फूलको प्रेम!

गोविन्द शाही

म तिर बढ्न
मनतिर माया बढाउन
उसले फुल्दै गरेको,
गुलाबका पत्रहरूमा
माया पोखेर
अँजुलीमा राखिदियो
त्यो दिन;
कोपिला चुँडियो
बगैँचा रित्तियो, म भरिए।

अनि हरेक दिन
म रित्तिए बगैँचा भरिदै गयो
थाहै भएन मनलाई
मायाका पत्रहरू, मायामा पात्रहरू
खोलासँग छुटेको कुलोझैँ
भोलि, सुकेर जान्छ भनेर।

अब
मलाई टिप्न मन पर्दैन
मन नलाई नलाई
कसैले टिपेका फुल्दै गरेका फूलहरू
मलाई लिनु छैन
आफ्ना भावनाहरू
आफ्नै हातले
अब टिप्नु छैन मनलाई
कसैको अन्झुलीमा
आफ्नै जिन्दगीहरू

सुन न
सक्छौ भने
मलाई फूल नदेऊ न ल
बरू मलाई फुल्न देऊ
तिम्रो मनको बाटो सम्म
मलाई
फूलको माया होइन
फूलमा माया होइन
फुल्नुको माया छ
फुल्नुमा माया छ
मेरो जिन्दगी तिम्रो आँगनसम्म

@itsgoblinofficial

By जन बिहानी

Related Posts