
स्थायी समिति सदस्य तथा प्रवक्ता, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल
(राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालयको आयोजनामा २०८३ वैशाख २६ गते ‘संविधान संशोधनको सन्दर्भमा गणतन्त्र र राष्ट्रियता’ विषयक अन्तरक्रियामा पार्टीको तर्फबाट क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता हेमन्त प्रकाश ओली ‘सुदर्शन’ ले व्यक्त गरेको विचारलाई यहाँ दिइएको छ। )
आजको छलफलको विषय संविधान संशोधनको विषय छ। त्यो सँग जोडिएको गणतन्त्र र राष्ट्रियताको सवाल पनि छ। अहिलेको परिस्थिति के हो ? हामीले त्यसलाई हेर्नुपर्दछ । संविधान र कानुन भन्ने कुरा क्रान्तिले निर्धारण गर्दछ,निर्माण गर्दछ। कानुन र संविधानले क्रान्ति निर्माण गर्दैन ।अर्थात कानुन र संविधानले क्रान्ति ल्याउँदैन । हाम्रो ध्यान यता जानुपर्दछ किनभने यसै संविधानमा रहिरह्यौ र समाजवाद उन्मुखसंविधान छ भनेर मजासँग यसैमा रमाइरह्यो, अन्तरक्रिया मात्र गरिराख्यौँ भने परिवर्तन हुँदैन । यहाँ एक प्रकारको प्रतिक्रान्ति भइसकेको छ । यो संविधान अलिकति बचेको छ, त्यसमा केही प्रगतिशील कुराहरू छन्।संविधान बचेको छ भन्ने कुरा मात्र हो तर राजनीतिक रुपले प्रतिक्रान्ति भइसकेको छ।जनयुद्ध र जनआन्दोलनको जगमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको थियो, त्यसमा प्रतिक्रान्ति भइसकेको छ। म पहिलो कुरा के जोड दिन चाहन्छु भने हामीले आमूल परिवर्तनको विषयलाई नै जोड दिएर जानुछ, जानु पर्छ । तर आएका विषयहरूमाथि पार्टीले आफ्ना धारणा राख्नुपर्यो।
राष्ट्रिय जनमोर्चाको तर्फबाट चित्रबहादुर केसीजीले जुन अवधारणा पेश गर्नुभएको छ, त्यो आफ्नो ठाउँमा ठिकै छ। १५ वटा बुँदामा निकै मेहनतका साथ यो अवधारणा पत्र प्रस्तुत गरिएको छ। यसमा उहाँका आफ्नो पार्टीका धारणाहरू परेका छन्। अहिलेको समसामयिक सन्दर्भहरू यहाँ परेका छन्। हामीले अहिलेको अर्थ सामाजिक स्थितिलाई हेर्नुपर्ने हुन्छ। नेपालमा अर्धसामन्ती र अर्धउपनिवेशिक अवशेषहरू रहेको कुरा सत्य हो । देश नव औपनिवेशिक भइसक्यो भन्ने कुरामा हामी ढुक्क हुनुपर्दछ। नवऔपनिवेशिक भनेको के हो भन्ने कुरा अहिले नेपालमा जे भएको छ त्यही हो भने पुग्छ।
नव औपनिवेशीकरण कसरी हुँदो रहेछ भन्ने कुरा हामीले भोगिरहेका छौं। भारतमा अङ्ग्रेजले सेना ल्याएर ३०० वर्ष शासन गरे जस्तो गरी साम्राज्यवाद आउँदैन।अहिले त्यसरी औपनिवेशीकरण हुँदैन। अहिले राजनीतिक दलालहरू खडा गरेर औपनिवेशीकरण गरिन्छ, यस किसिमको परिवर्तन गरिन्छ। पश्चिमाहरूले खासगरी अमेरिकनहरूले नेपालको स्थितिलाई बुझे। नेपालमा राजनीतिक पार्टीहरू कसरी स्थापित भएका छन्? त्यो कुरा उनीहरूले बुझे। २००७ सालदेखि २०३१ सालसम्म आउँदाखेरि, ७ सालदेखि २०३१ सालको जहाज अपहरणसम्मको घटनालाई हेर्दाखेरि सशस्त्र क्रान्तिबाट नेपाली कांग्रेस स्थापित भयो। अर्को पार्टी नेकपा एमाले कसरी स्थापित भयो त भन्दाखेरि त्यो झापा विद्रोहबाट स्थापित भयो । १० वर्षको जनयुद्धबाट अर्को पार्टी स्थापित भयो। त्यो अहिले नेकपा भन्छ । यहाँ लिलामणि दाइ आउनुभएको छ । त्यही कुराको अध्ययन गरेर उनीहरूले नेपालमा उपद्रोह मच्चाए र यस किसिमको स्थिति ल्याए। सिधा हिसाबले हेर्दा भदौ २३ र २४ को जेन्जी ‘विद्रोह’ आकस्मिक रुपमा भएको जस्तो देखिन्छ। यथार्थ कुरा के हो भने त्यो घटना घट्नका लागि लामो समयदेखि प्रयत्न भइरहेको थियो। त्यसका निम्ति विभिन्न हिसाबले उनीहरुले निहुँ खोजिरहेका थिए। हामीले २०७९ सालको इमाडोलको घटनालाई लिन सक्छौँ। त्यहाँ कोरियन भाषाका विद्यार्थीहरूले आन्दोलन गरेका थिए। र त्यो आन्दोलनमा दुईजना विद्यार्थीहरू मारिएका थिए। त्यसपछि तिनकुने घटनालाई लिन सक्छौं। दुर्गा प्रसाई राप्रपावालाहरुले जुन तिनकुनेको आन्दोलन गरेका थिए , त्यो पनि इमाडोल घटनाकै अर्को निरन्तरता थियो। तत्कालीन प्रधानमन्त्री के.पि शर्मा ओलीले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने घटना पनि आत्मघाती भयो। एउटा निहु चाहिएको थियो साम्राज्यवादीहरुलाई, सामाजिक सञ्जाल नियमनको विषय निहुँ बन्न गयो । सामाजिक सञ्जालको विषयमा युवाहरूलाई आन्दोलनमा होम्ने काम भयो। तथाकथित जनजी ‘विद्रोह’ गराइयो। यो घटनाबाट के कुरा प्रमाणित भयो भने सेना बिना जनताको आफ्नो भन्ने केही पनि हुँदैन ।
सेनालाई साम्राज्यवादीहरूले किनिसकेका रहेछन् । सेना बिक्री भएको भएर आफ्नो कमान्ड छोडिदियो। ९ जना मान्छे सिंहदरबार भित्र पसेर आगो लगाउन थाल्यो। जबकि एक बटालियन सेना सिंहदरबारको सुरक्षाको लागि त्यहाँभित्र बसिरहेको छ। यिनीहरूलाई लाइन लगाएर उभ्याइदिएको मात्रै भएपनि कोही पस्न सक्ने थिएन। पुरै साम्राज्यवादप्रति त्वम शरणम गरेर सेनाले कमान छाडदिएर देशमा आगो लाग्ने स्थिति भयो । अब बचेखुचेको संविधानलाई के गर्ने त भन्दा साम्राज्यवादीहरुले लगाइदिएका छन् कि यसलाई संशोधन गर्ने । संविधानमा संशोधन गर्ने, संविधान संशोधनको उद्देश्य के हो ? त्यो बताउनै परेन ।धर्मनिरपेक्षता फालेर हिन्दू राष्ट्र वा अरु धर्म ल्याउने । संघीयता खारेज गर्ने , भएको गणतन्त्र खारेज गरेर आफुहरु राजा जस्तो बन्ने। प्रस्तुत कार्यपत्रले के आशा गरेको छ भने संघीयता खारेजीको कुरालाई समर्थन गर्न सकिन्छ। यसो भनेर आशा राखिएको छ । संविधान संशोधनको जुन एजेन्डा छ ,यो एजेण्डाबाट संघीयता खारेज होला भन्ने कुरामा आशा राख्नु त्यति लाभदायक छैन।
यदि हामीले समाजवाद उन्मुख संविधान हो र यही संविधानको बाटोबाट नै समाजवादमा पुग्न सकिन्छ भन्ने आशा गरेका छौं भने त्यो वेकारको कुरा हो । । यो संविधानमा भएका सकारात्मक उपलब्धिहरूलाई बचाउनका निम्ति संघर्ष गर्न सकिन्छ। त्यो कार्यनीतिक प्रश्न भयो। संविधान भन्ने कुरा रणनीतिक कुरा हो। देश चलाउने कुरा हो। देशको सार्वभौमिकता बचाउने कुरा यहाँ आएको छ। देश र नागरिकहरूलाई उन्नतितिर लाने कुरा हो। संविधान संशोधनको माध्यमबाट मात्र देशले निकास पाउँदैन र देशका जटिल समस्याहरु समाधान हुन सक्दैनन्। त्यसैले यिनीहरूको संविधान संशोधनको विरोध गर्नुपर्दछ। हामी पुरै विरोधमा जानुपर्दछ। राष्ट्रियताको समस्या अहिले मुख्य समस्या हो कि होइन? यहाँ नव,, उपनिवेश लागू भएको छ, एमसीसी लागू भएको छ, एसपीपी लागुगर्ने प्रयास भइरहेको छ । मान्ने हो भने हामीले स्वाधीन संयुक्त सरकारको नारा दिनुपर्दछ। यो सरकार जनताको सरकार होइन यो प्राचीन सरकार हो। यो अमेरिकी कठपुतली सरकार हो। यहाँ कार्यपत्रमा पनि लेखिएको छ। कार्यपत्रमा यो ठिकै लेखिएको छ । अझ अगाडि बढेर यो फासीवाद उन्मुख सरकार हो भनेर जानुपर्दछ। फासीवादी उन्मुख सरकारले गर्ने भनेको संविधान संशोधन पनि फासीवादी नै हुन्छ फासीवादी उन्मुख नै हुन्छ। संविधान संशोधन गर्दा कसरी जनतालाई दबाउन सकिन्छ भनेर नै संविधान संशोधन गरिन्छ। त्यसैले अब हामीले स्वाधीन संयुक्त सरकारका लागि संघर्ष गरौँ। स्वाधीन संयुक्त सरकारका लागि को को एकगठ भएर जाने त नेकपा मसाल पनि एउटा देशभक्त पार्टी हो वामपन्थी पार्टी हो। यसले त्यो प्रयत्न गर्नुपर्यो र हामीले थुप्रै देशभक्तहरु पनि देखेका छौं । एमालेले यसपटक राम्रोसँग ठोकाई खायो नि त। प्रदिप ज्ञवालीजी यहाँ आउनुभएको छ। केपी ओलीजीले के थोरै राष्ट्रिय सार्वभौमिकताको पक्षमा थोरै के अडान लिनुभएको थियो साम्राज्यवादीहरूबाट आक्रमण भयो। त्यसकारण यतिबेला उठ्नुपर्छ कि पर्दैन ? एमाले ! तपाईँहरू किन नबोलेको राष्ट्रिय स्वाधीनता संकटमा परेको बेला? किन नबोलेको सुकुम्बासी बस्तीहरूमा डोजर चलाउने काम भएको छ ,किन नबोलेको ? देशमा यति ठूला घटनाहरू घटिरहेका छन् तपाईहरु किन नबोलेको ? बोल्नुपर्यो । नेपालमा जुन बहुलवादी संविधान छ, बहुलवाद भनेको समानान्तरवाद हो। बहुलवाद भनेको अनेकतावाद हो। यसबाट देशले निकास पाउँदैन । संयुक्त स्वाधीन सरकार बनाउँ,। जनगणतन्त्रको संविधान लेख्नका निम्ति हामी अगाडि बढौँ। तत्कालका लागि कमसेकम जनपक्ष संविधान लेख्नका लागि पनि स्वाधीन संयुक्त सरकार निर्माणका लागि संघर्ष गरौं !