नवउदारवादी अर्थनीतिले देश ओरालो तिर

१)विषय प्रवेश :
पृथ्वीनारायण शाहले सन् १७६७ बाट गोरखा राज्य विस्तार अभियान सुरु गरे । राज्य विस्तार क्रममा उनका नाती रण बहादुर शाहको पालामा सन् १७९०–९२ मा तिब्बतसँग भएको युद्धले नेपालको उत्तरी सीमाना तय ग¥यो । त्यसरी नै सन् १८१४–१६मा भएको ब्रिटिस–इण्डियासँगको युद्धले पूर्व, पश्चिम र दक्षिणतर्फको सीमाना निर्धारण ग¥यो । सन् १९५७ को सिपाही विद्रोह दबाउन जंगबहादुर राणाले ब्रिटिस सरकारको चाकडी गरेपछि सन् १९६० मा नयाँ मुलुक (बाँके, बर्दिया, कैलाली र कन्चनपुर जिल्लाहरु)फिर्ता पाए । यो नयाँ मुलुक समेतको सीमाना भएको नेपाल सरहदको सीमानाहालको सीमाना मानिएको छ । नेपाल मध्य एसियाको हिमाली श्रृखंलाको पश्चिममा नन्दां पर्वत (पाकिस्तान) र पूर्वमा नाम्चे बरुवा पर्वत (तिब्बत) बीचको भूभागको दक्षिण पाटोमाअवस्थित एउटा मझौले चीन र भारतद्वारा भूपरिवेष्ठिती देशको रुपमा रहेकोछ । यो देश जन्मले नै दुई ढुंगा–बीचको ‘तरुल’ भएकोले यस्को अस्तित्वको प्रश्न प्रथम र विकासको प्रश्न दोस्रो रहि आएकोछ ! अस्तित्व नभई विकास नहुने र विकास नभई अस्तित्व नबाच्ने !

आज पनि देश अति कम विकसित मुलुकको रुपमा रहेको वा राखिएको छ । यहाँका शासकवर्गले ‘नेपालदेश (अस्तित्व) नरहन पनि सक्छ !’ भन्ने मानसिकतासँग नेपालको विकास जोड्ने गर्दै आएका छन् । त्यसैले आज हामी यो अवस्थामा किन छौं? र यसको अस्तित्वको रक्षा र विकासको कार्यदिशा के हुन सक्तछ ? भन्नेबारे छलफल गर्नेछौं ।

२) इतिहासमा विकासलाई कसरी हेरियो ?
क) प्राक–ऐतिहासिककाल ःबौद्ध धर्मको प्रवेशबाट मात्रै नेपाली समाज (तत्कालित उपत्यका) सभ्य संसारमा प्रवेश गरेको, खेती–पाती साथै बाणिज्य–ब्यापारले पनि विकास गर्न थालेको देखिन्छ । यो कुरा कसरी पुष्टी हुन्छ भने बुद्धकै पालामा दक्षिणका ब्यापारीहरु नेपालमा आउने–जाने गर्दथे र तिनै ब्यापारीहरुको साथ लागेर केही बौद्ध भिक्षुहरु पनि उपत्यकामा आएर केही दिन बसी फर्कने गर्दथे । जिनाभित्रको ‘मूल सर्वास्तिवाद विनय संग्रह’ अनुसार पनि भारतीय ब्यापारीहरु (महाजनहरु) यहाँबाट धेरै मात्रामा उन र हरिताल(१)लैजान्थे भन्ने देखिन्छ । प्राक–इतिहासकालमा नेपालका आदिवासी बस्तीहरु गाउँकै रुपमा रहेको कारण यहाँका मानिस खेतीपातीका साथै हस्त सिल्पका बस्तुहरु तयार गर्दथे र तिनको ब्यापार हुनेगर्दथ्यो तर सहरको रुपमा बस्ती बसेको र उद्योगधन्दाको सुरुवात भएको प्रमाण पाइदैन ।

ख) सामन्तीकाल :
अ)नेपालमा (उपत्यकामा) सामन्तवादको आरम्भ लिच्छविकालबाट (पाँचौ शताब्दी) भएको हो । यो कालमा सहर निर्माणको प्रक्रियासँगै कृषि उत्पादन र हस्तसिल्पकाबीच विनिमय प्रक्रियाको थालनीले नयाँश्रम–विभाजनको जन्मभयो । एंगेल्सले यसलाई सभ्य युगकै लागि एक महत्वपूर्ण श्रम–विभाजन भनेका छन् । यो त्यस्तो वर्गको सृजना भयो, जो उत्पादनमा नभएर वस्तु विनिमयमा मात्र संलग्न हुन्थ्यो । उत्पादनकर्ता र उपभोगकर्ताका बीच एक तेश्रो व्यापारी वर्गको काम दास युगदेखि सुरु भएको थियो । तापनि एक खास पेशेवार अलग वर्गकै रुपमा परिणत(व्यापारी वर्ग) भने सामन्ती युगमा आएर भएको थियो । (२) राहुल सांकृत्यानले पनि भनेकाछन्ः नेपालमा सामन्ती युगमा व्यापारीवर्गको कारण नेपाल–तिब्बत बीचको व्यापार सुगम भएको र यो वर्गको जन्मले उत्पादकहरुलाई बिक्रिको चिन्ताबाट मुक्त मात्र गराएन कि अन्ततःउनीहरुलाई नै पनि आफ्नो अधीन बनायो । (३)वास्तवमा छैटौं शताब्दीमा तिब्बतमा राजा स्रंचगोन्पोको उदयपश्चात नेपालको तिब्बतसँगको व्यापार फस्टाएकोले नेपालमा उद्योगधन्दाको विकास भयो । लिच्छविकालमा नेपालको व्यापार भारत र चीन–तिब्बतसँग चलेको देखिन्छ । सातौं शताब्दीमा नेपाल भ्रमण गर्ने चिनियाँ यात्री हु यानच्याङको वृतान्तले पनि उक्त कुराको पुष्टि गरेकोछ । (४)आ) ठकुरीयुगमा (पूर्वमध्यकाल) आएर मात्र नेपालमा बर्तमान नगरहरुको प्रारुप बनेका हुन । काठमाण्डौं, पाटन र भादगाउँमा नगर बसालिए । यसले परम्परागत कला, उद्योग–ब्यवसाय तथा अन्य उत्पादन र बाह्य ब्यापारमा बृद्धि भयो । चीन–तिब्बत र भारतसँगको आर्थिक सम्बन्धको विस्तारले काठमाडौं उपत्यकाको आसपासका बाटाहरुमा पनि ठाउँ ठाउँमा व्यापारिक बस्तीहरुको विकास भयो । मल्लकालमा आएर राजदरवारलाई केन्द्र मानेर तिनका वरिपरि नगरको थप विकास गरियो । उपत्यकामा अन्यत्र पनि बाक्ला ब्यवसायिक बस्तीहरु(पुरहरु) र ग्रामिण बस्तीको विकास भयो । जयस्थिति मल्लको सुधार पछि घरेलु उद्योगसँग सम्बन्धित व्यवसायहरु जातीय पेशाको रुपमा परिवर्तन हुन गयो । राजा यक्षमल्लले गरेको राज्य विभाजनले उपत्यकामा गृहकलहको वीउ रोपिए (जसले मल्लहरुको अन्त्यलाई छिटो ल्याईदियो) तापनि त्यसले उपत्यकाको अलग अलग शहरको उन्नतिमा भने सहायता नै पु¥यायो । तीनै शहरका राजाहरुको आपसी प्रतिस्पर्धाले गर्दा तीनै शहरहरुको निर्माण, वाणिज्य–व्यवसाय र समृद्धिमा निकै बल पुग्यो ।

यसरी लिच्छवी र मध्यकालीन नेपालमा घरेलु तथा हस्तकला सम्बन्धी उद्योगहरु र व्यापारको विकास भएको देखिन्छ । यसो हुनुमा (क) नेपाल भारत र तिब्बत–चीनको मध्यस्थ व्यापारी केन्द्र हुनु (ख) नेपालको मुद्रा तिब्बतले
स्वीकार्नु (ग) तिब्बतमा उद्योग–धन्दाको विकास नहुनु र नेपाली माल सामान तिब्बतमा लोकप्रिय हुनु (घ) सरकारी नीति घरेलु तथा हस्तकला उद्योगलाई संरक्षण गर्ने खालको हुनु, आदि रहेको थियो ।

इ) युरोपमा ईसाको १८ औंशताब्दीको अन्त्यतिर सामन्तवाद ढलेर पुँजीवादको विकास सुरु भएको थियो । त्यस बखत नेपालमा, खासगरी कान्तिपुर–ललितपुर–भक्तपुर सम्मिलित नेपाल खाल्डोमा घरेलु उद्योगको विकास र विदेशसितको व्यापारले गर्दा व्यापारी (ःबचअजबलतष्भि ऋबउष्तब)ि विकास हुदै थियो । त्यस्तो स्थितिमा पृथ्वीनारायण शाहको नेतृत्वमा रहेको गोर्खाली आक्रमणबाट नेपालभित्र गृहयुद्ध थालनी भयो । गृहयुद्धबाट आर्थिक विकास रोकिन गयो र शाहवंशीय शासनले (स्थापित भएपछि) सामन्ती व्यवस्था र सामन्त शोषण तीब्र पा¥यो । त्यसैले सामन्तवाद सुदृढ हुँदै गयो र पुँजीवादी विकास पछि ग¥यो । (५)गोर्खाली शासकवर्गले सन् १७६८ देखि सन्१८१६ सम्म नेपाललाई सैनिक शासनमा राखेको थियो । (६)अरु मुलुकहरुमा प्रजातांत्रिक क्रान्तिसँगै औद्योगिक क्रान्ति अघि बढिरहेको थियो । तर नेपालमा भने तत्कालीन राजनीतिक नेतृत्व सम्हालेको सामन्ती दरबार जनताको राजश्व, कर खाएर सत्ताको व्यक्तिगत तथा पारिवारिक लुछाचुँडीमा लिप्तथियो । सन् १८१६ को सुगौली सन्धिले नेपाललाई ब्रिटिस–इण्डियाको अर्ध–उपनिवेश बनायो र त्यसबेलादेखि यहाँका सामन्ती सरदारहरुलाई शक्तिमा टिक्न विदेशी साम्राज्यवादको पनि आडभरोसा आवश्यकता प¥यो (पुष्पलाल, १९९६, पृ.१६२)(७) । अबदेखि यहाँका सामन्त दरवारहरुको प्राथमिकता अंग्रेज साम्राज्यवादीको चाकरी हुनगयो न कि देशको विकास । जंगबहादुर राणा सन् १८४६ मा सत्तामा आउनुको पछाडि अंग्रेजको मद्दत थियो । राणाशासनकाल पुरै सैनिक शासनको काल र राणाहरुको भाइ भतिजावाद यति व्याप्त थियो कि जिल्ला जिल्लाका गौडा गौडामा र कुनै पनि सरकारी लाभको पदमा माथि माथि राणाहरु मात्र नियुक्त हुन्थे । देशभरी सामन्तवाद थियो । समुदाय समुदायमा चर्को विभेद थियो, मानिस जन्मैदेखि कोही ठूलो र कोही सानो हुन्थे । (८)नेपाल तराईका निवासी भोका र नाङ्गा छन् । , यसको निम्ति सरकारी भूमि व्यवस्था नै दोषी छ । तराईको अधिकांश भूमि प्राइम्–मिनिस्टरका वंशजहरुको विर्ताकै रुपमा छ । यस प्रकार कम से.कम ६० प्रतिशत तराईको उब्जाउ भूमि ४०–५० व्यक्तिको निजी आम्दानी क्षेत्र भएको छ । लगभग १० प्रतिशत भूमि राजपरिवारका समर्थक गुरु–पुरोहितहरुको विर्ता छ । शेष ३० प्रतिशत भूमि ठूला जमिन्दार र साधारण रैकर खेतीवालामा विभाजित भूमिको वास्तविक अधिकार यसप्रकार केवल थोरै मानिसमा विभाजित भएकोले तराईका कमसे कम २० लाख निवासी भूमिहीन ‘सुकुमवासी’किसानहरु नै छन् । (९) । राणा शासनले ब्रिटिस सरकारलाई कुनै पनि हालतमा खुसी राख्ने धन्दामा रह्यो । उनीहरुले नेपाललाई ब्रिटेन र ब्रिटिस–इण्डियाको तयारी माल समानको सुनिश्चित बजारमा परिणत गरे, नेपालमा तिनका व्यापारिक माल–समान र औद्योगिक उत्पादनको बेरोकटोक प्रवेश गराउने र तिनलाई विभिन्न सहुलियत प्रदान गर्ने नीति लिए । (१०)

ई) राणाशाही पछि दिल्ली दरबारकोआशिरवादले राजा त्रिभुवन दिल्ली पुगेपछि अंग्रेज भक्त राणाशाहीको पतन(सन् १९५०)भयो । (११) दिल्ली दरबारले राजा, राणा र ने.का.(पछि स्वीकार गरेको) बीच(सन् १९५०मा) गरेको एक संझौताबाट राजतंत्र बलियो भयो । राजाले मातृका प्रसाद कोईरालालाई प्रधानमन्त्री बनाई सन् १९५४ मा भारतको हितहुने गरी बदनाम“कोशी संझौंता”गर्न लगाई दिल्ली दरवारको गुण फर्काए । सन् १९५९ मा(२०१६साल)ने.का.सरकारले भारतसँग बदनाम‘गण्डक संझौंता’ ग¥यो । सन् १९६० देखि राजाको हुकुमी (सैनिक)शासन सुरु भयो– पञ्चायतको नाममा राजाले आफ्नो शासन टिकाउन सन् १९६२मा चीन विरुद्ध नेपालका उत्तरी नाकाहरुमा भारतीय सैनिक चेकपोष्टहरु राख्न दिए । पछि अन्य ठाउँहरुबाट चेकपोष्टहरु हटे पनि कालापानी क्षेत्रबाट हटाईएन, जो अहिलेसम्म भारतीय सेनाको कब्जामा रहेको छ । सन् १९६५मा भारतसँग गोप्य सैनिक सन्धि गरेर नेपाली सैनिकका लागि विदेशबाट हतियार झिकाउन परे भारतसँग स्वीकृति लिनु पर्ने गरी घुँडा टेके । (१२) त्यसै समयदेखि भारतीय स्थल प्रधान सेनापति नेपालको सैनिक कमानको पनि अनरेरी सेनाध्यक्ष रहिआएको छ ।

पञ्चायतकालमा खासगरी सन् १९६०को दशकमा औद्योगिक विकासलेकेही गति लिएको देखिन्छ । तर त्यसको कारण के थियो भने त्यो बेला तिब्बतमा कम्युनिष्ट शासन कायम भएपछि अमेरिकी नेतृत्वमा साम्राज्यवादीहरुले नेपाल लगायत समस्त हिमाली क्षेत्रमा कथित स्थिरता कायम गर्न चासो देखाएका, चीनसँगको युद्धमा हारेको कारण भारतीय विस्तारवाद केही समय किंकर्तव्य विमुढको स्थितिमा रहेको, चीनपनि सीमा सुरक्षाको हिसाबले र सोभियत संघले पनि यो क्षेत्रमा साम्राज्यवादी प्रभाव बढ्न नदिन नेपाललाई सहयोग गर्न तत्परता देखाएको, आदिको परिणाम स्वरुप देशमा मूलतःसोभियत संघ र चीन सरकारको सहयोगमा केही उद्योगधन्दाहरुको स्थापना भएको थियो । तर विस्तारवादी भारत नेपालमा उद्योगधन्दाको विकास भएको हेर्न चाहँदैन थियो । त्यसका लागि नेहरु सरकारले सन् १९५०को शान्ति तथा मैत्री संधि मार्फत नेपाललाई अंग्रेजले गरेकै साम्राज्यवादले अर्ध–औपनिवेशिक अवस्थामा राख्ने नीति लिएको कारण नेपालमाथि विभिन्न ब्यापार तथा पारबहन सन्धि थोपरेकोले सन् १९७०को दशकमा यहाँको उद्योगिक गतिविधि नकरात्मक बन्न पुग्यो । उक्त कारणले गर्दा सरकारले उद्योगधन्दा संचालन गर्न कठिनाई बेहोर्नु प¥यो । त्यसैले सन् १९८० को दशकमा नेपालले विश्वबैंक र अन्तर्राष्ट्रिय मुद्राकोषबाट निर्देशित“ढाँचागत समायोजन कार्यक्रम” (क्तचगअतगचब िब्मवगकतmभलत एचयनचबmmभ) लाई स्वीकार गरी संरक्षणवादी औद्योगिक नीति परित्याग गरेकोले सार्वजनिक उद्योगधन्दा घाटामा जानथाल्यो ।

३) बहुदलीय संसदवादीकाल र पछि :

सन् १९९० को ऐतिहासिक जनआन्दोलनले पञ्चायतलाई ढाल्यो तर नयाँ बहुदलीय संसदवादी सरकारहरुले आठौं योजना मार्फत (१९९१–१९९५) पञ्चायतकै उक्त कार्यक्रमलाई अगाडि बढायो । साम्राज्यवादी हितमा ‘उदारीकरण, निजीकरण र भूमण्डलीकरण’को नीति स्वीकार गरेपछि विदेशीहरुले सहयोगको रुपमा बनाई दिएका ठूला उद्योगहरु कौडीको भाउमा (Throw Away Prices) दलाल पुँजीपतिहरुलाई बेच्ने काम गरे । त्यसले नेपालको आर्थिक वातावरणमा, प्रविधि हस्तान्तरणमा र रोजगारीमा गम्भीर र व्यापक असर पा¥यो । नेपाल सरकार सन् २००६मा विश्व ब्यापार संगठन (W.T.O.) को सदस्य बनेपछि यहाँको आर्थिक (औद्योगिक) विकासमा झनै नकारात्मक प्रभाव बढ्न गयो तापनि त्यसले युवाहरुलाई बाहिरी मुलुकमा रोजगारीको ढोका खोली दियो । सन् २००६मा अर्को ऐतिहासिक जनआन्दोलन भयो, मुलुक गणतन्त्रमा प्रवेश ग¥यो तर मुलुकमा विकास अगाडि बढ्न सकेन । उदाहरण ः १९८५ मा संयुक्त राष्ट्र संघले नेपाललाई ‘अति कम विकसित मुलुकको सूचिमा राखेको थियो र त्यसको कारण के दिएको थियो भने (क) अधिकांश जनता निर्वाहमूखि कृषिमा संलग्न, (ख) देशको निर्यात ब्यापारमा कच्चा पदार्थहरुको (एचष्mबचथ नययमक) प्रमुखता, (ग) भूपरिवेष्ठित मुलुक ः पहाडी भूभाग अधिक र समथर (तराई) भूमि कम, (घ) प्राकृतिक श्रोतहरुको कमि (विजुलीबाहेक), (ङ) प्रविधि र लगानीको अभाव, आदि । आज सन् २०२२को सरकारी तथ्यांक हेर्दा कुल किसान परिवारको ८५ प्रतिशतले निर्वाहमुखी खेती गरेको, मुलुकको कुल गार्हस्थ्य उत्पादनमा औद्योगिक उत्पादनको योगदान ५ प्रतिशत मात्रै रहेको, सरकारको विनालगानीको युवाहरुले विदेशमा श्रमगरी पठाएको रेमिटेन्स अर्थतन्त्रमा झण्डै ३० प्रतिशत योगदान गरेको, आजपनि कृषि र उद्योग क्षेत्रमा प्रविधि र लगानीको अभाव रहेको जस्को कारण आ.व.२०८१÷०८२ (सन् २०२४)मा नेपालको कुल बस्तु निर्यात रु.२ खर्ब ४८ करोड थियो भने कुलबस्तु आयात रु.१६ खर्ब ४५ अर्ब थियो । व्यापार घाटा रु.१३ खर्ब ९७अर्ब थियो ।

४) युद्धोन्मुख विश्वको अर्थराजनीतिको प्रभावः

रुस–युक्रेनबीच जारी युद्ध र मध्यपूर्वमा पुनः भड्केको युद्धको अन्त्य अनिश्चित देखिनुका साथै संयुक्त राज्य अमेरिकाले विभिन्न मुलुकका लागि नयाँ भन्सार दर लगायत व्यापार नीतिमा परिर्वतन गरेपछि विश्व अर्थतंत्रमा अनिश्चितता बढ्न गएकोछ । यसैकारण आज मानव समाजले अघोषित विश्वयुद्ध बेहोर्नु परिरहेकोछ । साम्राज्यवादी भनेको युद्ध हो । पश्चिमा साम्राज्यवादीहरु देशहरुले रक्षामा धरै लगानी गर्ने पक्षमा देखिएका छन् । केही समय अघि नेटोको सदस्य मुलुकका सरकारहरुले आ–आफ्ना देशको रक्षा खर्च सन् २०३५ सम्ममा देशको “कुल ग्राहस्थ उत्पादनको पाँच प्रतिशत” पु¥याउने सहमति सार्वजनिक गरेका थिए । यसलाई नेटोले सैन्यीकरणतर्फ उल्लेख्य छलाङ भनेको थियो । यो खर्च कति हो भने यो रकमलाई एक–एक डलरको गद्दीको ४वटा पिलर (चाङ) बनाएर ठडाइयो भने चन्द्रमा सम्मपुग्न सक्तछ ।
नेटोको उक्त रक्षाखर्च नयाँ श्रोतबाट आउने होइन । ती देशहरुले सामाजिक र वातावरणीय खर्चका लागि छुट्याइने बजेटबाट रकमान्तर गरिने हो । यसबाट विश्वले दुई स्थिति बेहोर्नु पर्नेछ (क)पश्चिमा साम्राज्यवादीहरुले रक्षा खर्चमा पाँच प्रतिशत वृद्धि गर्दा उनीहरुबाट सहयोग गरिने विश्वकै सामाजिक तथा वातावरणीय खर्चमा कम वा शून्य हुनगई त्यसबाट विश्वलाई गम्भीर नकरात्मक असर पर्नेछ (ख) नेटोको रक्षा खर्च बढेपछि बाँकी न्यूक्लियर पावर मुलुकहरुले पनि रक्षा खर्चअनिवार्य बढाउनेछन् । यसबाट(क) तेश्रो विश्वयुद्ध अनिवार्य र सन्निकट बन्नेछ भन्ने अनुमानलगाउन सकिन्छ । (ख) धनी देशहरुको युद्ध खर्चमा बढोत्तरी हुने भएपछि विश्वमै उत्पादन, पर्यावरण र सामाजिक सुरक्षामा लगानी कम हुने वा शून्यहुन सक्ने परिस्थिति सिर्जना हुनेछ । (ग) नेपाल युद्धको भुमरीमा पर्न सक्नेछ । चीन विरुद्ध अमेरिकाले एम.सी.सी.मार्फत नेपालमा सैन्य गतिविधि तेज गर्न सक्नेछ । अमेरिका र चीनबीचको अन्तरविरोध बढ्दै गएको र अमेरिकी ब्यापार नीतिका कारण भारत समेत ब्रिक्स मार्फत रुसी–चिनी ध्रुवमा उभिने स्थिति बनेमा नेपालमा अमेरिकी सेना भित्रिने संभावनाछ । दोश्रो, भारतीय विस्तारवाद नेपालमाथि आफ्नो अर्ध–उपनिवेश कायमै राख्न चाहन्छ । तेश्रो, चीन नेपालको भूमिबाट आफूलाई थ्रेट हुने स्थितिको सामना गर्न तयार हुनेछ र चौथो, नेपाल ब्राहमणवाद र दलाल पुँजीवादबाट पीडित राज्य भएकोले विकासमा अत्यन्त पछि परेको छ, र मुलुकको सत्व बचाउन सक्ने राजनीति बन्न सकेन । यस्तो स्थितिमा नेपालले अस्तित्वको संकट भोग्नु पर्ने देखिन्छ ।

५)बिटमार्नी :

नेपालको प्रारम्भिक इतिहासकालमा, खासगरी, बौद्ध धर्मको प्रवेश हुँदाको समयमा यहाँ खेतीपातीको साथसाथै हस्तकलाका वस्तुहरु तयार भई व्यापार समेत हुने गरेको देखिन्छ । सामन्तीकाल सुरु भएपछि (लिच्छविकाल)शहर निर्माण प्रकृयासँगै कृषि उत्पादन र हस्तकलाको बीच निनिमय हुन थाल्यो र बस्तु विनिमय नगर्ने विचौलिया (व्यापारी) वर्गको जन्मभयो । चीन–तिब्बत र भारत बीच व्यापार विस्तारले नेपालको आर्थिक उन्नतिमा ठूलो टेवा पुग्यो । मल्लकालमा यहाँ घरेलु उद्योगको विकास र विदेशसितको व्यापार फस्टाएको कारण व्यापारी पुँजीवादले विकास ग¥यो । तर पृथ्वीनारायण शाहको शाहको गोरखा राज्यविस्तारले सामन्ती शोषण तीब्र भयो र आर्थिक विकास रोकिन गयो । (राज्यको काम जनताबाट कर उठाएर खाने भयो जनताको विकास गर्ने थिएन) सन् १८१६ को सुगौली सन्धिले त नेपाललाई ब्रिटिश–इण्डियाको अर्ध–उपनिवेश नै बनायो । त्यसपछि नेपाली बजार ब्रिटिश–उत्पादनको खुल्ला बजारमा परिणत गरियो । त्यसले नेपालको घरेलु उत्पादनहरुलाई विस्थापित ग¥यो । राणा शासन त अंग्रेजहरुको पुरै दास बनेको थियो । सन् १९०४ मा ब्रिटिश–इण्डिया र चीन बीचमा चुम्बी उपत्यकाको व्यापारिक नाका खुलेपछि इण्डिया र चीनबीचमा व्यापार शुरु भएपछि नेपालले गर्दैआएको मध्यस्थ व्यापार पनि सुक्न गयो । सन् १९२३ मा नेपाल–ब्रिटिश–इण्डिया बीच भएको कथित मैत्री सन्धिले नेपालमाथिको औपनिवेशिककरणलाई अझै तीब्र पा¥यो । यसरी नेपालमा विकास हुन थालेको व्यापारिक पुँजीवादको गला घोट्नेकाम गरियो । त्यसपछि नेपालीबजार पुरै अंग्रेजी माल सामानको नियन्त्रणमा पर्न गयो जसले नेपाली घरेलु उद्योग धन्दाहरुलाई पुरै सुकायो । त्यतिमात्र नभएर कमिशनको लागि ब्रिटिश सेनामा–नेपालका युवाहरुलाई भर्ती गराई नेपालको अलिअलि बचेको स्वाधीनता पनि जिम्मा लगायो । यसबाट शाह–राणा शासन पुरै नेपालको स्वाधीनता विकास विरोधी थियो भन्ने देखिन्छ ।
इण्डियाबाट ब्रिटिश शासन हटेपछि नेहरु सरकारले सन् १९५० मा नेपालमाथि ब्रिटिश सरकारले गरेको असमान सन्धिलाई हुबहु दोह्¥याउने काम ग¥यो । नेपाल अब स्वतंत्र भारतको अर्ध–उपनिबेशमा परिणत भयो । दिल्ली दरबारको आसिरवादले सन् १९५१ म राजा बलियो भयो, राणाशाहीको पतन भयो । राजाले मातृका प्रसाद कोइरालालाई प्रधानमन्त्री बनाई सन् १९५४ मा भारतको हितमा बदनाम“कोशी संझौंता” गर्न लगाई दिल्ली दरबारको गुण तिरे । सन् १९५९ माने.का.सरकारले भारतसँगबदनाम “गण्डक संझौंता”ग¥यो ।
राजाले शासन लिएपछि पञ्चायतले लिएको संरक्षणवादी नीतिको कारण सन् १९६० को दशकमा उद्योग–विकासले केही गति लिएको देखिन्छ तापनि सन् १९५० को सन्धिको आधारमा भारतले नेपालमाथि विभिन्न ब्यापार तथा पारबहन सन्धि, संझौंता थोपरेको कारण यहाँको सन् १९५०को दशकमा औद्योगिक गतिविधि नकरात्मक बन्न पुग्यो । सन् १९८० को दशकमा पश्चिमा साम्राज्यवादले थोपरेको उदारीकरणको नीति स्वीकार गरी भइरहेको संरक्षणवादी औद्योगिक नीति परित्याग ग¥यो । सन् १९९० पछि बनेका बहुदलीय संसदीय ब्यबस्थाका सरकारहरुले पनि‘उदारवादी’ नीतिलाई नै अघि बढायो । त्यसैको कारण आज नेपालको उद्योगधन्दा रुग्ण अबस्थामा रहेकोछ, कृषिमा व्यवसायीकरण हुन सकेन र सन् २०२४ मा देशको व्यापारघाटा १४ खर्ब रुपैया पुगेकोछ । हाम्रो मुलुक बिदेशबाट युवाहरुले पठाएको रेमिटेन्समा निर्भर रहेको छ । भ्रष्टाचार र कुशासन सन् १९७२ पछिको सरकारहरुको मूलमंत्र भएकोछ, विकास होइन ।
राजा पृथ्वीनारायण शाहको यो राज्यलाई हिन्दुस्थान बनाउने ब्राह्मणवादी सामन्ती राजनीति र साम्राज्यवाद प्रथा विस्तारवादको दलाल पुँजीपतिहरुको राज्यसत्तामा पकड नै नेपालको आजको विकासको यो अवस्था हुनुको मुख्य जिम्मेवार रहेकोछ । स्वाधीन अर्थतंत्र बनाउने नयाँ जनवादी क्रान्ति नै यसको हल हुन सक्तछ । सबैलाई चेतनाभया !!

फुटनोट
१)बालचन्द्र शर्मा, नेपालको ऐतिहासिक रुपरेखा, बाराणसीःकृष्ण कुमारी(२०३३ः५०) । कतिपय लेखकहरुले कौटिल्यको ‘अर्थशास्त्र’को हवाला पनि दिने गरेका छन् । तर त्यो कृतिको पाण्डूलिपि (देवनागरी लिपिमा) सन् १९०५मा बनारसमा प्राप्त भएको र सन् १९२५मा हिन्दीअनुवाद सहित प्रकाशित भएको थियो । यो कृतिलाई मनु स्मृतिको भाष्यको रुपमा हेरिन्छ । भनिन्छ कि मगधका सम्राट चन्द्र गुप्तमौर्यको राज्यकालमा विष्णु गुप्त चाणक्य ‘कौटिल्य’ भन्ने कुनै भारदार/मन्त्री थिएन ।

२) एंगेल्स, परिवार, निजी स्वामित्व र राज्यको उत्पत्ति, यस्को ः प्रगति प्रकाशन(१९८६ ः १९८) ।

३) राहुल सांस्कृत्यान(१९९३ः९५–९६) मानव समाज, इलाहावाद ः लोक भारती प्रकाशन

४) बाबुरामआचार्य, चीन, तिब्बत र नेपाल, काठमाण्डौ ः फाइनप्रिन्ट (२०७४ ः ३६–३८) ।

५) क) कालाकौशल, परम्परगत उद्योगभन्दा, व्यापार, बाणिज्य अटुट रुपमा चलिरहेको हुनाले मध्यकालको आर्थिक अवस्था पछिसम्म नै राम्रै थियो भन्न सकिन्छ तर अन्तिम युगमा आइपुग्दा भने गोरखाली आक्रमण, आर्थिक नाकाबन्दी र उपत्यकाको राजनीतिक अस्थिरताले गर्दा आर्थिक अवस्था नराम्रोसँग बिग्रन पुगेको थियो । यहाँका राजाहरुलाई मंदिरका ढुकुटी तथा अन्य भौतिक सँपत्ति समेत मास्नु परेको थियो । (ढुंगेल र प्रधानाङ्ग, काठमाण्डौं उपत्यकाको मध्यकालिक आर्थिक इतिहास, काठमाण्डौं ः नेपाल र एसियाली अनुसन्धानकेन्द्र, त्रि.वि., कीर्तिपुर, वि.सं.२०५६, प.७) ।
ख) माणिकलाल श्रेष्ठ, मानव समाज विकासबारे माकर््सवादी दृष्टिकोण, काठमाण्डौंः खोजी प्रकाशन, वि.सं.२०६८, पृ.९८)विश्व पौडेल, विचार विशेष, संस गगनथापा, वर्ष, ६, अंक७, वि.सं.२०७२, पृ.६३–११८ ।

६) विश्वपौडेल, विचार विशेष, संपा. गगनथापा, वर्ष, ६, अंक७, वि.सं.२०७२, पृ.६३–११८ ।

७), क)नेपालमा विकास हुन लागेको राष्ट्रिय उद्योगधन्दा तथा बन्द–ब्यापारको ह्रास गर्ने प्रक्रियाचन्द्र समसेरको पालामा नेपालभित्र भारतीय पुँजीको प्रवेश गराई आरम्भ गरियो । सन् १९०४ माभोटमा अंग्रेज साम्राज्यवादले कर्णेल फ्रान्सिस योङ्ग हस्ब्याण्डको अभियान पठाउँदा भोट–नेपालबीच सन् १८५५मा भएको सन्धिको विपरीत चन्द्र समसेरले अंग्रेजी साम्राज्यवादलाई धनजनको सहायता गरे । भोटले बाध्य भएर अंग्रेजसँग सन्धि गर्नु पर्दा काठमाण्डौं–कोदारी राजमार्ग बन्द भई सिक्किमको बाटो सुरु भयो र पछि कालिङपोङको बाटो खुल्यो ।” । (३) भारत–सरकारबाट विशेषरुप पठाइएका दुइ विमानद्धारा १० नोवेम्वर १९५० ई.को दिन राजाले काठमाण्डूबाट दिल्लीको निम्ति प्रस्थान गरे । यस समय भारतको नेहरु सरकारले जस्तो दृढताका साथ राजा र नेपाली जनताको प्रजातांत्रिक भावनाको समर्थन ग¥यो त्यो वास्तबमा स्मरणीयछ (बालचन्द्र शर्मा, नेपालको ऐतिहासिक रुपरेखा, २०३३, पृ.३९५) ।
ख)माणिकलाल श्रेष्ठ, ऐ.ऐ.पृ.९८ /

८) विश्वपौडेल, भूमि सुधारको मुद्दा, २०१५पृ.१०५, ंविचार बिशेष, पत्रिका, वर्ष, ६अंक, ७२०७२ सं गगन थापा, काठमाण्डौं पब्लिक पोलिसी पाठशाला ।

९) बालचन्द्र शर्मा, नेपालको ऐतिहासिक रुपरेखा, (२०३३, पृ.१२), वाराणसी ः कृष्णकुमारी देवी ।

१०)माणिकलाल श्रेष्ठ, ऐ.ऐ.पृ.९८ ।

११) भारत–सरकारबाट विशेषरुप पठाइएका दुइ विमानद्धारा १० नोवेम्वर १९५० ई.को दिन राजाले काठमाण्डूबाट दिल्लीको निम्ति प्रस्थान गरे । यस समय भारतको नेहरु सरकारले जस्तो दृढताका साथ राजा र नेपाली जनताको प्रजातांत्रिक भावनाको समर्थन ग¥यो त्यो वास्तवमा स्मरणीयछ (बालचन्द्र शर्मा, नेपालको ऐतिहासिक रुपरेखा, २०३३, पृ.३९५) ।

१२) मोदनाथ प्रश्रित (२०५४)

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?