पूर्व बहुमत पार्टी मै छ : सहसंयाेजक सन्तबहादुर नेपाली


नेपालको कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरु फुट्दै आएको तितो यथार्थ हाम्रो सामु छ । पार्टीहरु जुटेको सुन्दा जति कर्णप्रिय हुने गर्छ फुटेको कुरालाई सुनेर कुनै पनि वामपन्थी चिन्तन भएको व्यक्ति प्रसन्न हुने गर्दैन । तर कम्युनिष्ट विरोधीहरु कम्युनिस्ट पार्टीमा फुटको खबर सुनेर खुशी व्यक्त गरेको पाइन्छ । नेपालमा आम कम्युनिस्ट समर्थक जनता कम्युनिस्टहरु एउटै पार्टी बनाएर जानुपर्छ भन्ने मान्यता राख्छन् । तर कम्युनिस्ट पार्टीहरु फुटिरहन्छन् । किन फुट्छन् पार्टीहरु ? यसबारेमा गहन अध्ययन र विश्लेषण हुनु जरुरी छ । तर यो सानो लेखमा हाम्रो विगत र वर्तमानको सन्दर्भमा हाम्रो पार्टी फुटको प्रसंग मात्र चर्चा गरिनेछ ।

पार्टी फुटलाई हामीले सापेक्षित रुपमा लिनु पर्छ । यसलाई निरपेक्ष रुपमा लिनु हुँदैन । फुट भन्ने वित्तिकै त्यसले पार्टी टुक्रियो, शक्तिहीन तथा कमजोर भयो भन्ने हाम्रो दिमागमा आई हाल्छ । त्यसकारण फुटलाई सकारात्मक रुपमा लिइदैन । तर फुट सधै नकारात्मक मात्र हुँदैन । कुनै फुट सकारात्मक पनि हुने गर्छ । कम्युनिस्ट आन्दोलनको इतिहासलाई हे¥यौं भने पार्टी कैयौं पटक फुटेको छ । ती फुटहरु कहिले सकारात्मक देखिएका छन् भने कहिले नकारात्मक । दोस्रो महाधिवेशन पछि भएको फुट सकारात्मक थियो । किनकि महासचिवको पदमा रहेका केशरजंग रायमाझी त्यतिबेला राजा महेन्द्रको प्रतिगामी कदमलाई “प्रगतिशील” बताएर समर्थन गरेका थिए । गणतन्त्रका पक्षधरहरुले केशरजंग रायमाझीको विचारको विरोध गर्दै पार्टीको पुनर्गठन गरेका थिए । त्यतिबेला पार्टी फुटाउनु हुँदैन भनेर सबै नेताहरु रायमाझीलाई समर्थन गरेको भए पार्टी दरबारको अंग बन्ने थियो । त्यतिबेला उनको राजावादी लाइनको विरोध गर्नु सकारात्मक कुरो थियो । तेस्रो महाधिवेशनमा उनलाई निस्काशन गरेर तुल्सीलाल अमात्यलाई महासचिव बनाइयो । उनको राष्ट्रिय प्रजातन्त्रको लाइन पारित भयो । तर पछि नयाँ जनवाद पक्षधरहरुले उनलाई छाड्दै गए । पार्टी नै विसर्जन जस्तो भयो । त्यही दौरानमा पीएलले २०२५ सालमा तेस्रो सम्मेलन गरेर नयाँ जनवादी कार्यक्रम सहितको नयाँ पार्टी बनाए ।

माथिको विवरणबाट के स्पष्ट हुन्छ भने पार्टीभित्र सही र गलत दुवै लाइन साथसाथै अगाडि बढिरहेका हुन्छन् । दुई लाइनको बीचमा अनुशासित प्रकारको बहस भयो भने पार्टी निरन्तर अगाडि बढ्छ । जस्तो कि चीनमा स्थापनाको कालदेखि नै उग्र“वामपन्थी” र दक्षिणपन्थी लाइनहरु विद्यमान थिए । तर माओको गतिशील नेतृत्वका कारण त्यो विवादका कारण पार्टीमा फुट जन्मिएन । माओको सही क्रान्तिकारी लाइन हावी भयो र क्रान्ति सम्पन्न भयो । तर अनुशासित प्रकारले बहस चलेन भने एउटा निश्चित अवस्थासम्म विवाद चले पनि विवाद अगाडि साथ साथै लैजान सक्ने अवस्था रहँदैन । विवादका बेला अनुशासन र धैर्यता भएन भने पार्टी फुटमा परिणत हुन्छ । फुट उचित थियो वा थिएन ? भन्ने कुरा त्यो विवाद राजनीतिक प्रकारको अथवा दक्षिणपन्थी लाइनको विरुद्ध विद्रोह थियो वा व्यक्तिगत टक्कर थियो ? त्यो कुराले निर्णय गर्छ । त्यसकारण हामी दोस्रो र तेस्रो महाधिवेशन पछिका फुटलाई हामी जायज मान्दछौं । तर पाँचौं महाधिवेशन पछिको फुटलाई सही मान्दैनौं । किनकि त्यो राजनीतिक प्रकारको अथवा दुई लाइनको संघर्षको परिणाम थिएन । निष्कर्षमा के भन्न सकिन्छ भने फुट सधै नराम्रो हुँदैन, राम्रो पनि हुन्छ । दक्षिणपन्थीहरु फुटेर जाँदा राम्रो तर वामपन्थीहरु फुटेर जाँदा नराम्रो ।

अब हामी अर्को दृष्टिकोणबाट पनि फुटलाई हेरौं । कम्युनिस्ट पार्टीको रणनीतिक लक्ष्य नयाँ जनवाद हो । नयाँ जनवाद पछिको रणनीतिक लक्ष्य समाजवाद र साम्यवाद हो । त्यसैले हामी न्यूनतम र अधिकतम वा आम कार्यक्रम तथा आधारभूत कार्यक्रम निश्चित गरेका छौं । त्यो लक्ष्यमा पुग्नका लागि बल प्रयोगको आवश्यकता पर्छ । किनकि जनताको त्यो लडाई घरेलु सामन्ती शक्ति र साम्राज्यवादद्वारा समर्थित दलाल तथा नोकरशाही पुँजीवादी शक्तिसित हुने हुनाले यो धेरै जटिल, कठिन र पेचिलो पनि हुन्छ । यो लडाई लामो पनि हुन सक्छ, छोटो पनि हुन सक्छ । त्यो परिस्थितिमा भर पर्छ । यो लडाई एउटा वर्गले अर्को वर्गलाई पराजित गर्नै पर्ने लडाई हो । त्यसैले माक्र्सले राज्यसत्तालाई एउटा वर्गले अर्को वर्गलाई दवाउने संगठित संयन्त्र बताउनु भएको छ ।

माक्र्सवादले सर्वहारावर्गलाई ठूलो वैचारिक हतियार दिएको छ । माक्र्सवादी दर्शन, अर्थशास्त्र तथा वैज्ञानिक समाजवादका विषयमा माक्र्स र एंगेल्सद्वारा प्रतिपादित सिद्धान्तले विश्वका सर्वहारावर्गलाई अजेय र शक्तिशाली बनाएको छ । माक्र्स र एंगेल्स पछि लेनिन र स्टालिनले त्यो विचारलाई रुसको परिस्थितिमा सिर्जनात्मक विकास गर्नुभयो । चीनमा माओले त्यसलाई चीनको परिस्थितिमा विकास गर्नुभयो । यसरी माक्र्सवाद, लेनिनवाद तथा माओवाद÷माओविचारधारा नेपाल तथा विश्वभरीका सर्वहारावर्गको पथप्रदर्शक सिद्धान्त बन्न पुग्यो । हाम्रो देशको सन्दर्भमा यो पथप्रदर्शक सिद्धान्तको आलोकमा राजनीतिक कार्यदिशा निर्माणका लागि प्रयत्न हुने गरेको छ । नेपालको सन्दर्भमा कतिपय बेलामा माक्र्स, लेनिन र माओका विचारहरु नेपालमा लागु गर्न खोज्दा उग्र“वामपन्थी” गल्तीहरु भएका छन् भने लामो समयदेखि दक्षिणपन्थी संशोधनवादी धार पनि विकास हुँदै गएको छ । यी दुवै प्रकारका अवसरवादले नेपालको कम्युनिस्ट आन्दोलनलाई क्षति पु¥याएको छ र पचहत्तर वर्षसम्म पनि सर्वहारावर्गको नेतृत्वमा जनताको जनगणतन्त्र प्राप्त हुन नसकेको कुरा जगजाहेर छ । नेपालको कम्युनिस्ट आन्दोलनमा हामीले दुवै खाले अवसरवादको प्रत्यक्ष अनुभव गरिसकेका छौं । इतिहासबाट प्राप्त यी अनुभवका आधारमा नेपालका सच्चा कम्युनिस्टहरु “वामपन्थी” र दक्षिणपन्थी लाइन गलत रहेको कुरा स्वीकार गरिसकेका छन् । नेपालमा अब सही सिद्धान्तका आधारमा सर्वहारावर्गको पार्टी निर्माणको आवश्यकता छ । आज हामी विभिन्न रुपमा छरिएर रहेका त्यस प्रकारका सच्चा कम्युनिस्टहरु मिलेर क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणमा जुटेका छौं ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल इतिहासको एउटा विशिष्ट घडीमा निर्माण भएको छ । लगातारको फुट र विभाजनको श्रृंखलाको अन्त गर्दै कम्युनिस्ट एकताको सिलसिला शुरु भएको छ । प्रचण्ड नेतृत्वको माओवादी पार्टीले दक्षिणपन्थी बाटो पक्रेपछि र माओवादी जनयुद्धलाई विसर्जन गरेपछि त्यहाँ भित्रका क्रान्तिकारीहरुले विद्रोह गरे र नेकपा–माओवादी पार्टीको निर्माण भयो । त्यसपछि पनि पार्टीभित्र “वामपन्थी” अवसरवादले जन्म लियो क. विप्लवको नेतृत्वमा नेकपाको गठन भयो । नेकपा र न्यूक्लियसको एकता भयो र नेकपा बन्यो । नेकपा–माओवादी र एकीकृत बीच एकता भएपछि ने.क.पा. (क्रान्तिकारी–माओवादी) बन्यो । उता विप्लव नेतृत्वको समूह “वामपन्थी” आवरणमा दक्षिणपन्थी कार्यदिशा लिन थालेको त्यहाँभित्रका क्रान्तिकारीहरुले देखेपछि क. कंचन र क. सुदर्शनको नेतृत्वमा विद्रोह गरे । त्यसपछि नेकपा (बहुमत) नामबाट नयाँ पार्टी गठन गरे । अर्कोतर्फ नेपालको कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी पार्टीको रुपमा चिनिँदै आएको मोहनविक्रम सिंह नेतृत्वको कम्युनिस्ट पार्टीले आठौं महाधिवेशनबाट दक्षिणपन्थी पुँजीवादी राजनीतिक लाइन समातेपछि त्यहाँभित्रका क्रान्तिकारीहरु विद्रोह गरेर विशेष महाधिवेशनबाट नेकपा (मशाल) पार्टी गठन गरे । दक्षिणपन्थी अवसरवादीहरुबाट विद्रोह गरेका पहिले क्रान्तिकारी माओवादी, नेकपा (बहुमत) र नेकपा (मशाल)बीच एकताको पहल भयो र अन्त ०८० वैशाखमा क्रान्तिकारी माओवादी र बहुमतको बीच एकता भई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल बन्यो । त्यही पार्टीसित ०८१ वैशाखमा मशालसित एकता भई क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल बन्यो । दक्षिणपन्थी पार्टीहरुबाट क्रान्तिकारीहरु फुट्ने र पार्टी बनाउने एउटा सकारात्मक कार्य थियो । फुटेकाहरुले क्रान्तिकारी पार्टी एकताको निम्ति पहल गर्नु झन महत्वपूर्ण कुरा थियो । तीन क्रान्तिकारी पार्टीहरुबीच एकता हुनु नेपालका क्रान्तिकारीहरुका लागि खुशीको शुरुवात थियो । तर पार्टी एकताको ४४ दिनमा श्रावण १ गते अनपेक्षित रुपमा क. कंचनको नेतृत्वमा एउटा सानो समूह “पार्टी एकता असफल भयो” भन्दै अलग भयो । यो समूह पूर्व बहुमत नभएर तत्काल वैज्ञानिक समाजवादी क्रान्ति गर्नुपर्छ भन्ने विचार राख्ने कमरेडहरुको विचार समूह मात्र हो । आज पनि तीन पार्टीको सहमतिलाई आधार मानेर पार्टी एकतालाई सकारात्मक दिशामा लैजान प्रतिबद्ध रहेको पूर्व नेकपा (बहुमत) क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालमा यथावत अस्तित्वमा रहेको छ । यसमा कुनै भ्रम छैन ।

लेखक – सन्तबहादुर नेपाली

माथि उल्लेख गरे जस्तो दोस्रो र तेस्रो महाधिवेशन पछिको फुट, क. प्रचण्ड नेतृत्वको पार्टीसित २०६९ सालमा भएको फुट क. मोहनविक्रम सिंह नेतृत्वको पार्टीसित २०७९ आश्विनमा भएको फुट जस्तो अहिलेको यो फुट रहेको देखिएन । अरु फुटहरुमा क्रान्तिकारीहरु दक्षिणपन्थीहरु सित विद्रोह गरेको स्पष्ट देख्न सकिन्छ । तर यो फुटमा उल्टो भएको छ । आफै क्रान्तिकारीहरुद्वारा निर्माण गरेको क्रान्तिकारी पार्टीबाट फुटेर जानु स्वाभाविक र अपेक्षित नभएर अस्वाभाविक र अनपेक्षित भएको छ । दक्षिणपन्थी कार्यदिशाको विरुद्ध विद्रोहलाई जायज, न्यायोचित र माओले भने जस्तो “विद्रोह गर्ने अधिकार” मान्न सकिन्छ । तर क. कंचन आफै करिब २ वर्ष छलफल र बहस गरेर एकता महाधिवेशनसम्म विवादहरुलाई बहस गरेर टुंग्याउने सहमति गरेर बनाएको क्रान्तिकारी कार्यदिशालाई गलत भन्दै वहिर्गमन गर्नुलाई कुनै तरिकाले पनि सकारात्मक मान्न सकिंदैन ।

उहाँ आफ्नो वैचारिक समूह सहित बाहिरिनुमा कुनै उचित तर्क दिन सक्नु भएको छैन । उहाँले सार्वजनिक वक्तव्य तथा पार्टीभित्र भन्दै आएको कुरा यो छ कि नेपालमा नयाँ जनवादी क्रान्तिको कार्यदिशा पचास वर्ष पुरानो भयो, अब नयाँ कार्यदिशा आवश्यक छ । पार्टीभित्र बहस र अनुसन्धानको काम भएन, पार्टी रुपान्तरण भएन, आदि, इत्यादि । एकता भएको ४४ दिनमा नै उहाँ रुपान्तरण खोज्न थाल्नुभयो । प्रथमतःउहाँ आफै “नयाँ जनवादको खुड्किलो पार गरेर वैज्ञानिक समाजवादमा जाने नीति” मा सहमति गर्नु भएको थियो । ४४ दिनभित्रमा कस्तो अनुसन्धान खोज्नु भएको हो ? यदि अनुसन्धान कै खोजी हो भने किन अनुसन्धान नभइकन उहाँ समाजवादी क्रान्तिको कुरा गर्नुभयो ? उहाँको नीति मानिदिएमा अनुसन्धान र रुपान्तरण हुने, तर महिावधेशनसम्म बहस गरौं भन्दा त्यो अनुसन्धान र रुपान्तरण नहुने ? बरु इमान्दारिता यो हुने थियो कि उहाँले सीधै समाजवादी क्रान्तिमा जाने उहाँको नीतिमा पार्टी एकता हुँदा सहमति नभएपछि एकता गर्नु हुँदैनथ्यो । तर त्यसो नगरेर “नयाँ जनवादको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादमा जाने नीतिमा” सहमति गरेपछि कमसेकम महाधिवेशनसम्म प्रतिक्षा गर्नु पथ्र्यो ।

दोस्रो कुरा, पचास वर्षदेखि नयाँ जनवाद मात्रै भनिरहँदा त्यो पश्चगामी कार्यदिशा भयो । त्यसकारण पनि वैज्ञानिक समाजवादलाई तत्कालको कार्यदिशा बनाउने उहाँको तर्क छ । यो उहाँको अत्यन्त उपरी चिन्तन हो । माक्र्सवादी दृष्टिकोणका आधारमा चेतनाको निर्माणको आधार पदार्थ हो । भौतिक परिस्थितिले सामाजिक अस्तित्व निर्माण हुन्छ । क्रान्तिको कुरा हाम्रो मनोगत चाहनाले मात्र पुग्दैन । समाजवादका लागि हाम्रो देशमा पूर्वाधार निर्माण भएको हुनुपर्छ । त्यो पूर्वाधार निर्माण भएको छैन । अर्धसामन्ती, अर्धऔपनिवेशिक तथा नव औपनिवेशिक अवस्थामा कुनै नयाँ परिवर्तन आएको छैन । देशमा पुँजीवादी क्रान्ति भएको छैन । त्यो कुरा उहाँहरु स्वीकार गर्नु भएको छ । एउटा टीभी अन्तर्वार्तामा क. कंचनले “दलाल पुँजीवादको अन्त गर्ने” भन्नुभएको छ । हामी पनि त्यही गर्ने भनेका छौं । उहाँले जुन वैज्ञानिक समाजवादी क्रान्तिको कुरा गर्नु भएको छ, त्यसमा उहाँले देशमा पुँजीवादी क्रान्ति पूरा नभएकाले नयाँ जनवादका बाँकी कार्यभार पनि समाजवादमा पुरा गरिन्छ भनेर हामीसँग विचार राख्ने गर्नु भएको थियो । त्यसलाई हामीले स्वीकार गरेनांै । तर महाधिवेशनको फोरममा छलफल गरौंला भनिएको थियो । उहाँका विचारहरु व्यवस्थित नभएको स्पष्ट हुन्छ । ०६२÷६३ को आन्दोलनबाट सामन्तवादसँगको राज्यसत्ता दलाल पुँजीवादसँग पुगेको मात्र हो । दलाल पुँजीवादले राष्ट्रिय पुँजीवादको सम्म विकास हुन दिइरहेको छैन । राष्ट्रिय पुँजीपतिवर्गले दलाल पुँजीवादका अगाडि आत्मसमर्पण गरेको छ । यो अवस्थामा कस्तो समाजवादी क्रान्तिको परिकल्पना गर्नु भएको हो ? त्यो पनि स्पष्ट छैन ।

अहिले कतिपय पार्टीहरुले समाजवादमा जाने कुरा गरेका छन् । उनीहरु समाजवादी मोर्चा पनि बनाएका छन् र अरु कम्युनिस्ट घटकहरुलाई समाजवाद ल्याउनका लागि एकता वा मोर्चा गर्ने नीति अगाडि सारेका छन् । उनीहरुको समाजवादको नीति र क. कंचनको समाजवाद एउटै हो वा फरक हो ? त्यो पनि स्पष्ट भएको छैन । यदि रुसको जस्तो समाजवादी क्रान्ति हो भने नेपाल त्यो अवस्थामा पुग्न लागेको वा पुगेको अवस्था हो वा होइन ? यदि चीनको जस्तो समाजवाद हो भने चीनमा नयाँ जनवादी क्रान्तिको बेला कोमिन्ताङ पार्टीसित सहकार्य गरिएको थियो । क्रान्ति सम्पन्न भएपछि पुँजीवादको विकासमा जोड दिइएको थियो र समाजवादमा शान्तिपूर्ण संक्रमण भएको थियो । हो, यो कुरा सत्य हो कि नेपाल तात्कालिन चीनको अवस्थामा छैन । विज्ञान, प्रविधि, बाटोघाटो संचारको विकास हुनुले मात्र राष्ट्रिय पुँजीवादको विकास भएको छ र उत्पादक शक्तिहरुको पनि विकास भएको छ भन्नु यथार्थसित मेल खाँदैन । यी कुरामा पनि छलफल गर्नुपर्ने आवश्यकता छ । यदि यी विषयमा छलफल नगरेर एमाले तथा माओवादीले भने जस्तो समाजवादको परिकल्पना हो भने त्यो दलाल पुँजीवादी संसदीय समाजवाद हो । त्यसप्रकारको समाजवादमा सर्वहारावर्गको अधिनायकत्व हुँदैन । उत्पादनका साधनहरुमाथि सामूहिक स्वामित्व हुन सक्दैन । छिमेकी देश चीनले अपनाएको समाजवाद चिनियाँ विशेषता सहितको समाजवाद भनेको छ । त्यहाँ पहिले माओका पालामा सामूहिक स्वामित्वमा संचालित उद्योग तथा व्यापार देङ सियाओपिङको पालामा आउँदा सबै नीजि स्वामित्वमा रुपान्तरण गरियो । त्यसैलाई चिनियाँ विशेषता सहितको समाजवाद भनिदैछ । हाम्रो विचारमा क. कंचन त्यसप्रकारको चिनियाँ विशेषताको समाजवादमा जानु हुने छैन, न त एमाले माओवादीको जस्तो दलाल पुँजीवादी संसदीय समाजवादमा जान सक्नुहुन्छ । किनकि ती संसदवादी पार्टीहरुको विचारमा पुँजीवादी क्रान्ति सम्पन्न भइसकेको छ ।

यो अवस्थामा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले लिएको नयाँ जनवादको खुडकिलो पार गरी वैज्ञानिक समाजवादमा जानेसम्बन्धी नीति नेपालको अर्थ सामाजिक अवस्था अनुरुप छ । त्यही नै आजको क्रान्तिको सही निष्कर्ष हो । हामी यो भन्दैनौं कि हाम्रो पार्टीले लिएको नीति सत प्रतिशत ठीक छ । हामीले सापेक्षतामा ठीक भनेको हो । जति जति भौतिक परिस्थितिमा परिवर्तन हुँदै जान्छ, हाम्रा नीतिहरु पनि परिवर्तन हुँदै जान्छन् । त्यसैको लागि महाधिवेशनमा विचार विमर्श गरिन्छ । विमर्शबाट नयाँ नयाँ विचारहरु आउन सक्छन् । नयाँ विचारहरु ठीक हुन सक्छन् र गलत पनि हुन सक्छन् । तर जुन विचारले अहिलेको अर्थसामाजिक स्थितिलाई विश्लेषण गरेर प्र्रतिनिधित्व गर्छ, त्यो स्वीकृत हुन्छ र जुन विचारले अहिलेको परिस्थितिलाई प्रतिनिधित्व गर्न सक्दैन, त्यो अस्वीकृत हुन्छ । कहिले काही गलत विचार पनि पारित हुनसक्छ । तर हामी क्रान्तिको कार्यदिशामा सहमत भए पछि अन्य कुरा हामीले भने जस्तो नभए पनि धैर्य गर्नुपर्छ र आफ्नो विचारले अरुलाई मनाउन सकिएन भनेर निराश हुनु हुँदैन ।

माथि उल्लेखित विषयमा क. कंचनको विचार यदि क्रान्तिद्वारा नै समाजवाद ल्याउने नीति हो भने उहाँ क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालबाट अलग हुनु हुँदैन थियो । एउटा क्रान्तिकारी पार्टीलाई छाड्ने र अमूर्त रुपमा सबै कथित समाजवादका पक्षधरहरुलाई एकजुट हुन अपिल गर्ने जुन काम उहाँले गर्नुभएको छ, त्यो पटक्कै नमिल्ने कुरा हो । आफ्नै पार्टी भित्र त उहाँको तत्काल समाजवादी क्रान्तिको बहसमा त आफ्ना नीति असफल हुने डरले पार्टीमा फुट ल्याउनुभयो, बाहिर गएर उहाँको नीतिबारे कसले छलफल गर्छ र स्वीकार गरिदिन्छ ? उहाँ अब या त एक्लै सानो गुटमा रमाउनु पर्छ या प्रचण्ड–विप्लव मोर्चाको समाजवादी नारामा समाहित हुनु पर्छ । तेस्रो विकल्प उहाँसँग देखिंदैन ।

अन्तमा, उहाँको संगठनात्मक विचारमा अत्यन्त हलुका र बचपना देखा परेको छ । उहाँले हामीलाई महाधिवेशनसम्मको छलफललाई नपर्खिकन वैज्ञानिक समाजवाद नमानेको भनेर जुन आरोप लगाउनु भएको छ, त्यो फितलो छ । त्यसमा कुनै आधार छैन । किनकि हामी तीन पार्टी नै वैज्ञानिक समाजवादका पक्षधर हौं । नयाँ जनवाद त समाजवादी क्रान्तिको अंग हो । देशको परिस्थितिमा ठूलै परिवर्तन भयो भने सीधै समाजवादी क्रान्तिमा जाने परिस्थिति पनि बन्न सक्छ । तर तत्काल त्यो परिस्थिति तयार छैन । उहाँले आफै सहमत भएर तयार गरेको नीतिमा डेढ महिना पनि टिक्न सक्नु भएन । आज जुन वैज्ञानिक समाजवादी विचार भनेर आफ्नो समूहलाई प्रशिक्षित गरिरहनु भएको छ, त्यसको म्याद पनि कति दिगो होला ? किनकि एउटा नेताले कमसेकम आफ्नो विचार अगाडि सारेपछि नतिजा पनि पर्खनुपर्छ । अधैर्यता, अस्थिरता र ढुलमुलपनाले आफ्नो गन्तव्यमा पुग्न सकिंदैन । आज क. कंचनले जुन बाटो अपनाउनु भएको छ, त्यसले उहाँलाई तत्काल क्षणिक फाइदा वा परिणाम खोज्नेतिर डोराउँछ । त्यसको परिणाम यो हुनेछ कि क्रान्तिकारी पार्टीसितको सम्बन्धविच्छेद भएपछि ढिलो चाँडो संसदवादी समाजवाद भन्ने पार्टीहरुसित सम्बन्ध जोडिने छ । उहाँ एक्लै आफ्नो सैद्धान्तिक तथा वैचारिक जगमा उभिन कठिन हुनेछ । क्रान्तिकारी पार्टीसित सम्बन्धविच्छेदको यो कदमले क्रान्तिकारी पार्टीलाई क्षति पु¥याउनुको साथै दक्षिणपन्थी पार्टीहरुलाई सहयोग पु¥याएको छ ।

भारतीय कम्युनिस्ट पार्टी माले, रेडस्टारको १२ औं महाधिवेशनले भारत त्यति ठूलो पुँजीवादी देश भएर पनि त्यहाँ समाजवादी क्रान्ति गर्ने भनेको छैन । उनीहरुको निष्कर्ष के छ भने भारतमा भएको पुँजीवादको विकास दलाल पुँजीवादको विकास हो । त्यहाँको पुँजीवाद साम्राज्यवाद माथि आश्रित छ । त्यसकारण उनीहरु जनताको जनवाद (एभयउभिुक म्झयअचबअथ ) को नीति अपनाएका छन् । हाम्रो देश त भारत भन्दा कैयौं पछाडि छ । भर्खर दलाल पुँजीवाद विकासको चरणमा छ । क. कंचनको विचार ठोस परिस्थितिको ठोस विश्लेषणमा आधारित छैन ।

समग्रमा आज विश्वव्यापी रुपमा जुन रुपमा संशोधनवादले प्रभाव फैलाइरहेको छ, उहाँहरुलाई पनि त्यसैको राप तापको नजिक पु¥याउने छ र कम्युनिस्ट आन्दोलनलाई विसर्जन तर्फ धकेल्ने छ । समाजमा विशेषतः क्रान्ति र परिवर्तन चाहने युवा पक्तिमा पनि अधैर्यताका कारण उपभोक्तावाद, उत्तर आधुनिकतावाद तथा नयाँ माक्र्सवादको प्रभाव परेको छ । त्यसकारण विचारमा क्षणक्षणमा परिवर्तन आउने प्रवृत्तिहरु देखिन्छन् । त्यसले पार्टी, समाज र देश कसैलाई पनि फाइदा हुने छैन । लेनिनले भने जस्तै इमान्दार हुनु मात्र ठूलो कुरो होइन, सही सैद्धान्तिक चेतना भएन भने इमान्दार भएर पनि मानिस अवसरवादी बन्न पुग्छन् । क. कंचनको नियतमा शायद अवसरवाद छैन होला । तर यसरी बहकिँदै र भाग्दै जाँदा उहाँ कहाँ पुग्नुहोला ? त्यो भविष्यको गर्भमा छ । तर अहिले उहाँले समातेको राजनीतिक दिशा अवसरवाद तर्फ उन्मुख छ । यदि समय छँदै पुनर्विचार गर्नुभयो भने निश्चित रुपमा उहाँ क्रान्तिकारी नै रहनु हुनेछ । नत्र भने उहाँले समातेको दिशाले ढिलो चाँडो उहाँलाई दक्षिणपन्थी अवसरवादतर्फ नै लैजाने बढी सम्भावना छ । आशा गरौं, त्यस्तो दिन देख्न नपरोस् ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?