत प्राप्त गर्ने कलाकारहरू चाङवा लामा, चिनिमाया लामा, गुम्बासिंह तामाङ, निर्मला देवकोटा, डम्बर श्रेष्ठ, शुभद्रा सापकोटा, मञ्जु कुँवरले बगाएको रगत निरन्तर क्रान्तिको एउटा एउटा उद्घोष र उत्प्रेरणा हो । क्रान्ति केवल बन्दुकले मात्र होइन, विचार र संस्कृतिले पनि लडिन्छ । क्रान्तिकारीहरूमा आफ्नो विचारप्रति कति अटल विश्वास हुनुपर्छ भन्ने प्रमाण अनेकोटले दिएको छ । वर्गवैरीहरु कति क्रूर, आततायी र नुशंसक हुन्छन् भन्ने कुरा यो घटनाले साबित गरेको छ र कम्युनिस्टहरुमा फलामे अनुशासन किन चाहिन्छ भन्ने कुरालाई यो र जनयुद्धमा घटित तमाम घटनाहरुले अमूल शिक्षा प्रदान गरेको छ । क्रान्तिकारीहरूले दुश्मनको क्रूरतालाई कहिल्यै नजरअन्दाज गर्नु हुँदैन । शान्तिपूर्ण समयमा होस् वा युद्धमा, शत्रुको प्रहार जुनसुकै बेला हुन सक्छ भन्नेमा सधैँ सजग रहनुपर्छ ।

अनेकोट हत्याकाण्डले नेपाली कम्युनिस्ट आन्दोलनलाई त्याग र समर्पणको पाठ सिकाएको छ । आजका क्रान्तिकारीहरूले सत्ता र सुविधाको लोभमा फसेर ती सहिदहरूको आदर्शलाई बिर्सनु उनीहरूप्रतिको ठूलो अपमान हुनेछ । विचारमा स्पष्टता, संगठनमा अनुशासन र जनताप्रति उत्तरदायित्व नै अनेकोटले दिएको वास्तविक सन्देश हो ।

यो दिवसमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य तथा प्रवक्ता सुदर्शले दिएको वक्तव्य पनि निकै सन्देशमूलक थियो । उहाँले भन्नुभएको थियो– ‘सेना नभएको जनतासँग आफ्नो भन्नु केही पनि हुन्न । सत्ता बदल्नका निम्ति गरिएका आन्दोलन, युद्ध र संघर्षहरु सरकार बदल्न वा व्यक्ति बदल्नमा सीमित भयो । सत्ता भनेको सेना, पुलिस, कर्मचारी तन्त्र, अदालत, कारागार लगायतका अवयवहरु हुन् । ती सबैलाई यथावत राखेर केवल सरकार मात्रै परिवर्तन गरेर सत्ता परिवर्तन हुँदैन । पुरानै सत्ता कायम राखेर पुरानै व्यवस्थामा जानु प्रचण्डको सबैभन्दा ठूलो कमजोरी भयो । अझै पनि सच्चिने र सच्याउने ठाउँ छ । प्रचण्डजी, रास्वपाको गुलामीतिर नलाग्नुस्, क्रान्तिकारी कित्तामा उभिनुस् ।
अहिले राष्ट्रिय स्वाधीनताको प्रश्न प्रमुख भएको छ । सम्पूर्ण देशभक्त, वामपन्थी, जनवादी शक्ति, क्रान्तिकारी शक्तिलाई संयुक्त मोर्चा निर्माण गरी सर्वपक्षीय सम्मेलनमार्फत् निकासका लागि स्वाधीन संयुक्त सरकार गठन गरेर अगाडि जानुपर्छ । यो निर्वाचनपछि बन्दै गरेको रास्वपाको सरकारले देशमा विद्यमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरुको समाधान गर्न सक्दैन, देशमा अझ ठूलो भयावह स्थिति पैदा हुन सक्छ । त्यसका निम्ति सम्पूर्ण देशभक्त, कम्युनिस्ट क्रान्तिकारी तथा वामपन्थी शक्तिहरु वृहत संयुक्त मोर्चा निर्माण गरेर अगाडि बढ्न जरुरी छ । सांस्कृतिक सहिदहरुले नै जनयुद्धको जग बसालेका हुन् सहिदहरुका सपना पूरा गर्न क्रान्तिको कार्यभारलाई नयाँ ढंगले अगाडि बढाउने प्रतिबद्धता सबैले गर्नुपर्दछ ।’

यही सन्देश र शिक्षा नै आजको सन्दर्भमा अनेकोट हत्याकाण्ड तथा साँस्कृतिक प्रतिरोध दिवसबाट सबै कम्युनिस्ट क्रान्तिकारीहरु लिनुपर्ने अमूल्य निधि हुन् ।