राष्ट्रिय एकता महाधिवेशन सफल पारौं

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको एकता महाधिवेशन यही मंसिर १३ देखि २३ गतेसम्म काठमाण्डौमा सम्पन्न हुन गइरहेको छ । “राष्ट्रिय एकता महाधिवेशन भव्यरुपमा सफल पारौं । नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादतर्फ अगाडि बढौं ।”भन्ने मूल नाराका साथ राष्ट्रिय एकता महाधिवेशन सम्पन्न हुन गइरहेको छ । एकता महाधिवशेनको सन्दर्भमा देशव्यापी रुपमा भेला सम्मेलनहरु सम्पन्न भइरहेका छन् । महाधिवेशको प्रचार प्रसार तीव्र रुपमा भइहेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका जिल्ला तथा केन्द्रका कार्यकर्ताहरु महाधिवेशन सफल पार्नकोलागि निरन्तररुपमा जनभेटघाट ,छलफलमा लागिपरेका छन् । महाधिवेशन सफल पार्नको लागि हरतरहले लाग्नु पर्ने भएको छ ।महाधिवेशनकोलागि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले आन्तरिक रुपमा छलफल बहस चलाइरहेको छ । महाधिवेशन सफल पार्नकोलागि दस्तावेजहरु प्रकाशित भइसकेका छन् ।फोरम सञ्चालन भइरहेको छ । राष्ट्रिय एकता महाधिवेशनलाई सबैले गम्भीरतापूर्वक लिइरहेका छन् ।
यो अवस्थामा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यकर्ताहरुले गम्भीर बहस तथा छलफल गर्नु पर्ने आवश्यकता छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल पूर्व क्रान्तिकारी माओवादी , नेकपा बहुमत तथा नेकपा (मशाल) को बीचमा एकता भइ बनेको पार्टी हो । यसको एकीकरण हुनु नेपालको कम्युनिष्ट आन्दोलनमा एक ऐतिहासिक महत्वको विषय हो । नेपालको कम्युनिष्ट आन्दोलनमा क्रान्तिकारीहरुको एकता निकै कम मात्र हुने गरेको छ । तीन पार्टीहरुको बीचमा एकता भई महाधिवेशनको प्रक्रियामा गइरहेको अवस्थामा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालबाट केही नेता ,कार्यकर्ताहरु पार्टी एकता असफल भएको बताउँदै पार्टीबाट अलग हुन पुगेका थिए । पार्टी एकता असफल भएको भनेर केही नेता कार्यकर्ताले बाहिरिए पनि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले एकता महाधिवेशनको प्रक्रियालाई निरन्तरता दिएको छ ।
नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा आफुलाई कम्युनिष्ट बताउने नेता कार्यकर्ता तथा पार्टीहरु कम्युनिष्ट आचरण, मूल्य , मान्यताबाट निरन्तर रुपमा विचलित हुँदै गइरहेका छन् । भन्नकोलागि आफूलाई कम्युनिष्ट भनेपनि व्यवहारमा पूँजीवादी भन्दा कमको व्यवहार नदेखिने उदाहरण पनि प्रशस्त छन् । मौका पर्नासाथ जे पनि गर्न सक्ने उनीहरु भइरहेका छन् । यो अवस्थामा क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुले सैद्धान्तिक व्यवहारिक तथा आचरणगत रुपमा सच्चा कम्युनिष्ट बन्नकोलागि सैद्धान्तिक ,राजनीतिक रुपमा स्पष्ट हुनु पर्दछ । सबै कुराको निर्धारण सही राजनीति र विचारले नै गर्दछ । सही राजनीति अपनाउन नसकेमा मनोगत रुपमा क्रान्तिकारी भएपनि व्यवहारिक रुपमा अनेक प्रकारका भडकावहरुमा पर्ने सम्भावना हुन्छ । महाधिवेशनमा सही नीति र विचार निर्माण गर्नु पर्ने हुन्छ । त्यसकालागि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालसंग आबद्ध कार्यकर्ताहरुले त्यसतर्फ निकै ध्यान दिनु पर्ने छ ।
जनतामा अहिले व्यापक मात्रामा निराशा आएको छ । देशमा चरम प्रकारले वेथिति मौलाएको छ । आफूलाई कम्युनिष्ट पार्टी बताउने पार्टी तथा समुहहरु विभिन्न चिरामा विभाजन हुन पुगेका छन् । कम्युनिष्ट पार्टी हौं भन्नेहरुका नेता तथा कार्यकर्ताहरुमा चरम प्रकारको व्यक्तिवाद मौलाएको छ । नीति नियम बनाउँदा पनि व्यक्तिकेन्द्रित ,आफूकेन्द्रित प्रकारको हुने गरेको छ । नीति बनाउँदा पार्टीबाट सुविधा लिन कसरी सकिन्छ भनेर नीति तर्जुमा गर्ने गरेको पनि पाइन्छ । पार्टी नेतृत्वको वरिपरी बसेर कसरी फाइदा लिन सकिन्छ भन्दै त्यस्तै प्रकारको नीति बनाउने गरेको देखिन्छ । पार्टी ,देश, जनता तथा बहुसंख्यकको हितलाई फाइदालाई बेवास्ता गरेको देखिन्छ । कम्युनिष्ट पार्टीका नेताहरु समग्र देशको हितकोलागि भन्दा पनि गुटगत लाभहानीलाई केन्द्रमा राखेर सोच्ने प्रवृतिको विकास भइरहेको छ । देशमा उपयोगितावादको विकास हुँदै गइरहेको छ । कम्युनिष्ट पार्टीहरु पनि उपयोगितावादको शिकार भइरहेका छन् । सत्ताको उपयोग ,पूँजिपतिको उपयोग , विचारधारात्मक रुपमा यथास्थितिमा रमाउने पार्टीसंगको सहकार्य तथा उपयोग जस्ता कुराहरुको रमाइलोमा आफुलाई कम्युनिष्ट पार्टी बताउने नेतृत्व परिरहेका छन्। यस्तो प्रवृतिले गर्दा जनताले क्रान्तिकारी वास्तविक रुपमा कोहो ? भन्ने स्थिति आएको छ । सत्तामा पनि बस्ने , हामी नै परिर्वतनका बाहक हौं पनि भन्दै रहने । सत्तामा पनि बसिरहने क्रान्तिको नेतृत्व हामीले नै गर्ने हौं पनि भनिरहने, सत्ताको गठबन्धनमा पनि बस्ने र सत्ताको स्वाद पनि लिईरहने सबै प्रकारको उत्पीडनको विरोध पनि गर्दछौं भन्दै जनतालाई भ्रममा राखिरहने जस्ता प्रवृति रहेका छन् । घोर दक्षिणपन्थी विचार अवलम्वन गर्ने र आफूलाई कम्युनिष्ट पार्टी बताउने पार्टीलाई नै नेपालको कम्युनिष्ट पार्टी हो भन्दै जनताले पत्याइरहेको अवस्था छ ।
नेपालमा राजनीतिक क्रान्ति पूरा भयो आर्थिक क्रान्तिको आवश्यकता छ भन्दै अर्थिक उन्नतिको मात्रै कुरा गर्ने एक खतरनाक प्रवृति मौलाएको छ ।समाजमा धनी ,गरिब छन् । हुने र नहुने छन् । आर्थिक, राजनीतिक ,शैक्षिक ,सामाजिक असमानताहरु छन् । ती सबैलाई हटाएर समानता ल्याउनु पर्दछ । हुने र नहुनेकोबीचमा रहेको खाडललाई आमूल परिवर्तन बिना पुर्न सकिँदैन भन्ने कुराहरुलाई वेवास्ता गरिँदै छ । देशमा देशी तथा विदेशी शोषण उत्पीडन छ भन्ने कुरालाई वेवास्ता गरिएको छ । असमानता हटाउनेमा भन्दा पनि देशको समृद्धिको रटान लागिरहेको छ ।
अहिले जनतालाई यथास्थितिको राजनीतिमा रमाउने पाटीर्, विचारले भ्रम दिइरहेको छ । यस्तो अवस्थामा आमूल परिवर्तनको कुरालाई स्थापित गर्नु आवश्यक छ । आमूल परिवर्तनविना देशको समृद्धि सम्भव छैन भन्ने कुरालाई जनताको बीचमा लैजान आवश्यक छ । क्रान्तिकारी विचारविना त्यो सबै सम्भव छैन ।
सानो समुहमा रमाउने ,गुटगत स्वार्थमा केन्द्रित हुने जस्ता समस्याहरु नेपालका कम्युनिष्ट पार्टीमा रहेका छन् । अहिले यी सबै समस्याहरुको समाधान गरेर नेपालको कम्युनिष्ट आन्दोलनलाई सही दिशा दिन सक्ने सच्चा क्रान्तिकारी कम्युनिष्ट पार्टीको आवश्यकता रहेको छ । सच्चा कम्युनिष्ट पार्टी सर्वहारा वर्गीय विचारलाई सही तरिकाले अगाडि बढाउने पार्टीको अभाव हुँदै गईरहेको छ । यो अभावलाई परिपूर्ति गर्न कुनै पनि अरु आफूलाई कम्युनिष्ट पार्टी बताउँदै जनतालाई भ्रम छर्नेहरुबाट सम्भव छैन । त्यो केवल क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालबाट नै सम्भव छ । त्यसकारण क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको महाधिवेशनलाई साँच्चिकै विचार निर्माणको महाधिवेशन बनाउनु पर्ने आवश्यकता छ । नेपालको क्रान्तिकारी कम्युनिष्ट पार्टी नै अहिलेको सच्चा क्रान्तिकारी कम्युनिष्ट पार्टी हो भनेर जनताको मन जित्नु पर्ने आवश्यकता छ । महाधिवेशन नीति निर्माणको थलो हो , यो बेला क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता, कार्यकर्ता ,समर्थक तथा सुभेच्छुकरुले सही नीति निर्माण गर्नलाई ध्यान दिनु पर्दछ ।महाधिवेशनमा आएका प्रतिनिधिहरुले महाधिवेशनलाई साँच्चिकै क्रान्तिकारी विचार निर्माणको थलो बनाउन ध्यान दिनु पर्दछ ।
तीन वटा क्रान्तिकारी कम्युनिष्ट पार्टीहरु मिलेर एकता भई निर्माण भएको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको एकतालाई असफल बनाउन प्रतिक्रियावादी र अवसरवादीहरु लागिरहेका छन् । यस महाधिवेशनमा पनि यो शक्तिलाई विचारधारात्मक रुपमा कमजोर पारी फुट पार्ने प्रयत्न भएका छन् । पार्टी भित्र वा बाहिर देखिने यस्ता खालका प्रवृतिहरुलाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेता कार्यकर्ताहरुले बेलैमा निस्तेज पार्नु पर्दछ ।
महाधिवेशनकालागि प्रस्तुत भएका दस्तावेजहरुको गहन तरिकाले अध्ययन गर्न जरुरी छ । महाधिवेशनकालागि प्रस्तुत भएका दस्तावेजहरुको अध्ययनका गरी सही सल्लाह सुझाव दिनुका साथै सही नीति पारित गर्नु पर्ने आवश्यकता रहेको छ ।
नेपालको कम्युनिष्ट आन्दोलनको सही मूल्याङकनको आवश्यकता रहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको सही तरिकाले विश्लेषण गर्नु पर्ने आवश्यकता रहेको छ , राजनीतिक प्रतिवेदनले भविष्यको नेपालको क्रान्तिकारी आन्दोलनलाई दिशानिर्देश गर्न सक्नु पर्दछ । राष्ट्रिय एकता महाधिवेशनलाई साँच्चिकै ऐतिहासिक एकता महाधिवेशन बनाउन सबैले ध्यान दिनु पर्दछ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?