क्रान्तिकारी विद्यार्थी आन्दोलन, एकताको राष्ट्रिय सम्मेलन र वैज्ञानिक समाजवादी शिक्षाको आवश्यकता

नविन खडका

facebook sharing button
twitter sharing button
email sharing button
sharethis sharing button
linkedin sharing button
messenger sharing button
whatsapp sharing button
image

नेपालको इतिहास परिवर्तन, बलिदान र संघर्षले लेखिएको इतिहास हो । यस परिवर्तनको यात्रामा क्रान्तिकारी विद्यार्थी आन्दोलनले खेलेको भूमिका अत्यन्त महत्वपूर्ण र अविस्मरणीय छ । शासक वर्गको दमन, अन्यायपूर्ण शिक्षा प्रणाली, सामन्ती र पुँजीवादी सोचको विरुद्ध उभिँदै आएको विद्यार्थी आन्दोलन आज फेरि एक निर्णायक मोडमा आइपुगेको छ । यही सन्दर्भमा फाल्गुन १, २ र ३ गते आयोजना हुन गइरहेको अखिल (क्रान्तिकारी)को एकताको राष्ट्रिय सम्मेलनले क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई नयाँ उचाइमा पुर्याउने ऐतिहासिक अवसर प्रदान गरेको छ ।
क्रान्तिकारी विद्यार्थी आन्दोलनको ऐतिहासिक भूमिका
क्रान्तिकारी विद्यार्थी आन्दोलन कुनै एक समय वा मागमा सीमित आन्दोलन होइन । यो उत्पीडन विरुद्धको निरन्तर संघर्ष हो । शोषित वर्गको पक्षमा उभिने चेतनाको स्कूल हो । राणा शासन विरुद्धको आन्दोलनदेखि पञ्चायती व्यवस्थाको विरोध, जनयुद्ध, जनआन्दोलन र लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म विद्यार्थीहरूको सक्रिय सहभागिता रहँदै आएको छ । क्रान्तिकारी विद्यार्थी आन्दोलनले शिक्षा प्रणालीमा समानता, निःशुल्क शिक्षा, जनमुखी पाठ्यक्रम, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायका मुद्दालाई केन्द्रमा राख्दै आएको छ । यस आन्दोलनले विद्यार्थीलाई केवल किताबी ज्ञानमा सीमित नराखी समाज परिवर्तनको अगुवा शक्ति बनाउने काम गरेको छ ।
फाल्गुन १, २, ३ गते हुने अखिल (क्रान्तिकारी)को एकताको राष्ट्रिय सम्मेलनः
अखिल (क्रान्तिकारी) नेपालको क्रान्तिकारी विद्यार्थी आन्दोलनको अग्रणी संगठन हो । विगत केही समयदेखि देखिएको विभाजन, वैचारिक अस्पष्टता र सांगठनिक कमजोरीका बीच एकताको राष्ट्रिय सम्मेलन ऐतिहासिक आवश्यकता बनेर आएको छ । फाल्गुन १, २ र ३ गते हुने यो सम्मेलन केवल संगठनात्मक एकता मात्र होइन, वैचारिक पुनःध्रुवीकरण र आन्दोलनको नयाँ कार्यदिशा र नेतृत्व तय गर्ने महत्वपूर्ण मोड हो । यो सम्मेलनले विद्यार्थी आन्दोलनलाई पुनः क्रान्तिकारी धारमा फर्काउँदै शिक्षा, राजनीति र समाज परिवर्तनको स्पष्ट खाका प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । एकताबिना संघर्ष कमजोर हुन्छ र कमजोर संघर्षले शोषण अन्त्य गर्न सक्दैन । त्यसैले यो सम्मेलन सम्पूर्ण क्रान्तिकारी विद्यार्थीका लागि आशा, भरोसा र नयाँ संकल्पको केन्द्र बनेको छ ।
विद्यार्थी आन्दोलनमा सहिदहरूको योगदानः
क्रान्तिकारी विद्यार्थी आन्दोलन सहिदहरूको रगतले सिंचित आन्दोलन हो । शिक्षा, समानता, स्वतन्त्रता र न्यायका लागि धेरै विद्यार्थीहरूले आफ्नो अमूल्य जीवन बलिदान गरेका छन् । उनीहरू केवल व्यक्तित्व मात्र थिएनन्, उनीहरू विचार थिए, आन्दोलन थिए, प्रेरणा थिए । सहिदहरूले देखाएको बाटो आज पनि क्रान्तिकारी विद्यार्थी आन्दोलनको नैतिक र वैचारिक आधार हो । सहिदहरूको सपना अधुरो छ, जबसम्म शिक्षा व्यापारीकरणमुक्त हुँदैन, जबसम्म श्रम गर्ने वर्ग सत्तामा पुग्दैन, जबसम्म वैज्ञानिक समाजवादी शिक्षा प्रणाली स्थापित हुँदैन । आजको पुस्ताले सहिदहरूलाई सम्झने भनेको केवल कार्यक्रम र भाषणमा होइन, उनीहरूको विचारलाई व्यवहारमा उतार्नु हो ।
वर्तमान शैक्षिक र राजनीतिक अवस्थाः
आजको नेपाल गम्भीर शैक्षिक र राजनीतिक संकटमा । शिक्षा प्रणाली पुँजीवादी बजारको हातमा पुगेको छ । निजी विद्यालय र कलेजहरू नाफाको केन्द्र बनेका छन् भने सरकारी शिक्षा जानाजानी कमजोर बनाइएको छ । राजनीतिक रूपमा देश दिशाहीन अवस्थामा छ । जनताको पक्षमा राजनीति गर्नेभन्दा सत्ता र स्वार्थमा लिप्त प्रवृत्ति हाबी छ । शिक्षा नीति विदेशी हित, दातृ निकाय र पूँजीवादी सोचअनुसार निर्माण भइरहेका छन ्। यसको परिणामस्वरूप शिक्षित युवा बेरोजगार छन्, सीपहीन छन् र देश छोड्न बाध्य छन् । विद्यार्थी आन्दोलनमाथि दमन, आवाज दबाउने प्रयास र राजनीतिक सौदाबाजी बढ्दो छ, जसको विरुद्ध क्रान्तिकारी विद्यार्थी आन्दोलन पुनः सशक्त रूपमा उठ्न जरुरी छ।
वैज्ञानिक समाजवादी शिक्षा ः
विकल्प र आवश्यकताः वर्तमान संकटको समाधान वैज्ञानिक समाजवादी शिक्षा प्रणाली हो । वैज्ञानिक समाजवादी शिक्षा भनेको श्रम, उत्पादन, विज्ञान र समाज परिवर्तनसँग जोडिएको शिक्षा हो । यो शिक्षा नाफाका लागि होइन, समाजका लागि हुन्छ । यस शिक्षालेः श्रमलाई सम्मान गर्दछ । शिक्षा र उत्पादनलाई जोड्छ । राष्ट्रिय आवश्यकता अनुसार पाठ्यक्रम निर्माण गर्छ । समान, निःशुल्क र गुणस्तरीय शिक्षा सुनिश्चित गर्छ । सामन्ती र पूँजीवादी सोचको अन्त्य गर्छ । वैज्ञानिक समाजवादी शिक्षा बिना समाजवादी समाज सम्भव छैन । यही शिक्षा प्रणाली स्थापना गर्नु क्रान्तिकारी विद्यार्थी आन्दोलनको ऐतिहासिक दायित्व हो ।
निष्कर्षः

क्रान्तिकारी विद्यार्थी आन्दोलन आज इतिहासको जिम्मेवारी बोकेर उभिएको छ । फाल्गुन १, २ र ३ गते हुने अखिल (क्रान्तिकारी)को एकताको राष्ट्रिय सम्मेलनले आन्दोलनलाई पुनः एकीकृत, सशक्त र क्रान्तिकारी बनाउने विश्वास गरिएको छ । सहिदहरूको बलिदान, वर्तमान संकट र भविष्यको सपना—यी सबैलाई समेट्दै वैज्ञानिक समाजवादी शिक्षाको स्थापनाका लागि आजको विद्यार्थी आन्दोलन निर्णायक संघर्षमा उत्रिनु अपरिहार्य छ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?