
भक्तपुर : भक्तपुर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका वैकल्पिक केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला समितिका इन्चार्ज श्रीकृष्ण सुलुकी ममतामयी आमा लक्ष्मी सुलुको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।
उक्त श्रद्धाञ्जली कार्यक्रम क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नम्बर ब्युरो र नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाः राष्ट्रिय सम्मेलन आयोजक समितिको संयुक्त शनिबार आफ्नै निजी निवासमा आयोजना गरेको थियो । श्रीकृष्ण सुलुकी ममतामयी आमलक्ष्मी सुलुको १९९० जेठ २० गते जन्मनु भएको थियो भने निधन यही २०८२ माघ ४ गते ९२ वर्षमा भएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि पार्टीका महासचिव सिपी गजुरेल गौरवले सम्बोधन गर्नु भएको थियोे । उहाँले लक्ष्मी सुलुप्रती भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै लक्ष्मी सुलुले समाजमा पुर्याउनु भएको महत्त्वपूर्ण योगदानको पार्टीले सँधै कदर गर्ने बताउनु भयो । अर्को प्रसंगमा महासचिव गौरवले कठपुतली सरकारको लागी सबैभन्दा चुनौती क्रान्तिकारी कम्युनिस्ट पार्टी भएको पुष्टी पुर्णबहादुर खड्काको गिरफ्तारीले गरेको दाबी पनि गर्नु भयो ।
त्यसैगरी श्रद्धाञ्जली कार्यक्रमको अध्यक्षता गर्नु भएका पोलिटब्युरो सदस्य तथा ब्युरो सचिव चिन्तामणी पौडेलले यस्तो कार्यक्रमले नयाँ तथा वैकल्पिक संस्कार विकास गर्न प्रयत्न गरेको बताउनु भयो । कार्यक्रममा छोरा शिवराम सुलुले आमाको बारेमा चर्चा गर्नु भएको थियो ।
नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाः राष्ट्रिय सम्मेलन आयोजक समितिका नेता गोर्की श्रेष्ठले लक्ष्मी सुलुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नु भयो ।
कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य तथा ९ ब्युरो इन्चार्ज दिनेश शर्मा, पार्टीका केन्द्रीय सल्लाहकार गोर्की श्रेष्ठ, प्राध्यापक संगठनका संयोजक जग्दिशचन्द्र भण्डारीले र परिवारको तर्फबाट शिवभक्त सुलु, शिवराम सुलु र श्रीकृष्ण सुलु अतिथि रहनु भएको थियो ।
श्रद्धाञ्जली पत्र वाचन गरेर ब्युरो सचिव चिन्तामणी पौडेलले हस्तान्तरण गर्नु भएको थियो भने कार्यक्रम सन्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल भक्तपुर जिल्लाका सचिव सुरेश अधिकारीले गर्नु भएको थियो ।
यस्तो छ श्रद्धाञ्जली पत्रको पूर्णपाठ
‘नेपाली श्रमजीवी तथा उत्पीडित जनताको अग्रदस्ता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका वैकल्पिक केन्द्रीय समिति सदस्य तथा भक्तपुर जिल्ला समितिका इन्चार्ज एवम् भक्तपुर नगरपालिका वडा नं- २ व्यासी निवासी कमरेड श्रीकृष्ण सुलुकी ममतामयी आमा लक्ष्मी सुलुको यही २०८२ माघ ४ गते ९२ वर्षको उमेरमा काठमाडौंको के।एम।सी। अस्पतालमा भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नम्बर ब्युरोद्वारा ममतामयी आमा लक्ष्मी सुलुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं । मृतक लक्ष्मी सुलु लामो समयदेखि मृगौला, फोक्सो, मुटु लगायतका रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँका ३ छोरा, ३ छोरी र नाति नातिनाहरु हुनुहुन्छ । उहाँको निधनबाट पार्टीले एकजना असल शुभचिन्तक र परिवारले कुशल अभिभावक गुमाएको छ । यस दुःखद् परिस्थितिमा कमरेड श्रीकृष्ण सुलुलगायत सम्पूर्ण शोकमा रहनु भएका परिवारजन, आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।”
प्रवाह
सचिव
९ नम्बर ब्युरो
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल’