माओवादी घटकहरू बीचको एकता तर कसरी ?

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बेलाबखत आफूलाई संकटको महशुस हुनासाथ माओवादी घटकहरु बीचको एकताको कुरा उठाउने गर्नुभएको छ । तर सबैलाई थाहा छ उहाँले उक्त एकताका लागि ०६३ पछि हालसम्म कुनै पनि प्रयास गर्नुभएको छैनभने सो कार्य अब प्राय: असंभव बन्दै पनि गएको छ । मुख्यत क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालले भोली माघ १६ गतेबाट आगामी चैत २४ गतेसम्म जनसंघर्षका बिभिन्न कार्यक्रम सार्बजनिक गरेपछि दाहालले पूर्ब माओवादीका घटकहरु जतिबेला पनि एक हुनसक्छौं भन्ने अभिब्यक्ति दिएर राष्ट्रिय र अन्तराष्ट्रिय शक्ति केन्द्रहरुलाई प्रभावितगर्न खोजेको देखिएको छ । माओवादी केन्द्रको मुख्यालय कोटेश्वरमा गत १३ गते शनिबार शहीद प्रतिष्ठान नेपालको १४ औँ वार्षिक साधारणसभालाई सम्बोधनगर्दै दाहालले मुख्यत दुईवटा कुराहरु एकसाथ अगाडि सार्नुभएको थियो । पहिलो पूर्ब माओवादीका सबै घटक एक हुन सक्छन् भन्ने होभने दोश्रो नेतृत्वमा अझैपनि आफ्नो बिकल्प छैनभन्ने हो । उक्त कार्यक्रममा सम्बोधन गर्नेक्रममा उहाँले ‘माओवादी बिचारधारामा छरिएर रहेका नेता तथा कार्यकर्तालाई एकताबद्ध हुन अपिल गर्दछु’ समेत भन्नुभएको थियो । उहाँले आफ्नो भनाईमा अझ जोडदिँदै ‘देशभरका माओवादी आन्दोलनका सबै कित्ताका सहकर्मीलाई एकताबद्ध हुन र एकढिक्का भएर कामगर्न अपिल गर्दछु’ पनि भन्नुभएको थियो । उहाँले त्यसक्रममा जनयुद्धका शहीद, बेपत्ता तथा घाइतेलाई राज्यले कुनै न कुनैरुपमा सम्बोधन गरेको बताउँदै जनयुद्धका घाइतेहरुको पुन: वर्गीकरण गरिने कथन पनि अगाडि सार्नुभएको थियो । उहाँले कतिपय अझै घाइतेकारुपमा सूचीकृत हुन छुटेकोभन्ने छ, उहाँहरुलाई घाइतेको सूचीमा पुन: समावेश गरिन्छ, शहीद, बेपत्ता तथा घाइतेका परिवारलाई राज्यले सहयोग गरेको छ, त्यसलाई सिंगो पार्टी पंक्तिले आत्मबोध गर्नुपर्छ पनि भन्नुभएको थियो । उहाँले पार्टीको नेतृत्वमा अझै आफ्नो जिम्मेवारी रहेको निष्कर्षमा आफू रहेको बताउदै पार्टीको नेतृत्वमा नयाँ पुस्ता आउने काम अझै बाँकी रहेको र उनीहरुलाई नेतृत्वमा ल्याउनका लागि आफूले वातावरण ‘बनाइदिने’ दाबिसमेत गर्नुभएको थियो । दाहालले यसअघि पनि आफूलाई संकट परेको अवस्थामा जहिले पनि पूर्ब माओवादी घटकहरुका बीचमा एकताको कुरागर्ने गर्नुभएको थियो । तर उहाँ आफू राष्ट्रिय रुपमा सामन्तवादी पार्टी नेपाली कांग्रेस र अन्तराष्ट्रियरुपमा बिस्तारवादी भारत तथा साम्राज्यवादी अमेरिका निकट पुग्नुभएको छ । पार्टीको नामको पछाडि अझै माओवादी केन्द्र शब्द प्रयोग गरे पनि उहाँले सो नाम हटाउनका लागि आगामी फागुन १–३ मा आफ्नो पार्टीको विधान सम्मेलनको आयोजना गर्नुभएको छ । साथसाथै उहाँले कम्युनिष्ट पार्टी र राजनीति दुबै छाडेका डा. बाबुराम भट्टराई र एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पार्टी एकताका लागि जोरजुलुम गरिरहनु भएको देखिन्छ ।

माओवादी केन्द्रसँग पार्टी एकताका लागि डा. भट्टराईले पार्टीको नाम ‘नेकपा’ राख्नु नहुने शर्त अगाडि सार्नुभएको छभने नेपालले ‘माओवादी’ शब्द हटाउनुपर्ने बताउँदै आउनु भएको छ । हुन त यसअघि ०७५ जेठ तीनगते एमालेसँग पार्टी एकतागर्दै माओवादी केन्द्रले औपचारिकरुपमै माओवाद परित्याग गरिसकेको थियो । ०७७ फागुन २३ को अदालतको एक फैसलालाई बहाना बनाएर एमालेसँग फुटेपछि पनि अध्यक्ष दाहालले आफ्नो पार्टीको फुटपछिको पहिलो बैठकमै पार्टीको नामबाट माओवादी केन्द्र हटाउने प्रस्ताव गर्नुभएको थियो । त्यसैले दाहाललाई माओवाद र पूर्ब माओवादी समूह दुबैको मोह भंग भैसकेको देखिएको छ । पछिल्लो समयमा उहाँको राजनीतिक गन्तब्य एमालेजस्तो बन्ने तिरभन्दा पनि कांग्रेसतिरै सोझिएको देखिन्छ । त्यसैले नेकांका सभापति शेरबहादुर देउवाले दाहाललाई तत्काल चिढ्याउन नचाहेको देखिएको छभने सो पार्टीका देउवा इतरका नेताहरु दाहालसँगको तर्सिएको र सहकार्यबाट अलग हुने प्रयासमा लागेको देखिन्छ । दाहालले पूर्ब माओवादी समूहबीचको एकताको कुरागर्दा त्यो कर्णप्रिय भएपनि कसरी भन्ने अहम प्रश्न रहेको छ । किनकी पहिलो कुरा माओवादी केन्द्र र मुख्यत अध्यक्ष दाहालले कम्युनिष्ट राजनीतिका विश्वब्यापि मूल्य, मान्यता र आदर्श कुनै पनि पालना गरिरहनु भएको छैन । दोश्रो कुरा क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालले यसअघिनै ०६२ मंसिर सातगते दिल्लीमा भएको १२ बुँदे सहमति, ०६३ मंसिर पाँचगते भएको शान्ति संझौता, संविधान सभाको निर्वाचन, ०७२ को संविधान र बिद्यमान राजनीतिक ब्यवस्थालाई अमान्य घोषणा गरिसकेको छ । सो पार्टीले ०७२ को संविधानलाई देशमा बिद्यमान सबै समस्याहरुको ‘जड’ भनेको छ । साथै सो पार्टीले आगामी ०८१ को जेठसम्ममा जनसंविधानको निर्माण, क्रान्तिकारी जनसरकारको घोषणा र जनगणतन्त्र स्थापनाको आन्दोलनलाई तीब्र बनाउने योजना पनि सार्बजनिक गरेको छ । जसका लागि ७७ वटै जिल्ला प्रशासन कार्यालयमा मागपत्रहरु पेशभैसकेका छन् । क्रान्तिकारी कम्युनिष्ट पार्टीले बर्तमान राज्य सत्तालाई ‘घोर प्रतिक्रियावादी’ र माओवादी केन्द्रका अध्यक्ष तथा हालका प्रधानमन्त्रि पुष्पकमल दाहाललाई ‘दक्षिणपन्थी अवसरवादी’ ठहर गरेको अवस्था छ । यस्तो अवस्थामा पूर्ब माओवादी घटकहरुसँग कुनै सामान्य छलफलसमेत नगरी दाहालले एकताका लागि आह्वानगर्नु आफैमा हास्यास्पद प्रचारबाजी हो । बिवादास्पद अमेरिकी योजना एमसीसी नेपालको संसदबाट पारित भएको नाटकीय घोषणा गराउन उहाँले खेलेको भूमिका, भारत समर्थित नेकांका नेतालाई राष्ट्रपति बनाउन खेलेको भूमिका र गत पुस १९ गते भारतसँग गरिएको चारबुँदे राष्ट्रघाति संझौता लगायतका कारण सही कम्युनिष्ट पार्टीहरुले दाहाललाई फेरी कम्युनिष्ट नेताका रुपमा स्वीकारगर्ने कुनै पनि संभावना देखिएको छैन । माओवादी केन्द्रले पार्टीलाई राजनीतिकरुपमा भ्रष्टिकरणगर्दै पूर्णरुपले संसदीय बनाउने प्रयास गरेको देखिएको छ । जुन कुरा आगामी विधान सम्मेलनमा पेशगर्न तयार पारिएकोभनी सार्बजनिक गरिएको मस्यौदाले पनि स्पष्ट गरेको छ । लेनिनवादी संगठनात्मक सिद्धान्तले जनवाद र केन्द्रीयताका विषयहरुको व्याख्यासहित कड्याइकासाथ त्यसको कार्यान्वयनमा जोडसमेत दिएको छ । यसलाई कडा अनुशासनकारुपमा समेत हेर्नेगरिएको छ ।

लेनिनवादी संगठनात्मक सिद्धान्तअनुसार व्यक्ति संगठनको अधिनस्थ हुन्छ, अल्पमत बहुमतको अधिनस्थ हुन्छ, तल्लो समिति माथिल्लो समितिको अधिनस्थ हुन्छ, पार्टीका सम्पूर्ण समितिहरु केन्द्रीय समितिको अधिनस्थ हुन्छन्, केन्द्रीय समिति महाधिवेशनको अधिनस्थ हुन्छ र महाधिवेशन सम्पूर्ण पार्टी सदस्यहरुको अधिनस्थ हुन्छभन्ने रहेको छ । तर माओवादी केन्द्रमा जिल्ला समिति लगायतलाई स्वतन्त्रता दिन माग भैरहेको छ । सो पार्टी नीति प्रधानबाट क्रमश: नेता प्रधान बन्दैगएको स्पष्ट छ । जहाँ अध्यक्ष दाहालको अन्ध समर्थनगर्ने बाहेक अरु सबैलाई पाखा लगाउने कामहरु भएका छन् । हालैको चार महिने अभियानमा पनि सो कुरा प्रमाणित भएको थियो । जुन अभियानमा दाहालसँग बैचारिक रुपले असहमति राख्ने कतिपय पुराना र निष्ठावान नेताहरुलाई भेट्ने र सदस्यता नविकरणगर्ने कामसमेत भएन । संयुक्त मोर्चा र बामपन्थी एकताको सवाल, राष्ट्रियताकोे प्रश्न, जनतन्त्रका सम्वन्धमा, जनजीविकाको सवाल, जाति,भाषा र साँस्कृतिक समस्याको सवाल, समकालीन विश्व परिस्थितिलाई हेर्ने सवाल, सर्बहारा अन्तर्राष्ट्रवादी निष्ठाको सवाल कम्युनिष्ट राजनीतिका लागि धेरै महत्वपूर्ण मानिन्छन् । तर माओवादी केन्द्र उक्त सवालहरुमा क्रमश: भ्रमित हुँदैगएको देखिएको छ । पदमा पुग्न र सधै टिकीरहनका लागि दाहालले संसदीय राजनीति भित्र पनि ‘चुनावी र सत्ता गठबन्धन’ तथा पदका लागि ‘आलोपालो’ पद्धतिको जसरी आबिष्कार गर्नुभएको छ, त्यसको संसदीय राजनीतिक फाँटमा समेत बिरोध भैरहेको छ । त्यसले नेपालको समग्र राष्ट्रिय राजनीतिलाई नै दुषित बनाउने काम गरेको धेरैको मूल्यांकन छ । दाहालले रचना गरेको उपरोक्त प्रणालीले समयक्रममा बिभिन्न पार्टीहरुलाई पनि गाँज्ने स्पष्ट संकेत देखिएको छ ।

अवसरवादलाई कुनैपनि राजनीतिको ‘महारोग’ भनिन्छ । दाहालले ०६२ पछि अख्तियार गर्नुभएका प्राय: कदमहरु अवसरवादमा आधारित देखिएका छन् । पहिले, पहिले उहाँ राजनीतिलाई ‘बिचारको खेल’ मान्नु हुन्थ्योभने हाल ‘संभावनाको खेल’ मान्न थाल्नुभएको छ । त्यो भनेको अवसरको खेल नै हो । दाहालको कम्युनिष्ट राजनीति र आदर्शबाट पछिहटाइका कारण मुख्यत नेपालको कम्युनिष्ट आन्दोलन र राजनीतिले समेत ठूलो धक्का खानुपरेको छ । जसको इतिहासले मूल्यांकनगर्ने छ । आश्चर्यको बिषय के छभने उहाँहरुले पटक, पटक सत्तामा पुग्दा पनि ०५२ सालमा आफैले अगाडि सारेका ४० सूत्रीय मागसमेत पूरा गरिरहनु भएको छैन । बरु उक्त मागका बिपरितका गतिबिधिहरु बढ्दै गएका छन् । उहाँहरु जनयुद्ध समाप्त भएको र चिहानमा पुगेको अर्थमा टिकाटिप्पणी गरिरहनु भएको छभने क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालले जनयुद्ध जारी रहेकोभन्दै त्यसका लागि नयाँ ढंगले संयोजन गरिरहेको देखिएको छ । हालसम्म जनयुद्धका क्रमममा कतिपय नेता तथा कार्यकर्ताहरु माथि तत्कालीन सरकारले लगाएका झुठा मुद्धाहरु फिर्ता हुनसकेका छैनन् । कतिपय कार्यकर्ताहरु रोजगारीको खोजीमा रुस र युक्रेनको सेनामा भर्ति भएर मारिएका समाचारहरु बाहिर आउनेक्रम जारी छ । हालसम्म पनि कतिपय पुराना कुरालाई लिएर रिट दायरगर्ने कामहरु भैरहेका छन् । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्रि दाहालकै बिरुद्ध नयाँ नयाँ रिटहरु दायर भैरहेका छन् । तर उहाँ आफै बिरुद्धको मुद्धा फिर्ता लिन सकिरहनु भएको छैन । कतिपय पूर्ब माओवादी घटकका नेताहरु बिरुद्ध पक्राउ पूर्जी जारीगर्नेक्रम यथावत रहेको छ । यस्तो अवस्थामा उहाँले पूर्ब माओवादी घटकहरुका बीचमा एकताको कुरा उठाउनु आफैमा ब्यंग्यजस्तो भएको छ । त्यसैले यस्ता उल्टा पुल्टा कुरा गरेर कोही कसैको पनि राजनीतिक अभिष्ट पूरा हुने संभावना छैन । प्रचारभन्दा कामलाई बढी जोड दिनु आजको परम आवश्यकता भएको छ ।

Blanqui

Blanqui

Web Developer

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?