१) पार्टी समितिको सचिवले एकजना असल “टोली नेता” बन्नु पर्दछ । एउटा पार्टी समितिमा दसदेखि वीस जनासम्म सदस्य हुन्छन्, यो समिति सेनाको एउटा टोली जस्तै हुन्छ, पार्टी सचिव चाहिं टोली नेता जस्तै हुन्छ । यस टोलीको राम्ररी नेतृत्व गर्नु साँच्चि नै सजिलो काम होइन । हाल केन्द्रीय समितिको प्रत्येक क्षेत्रीय व्यूरो र उपव्यूरोले विशाल क्षेत्रको नेतृत्व गरेको ज्यादै गहन जिम्मेवारी वहन गरेको छ । नेतृत्व गर्नु भनेको आम र विशिष्ट नीतिहरु निर्धारित गर्नु मात्र नभई सही कार्य पद्धतिहरु पत्ता लगाउनु पनि हो । सही आम र विशिष्ट नीतिहरु निर्धारित गरिसकेपछि पनि कार्य पद्धतिलाई उपेक्षा गरियो भने कठिनाईहरु पैदा हुन सक्छन् । नेतृत्व गर्ने आफ्नो अभिभारा पूरा गर्नको निम्ति पार्टी समितिले आफ्नो “टोलीका सदस्यहरु”– माथि निर्भर रहनै पर्छ र तिनलाई आ–आफ्नो भूमिका पूर्ण रुपले खेल्न सक्षम तुल्याउनै पर्छ । असल “टोली नेता” बन्नको निम्ति पार्टी सचिवले राम्ररी अध्ययन र जाँचबुझ गर्नैपर्छ । सचिव वा उपसचिवले आप्mनो “टोलीका सदस्यहरु” माझ प्रचार कार्य र संगठनात्मक कार्य गर्ने कुरामा ध्यान दिएन भने, ऊ समितिका सदस्यहरुसँगका आफ्ना सम्बन्धहरुको संचालन गर्न सिपालु भएन वा उसले सफतापूर्वक बैठक चलाउने तरिकाहरुको अध्ययन गरेन भने आफ्नो “टोली”–लाई राम्ररी निर्देशित गर्न उसलाई गाह्रो पर्नेछ । “टोली सदस्यहरु” कदममा कदम मिलाएर अघि बढेनन् भने तिनले लडाइँ र निर्माणको क्षेत्रमा करोडौं मानिसहरुको नेतृत्व गर्ने कुरा कदापि नचिताए हुन्छ । सचिव र समितिका सदस्यहरु माझको सम्बन्ध निश्चय नै एक त्यस्तो सम्बन्ध हो जसमा अल्पमतले बहुमतका निर्णय पालन गर्नुपर्छ, त्यसकारण यो सम्बन्ध सेनाको टोली नेता र उसका सिपाहीहरु माझको सम्बन्धभन्दा बेग्लै हुन्छ । यहाँ त हामी तिनका माझको समानताको मात्र कुरा गर्दैछौं ।
२) समस्याहरु छलफलको लागि प्रस्तुत गर्नु “टोली नेता” ले मात्र यसो गर्ने होइन, समितिका सदस्यहरुले पनि यस्तै गर्नुपर्छ । पछाडि कुरा काट्ने गर्नु हुँदैन । समस्या देखा पर्नासाथै बैठक डाक्नोस्, समस्याहरु छलफलको लागि प्रस्तुत गर्नोस् र निर्णय गर्नोस् । यसरी समस्याहरुको हल हुनेछ । समस्याहरु त छन् तर तिनलाई छलफलको लागि प्रस्तुत गरिंदैन भने ती समस्याहरु लामो समयसम्म नसुल्झिकन रहिरहने छन् र वर्षौंसम्म पनि त्यत्तिकै रहने छन् । “टोली नेता” – र समितिका सदस्यहरुले तिनका आपसी सम्बन्धहरुमा सहिष्णु र समझ्दार हुनुपर्छ । सचिव र समितिका सदस्यहरु माझ, केन्द्रीय समिति र यसका क्षेत्रीय व्यूरोहरु माझ आपसी सहिष्णुता, समझ्दारी, आड समर्थन मैत्रीभन्दा महत्वपूर्ण कुरा अरु केही छँदैछैन । गतकालमा यस कुरामा ज्यादै कम ध्यान दिइयो, तर सातौं पार्टी महाधिवेशनदेखि यता यस सम्बन्धमा निकै प्रगति भएको छ र मैत्री तथा एकताको सूत्र निकै दरिलो भएको छ । हामीले भविष्यमा यस कुरातर्फ निरन्तर ध्यान दिइरहनु पर्छ ।
३) “जानकारीको आदानप्रदान गर्नु ।” सदस्यहरुले आफ्नो दृष्टिमा परेका सारा मामिलाहरुबारे एकअर्कालार्ई जानकारी दिनु र विचार आदान प्रदान गर्नुपर्छ । साझा राय प्राप्त गर्नमा यस कुराको ठूलो महत्व हुन्छ । केही मानिसहरु यसो गर्न चुक्छन्, र लाओ चिले वर्णन गरेका मानिसहरु झंै “एकअर्काका भाले बासेको र कुकुर भुकेको आवाज सुनिने ठाउँमा बसे तापनि उनीहरु जिन्दगीभरी एकअर्काका घरमा जाँदैनन् ।” यसको नतिजा के हुन आउँछ भने तिनको माझमा साझा रायको अभाव हुन्छ । विगत कालमा हाम्रा उच्च दर्जाका केही काडरहरुको माझमा माक्र्सवाद–लेनिनवादका आधारभूत सैद्धान्तिक समस्याहरको बारेमा समेत पनि साझा राय थिएन किनभने तिनले पर्याप्त मात्रामा अध्ययन गरेकै थिएनन् । आज पार्टीभित्र पहिले हेरी निकै नै बढी साझा राय पाइन्छ, तर अझै पनि यस समस्याको पूर्ण समाधान भइसकेको छैन । उदाहरणको लागि भूमि सुधारको क्षेत्रमा “मध्यम किसान” र “धनी किसान” – को परिभाषाबारेमा अझै पनि केही मतभिन्नताहरु छँदैछन् ।
४) आफूले नबुझेका वा नजानेका काम कुराहरुबारे आफ्नो मातहतमा काम गर्ने मानिसहरुलाई सोध्ने गर्नोस्, र हल्का ढंगले आफ्नो स्वीकृति वा अस्वीकृति प्रकट नगर्नोस् । कुनै कुनै दस्तावेजहरु मस्यौदा गरिसकेपछि पनि केही समयसम्म वितरण गरिंदैनन् किनभने तिनमा रहेका केही प्रश्नहरुलाई प्रष्ट्याउनु आवश्यक हुन्छ र पहिले तल्ला तहहरुको रायसल्लाह लिनुपर्ने खाँचो पर्छ । हामीले कदापि नजानेका कुरा पनि जान्दछौं भन्ने स्वाङ पार्नु हुँदैन । हामीले “तल्लो तहका मानिसहरुसँग सोध्ने र सिक्न लाज मान्नु हुँदैन” र हामीले तल्लो तहका काडरहरुको राय राम्ररी सुन्ने गर्नुपर्छ । गुरु बन्नुभन्दा पहिले चेलो बन्नोस्, आदेश जारी गर्नु भन्दा पहिले तल्लो तहका काडरहरुसँग सिक्नोस् । समस्याहरु सुल्झाउँदा केन्द्रीय समितिका सारा क्षेत्रीय व्यूरोहरु र पार्टीका मोर्चा समितिहरुले सैनिक संकटको स्थितिमा वा समस्या सम्बन्धी तथ्यहरु पहिले नै छर्लङ भइसकेको स्थितिमा बाहेक अरु सबै मौकामा यसै बमोजिम काम गर्नुपर्छ । यसो गर्नाले हाम्रो प्रतिष्ठा घट्दैन, बरु बढ्छ । हाम्रा निर्णयहरुमा तल्लो तहका काडरहरुका विचारहरु पनि गाभिने हुनाले यी निर्णयहरुलाई तिनले समर्थन गर्नु स्वाभाविकै हो । तल्लो तहका काडरहरुले भनेका कुरा सही हुन पनि सक्छन् नहुन पनि सक्छन्, हामीले तिनको विश्लेषण गर्र्र्नैपर्छ । हामीले तिनका सही विचारलाई मान्नुपर्छ र लागु गर्नुपर्छ । केन्द्रीय समितिको नेतृत्व सही हुनाको मुख्य कारण के हो भने यसले विभिन्न क्षेत्रबाट प्राप्त हुने सामग्री, प्रतिवेदन र सही विचारहरुलाई संस्लेषण गर्नैपर्छ । विभिन्न क्षेत्रहरुबाट सामग्री र रायहरु प्राप्त नहुने हो भने सही आदेश जारी गर्न केन्द्रीय समितिलाई गाह्रो पर्ने छ । तल्लो तहका गलत विचारहरु पनि सुन्नुपर्छ, त्यस्ता विचारहरु पटक्कै नसुन्नु पनि गलत हो । तर त्यस्ता विचारहरु लागु नगरेर तिनको आलोचना गर्नुपर्छ ।
५) “पियानो बजाउन” सिक्नु । पियानो बजाउँदा दशै औंला चलिरहन्छन्, केही औंला चलाएर अरु आंैला नचलाउँदा काम बन्दैन । तर दशै वटा आंैंला एकै पटक थिचियो भने मधुर ध्वनी निस्कँदैन । राम्रो संगीत पैदा गर्नको निम्ति दसै औंलालाई लयात्मक ढंगले आपसमा तालमेल राख्दै चलाउनु पर्छ । एउटा पार्टी समितिले आफ्नो केन्द्रीय अभिभारा दृढतापूर्वक संचालन गर्नुपर्छ, साथसाथै त्यसले आफ्नो केन्द्रीय अभिभाराको वरिपरि अरु क्षेका कामहरु पनि गर्दै जानुपर्छ । हाल हामीले अनेक क्ष्ँेत्रका कामहरुको रेखदेख गर्नु परेको छ, हामीले सबै क्षेत्र, सबै एकाई र विभागहरुका कामहरुको रेखदेख गर्नुपर्छ, केही समस्याहरुमा सारा ध्यान केन्द्रित गरेर अरु समस्याहरुलाई बेवास्ता गर्ने गर्नु हुँदैन । जहाँ जहाँ समस्या देखा पर्छन, हामीले तिनमा हात हाल्नैपर्छ , र यस कार्यपद्धतिमा हामी खप्पिस हुनैपर्छ । पियानो कसैले राम्रोसँग बजाउँछन् र कसैले चाहिं बजाउँदैनन् र तिनले पैदा गर्ने धुनहरुमा ठूलो अन्तर हुन्छ । पार्टी समितिका सदस्यहरुले राम्ररी “पियानो बजाउन” सिक्नैपर्छ ।
६) दृढतापूर्वक आत्मसात गर्नु । ” यसो भन्नाको अर्थ के हो भने पार्टी समितिले आफ्ना मुख्य अभिभाराहरुलाई केवल “आत्मसात” मात्र नगरी “दृढतापूर्वक आत्मसात गर्नुपर्छ ।” कसैले पनि कुनै चीजलाई त्यो बेला मात्र आत्मसात गर्न सक्छ जब उसले रत्तिभर सुस्ती बेगर त्यस चीजलाई दृढतापूर्वक आत्मसात गर्छ । दृढतापूर्वक आत्मसात नगर्नु भनेको एकदमै आत्मासात नगर्नु सरह हो । खुला हातले कुनै पनि चीजलाई पक्रन नसक्नु स्वाभाविक हो । कुनै चीजलाई पक्रे झै गरी हात त मुठी पारियो तर कसिलो मुठी पारिएन भने पनि चीजलाई राम्ररी समातिन्न । केही कामरेडहरु मुख्य अभिभाराहरुलाई त समात्छन् तर तिनको पकड दरिलो हुन्न । त्यसैले तिनले आप्mना काममा सफलता प्राप्त गर्न सक्दैनन् । मुख्य चीजलाई नसमात्नाले कामै बन्दैन, पकड दरिलो भएन भने पनि काम बन्दैन ।
७) “ आँकडाहरुको हेक्का राख्नु” । यसो भन्नाको अर्थ के हो भने हामीले कुनै परिस्थिति वा समस्याको परिणात्मक पहलमाथि ध्यान दिनुपर्छ र आधारभूत परिणात्मक विश्लेषण गर्नुपर्छ । हरेक गुणात्मक पहल कुनै परिणात्मक पहलको रुपमा अभिव्यक्ति हुन्छ र परिमाण बेगर गुण हुन सक्दैन । हाम्रा थुपै्र कामरेडहरुले आफूले चीजहरुको परिमाणात्मक पहलमाथि –आधारभूत आँकडाहरुमाथि चीजहरुको गुणात्मक पहलको निर्धारण गर्ने परिमाणात्मक सीमामाथि ध्यान दिनुपर्ने कुरा अझै बुझेका छैनन् । तिनले “आँकडाहरुको हेक्का राख्दैनन्” र यसको परिणामस्वरुप तिनीहरु गल्ती गर्नबाट जोगिन सक्दैनन् । उदाहरणको लागि भूमि सुधार लागु गर्दा कुल जनसंख्यामध्ये जमिन्दार, धनी किसान, मध्यम किसान र गरिब किसान के कति प्रतिशत छन् र यिनमध्ये हरेकको स्वामित्वमा के कति जग्गा छ भने जस्ता आँकडाहरु पत्ता लगाउनु अत्यावश्यक हुन्छ, किनभने यसै आधारमा मात्र हामीले सही नीतिहरु निर्धारित गर्न सक्छौं । कसलाई धनी किसान भन्ने र कसलाई हुनेखाने मध्यम किसान भनेर शोषणबाट प्राप्त के कति मुनाफाको आधारमा धनी किसान र हुनेखाने मध्यम किसानबीचको भेद छुट्याउने– यी सबै कुराहरुमा पनि परिमाणत्मक सीमाहरु तोक्नैपर्छ । सबै जनआन्दोलनहरुको क्रममा हामीले सक्रिय समर्थक, विरोधी र तटस्थ व्यक्तिहरुको संख्याको आधारभूत जाँचबुझ र विश्लेषण गर्नैपर्छ , विना आधार मनोगत ढंगले कुनै पनि समस्याबारे निर्णय गर्नु हुँदैन ।
८) “जनसाधारणलाई आश्वस्त तुल्याउने सूचना” बैठकहरुको सूचना पहिले नै दिने गर्नुपर्छ । यो “जनसाधारलाई आश्वस्त तुल्याउने सूचना” जारी गर्नु जस्तै हो, जसले गर्दा के विषयमा छलफल हुँदैछ र सुल्झाउनु पर्ने समस्या के के हुन् भन्ने कुरा सबै जनालाई थाहा होस् र सबै जनाले बेलैमा तयारी गर्न सकुन । कुनै कुनै ठाउँमा पहिले प्रतिवेदन र प्रस्तावहरुको मसौदा तयार नपारी काडरहरुको बैठक डाकिन्छ, अनि मानिसहरु बैठकमा आइसकेपछि काम चलाउ प्रतिवेदन र प्रस्तावहरु हत्तपत्त तयार पारिन्छ , यो त “पल्टन र घोडा त आइप्ुगे तर खाना र दाना तयार छैन” भन्ने उक्तिसँग ठ्याक्क मिल्दो कुरा हो, यो राम्रो कुरा होइन । तयारी भइसकेको छैन भने हत्तपत्त बैठक नडाकियोस् ।
९) “अझ थोरै र झन असल पल्टन र झन सरल प्रशासन” सबै कुराकानी, भाषण, लेख र प्रस्तावहरु संक्षिप्त र बुँदागत हुनुपर्छ । बैठकहरु पनि लम्बेतान हुनुहुँदैन ।
१०) मतभेद भएका कामरेडहरुसँग एकता गर्ने र मिलेर काम गर्ने कुरामा ध्यान दिनु । स्थानीय संगठनहरु र सेना दुवै ठाउँमा यस कुरामा ध्यान दिनुपर्छ । पार्टी बाहिरका मानिसहरुसँगको हाम्रो सम्बन्धको हकमा पनि यो कुरा लागु हुन्छ । हामी देशका कुनाकुनाबाट यहाँ एकत्र भएका छौं र आप्mनो कामको सिलसिलामा हामीले हामीसँग मतैक्य भएका कामरेडहरुसँग मात्र होइन हामीसँग मतभेद भएका कामरेडहरुसँग पनि एकता गर्ने काममा सिपालु हुनुपर्छ । हाम्रो माझमा केही त्यस्ता मानिसहरु छन् जसले ज्यादै गम्भीर गल्तीहरु गरेका छन् , हामीले तिनप्रति कुनै पूर्वाग्रह नराखी मिलेर काम गर्न तयार रहनुपर्छ ।
११) अहंकारबाट जोगिनु । नेतृत्वकारी पदमा रहेका सबैको निम्ति यो सिद्धान्तको सवाल हो र एकता कायम राख्ने एक महत्वपूर्ण शर्त हो । जसले गम्भीर गल्ती गरेका छैनन् र जसले काममा ज्यादै ठूलठूला सफलता प्राप्त गरेका छन्, तिनले पनि अहंकार गर्नु हुँदैन । पार्टी नेताहरुको जन्मोत्सव मनाउन मनाही गरिएको छ । त्यसै गरी पार्टी नेताहरुको नामबाट ठाउँहरु, सडकहरु र उद्योगहरुको नाम राख्न पनि मनाही गरिएको छ । हामीले सादा जीवन विताउने र कठोर परिश्रम गर्ने आफ्नो कार्यशैलीमा डटिरहनु पर्छ र चापलुसी र अतिरञ्जित तारिफ बन्द गर्नुपर्छ ।
१२) दुई विभाजन रेखा कोर्नु । पहिलो विभाजन रेखा क्रान्ति र प्रति क्रान्ति माझ, येनान र शीआन माझ कोर्नुपर्छ । आफुले यो विभाजन रेखा कोर्नैपर्ने कुरा केही मानिसहरु बुझ्दैनन् । उदाहरणको लागि नोकरशाहीको विरोध गरेको बखतमा तिनले येनानका चर्चा यसरी गर्छन् मानौं यहाँ “केही पनि ठीक छैन, र येनानको नोकरशाही र शीआनको नोकरशाही माझ तुलना गर्न तिनको भेद छुट्याउन उनीहरु चुक्छन् । यो कुरा आधारभूत रुपले गलत छ । दोस्रो विभाजन रेखा क्रान्तिकारी पंक्तिभित्र सही र गलत माझ, उपलब्धीहरु र कमीहरु माझ कोर्नुपर्छ र यी दुईमा कुन मुख्य र कुन गौण चीज हो भन्ने कुरा पनि स्पष्ट पार्नु पर्छ । उदाहरणको लागि, उपलब्धीको मात्रा ३० प्रतिशत छ कि ७० प्रतिशत ? यी चीजलाई होच्याएर वा बढाइचढाइकन आँक्नाले काम बन्दैन । हामीले व्यक्तिको कामको आधारभूत मूल्यांकन गर्नैपर्छ र उसका उपलब्धी ३० प्रतिशत र गल्ती ७० प्रतिशत छन् अथवा त्यसको उल्टो गल्ती ३० प्रीतशत र उपलब्धि ७० प्रतिशत छन् भन्ने कुराको ठहर गर्नैपर्छ । जसका उपलब्धिहरु ७० प्रतिशत रहेका छन् भने उसको कामको मुख्इ रुपमा सह्राना गर्नुपर्छ । उपलब्धिहरुको प्रधानता भएको कामलाई गल्तीहरुको प्रधानता भएको काम भनी बयान गर्नु पच्चिसै आना गलत हो । समस्याहरुलाई सुल्झाउने क्रममा हामीले क्रान्ति र प्रतिक्रान्ति माझ, उपलब्धि र कमीहरु माझ विभाजन रेखाहरु कोर्न बिर्सनु हुँदैन । यी दुई विभाजन रेखाहरुको हेक्का राखेको खण्डमा हामी हाम्रो काम राम्ररी फत्ते गर्न सक्नेछौं, नत्र भने हामीले समस्याहरुको प्रकृतिलाई छ्यासमिस पार्नेछौं । यी विभाजन रेखाहरु राम्ररी कोर्नको निम्ति सावधानीपूर्वक अध्ययन र विश्लेषण गर्नु निश्चय नै जरुरी छ । हरेक व्यक्ति र हरेक मामिलाप्रति हामीले विश्लेषण र अध्ययनपूर्ण दृष्टि अँगाल्नु पर्छ ।
राजनैतिक व्यूरोका सदस्यहरुलाई र म आफैलाई पनि कस्तो लाग्छ भने उपरोक्त पद्धति अपनाएर मात्रै पार्टी समितिहरुले आफ्ना कामहरु राम्ररी गर्न सक्ने छन् । पार्टी महाधिवेशनहरुलाई राम्ररी संचालन गर्नाको अतिरिक्त सबै तहका पार्टी समितिहरुले आफ्नो नेतृत्वको कामलाई पनि राम्ररी संचालन गर्नु अति महत्वपूर्ण कुरा हो । हामीले अध्ययन गर्ने र कार्यपद्धतिको प्रश्नमा निपूर्णता प्राप्त गर्न प्रयास गर्नैपर्छ , जसले गर्दा पार्टी समितिहरुको नेतृत्वकारी कार्यको स्तर अरु माथि उठाउन सकियोस् ।