
काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले युद्धलाई देखाएर जनता लुट्ने प्रपञ्चको विरोध गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले समसामयिक विषयहरुमा पार्टीको धारणा स्पष्ट गर्ने क्रममा सो विचार प्रकट गर्नु भएको हो । सुदर्शनद्वारा जारी वक्तव्यमा मुस्ताङको लोमान्थाङमा युरेनियम उत्खनन् गर्ने बारे आएको समाचार प्रष्ट गर्न माग गरिएको छ । २०८३ वैशाख ४ गते
सुदर्शनद्वारा जारी वक्तव्य यस प्रकार छ –
“नेपालको मुस्ताङ जिल्ला अन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङमा नेपाली सेनाको रोहबरमा अमेरिका र अस्ट्रेलियाको संयुक्त प्राविधिक टोलीलाई सरकारले युरेनियम उत्खनन् गर्ने अनुमति दिँदैछ भन्ने समाचारले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको गम्भीर ध्यानाकर्षण गरेको छ । २०८३ वैशाख ३ गते प्रकाशित एक अनलाइन पत्रिकाका अनुसार यसबारे विस्तृत जानकारी दिँदै अमेरिकी नेतृत्वको “प्याक्स सिलिका” नामक गठबन्धन मार्फत यो कार्य हुँदैछ । अझ गम्भीर कुरा त उक्त उत्खननका लागि एमसीसीद्वारा निकालिने विद्युत प्रसारण लाइन यसका लागि प्रयोग गरिनेछ । यो समाचारबारे सत्यतथ्य स्पष्ट पार्न र यस प्रकारका राष्ट्रघाती कदम रोक्न हाम्रो पार्टी कठपुतली बालेन्द्र सरकारसँग जोडदार माग गर्दछ ।
अर्कोतिर नेपाल आयल निगम मार्फत् सरकारद्वारा पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरी कालो बजार चलाइएको छ । अमेरिका र इरान बीचको युद्धलाई देखाएर सरकारले भन्सार शुल्क बढेको, स्वतः ढुवानी शुल्क बढेको, पूर्वाधार र सडक मर्मत शुल्क बढेको जस्ता बहाना बनाई पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । नेपालले पेट्रोलियम पदार्थ आयात गर्ने भारतबाट हो र भारतले तेलको कच्चा पदार्थ आयात गर्ने इरान र रूसबाट यसमा कुनै अवरोध भएको छैन । त्यसकारण यो मूल्य वृद्धि युद्धलाई देखाएर जनता लुट्ने प्रपञ्च हो । हामी यस प्रकारको पेट्रोलियम पदार्थको मूल्य वृद्धि घटाई सर्वसाधारण जनताका लागि यातायात र उपभोग्य वस्तु सुलभ बनाउन, कालोबजारी माथि रोक लगाउन बालेन सरकारसँग विशेष माग गर्दछौं । ”