
काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य पूर्णबहादुर खड्कालाई जिल्ला प्रहरी कार्यालय माडी सिन्धुलीले गैरकानुनी हिरासतमा राखेकोमा राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दर्ता भएको छ । पूर्णबहादुर खड्काका छोरा भगवान खड्काले मानवअधिकार आयोगमा उजुरी दर्ता गराउनु भएको हो ।
उजुरीमा पूर्णबहादुर खड्कालाई फरक विचार र आस्था राखेकै कारण संविधान विपरीत गिरफ्तारी गरिएको ,परिवारका सदस्यहरुलाई समेत भेटघाट गर्न नदिइएको जनाइएको छ । उहाँलाई झूठा आरोप लगाई गैरकानुनी रुपमा हिरासतमा राखिएको कारण के कुन कसुरमा पक्राउ गरिएको हो ? हालसम्म के कति अनुसन्धान काम सम्पन्न भयो भन्ने जानकारी समेत नदिइएको उजुरी पत्रमा उल्लेख गरिएको छ । मानवअधिकार आयोगमा सो गैरकानुनी हिरासतको विषयमा अनुसन्धान गरी कार्वाहीकालागि सिफारिस समेत गर्न अनुरोध गरिएको छ ।
उजुरीमा नेपाल सरकार गृह मन्त्रालय सिंहदरबार काठमाण्डौ, प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौ , जिल्ला प्रशासन कार्यालय सिन्धुली , सोही जिल्लाका प्रमुख जिल्ला अधिकारी , जिल्ला प्रहरी कार्यालय सिन्धुली , इलाका प्रहरी कार्यालय डकाहा सिन्धुली , प्रहरी चौकी दुधोली सिन्धुलीलाई विपक्षी बनाइएको छ ।
पूर्ण बहादुर खड्कालाई २०८२ माघ १६ गते निर्वाचन बहिस्कारको कार्यक्रम सकेर फकिँदै गर्दा सिन्धुली जिल्लाको दुधौलीबाट पक्राउ गरिएको थियो । माघ १८ गते बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर पश्चात २०८२ माघ २० गते माननीय न्यायधीश विनोद शर्माको इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो ।



