
सुर्खेतमा कक्षा ११ मा अध्ययन गर्दै आएकी इनिसा बि.क. गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगरमा बसोबास गर्दै आएकी थिइन् । २०८२÷११÷२४ बिहान घरबाट “ट्युसन पढ्न जान्छु” भन्दै निस्किएकी तर घर फर्किइनन् । उनलाई सामुहिक बलत्कार पछि हत्या गरिएको छ । अपराधमा संलग्नलाई प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तारलाई कडा भन्दा कडा कारबाहीको माग र इनिशा वि.क.लाई न्याय तथा परिवारजनलाई क्षतिपूर्तिको माग गर्दै देशभर प्रदर्शन भइरहेको छ । ११६औं महिला दिवशको दिनमा सुर्खेत इनिशा वि.क. हत्या भयो । महिलाहरुले संसारभर आठमार्च मनाइरहँदा इनिशाको बलत्कार तथा हत्या भएको छ ।
२०७५ साउन १० गते कञ्चनपुरकी भिमदत्त नगरपालिकाको १३ वर्षीय किशोरी निर्मला पन्तको बलत्कार पछि हत्या भएको थियो । बलत्कार पछि हत्या भएकी उनको भित्री वस्त्रहरु सुरक्षाकर्मी बाटै धोइ पखाली गरेर प्रमाणहरु लुकाउने काम भएको थियो । उनको हत्याको विरोधमा देशमा निकै ठूला ठूला प्रदर्शन भए तर उनको हत्यामा संलग्नलाई अहिलेसम्म पक्रन र कानुनी कारबाही गर्न राज्य असफल भएको छ । उनको हत्यामा संलग्न को हो ? किन उनको हत्या भएको थियो अहिलेसम्म कसैले पत्ता लगाउन सकेको छैन । २०८० माघ २७ मा सिराहाको नवराजपुर १ की १७ वर्षीय रिंकु कुमारी सदाको बलत्कार पछि हत्या भएको थियो । शौचालय हिंडेकी रिंकुको स्थानीय तीन जना युवकले सामुहिक बलत्कार गरी हत्या गरेका थिए । यी महिलामाथि हुने गरेका हिंसाका केही प्रतिनिधि घटना मात्रै हुन् ।
महिलाहरु माथि हिंसा, हत्या तथा बलत्कारका घटनाहरु दिनानुदिन बढ्दो छ । सूचना प्रविधिमा भएको विकासले महिला हिंसालाई झनै बल पुगेको छ । महिलाहरुमाथि डिजिटल माध्यमबाट हिंसा भइरहेका छन् । महिलाहरुमाथि प्रविधिको विकास भएसँगै साइबर बुलिङ, घृणास्पद अभिव्यक्ति ,ट्रोलिङ ,अनलाइन धम्की, एआइ जेनेरेटेड डिपफेक ,चरित्र हत्या गर्ने जस्ता कार्यहरु भइरहेका छन् । मन मिल्दा भएका कुराहरुलाई समेत प्रविधिको प्रयोग गरेर मन नमिलेको बेलामा हिंसाको माध्यम बनाउने गरिएका छन् । विज्ञान तथा प्रविधि जे को विकास भए पनि महिलामाथि हिंसा नै हुने गरेको छ । महिला भए कै कारण गर्भमा नै चिनेर छोरीको भ्रुणको हत्या गर्ने छोरा भए राख्ने हाम्रो समाजमा छ । गर्भपतन लिंगको आधारमा गर्न पाइँदैन तर पनि भइहेका छन् । छोरी भएकै कारण जन्मन नपाउने अवस्था छ ।
२०८१÷८२ को तथ्यांकअनुसार यो अवधिमा दुई हजार दुई सय दुईजना बालिका हिंसामा परेका छन् । बलात्कार घटनामध्येमा दुई सय ३८ जना दलित बालिका रहेका छन् । यो संख्या कुल बालिका बलात्कारको १९.३ प्रतिशत हो । इन्सेकको २०८०÷८१ को तथ्यांकअनुसार पाँच हजार आठ सय ८६ वटा घटनामध्येमा चार हजार आठ सय ३८ महिला हिंसासम्बन्धी छन् । यी तथ्याङकहरुले महिलामाथि हिंसामा अहिले पनि कमी आउन सकेको छैन भन्ने देखाउँछ । यसले जातीय रुपमा महिलामाथि हिंसा हुने गर्दछ भन्ने देखाउँछ ।समाजमा अपराधीकरणले हुर्कने मौका यस्तो बेलामा विकास भएको हुन्छ जुन बेलामा राज्यको उपस्थिति शून्य हुन्छ । राज्यमा दण्डहीनता बढेको हुन्छ त्यो बेलामा समाजमा अपराधीकरणले बढ्ने मौका पाउँछन् । अहिले समाजमा जो जसले जे गर्दा पनि हुने अवस्था छ । जेनजी आन्दोलनपछि खस्केको प्रहरीको मनोबल राज्यले उठाउन सकेको छैन । अपराधीहरु खुल्लमखुल्ला रुपमा डुलिरहेका छन् । लुटपाट, तोडफोड, आगजनीमा संलग्नहरुलाई राज्यले वेवास्ता गरेको छ । जेनजी आन्दोलनको नाममा युवाहरु मराउनेले केही सजाय भोग्ने केही सुरसार छैन ।
समाज अशिक्षित भएर हिंसामा बढावा भएको पनि होइन । राष्ट्रिय जनगणना २०७८ अनुसार पुरुष साक्षरता ८३.३ प्रतिशत र महिला साक्षरता दर ६९.३ प्रतिशत देखाएको छ । नेपाल सरकारले राष्ट्रिय लैंगिक समानता नीति २०७७ बनाएको छ । संविधान सबै नागरिकलाई निर्भयतापूर्वक बाँच्न पाउने अधिकार दिएको छ तर महिलाहरुमाथि भने कति बेला के हुने हो ? भन्ने त्रास मनमा बोकेर हिँड्नु पर्ने अवस्था छ । घरमा आइपुग्न अलिकता ढिलो हुँदा पनि छोरी, अर्थात महिला जातिलाई केही भइसक्यो कि भन्ने त्रास मनमा सिर्जना हुने अवस्था छ । कोही कसैलाई विश्वास नै गर्न नसकिने अवस्था सिर्जना भएको छ । महिला सुरक्षाको ग्यारेण्टी गर्न नत समाजले सकेको छ नत राज्यले नै सकेको छ । महिला हिंसा ,महिला हत्या नरोकिनुमा आखिर दोष कसको होत ?
समाजमा अशिक्षा तथा अज्ञानताको कारण भएको होला भन्नु पनि शिक्षाको साक्षरता दर बढेको छ ।नजानेर वा अज्ञानतावश भएको हुन सक्ने हो भनेर भन्ने हो भने पनि सूचना तथा प्रविधिको विकासले सबैलाई केही न केही ज्ञान दिन दिनै दिएको छ तर पनि व्यवहारिक रुपमा महिलामाथिको हिंसामा कमी हुन सकेको छैन । महिलाहरुको हिंसा नरोकिनुको कारण सामाजिक,राजनैतिक,आर्थिक ,साँस्कृतिक तथा मनोवैज्ञानिक कारणहरु जिम्मेवार छन् । त्यो सबैको केन्द्र पुरुषप्रधानसमाज हो । छोरीलाई जन्मिन नै नदिएर भु्रण हत्या हुन्छ । पछिल्लो अवधिमा छोरा छोरी समान हुन भन्ने धारणामा विकास भए पनि छोरीको भ्रुण हत्या बढिरहेको छ । महिलाहरुले निर्भयतापूर्वक बाँच्न पाउने अधिकार खोसिएको छ । महिला आफुजस्तै मान्छे हो,उनले आफुले जस्तै अधिकारहरुको उपभोग गर्न पाउनु पर्छ ।उनीहरुको पनि मन छ,उनीहरुलाई पनि दःुख्छ । उनीहरुको पनि अधिकार छ, उनीहरुलाई परेको समस्या आफ्नोसरी नै हो भनेर थोरैमात्र सोच्न सकेको अवस्थामा महिला हिंसा कम हुने थियो,बालिका बलत्कार र हत्या कम हुने थियो ।
समाजले छोरालाई माथिल्लो र छोरीलाई तल्लो स्थान दिएको छ । यसको प्रतिविम्ब व्यवहारमा देखिन्छ । छोरीको उपस्थितिलाई कमजोर मान्ने,छोरा भएमा धर्म भएको ठान्ने र छोरी भएकोमा पाप भएको ठान्ने समाजमा अन्धविश्वास छन् । यस्तोखालको मनोदशा भएको कारण छोरी जातिलाई बलत्कार गर्न,मार्न,हिंसा गर्न मनोबल बढिरहेको छ । महिलालाई मान्छे नै नठान्ने मनोविज्ञान भएका कारण महिला हिंसालाई प्रोत्साहन गरेको छ । अपराध कर्म गरेकाहरुलाई पनि कारवाही नहुने अपराधीहरुले जति मात्रामा सजाय पाउनु पर्ने हो त्यति मात्रामा सजाय नपाउँदा पनि अपराधीहरुको मनोबल उठिरहेको छ ।
पन्चायती शासन व्यवस्थादेखि हालको दलाल संसदीय व्यवस्थासम्म आईपुग्दा थुप्रै यस्ता घटना घटेका छन, जुन घटनाले न हालसम्म न्याय पाएका छन न अनुसन्धान प्रक्रिया नै गतिलो गरि भएको छ । हिजोको नमिता–सुनिता हत्याकाण्ड होस या आजको निर्मला, भागिरथी, इनिशा बलात्कारपछि हत्याकाण्ड यी सबै सत्ताको शक्तिलाई दुरुपयोग गर्दै दोषीलाई उन्मुक्ति दिने गरेका घटनाहरु हुन् । हालको अवस्थामा दैनिक ७ वटा घटनाहरु यस किसिमको घट्ने गरेको तथ्यांक छ ।
महिलामाथि हुने यस्ता घटनाहरु रोक्न समाज सचेत हुनु पर्दछ । समाजका सबै सचेत जनहरुले छोरी बचाउँ अभियान चलाउनु पर्दछ । महिलाहरुले महिला भएकै कारण हिंसाहरु सहनुपर्ने स्थितिको अन्त्य गर्न राज्यमा महिलाहरुको पहुँचलाई बढाउनु पर्दछ । महिलाहरुलाई कुनै पनि क्षेत्रमा कमजोर बन्ने स्थितिको अन्त्य हुनु पर्दछ । हरेक क्षेत्रमा महिलालाई नै प्राथमिकता दिनु पर्दछ । अपराधीको मनोबल बढ्ने खालको कुनै पनि नीति र निर्णयहरुलाई खारेज गर्नु पर्दछ । सामाजिक संजाल तथा डिजिटल हिंसाबाट बच्न महिलाहरुले यिनीहरुलाई निकै सोची विचारी मात्रै चलाउनु पर्दछ । उमेरसमुह अनुसार सामाजिक संजालहरु प्रयोगमा रोक लगाउनु पर्दछ । सूचना प्रविधिको प्रयोगबाट महिलाहरुमाथि डिजिटलाइज्ड हिंसा बढिरहेका छन् । सामाजिक संजालमा जोडिएकाहरुसँग सचेत रहनु पर्दछ । मानिसहरुलाई सामाजिक संजालले जोडेसँगै महिलामाथि संसारभरमा हिंसा हुने अवस्था सिर्जना हुँदैछ ।
महिलामाथि हुने हिंसाको गम्भीरतापूर्वक अध्ययन हुन जरुरी छ । घटना घट्यो सकियो,अपराधी समातियो सकियो भन्ने जस्तो गर्नु भएन । समाजमा घटिरहने यस्ता घटनाहरुबाट पाठ सिकेर घर समाजमा छोराहरुलाई गम्भीरतापूर्वक सिकाउनु प¥यो । आफ्ना घरका दिदी,बहिनी,आमा,भाउजु वा छोरीवेटी र समाजका दिदी, बहिनी, छोरीवेटी प्रति समाजमा आफुले कस्तो व्यवहार गर्नु पर्छ भनेर नैतिक शिक्षा दिनु प¥यो । पाठ्यक्रमहरुमा त्यो विषयमा समावेश गर्नु प¥यो । मर्दले जे गरे पनि हुन्छ भन्ने हाम्रो समाजको मनोविज्ञानलाई चिर्नु प¥यो । अपराध कर्म गरेकालाई हुने सजाय कारवाहीको बारेमा सिकाउनुप¥यो । अपराध हुनै नदिन सचेतता अपनाउनु प¥यो । अपराध भइसकेपछि दोषीलाई कारवाहीको भागीदार बनाउनु प¥यो । यो वा त्यो बहानामा छुटकारा पाउने वातावरण बनाउनु भएन । प्रेम,यौनको विषयमा गम्भीरतापूर्वक सिकाउनु प¥यो । यसलाई लाजको विषय नबनाएर पाठ्यक्रमहरुमा समावेश गर्नु प¥यो । यौनको विषयलाई हल्काफुल्का रुपमा सोच्ने चिन्तनलाई फाल्नु प¥यो । छोरी जातिलाई सम्मान गर्न के के गर्नु पर्छ भनेर नसिकाएसम्म छोरी जातिमाथि हिंसा बढि नै रहने छ । छोरी जाति असुरक्षित भएको समाजलाई कुनै पनि अवस्थामा सभ्य समाज मान्न सकिँदैन । सभ्य समाज निर्माण गर्न छोरी जातिको सुरक्षामा ध्यान दिनुपर्दछ ।