‘११ वर्षमा जनताले के पाए ?’—माइतीघरमा अनौठो शैलीमा संविधानको विरोध

काठमाडौं: संविधान जारी भएको ११ वर्ष पुगेको अवसरमा नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले काठमाडौंको माइतीघर मण्डलामा अनौठो शैलीमा संविधानको विरोध गरेको छ।

प्रदर्शनमा सहभागी विद्यार्थीहरूले संविधान जारी भएको ११ वर्षमा जनताले के पाए भन्ने प्रश्न गर्दै विभिन्न व्यंग्यात्मक नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए।

उनीहरूले ‘शिक्षामा कर, स्वास्थ्यमा कर, विद्युतमा कर, संविधानको सफलता अपरम्पार’, ‘११ वर्षमा जनताले के पाए? अन्याय र धोका’, ‘रोजगार छैन, रोजगारीको हक मात्रै’ लगायतका नाराहरू लेखिएका प्लेकार्ड बोकेका थिए।

प्रदर्शनमार्फत विद्यार्थीहरूले संविधानमा शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका विषयलाई मौलिक हकका रूपमा उल्लेख गरिए पनि व्यवहारमा ती अधिकारको सुनिश्चितता हुन नसकेको भन्दै प्रश्न उठाएका थिए।

अखिल (क्रान्तिकारी) ले वर्तमान संविधान असफल भइसकेको दाबी गर्दै पुनर्लेखन गर्नुपर्ने मागसमेत गरेको छ। संगठनले जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता विषयमा राज्यको जवाफदेहिता सुनिश्चित हुनुपर्नेमा जोड दिएको छ।

माइतीघरमा गरिएको प्रदर्शनमा सहभागीहरूले संविधानको ११ वर्षे यात्रामाथि प्रश्न उठाउँदै आफ्ना असन्तुष्टि र मागहरू प्लेकार्ड तथा नारामार्फत सार्वजनिक गरेका थिए।

By जन बिहानी

Related Posts