काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कार्यान्वयनका लागि आवश्यक कानुन तत्काल निर्माण गर्न राजनीतिक दलहरूसँग आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले संविधान कार्यान्वयनमा भएको कमीले जनतामा निराशा छाएको उल्लेख गर्दै त्यसलाई आशामा परिणत हुनेगरी राजनीतिक दलहरूले आवश्यक काननहरूको निर्माण गरेर संविधान कार्यान्वयनमा ध्यान दिनुपर्ने बताएका हुन् ।
संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेताहरूलाई माघी पर्वको अवसर पारेर सोमबार राष्ट्रपति भवन शितल निवासमा बोलाएर राष्ट्रपति पौडेलले नेपाली जनताको चाहना र भावनाअनुसार अघि बढ्नका लागि संविधान कार्यान्वयन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रलाई साकार पार्ने अठोट सबै राजनीतिक दलहरूले गर्नुपर्ने बताएका हुन् ।