अहिले बजारीकरणको बढवा भएको समय हो । बजारीकारणले आफ्नो नाफा कमाउने तरिका जानेको हुन्छ । नाफा विना बजार टिक्न सक्दैन । अहिले जे कुराको पनि बजारीकरण भैरहेको छ । बजारमा राम्रोसंग बिक्री हुन नसक्दा बजारले सबैकुराको विज्ञापन गर्दछ विज्ञापनमा भर परेर समानहरु धेरै बिक्री गर्ने चलनको विकास भएको छ । बजारको विकास वस्तु विनिमयको शुरुवातसंगै भएको हो । पूँजीवाद बजारविना विस्तार हुन सक्दैन ।पूँजीवाद बजारमा टिकेको छ । समानको अत्यधिक उत्पादनले बजारको माग गर्दछ । बजार नभएमा उत्पादनको कुनै काम हुँदैन । बजारले यातायातको पनि माग गर्दछ । यातायात सेवा सुविधाको विकास पनि बजारले नै गराएको हुन्छ । बजारको लागि ठूला ठूला व्यापार गर्ने घरहरुको विकास भएको छ ।
बजारले एक क्षेत्रमात्र होइन क्षेत्रको विस्तारको माग गर्दछ । वजार ,सीमित भूगोलमा रहन सक्दैन । बजार विस्तारकोलागि सडक पूर्वाधारका ठूला ठूला निर्माणको माग गर्दछ । वजार एक देशमा मात्र होईन धेरै देशमा विस्तार भएका हुन्छन् । बजार विस्तारको लागि कतिपय अवस्थामा देश, देशकाबीचमा लडाईँ झगडा पनि भएको हुन्छ । एक देशले अर्को देशमाथि दमन गर्ने ,उनीहरुले अवलम्व गरेको नीति परिवर्तन गर्न बाध्य पार्ने जस्ता काम पनि बजार विस्तारको क्रममा हुने गर्दछ । बजारकोलागि कैयौं स्थानमा बन्दरगाह निर्माण गर्न पर्ने हुन्छन् । जेहोस बजार विश्वव्यापीकरण भएको छ ।एक देशको सामान अर्को देशमा सजिलै प्राप्त गर्न सकिन्छ । चाहिने मात्र पैसा हो ।
जे पनि कुरा बजारमा पाईने कारणले गर्दा मानिसहरु पुरै बजारको भरमा रहेका छन् । जस्तै अहिले घर वरिपरी खाली जग्गा भएपनि त्यहाँ खनी खोस्री नगर्ने, नरोप्ने ,बजारमा राम्रो देखिएका तरकारीहरुको उपलब्धता पर्याप्त मात्रामा हुँदा आफ्नो घरवरिपरि करेसाबारी अथवा खाली जग्गा जमिनमा उत्पादन नगरेर किनेर खाने चलनको विकास भएको छ । बजारले खाली जग्गाको महत्वलाई बिर्साइदिएको छ ।उपभोक्ताले खनेर उत्पादन गरेर होईन किनेर खाने बानीको विकास गरेको छ । बजारले स्थानीय उत्पादनको लोप हुँदैछ । प्रकृतिले स्थान विशेष उत्पादन हुने विशेषता दिएको छ । प्रकृतिको बनोट अनुसार फरक फरक स्वाद र नामका उत्पादनहरु माटोले दिने गर्दछ । तर माटोको उत्पादन दिने क्षमताको अब खासै महत्व रहेको छैन । माटो बगोस, नासियोस ,मासियोस ,बाँझो बनोस कसैलाई मतलव छैन । माटोमा उत्पादन हुनकोलागि त्यसै त हुँदैन त्यसलाई पहिले कुन खालको माटो हो ? कस्तो खालको माटोमा कस्तो खालको बिउ लगाएमा राम्रो उत्पादन हुन सक्दछ ? राम्रो उत्पादन लिनलाई त्यो विरुवा कुन समयमा रोप्नु पर्दछ ? कसरी गोडमेल गर्नु पर्दछ ? मल कसरी दिनु पर्दछ ? कति वर्षमा या समयमा उत्पादन दिन सक्दछ ।त्यसको बिउ कसरी जोगाउनु पर्दछ ? वा विरुवा के विधिबाट जोगाउनु पर्दछ ? कसरी खानु पर्दछ ? काँचै खाने कि पकाएर खाने ? उत्पादन भएपछि कसरी उपयोगमा ल्याउन सकिन्छ ? त्यसको फल ,पात वा रेसाहरु कसरी उपयोगमा ल्याउन सकिन्छ ? मानवले कसरी त्यो उत्पादनबाट अध्यधिक फाइदा लिन सकिन्छ ? कतिबेला पानीको आवश्यक पर्छ कति समयमा मलको आवश्यक पर्दछ ? भन्ने कुरा नजानिकन उत्पादन हुन सक्दैन । तर जब बजारको विस्तार भयो यो सबै कुरा सिक्न आवश्यक भएन । किनेर खाने बानीको विकास मात्रै भएको छ ।
त्यो मात्रै होईन परम्परागत स्थानीय रुपमा रहेका मानव जीवनसंग जोडिएका परम्परागत ज्ञान र सीप हराउँदै जान थालेका छन् । परम्परागत रुपमा पुस्तान्तरण हुने खालका सीपहरुलाई समेतलाई बजारले खाईदिएको छ । जस्तै दलित समुदायले परम्परागत रुपमा उत्पादन गर्ने सामानहरुको सट्टा बजारले आयतित सामान ल्याएको छ ।सबैले त्यही खरिद ग¥यो काम सकियो भएको छ ।दलित होस या गैह्र दलितले स्थानीय रुपमा उत्पादन गर्न आवश्यक ठान्दैन । बजारमा स्थानीय रुपमा पाईने भन्दा सस्तो या विविधताले भरिएको सामानको पर्याप्तताले गर्दा स्थानीय उत्पादनको बिक्री हुँदैन । यो पेशालाई छोडेर अन्य पेशा अपनाउन बाध्य हुनु परेको छ ।
बजारले स्थानीय रुपमा कला ,सीप ,क्षमतालाई जोगाउन नपर्ने बनाएको छ । जोगाउनुभन्दा पहिले नै बजारमा उपलब्ध भएपछि जोगाउन बचाउन भन्ने आवशयक रहँदैन । बजारले कुनैपनि कुराको उत्पादनको समय आएर पाकेर वा खान योग्य भएर भन्दापनि तत्कालै बजारमा पुग्ने गर्दछ ,जस्तै फलफूलहरुलाई लिन सकिन्छ । फलफूललाई काँचै वा पकाउने औषधी राखेर आफै समय आएर पाकेको जस्तै गरी साना बतिलैमा बजारमा पठाउने चलन छ । काँचो पनि जबरजस्ती पहेंलपुर भएर बजारमा आउँछ । त्यो उपभोक्ताले जबरजस्ती उपभोग गर्न बाध्य भैरहेका छन् ।
बजारले घरमा गृहिणीलाई खानाको तयार पार्नु पर्ने झण्झट छैन बजारले घरमै खाना उपलब्ध गराईदिन्छ । बाल बच्चाहरुलाई केही कुरा सिक्नु पर्दैन । आमालाई बच्चा हुर्काउन पहिला पहिला जस्तो केही कुराको बारेमा जानकारी राख्ने आवश्यकता रहेको छैन । बच्चालाई राम्रोसंग घरमा बनेको सादा मिसावट रहित खाना बनाउनु पर्दैन । प्याकिङ गरिएका समानहरु जतिपनि आएका हुन्छन् नसड्ने औषधि मिसाईएका तयारी खानाहरुले बजार भरिएको छ ।
गाउँघर जतासुकै यातायात, शहरीकरणको विकास तथा मानिसहरुको शहरकेन्द्रित बसाइका कारण अहिले धेरै सजिलो छ । पैसा भएमा बजारमा जे पनि उपलब्ध हुने समय छ । मानिसहरुको आनीबानीमा आएको परिवर्तन, विकास हुँदै गईरहेको उपभोक्तावादी संस्कार चाल चलनले गर्दा बजार बढदो छ । बजार अनलाईनबाट हुने भएको छ । आफूले चाहेमा बजार धाउनु पर्दैन घरमै एक फोन कलको भरमा सामान आईपुग्छन् । देख्दा अनलाईनमा राम्रो टिलिक्क परेको, निकै राम्रो छ ,कुनै पनि विग्रेको छैन भनेर देखाउने तर त्यो कस्तो हो भन्ने कुरा खोलेर हेरेपछि मात्रै थाहा पाउने स्थिति आएको छ । बजार साँच्चै आवश्यक पनि रहेको छ । तर बजारले ज्ञान, सीप, क्षमताको पनि लोप गराँउदै लगिरहेको छ ।
बजारमा सबै कुराको उपलब्धता छ । बजारमा के चाहिने कुराको मात्र उपलब्धता रहेको छ त ? त्यो भने पक्कै छैन । बजारमा यसो हेर्दा मात्रै थाहा हुन्छ । मानव स्वास्थ्यको लागि हानिकारक कैयौं वस्तुहरुको व्यापार राम्रोसंग भैरहेको छ । बजारमा देखिने सूर्तिजन्य वस्तु ,सूर्ति, खैनी ,भोला पराग, चुरोट, बिँडी जस्ता वस्तुहरु, मादक पदार्थहरु मानव स्वास्थ्यकालागि हानिकारक जंक फुडहरु , नकुहिने औषधी राखेर भण्डारण गरिएका फलफूलहरु , नसड्ने गरी उत्पादन गरी बजारमा पठाईएका जुस ,चिप्स , पेयपदार्थहरु हानीकारक प्रकारका मिठाईहरु चाउचाउ,विस्कुट निकै राम्रोसंग व्यापार भैरहेको छ । तिनीहरुलाई नखाउ प्रयोग नगर भनेर पहिलो कुरा कसैले भन्दैन, उत्पादकलाई उत्पादन बढाउनु छ, व्यापारीलाई बेच्नु छ । सब जंक फुडहरुले कलिला बालबालिका तथा सबैको स्वास्थ्यमा निकै असर पार्दै छ ।
यी सामान के मानव शरिरलाई अत्यावश्यक छन त ? मानव शरिरलाई नभईनहुने पोषक तत्वहरु के तिनीहरुबाट पाईन्छ त ? त्यो त त्यहाँबाट पाउन सकिँदैन भन्ने कुरा सबैलाई थाहा छ तर पनि त्यस्ता वस्तुहरु बजारमा रहेका छन् । ती वस्तुहरुको उत्पादन र बिक्रीबाट धर्तीलाई निकै प्रदूशित पारिरहेको छ । तिनीहरुको प्याकिङको लागि प्रयोग गरिएका झिलझिल परेका साना टुक्रा टाक्री देखि लिएर ठूलासम्मका प्लाष्टिकहरुले निकै प्रदूषण बढिरहेको छ । हाम्रा स्वच्छ रुपमा बगेका खोलानाला सफा रुपमा रहेका पाखा पखेरा वा माटो निकै प्रदूशित हुँदै गईरहेका छन् । माटोको उर्वरा क्षमतामा अत्यन्त असर पर्दैछ ।
तर पनि बजारले यी सामानहरुको उत्पादन बिक्री वितरण जारी राखेको छ । बजारमा रहेका हरेक कुरा मान्छेको लागि आवश्यक छैनन् ।तर बजारले मान्छेलाई लत बसाली दिएर निरन्तर रुपमा आम्दानीको श्रोत बनाईरहेको छ । रक्सीमा लत लागेको मानिसले रक्सी नपिईरहन सक्दैन । चुरोटको बानी लागेको मानिसले चुरोट नपिईरहन सक्दैन । उसले जे ,जसरी भएपनि त्यो लिने गर्दछ । चुरोट, खैनी जस्ता धुम्रपानका वस्तुहरु मानव स्वास्थलाई निकै हानिकारक रहेका छन् त्यो सेवन गर्नेहरुको आफ्नो स्वास्थ्य त जोखिममा पर्दछ । परिवार ,सन्तान ,वरपर रहेका मान्छेहरु समेतलाई निकै असर गर्दछ । नियमित तरिकाले सेवन गरिरहेमा उसलाई अत्यन्तै जटिल प्रकारका कहिल्यै निको हुन नसक्ने रोगहरु पनि लाग्न केही बेर हुँदैन । मुख ,मुटु, छाती ,फोक्सो ,कलेजोको जटिल रोग लाग्न सक्दछ , क्यान्सर, क्षयरोग जस्ता रोगहरु हुनुमा यिनीहरु जिम्मेवार हुन्छन् ।
मादक पदार्थको कुरा पनि त्यही हो । अहिले बजारमा देशी विदेशी रक्सीहरु छ्याप्छ्याप्ती बिक्री भईरहेको छ । नेपालीहरुको चालचलन अनुसार पनि घरघरमा यी वस्तुहरुको उत्पादन बिक्री वितरण भैरहेको छ । विदेशी रक्सी भन्दा त नेपालीहरुले परम्परागत रुपमा उत्पादन गर्ने कुरा आर्थिकरुपले सबै रुपले प्रगतिशील कुरा भएपनि रक्सीले गर्ने असर भने कम हुँदैन । यसले व्यक्तिको शारीरिक तथा मानसिक ,पारिवारिक र सामाजिक आर्थिक रुपमा पार्ने असर भने निकै भयानक रहेको छ । बजारले त्यो कुरा किन ध्यान देओस ? अहिले कैयौं निको नहुने प्रकारका रोगहरु लागिरहेका छन् । बच्चाहरुमा अनावश्यक रुपमा तौल बढने , शरिरमा गाठागुँठी आउने जस्ता कारणहरुमा जंक फुड अर्थात पत्रु खाना पनि हो भनिन्छ ।
बढि उत्पादनकोलागि भनेर प्रयोग गरिएका मल, विषादी जस्ताकुराहरु कम हानिकारक छैनन् अहिले विश्वमा क्यान्सरको विरामी अत्यधिक बढ्नुमा यिनीहरुको पनि कारण हो भनिन्छ । अहिले जति क्यान्सरको अस्पताल खोलेपनि नपुग्ने ,बिरामीले बेलैमा उपचार पाउन नसक्ने अवस्था आएको छ । एक जना लामो समयदेखि कृषि कर्ममा लागेका कृषकले भने गाउँशहर जतापनि मानसिक रोगीहरुको मात्राबढ्नुको कारण विषदीयुक्त खाना हो । विषादी हालेका खानाले मन्द गतिले दिमागलाई असर गर्दै लगेको हुन्छ भन्ने भनाई उनको रहेको थियो । अहिले हाम्रो गाउँघर ,शहरमा विषादी राखेको तरकारीको कमी छैन । यी वस्तुहरुको उपभोगले मानव स्वास्थ्यमा कति हानि नोक्सानी गर्छ होला ?कसले सोच्ने हो ?
बजारमा बिक्रीमा राखिएका हानिकारक वस्तुहरुको उपभोगबिनापनि मानव समाज बाँच्न सक्दछ । मान्छेले आफ्नो स्वास्थ्यलाई हानि गर्ने वस्तुहरु चिन्न सक्नु पर्दछ । बजारलाई नियन्त्रण गर्ने अनुगमन गर्ने निकायलाई जनस्वास्थ्यको बारेमा खासै चासो र चिन्ता रहेको छैन । जनस्वास्थ्यको चिन्ता गर्ने भनेको सरकार , राज्य हो । उसले मोटोरुपमा कर असुल गर्न पाउने भएका कारण सबै हानिकारक वस्तुहरुको आयात ,उत्पादन तथा खुला बिक्री वितरण गर्न छुट दिएको छ ।उपभोक्ता अहिले यो अवस्थामा पुगेका छन् कि उपभोग गरे पनि मर्ने नगरेपनि मर्ने जस्तो भएका छन् । अब विषादी राखेको छ भनेर नखाउँ भने पनि के खाने ? खाउँ भने पनि नबाँचिने अवस्थामा जनता रहेका छन् ।
जनस्वास्थ्यमाथि निरन्तर रुपले खेलवाड भैरहेको छ । खेलवाडलाई रोक्न किन प¥यो र? कसैलाई चासो र चिन्ता छैन । किनकि हानिकारक वस्तुहरुको निर्वाध उत्पादन भईरहेको छ । आफूलाई निरन्तर रुपमा कर आईपनि रहेको छ । पछि कोही रोगी, विरामी भएपनि चेक गर्ने डाक्टर ,औषधी, अस्पताल सबै हुनेखाने देशी, विदेशी उनीहरुकै रहेको छ । नमर्दा सम्म त उपचार भन्दै रकम आइरहन्छ ।मृत्यु भैहालेमा को म¥यो र ? एउटा जड्याहा , चुरौटे वा यस्तै नै म¥यो कसलाई के मतलव र मृत्युको के हिसाब ?

बजारलाई मानव स्वास्थ्यको चिन्ता छैन । पैसाको चिन्ता छ । नाफाको हिसाब छ । नाफाले भोलिलाई देख्दैन । आजलाई देख्छ , अहिलेलाई देख्छ । बजार यस्तो हो जहाँ कसैको मृत्युको हिसाब हुन्न नाफाको हिसाब हुन्छ । बजारमा गलत कुराहरु मानव स्वास्थ्यको लागि हानिकारक कुराहरु जतिपनि रहेका छन् । बजारले जसरी पनि आफ्नो सामान बेच्नु पर्दछ । बजारले बेच्नकोलागि जुन स्वर ,जुन क्रियाकलाप पनि प्रयोग गर्न सक्छ । जुनसुकै तरिका पनि अपनाउन सक्छ ।
बजारले मानवहितलाई ख्याल नगर्ने भएकाले उपभोक्ताहरु सबै आफ्नो स्वाथ्यप्रति आफै सचेत हुनु पर्दछ । बजारमा रहेका बेच्न राखिएका वस्तुहरु नभइ नहुने खालका छैनन । जस्तै त्यो बिना जीवन जीउन सकिँदैन भन्ने खालका छैनन् । दालभात, रोटी तरकारी सागसब्जी लामो समयसम्म नखाएमा मानिसको जीवन नै सकिन सक्छ । दूध, दही, घिउ जस्ता कुराहरु शरीरलाई नभै हुँदैन । तर मद्यपान नगरेर कोही पनि मर्दैन ।
पान, पराग, खैनी, सूर्ति विडी जस्ता धुम्रपान नगरेर कोहीलाई पनि केही फरक पर्दैन । अचेल धेरै बच्चाहरु धुम्रपान, मध्यपान तथा नसालुपदार्थको सेवन तथा प्रयोगको कुलतमा फसिरहेका छन् । भविश्यका कर्णधारहरुको यो अवस्थाले मन निकै पिरोल्ने गर्दछ । यस्ता कुराहरु नभै नहुने कुरा हैनन् । बजारमा रहेका जंक फुडहरु नखाए मानव स्वास्थ्य स्वस्थ हुन मद्दत पुग्छ । अलिकता जाँगर गर्ने हो भने सस्तोमा स्वस्थ खाना तयार गर्न सकिन्छ । बजारले सबैकुरा ल्याएको छ ।जुन नचाहिने पनि छन् सबैले सचेत भएर बजारलाई बुझौं मानव स्वास्थ्यलाई बचाउँ । किन कि जीवन अमूल्य छ ।