किन चर्चामा छ बुर्किना फासो ?

– रामबहादुर बुढा

नेपालको शिक्षण संस्थाहरूमा भूगोल विषयमा अफ्रिका महादेशलाई “कालो महादेश”भनेर पढाइन्थ्यो र पढाइन्छ। विश्वकै अशिक्षित, अभाव र पिछडिएको जीवन बिताउने मानिसहरु बस्ने हुनाले त्यस महादेशलाई कालो महादेश भनिएको हो। शताब्दियौ देखि साम्राज्यवादी शोषण र लुटका कारण अफ्रिका महादेश कालो महादेश भएको हो। प्राकृतिक स्रोतका अथाह धनी अफ्रिकीहरू यदि स्वतन्त्ररुपमा आफ्ना प्राकृतिक सम्पदाको उपभोग गर्न पाउने, शिक्षा, स्वास्थ्य र विकासमा सचेत भई अगाडि बढ्न पाउने हो भने उनीहरु संसारका सम्पन्न, सुखी र खुसी मानव बन्ने थिए ।

बुर्किना फासो अफ्रिका महादेशको पश्चिम क्षेत्रमा अबस्थित एउटा भूपरिवेस्थित देश हो। यसको राजधानी ओउडुगोआ हो । यसको आधिकारिक भाषा फ्रेन्च हो। मुर र मान्डीका ( बामबरा) भाषालाई पनि प्रान्तीय स्तरमा आधिकारिक मान्यता दिइएको छ । कुल जनसङ्ख्या त्यहाँको सरकारी वेबसाइटमा बताइए अनुसार २ करोड ४० लाख रहेको छ। यो जनसङ्ख्या मध्येमा ४८ % मोसी जाति छन् र त्यस बाहेक अन्य जातिहरु रहेका छन् । बुर्किना फासो सन् १९६० अगस्ट ५ का दिन फ्रान्सको औपनिवेशिकताबाट मुक्त भएको घोषणा गरिएको थियो । फ्रान्सबाट मुक्त भएको भनिए तापनि अप्रत्यक्षरुपमा त्यहाँ फ्रान्सको औपनिवेशिक शासन चल्दै आइरहेको थियो। १९२२ मा दुई वर्ष पहिले त्यहाँ सैनिक क्याप्टेन ३४ वर्षीय युवा इब्राहिम त्राउरेले सैनिक विद्रोह गरी सत्तामा आइसकेपछि त्यहाँबाट फ्रान्सेली सेनालाई देश निकाला गरे र विदेशी कम्पनीहरूलाई पनि त्यहाँबाट निष्कासन गरे, विदेशी रिण नतिर्ने घोषणा गरे । सुन खानीहरूको स्वामित्व सरकारले लिने घोषणा गर्यो । यसले गर्दा एउटा कमजोर देशले पनि यदि आँट र हिम्मत गर्न सक्छ भने देशको पक्षमा कतिसम्म काम गर्न सक्छ भन्ने उदाहरण बुर्किना फासोले देखाएको छ ।

बुर्किना फासोका घाना , माली, नाइजर,आइभरीकोस्ट ,टोगो जस्ता ६ वटा मुलुकहरू यसका सीमा जोडिएका देशहरू हुन् । त्यहाँ ६३% मुस्लिमहरु ,२६% इसाईहरू र १०% अन्य धर्मावलम्बीहरू रहेका छन् । बुर्किना फासो विश्वको १३औँ ठुलो सुन उत्पादक राष्ट्र हो । जसले प्रति वर्ष करिब एक सय टन भन्दा धेरै सुन उत्पादन गर्छ । जसको बजार मूल्य करिब ६ अर्ब डलर बराबर हुन्छ । ती सुन लगायतका प्राकृतिक स्रोत साधनहरुलाई अन्य मुलुकका विदेशी कम्पनीहरुले लिएर जाने गर्दछन् । जमिनमुनि प्रशस्त सुन लगायतका धातुहरू छन् भने त्यसमाथि बस्ने जनताहरू ५०% भन्दा बढी जनसङ्ख्या गरिबीको रेखामुनि रहँदै आएका छन्।

२०२२ को जनवरीमा लेफ्टिनेन्ट कर्नल पल हेनरी सान्डाओगो डामिबाले राष्ट्रपति रोच मार्क क्रिश्चियन काबोरेको सरकारलाई सैनिक विद्रोह गरि अपदस्थ गरेका थिए । सो कदमको त्राओरेले समर्थन गरेका थिए । तर देशमा खासै परिवर्तनको अनुभव जनताले गर्न नसके पछि क्याप्टेन इब्राहिम ट्राओरेले २०२२ को सेप्टेम्बरमा अर्को सैनिक विद्रोह गरी सत्तामा आए । सत्ता कब्जा गरेपछि देशको सुरक्षा र आर्थिक नीति परिवर्तन गरे। सत्तामा आए पछि उनले देशलाई स्वतन्त्रता, आत्मनिर्भरता र स्वाधीनता तर्फ लैजाने घोषणा गरे । सन् २०२२ मा सत्तामा आए लगत्तै फ्रान्सका सेनालाई बुर्किना फासोबाट हटाए । पश्चिमा बहुराष्ट्रिय निगमहरू निकालिदिए । विश्व राजनीतिमा युरोपेली र अमेरिकी ध्रुवका विपरीत रहेका रुस, चीन ,क्युबा सित कुटनैतिक सम्बन्ध बढाए । सत्तामा आएदेखि नै ट्राओरेले आफ्नो देशमा पश्चिमी शक्तिहरूको प्रभावलाई योजनाबद्ध तथा व्यवस्थित रूपमै घटाउँदै आएका छन् । यसलाई उनले राष्ट्रिय सार्वभौमिकता प्रतिको अडान भन्ने गरेका छन् । सन् २०२३को जनवरीमा उनले फ्रान्सेली राजदूतलाई निष्कासन गरिदिए । साथै फ्रान्सलाई ‘साम्राज्यवादी राज्य’ समेत घोषणा गरे । यस्तो अभियानले त्यसअघि फ्रान्सेली साम्राज्यको प्रभावमा रहेका अरू पश्चिम अफ्रिकी राष्ट्रहरूलाई पनि फ्रान्सेली सेना धपाउन सजिलो बनायो । अहिले सम्म माली, चाड, सेनेगल, नाइजर र आइभरी कोस्टले फ्रान्सेली सेनालाई आफ्नो मुलुकबाट निष्कासन गरिसकेका छन् । ट्राओरे प्रशासनले पश्चिमा सरकार समर्थित सञ्चार माध्यमहरूलाई प्रतिबन्ध लगाएका छन् ।

उनले सामाजिक सुधारका कामलाई पनि अगाडि बढाए । जबरजस्ती विवाहलाई गैरकानुनी बनाए । महिलाको यौनाङ्ग काटिदिने प्रथालाई निषेध गरे । ठुलो सङ्ख्यामा महिलालाई विभिन्न सरकारी भूमिकामा स्थान दिए। त्यहाँ पहिले फ्रान्सेली मुद्राको प्रचलन थियो । अहिले युरो प्रचलन रहंदै आएकोमा उनले त्यसलाई हटाउने कोसिस गर्दै छन ।

यस्तो अभियान बुर्किना फासोमा क्रान्तिकारी नेता थोमस संकाराले पनि चलाएकाथिए । ट्राओरे जस्तै संकारा पनि आफ्नो तीन दशकको उमेर हाराहारीमै १९८३ मा सत्तामा पुगेका थिए । सत्तामा पुगेको चार वर्षमै उनले वैदेशिक सहायताको निर्भरता घटाउने तथा मुलुक भित्रको उत्पादकत्व बढाउने खालका व्यापक सुधारका कार्यक्रम सुरु गरेका थिए । उनको भनाइ नै थियो ‘हामीलाई जसले खुवाउँछ उसले हामीमाथि नियन्त्रण गर्छ ।’ उनले आन्तरिक उत्पादन, साना–स्तरका कृषि अभियानहरू मार्फत पोषणयुक्त तथा स्थानीय खाद्यान्न उत्पादनमा जोड दिएका थिए । संकाराले सामाजिक आवास, स्वास्थ्य केन्द्र बनाउन, निरक्षरता उन्मुलन गर्नमा लागेका थिए । उनले जबरजस्ती हुने विवाहलाई गैरकानुनी करार गर्दै रोकिदिएका थिए । सन् १९८७ मा थोमस संकाराको हत्या भयो । अहिले इब्राहिम ट्राओरे सत्तामा आएपछि बल्ल संकाराको हत्यारा तथा पूर्व राष्ट्रपति ब्लेज कोम्पाओरेलाई दोषी करार गरिएको छ । तर कोम्पाओरे अहिले आइभरी कोस्टमा निर्वासनमा छन् । ट्राओरेले देशलाई ठीक ढङ्गले अगाडि लैजान्छन वा थोमस संकाराको जस्तै हत्या हुने हो कि ? यी सबै प्रश्नको माथि प्रतिकृया जनाई हाल्नु छिटो हुनेछ ।

बुर्किना फासो विश्वको १३औँ ठुलो सुन उत्पादक राष्ट्र हो । जसले प्रति वर्ष करिब एक सय टन भन्दा धेरै सुन उत्पादन गर्छ । जसको बजार मूल्य करिब ६ अर्ब डलर बराबर हुन्छ ।बुर्किना फासोको अर्थतन्त्रमा सुनको प्रधान भूमिका रहेकोछ । सुनले त्यहाँको निर्यातको ८० प्रतिशत भन्दा धेरै हिस्सा ओगटेको छ । ट्राओरेका धेरै योजना र पहलहरू प्रत्यक्ष रूपमा थोमस शंकाराबाट र उनका अभियानबाट प्रेरित छन् । उनको सैन्य सरकारले खाद्य सार्वभौमिकता हासिल गर्नेमा जोड दिएको छ । कृषिलाई यान्त्रीकरण गर्नका लागि तथा धान, मकै र आलु जस्ता मुख्य बालीहरूको उत्पादन बढाउन उनको सरकारले १ अर्ब डलर बराबरको नयाँ योजना थालनी गरेको छ ।

सत्तामा आएपछि ट्राओरेले निर्वाचन गर्ने भनेका थिए। उनी अहिले निर्वाचन प्रक्रियामा जान सकेका छैनन्। उनले २०२९ मा मात्र चुनाव गर्ने भनेका छन्। पश्चिमा शक्तिहरू खुलेर ओरेको शासन विरुद्धमा लाग्न थालेका छन् । उनी माथि मानव अधिकार हननको आरोप लागेको छ। त्यो कुरा बुझेर उनले रुस,चिन, उत्तर कोरियाको पश्चिमा शक्ति विरोधी ध्रुवसिता सम्बन्ध बलियो बनाउन खोजेका छन्। उनी विद्यार्थी जीवनमा मार्क्सवादी विद्यार्थी संगठनमा रही काम गरेकाले उनी जुनसुकै शासन प्रणालीको अभ्यास गरे पनि मार्क्सवादको उनमा प्रभाव परेको हुनसक्छ। बुर्किना फासोमा कैयौँ बन्दुकधारी समूहहरू अहिले पनि क्रियाशील छन्। भोकमरी, भ्रष्टाचार, अशान्तिले आक्रान्त मुलुकलाई ठीक दिशामा हिँडाउन ट्राओरेलाई निकै चुनौती छ। यदि उनी सफल हुँदै गए भने अफ्रिकाबाट पश्चिमा साम्राज्यवादी शोषणलाई कमजोर बनाउने कार्यले पनि सफलता पाउँदै जानेछ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?