खाेटाे सिक्का चल्यो

कविता

लेखक : कुमार दिङलाली


‘अन्नोन’ युवाहरू प्रयोग भए, अँध्यारो सुुरुङको योजनामा
अदृश्य, आच्छादित हातबाट, क्रूर, विध्वंशक मृत्यदाताबाट ।
जीवन खोज्ने उमेर थ्योे, भविश्य खोज्न निस्किएथ्यो
असंख्य–असंख्य प्रश्नको, उत्तर खोज्न तम्सिएथ्यो ।
असंवेदित राक्षसी हृदयका, आच्छादित बन्दुके हातबाट
ड्याङ्–ड्याङ् गोली चल्यो, डङ्गरङ्ग भुँइँमा ढल्यो ।
भ्रष्ट र भ्रष्टाचारलाई उखेलेर फ्याक्ने संकल्प थ्यो
पत्तै नपाई खोसियो तिनको संकल्प र सपना ।
जुन हातले सपना खोसियो, त्यही हातले आगो झोसियो
संसद जल्यो, सिंहदरबार जल्यो, देशको स्वाभिमान जल्यो ।
सर्वोच्च अदालत जल्यो, न्यायिक दस्ताबेज जल्यो,
राष्ट्रपति भवन जल्यो, राष्ट्रको शिर ढल्यो ।
जलेन भ्रष्टाचार, पुरावस्तुु जल्यो, धरोहर जल्यो, इतिहास जल्यो ।
एउटा कारिन्दा हटाइयो, अर्को कारिन्दा राखियो
हाम्रै आँखाको सामुन्ने, एउटा पानामा इतिहासको
पोतिनुु थियो उज्यालो, कालो पोतियो ।
आखिर ठगियो फेरि एकपटक जोसिलो किशोर पुस्ता,
तिनको सपना चोरियो, संकल्प कलङ्कित बन्यो ।
पुराना खोटा हुने, नयाँ चलन चल्यो, नहुनुपर्ने सबै भयो ।
हिमाली आँगनमा, नयाँ स्वरूपको, नयाँ अनुुहारको
कालो धब्बा लागेको, डढेर अँगार बनेको, खोटो मुुद्रा देखियो ।
केही मान्छेहरूले भनिरहे, यो खोटो छ, यो अस्वीकार्य छ ।
फेरि एक्कासि हुुल का हुुल अर्कै खाले मान्छे देखिए
चोक, चोकमा र सहरका गल्ली, गल्लीमा
होहल्ला गर्दै ठूूला–ठूूला ढ्वाङ् लिएर उभिए
तिनले भन्न थाले, यो असली मुुद्रा हो, यो असली मुुद्रा हो ।
ठूूलो–ठूूलो सोरमा बेस्सरी कराए, मान्छेका आबाज त्यतै कतै थिचिए
हुुल का हुुल अर्कै खाले मान्छेले त्यही मुुद्रा सर्वव्यापी बनाए ।
खोटो भन्नेको आबाज सिथिल भयो, आखिर सत्य छोपियो
सत्यहन्ता, मृत्युुदाता, समरवणिकद्वारा कलह रोपियो
कहीँ नबिक्ने, सबैतिरबाट अस्वीकृत, त्यही खोटो मुुद्रा, खोटो भएन
मान्छेको विवेक ढल्यो, लालीगुुराँसको देशमा खोटो सिक्का चल्यो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?