परिवार छाडेर विदेशिन रहर कसलाई हुन्छ र ?

परिश्रम र पसिनाको मूल्य के हो ? यो कुरालाई मैले जिन्दगीमा गहिरोसँग अनुभव गर्दै आएको छु । सन् २०१८ देखि मैले दक्षिण कोरियामा मजदुरी गर्दै आएको छु । यसभन्दा पहिले मैले १७ वर्ष कै उमेरदेखि भारतको चेन्नैमा रोजगारी गरेको थिएँ । शूरुमा सत्यबामा युनिभर्सिटीमा मेशमा काम गरें । पछि त्यही युनिभर्सिटीमा सेक्युरिटी गार्डमा काम गरेको थिएँ । मेरो पुख्र्यौली घर गुल्मी जिल्ला कालीगण्डकी गाउँपालिका साविक खड्गकोट रम्फै हो । म त्यही जन्में । पछि रुपन्देही बसाइसराई गरिया । आफ्नै गाउँ रुपन्देहीको रुद्रपुरमा २ वर्ष जति मःमः बनाएर बिक्री पनि गरेको थिएँ । अहिले मैले दक्षिण कोरियाको ख्याङ्गिदो इछन–सी भन्ने ठाउँमा एउटा गाई फार्ममा काम गर्दछु । ५ वर्षसम्म म यो फार्ममा काम गर्ने एक्लो मजदुर थिएँ । घरको साहु र मैले सँगै मिलेर काम गर्दथ्यौं । दुःखद कुरा के भयो भने फार्ममा काम गर्ने क्रममा साहुको मेशिनमा दूर्घटनामा परेर मृत्यु भयो । उहाँको मृत्यु भएपछि पूर्व पाँचथर रानीटारका राजन राई भाइ र मैले यस फर्ममा सँगै काम गर्दछौं ।

मैले काम गर्ने गाई फार्ममा बाच्छा, बाच्छी, गाई सबै गरेर १२० वटा छन् । ७० – ८० वटा गाईले दूध दिन्छन् । मैले काम गर्ने फार्ममा हल्स्टिन लगायतका जातका गाई छन् । प्रत्येक दिन २१ सय देखि २३ सय लिटरसम्म गाईको दूध हुन्छ । यहाँ सिउल उयु नामक दूग्ध कम्पनी छ । त्यसले हरेक दिन दूध लिन आउँछ । दूधलाई तातो र चिसो मेन्टेन गर्न मिल्ने भाँडा हुन्छ । त्यसले गर्दा बिहान बेलुकीको दूध बिग्रिँदैन । काममा धेरै जसो मेशिनको प्रयोग गरिने हुनाले काम गर्न छिटो र सजिलो हुन्छ । गाईको घाँटीमा स्वास्थ्य अवस्था जानकारी गराउने स्क्यानर बेल्ट मेशिन बाँधिएको हुन्छ । त्यो मेशिनले कम्प्युटरमा गाईको स्वास्थ्य जानकारी गराउँछ र कुन गाईलाई के भयो त्यसको प्रारम्भिक उपचार हामी आफैले गर्न सक्दछौं । उपचारका लागि औषधि पनि यहाँ राखिएको छ । यदि गाई गम्भीर बिरामी भयो भने मात्र पशु चिकित्सकलाई बोलाउनु पर्दछ । मानौं गाई म¥यो भने पनि बिमा गरिएको हुन्छ र घाटा लाग्दैन । ट्याक्टरले गाईको गोबरलाई धूलो बनाउँछ । गाईलाई बस्नको लागि सुख्खा ठाउँ चाहिन्छ त्यसैले ट्याक्टरको सहायताबाट बस्ने भागमा रोटाबेटा लगाइन्छ । जसले गर्दा दुहुने बेलामा सजिलो हुन्छ । गाईको थुनमा गोबर लाग्दैन । तीन तीन महिनामा गाईको गोठका काठको धूलो छर्कनु पर्दछ । दूध मेशिनले नै दुहुन्छ । दूधको स्तरीयताको लागि गाईलाई भिटामिन खुवाउनु पर्दछ । दाना कम्पनीले गाईको आहारा दाना पठाईदिन्छ । दाना कम्पनी कोरियामै छ । तर गाईलाई खुवाउने घाँस विदेशी घाँस कम्पनीबाट आउँछ । गाइले खाने नुन चीनबाट आउँछ ।

हामी बिहान करीब ५ बजे उठिन्छ । दक्षिण कोरियाको नियम के छ भने कार्यस्थलमा निर्धारित समयभन्दा १० मिनेट पहिले पुग्नु पर्दछ । ५ः ३० बाट काम हुने भएकाले ५ः२० मा गाई फार्ममा उपस्थित हुनु पर्दछ । गाइको गोबर सोहोर्ने, दूध दुहुने, गाईलाई दाना ,घाँस दिने संकलित दुध कम्पनीलाई उपलब्ध गराउने काम गरिन्छ । मैले अगाडि नै भने कि काममा मेशिनको प्रयोग गरिने भएकाले छिटो र सजिलो हुन्छ । दिउँसो कोठामा आएर खाना पकाएर खाईन्छ । बेलुकी ३ बजे देखि ७ बजे सम्म फेरि फर्ममा काम गरिन्छ । दक्षिण कोरियामा मजदूरको ८ घण्टा कामको न्यूनतम ज्याला २१ लाख वन अर्थात २ लाख १० हजार नेपाली रुपैयाँ हुन्छ । खानका लागि चामल कम्पनीले दिन्छ । तरकारी र अरु चीज आफैले किनिन्छ । कतिपय कम्पनीहरुमा ओभर टाईम गर्नेले धेरै पनि कमाई गर्दछन् । गोभरमेण्ट टु गोभरमेण्ट सम्झौता भई कोरियामा कामदार पठाउने भएकाले दलालबाट ठगिने समस्या हुँदैन । कम्पनी छनौट गरेपछि कामको सुनिश्चित हुन्छ । मैले महिनामा २ दिन छुट्टि पाउँछु । छुट्टिको बेला सामाजिक संघ संस्थामा काम गरिन्छ । साथी भाइलाई भेटिन्छ ।

रुपन्देहीको रुद्रपुरमा मेरो बुबा कर्णबहादुर थापा हार्मोनियम बजाउने र गाउने हुनाले म पनि त्यसबाट प्रभावित भएँ । रक्तिम परिवारको कलाकार बनेर हिँडे । सानै उमेरदेखि संगठनमा आबद्ध भएँ । भारत चेन्नैमा हूँदापनि मैले संगठनमा काम गरें । २०६६ वैशाखको संघीयता विरोधी काठमाडौं केन्द्रित आन्दोलन सफल पार्न एक महिना पहिले नै काठमाडौं गएर स्वयंसेवकको काम गरेको थिएँ । पछि रुपन्देहीमा पत्रिका जीतगढी पोष्टबाट देउसी भैलो खेलियो । यहाँ कोरिया आइसकेपछि पनि म दक्षिण कोरिया नेपाली एकता समाजसित जोडिएँ । एकता समाजसितको सम्बन्ध मेरो अहिले पनि कायमै छ ।

फुर्सदको समय मिलाएर मैले दुई वर्ष २०२१–२०२३ सम्म आदरणीय गुरु नगेन्द्र विक्रम राईबाट बाँसुरीको अनलाईन तालिम लिएँ । रेडियो नेपालका शाखा अधिकृत सुनिल बर्देवासित मादल बजाउने अनलाईन तालिम लिईरहेको छु । कोरियामा हुने विभिन्न सांस्कृतिक कार्यक्रममा मलाई पनि साथीहरुले टिममा लैजानु हुन्छ । एउटा वाद्यबादकको रुपमा मैले काम गर्दछु ।

नेपालमा पनि कोरियामा जस्तै गाई फार्म खोल्न पाए हुने थियो भन्ने लाग्छ तर नेपालमा व्यवस्था नै ठीक नभएकाले अहिले नै त्यो स्तरमा गाई पालन र दूध उत्पादन गर्न सकिन्न । घाँसको बिउ खोज्न गयो बिग्रेको बिउ हुने, भ्रष्टाचार र कमिशनको समस्या छ । दूधको बिक्री र बजार व्यवस्थाको अभाव हुने लगायत समस्या छन् ।
यहाँ गाईको दूध मात्र नभएर गाइको मासु बिक्री हून्छ । गाईको बाच्छा भएपनि अझै महँगोमा बिक्री हुन्छ । मासु, छाला सबै बिक्री हुन्छ । तर नेपाली हिन्दु समाजमा गाइको मासु पनि बिक्री हुँदैन । आफ्नै देशमा बसेर काम गर्ने रहर त कसलाई हुँदैन र ? परिवार छोडेर विदेशिन कसलाई मन हुन्छ र ? तर सामाजिक संजालबाट घरपरिवारसँग कुरा भइरहन्छ । www.hanktoday.com बाट

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?