क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे प्रवक्ता बने सुदर्शन

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले स्थायी समिति सदस्य सुदर्शनलाई प्रवक्ता चयन गरेको छ। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको फागुन ४ गते बसेको स्थायी समिति बैठकले सुदर्शनलाई प्रवक्ता चयन गरेको हो। २०८१ साल मङ्सिरमा सम्पन्न क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन भन्दा पहिले पार्टीको प्रवक्तामा सुदर्शन हुनुहुन्थ्यो र एकता महाधिवेशनपछि पार्टीले प्रवक्ताको ठेगान गरेको थिएन।

सुदर्शन,
स्थायी समिति सदस्य, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

सुदर्शन २०३६ सालमा रुकुम जिल्लाको पेउघा निमाविमा अनेरास्ववियु(छैटौं)को इकाई समितिबाट राजनीतिक र सांगठनिक गतिविधिमा संलग्न हुनुभएको थियो। २०४७ सालमा गठन भएको तत्कालीन नेकपा (एकता केन्द्र)को विद्यार्थी संगठन अनेरास्वविय एघारौं राष्ट्रिय सम्मेलन तयारी समिति सम्म चार वर्ष विद्यार्थी संगठनको केन्द्रीय समितिमा रहेर उहाँ पार्टी राजनीतितर्फ लाग्नुभएको थियो ।

२०५४ साल भाद्रमा नेकपा (माओवादी)को केन्द्रीय समितिमा रहेर काम गर्न थाल्नुभएका सुदर्शनले जनयुद्धको समयमा लामो समयसम्म राजनीतिक कमिसारको रुपमा रहेर काम गर्नुभयो। उहाँ २०५४ माघमा बाजुराबाट गिरफ्तार हुनुभयो। २०५८ साल असार २१ गते बाजुरा कारागारबाट फरार हुनुभएको थियो।

रुकुमको राडी प्रहरी चौकी,कैलालीको लम्की प्रहरी चौकी, रोल्पाको गाम ,रुकुमको खारा आक्रमण (२०५९), कालिकोटको पिली आक्रमणमा उहाँको नेतृत्वदायी भूमिका थियो । २०५९ मा उहाँ राजनीतिक कमिसार हुनुहुन्थ्यो र त्यसै बेला उहाँकी छोरी सुवर्णाले पनि सहादत प्राप्त गर्नुभएको थियो। २०६९ मा ए माओवादीको हेटौडा महाधिवेशनपछि सुदर्शन स्कूल विभागको प्रमुख भएर काम गर्नुभएको थियो। २०७२ मा एनेकपा माओवादीबाट विद्रोह गरी कम्युनिष्ट न्युक्लियस नेपाल गठन गर्नुभएको थियो । २०७३ साल भदौ ७ गते विप्लव नेतृत्वको नेकपा सित कम्युनिष्ट न्युक्लियस नेपालको एकता भएको थियो । विप्लव नेतृत्वको नेकपामा रहँदा नखु जेलमा बस्नुभएको थियो। २०७९ मा विप्लव नेतृत्वको नेकपासँग विद्रोह गरी नेकपा बहुमत निर्माण गर्नमा भूमिका खेल्नुभयो। २०८० साल वैशाख १७ गते नेकपा (क्रान्तिकारी माओवादी)सँग नेकपा (बहुमत)को एकता भई क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण भएको थियो। २०८१ वैशाखमा १८ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल)को बीचमा पार्टी एकता भई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निर्माण भएको थियो। सुदर्शन अहिले पार्टीको स्थायी कमिटी सदस्यको रुपमा पनि कार्यरत हुनुहुन्छ।

मालेमा स्कुलिङ पाठ्यक्रम (२०६०), दर्शन र सैन्य कार्यदिशा (२०६३), कारावास भित्रका दिनचर्याहरू (२०६५), प्रचण्ड पथः एक्काइसौँ शताब्दीको विचारधारात्मक छलाङ (२०६५),दार्शनिक रचनाहरू : मार्क्सदेखि माओसम्म अनुवाद (२०७३), विश्व दृष्टिकोणमा रूपान्तरण (२०७३), १८८४ का आर्थिक तथा दार्शनिक पाण्डुलिपिहरु मार्क्स । अनुवाद । २०७८, दर्शनशास्त्रको इतिहास (२०८१ ) सुदर्शनका प्रकाशित कृतिहरू हुन्।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?