
केन्द्रीय सल्लाहकार समिति सदस्य, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल
ध्रुव रुपाखेतीले नेपालको कम्युनिस्ट आन्दोलनमा लामो यात्रा तय गरिसक्नु भएको छ । धादिङमा जन्मिएको भए पनि स्कूले जीवन कपिलवस्तुमा बिताउनुभयो । क्याम्पस जीवन काठमाडौंमा व्यतित गरिरहेको बेला उहाँ राजनीति प्रति आकर्षित हुनुभयो । २०२९ देखि २०४४ सम्म झोलुङे पुल सम्बन्धी कार्यमा जागिर खानु भयो । जागिरको सन्दर्भमा रोल्पाको थवाङमा बस्दा त्यहाँको राजनीतिक इतिहास सुनेर र त्यहाँको मानिसहरुको कम्युनिस्ट राजनीतिप्रतिको लगाव देखेर उहाँलाई कम्युनिस्ट राजनीतिप्रति बढी आकर्षित हुनुभयो ।
जान अनजानमा उहाँले सुरुमा सर्वहारा श्रमिक संगठनलाई लेवी तिर्नु भयो । नेकपा (माक्र्सवादी) मा आबद्ध हुनुभयो । ०४७ मा माले र माक्र्सवादीको एकीकरण प्रक्रियाबाट एमाले बनेपछि एकता प्रक्रियामा सहभागी हुनुभयो । २०५४ मा एमालेबाट विभाजित भएर माले बन्दा उहाँ माले धारतिर लाग्नु भयो । २०५७ देखि भूमिगतरुपमा नेकपा (माओवादी) लाई सहयोग गर्नुभयो । ०६९ मा एकीकृत नेकपा (माओवादी) विभाजित भई मोहन वैद्य किरणको नेतृत्वमा नेकपा– माओवादी गठन भएपछि उहाँ नेकपा माओवादीतर्फ संगठित हुनुभयो । त्यस यता उहाँ अहिलेसम्म यही धारमा क्रियाशील हुनुहुन्छ ।
बुबा मुक्तिराज रुपाखेती र आमा मिनकुमारीको कोखबाट वि.सं.२००९ साल असोज ९ गते धु्रव रुपाखेती जन्मनु भएको थियो । उहाँको जन्मस्थल धादिङको गजुरी गाउँपालिका वडा नं. ५ (साविक पीडा गाविस, च्याङली ) मा भएको थियो । ४ भाई, ४ दिदी मध्ये उहाँ कान्छो हुनुहुन्छ । उहाँले वि.ए.सम्मको अध्ययन गर्नुभएको छ । २०२९ सालमा उहाँले राधा न्यौपानेसँग विवाह गर्नुभएको थियो । उहाँहरुका तीन छोरीहरु छन् । यसपटक हाँक साप्ताहिकले ध्रुव रुपाखेतीसित कुराकानी गरेको छ ।
० धादिङको व्यक्ति कसरी कपिलवस्तु जानुभयो ?
–दुईवटा कारणले हामी धादिङबाट कपिलवस्तु जानु प¥यो । एक त बुबाहरुका बीचमा सम्पत्तिको विवादले त्यहाँ बसाई त्यति उपयुक्त भएन । दोस्रो कुरा, गाउँमा कांग्रेसीहरुको विगविगी भयो । कांग्रेसले गाउँमा आतंक सिर्जना गरे । तेस्रो कुरा मेरा दाजुले कपिलवस्तुमा बहादुरगञ्जको मालपोत कार्यालयमा नापीको जागिर गर्दा ७ विघा जमिनको व्यवस्था गर्नु भएको रहेछ । त्यस स्थितिमा हाम्रो परिवार कपिलवस्तु बसाई सर्न सजिलो भयो । खान, बस्न सजिलो पनि हुने सबै कुरालाई ध्यान दिएर हाम्रो परिवार धादिङबाट कपिलवस्तु सरेको हो ।
० कपिलवस्तुमा विद्यार्थी जीवनमा राजनीतिक गतिविधिले तपाईलाई छोएन ?
–कपिलवस्तुमा हाइस्कूलसम्म विद्यार्थी जीवनमा राजनीतिले मलाई बिल्कुलै छोएन । २०२६ सालमा मैले एस.एल.सी. दिएको हुँ । काठमाडौंमा मैले त्रिचन्द्र क्याम्पस पढेको हुँ । एक पटक आईए पढ्दा कपिलवस्तुबाट आएका विद्यार्थीहरु शंकरदेव क्याम्पसमा जम्मा हुने कार्यक्रम राखिएको थियो । म पनि त्यो कार्यक्रममा पुगें । त्यहाँ विद्यार्थी संगठनको सदस्यता वितरण भएको थियो । हामी मध्ये २÷३ जना साथीले यो त कांग्रेसको हो हामी सदस्य नहुने भनेपछि साथीहरुको संगतले कांग्रेस भइएन । वामपन्थी साथीहरुको संगतले वामपन्थी समर्थक बनिएछ । भर्खरै केही महिना पहिले ७० वर्ष पुगेका वृद्धहरुलाई पार्टीको ९ नम्बर व्यूरोले सम्मान गर्दा साथीहरुले सम्मान पत्रमा मलाई २०३० सालमा पार्टी सदस्य भनेर लेख्नु भएको छ ।
० जागिरे जीवनमा तपाईको राजनीतिक संलग्नता रोचक नै रहेछ नि है ?
–हो, मैले २०२९ देखि २०४४ सम्म जागिर गरें । झोलुङगे पुल निर्माण सम्बन्धी कार्यमा मेरो जागिर थियो । संयोग नै भन्नुपर्छ म सधै भरी वामपन्थी साथीहरुकै संगतमा रहें । २०३५ सालतिर मलाई साथीहरुले मासिक १ सय रुपैयाँ चितवनको जोशी पुस्तक पसलमा बुझाउनु भन्नुभएको थियो । मैले केही वर्षसम्म जोशी पसलमा जाँदै मासिक १ सयका दरले लेभी बुझाएँ । कुरा बुझ्दाखेरी त्यो सर्वहारा श्रमिक संगठनको पार्टी रहेछ ।
२०४४ मा म रोल्पा थवाङ गएँ । त्यहाँको हावा, पानी, माटो सबै कम्युनिस्ट जस्तो लाग्यो । २०३८ मा राष्ट्रिय पंचायतको चुनावमा जनताले पूरै बहिष्कार गरेर वाकस खाली गरिदिएको, थवाङमा सेनाले दमन गरेको, जनताको एकता, त्यो सबै कहानीहरु मैले सुने । म वर्मन बुढाको घरमा १ महिना बसेर भात खाएको छु । मोहन विक्रम त्यहाँ बसेको , भूमिगत भएको, शुरुमा त्यहाँ पार्टी बनाउँदा रगतले हस्ताक्षर गरेको सम्मका कहानी मैले सुने । कम्युनिस्टहरुसितको संगत भनेर सरकारले जागिर खानुपर्दैन भन्यो । मैले जागिर छाडिदिएँ ।
० जागीर छाडेपछि तपाई माक्र्सवादी, एमाले, मालेको राजनीतिमा पनि संलग्न हुनुभयो । त्यो अवधिको कुरा पनि सुनौ न ।
– २०४६ सालदेखि म नेकपा (माक्र्सवादी) को कपिलवस्तु जिल्ला सदस्य भएर काम गरें । ०४७ सालमा माले र माक्र्सवादीको पोखरामा राष्ट्रिय एकता भेला गरेर नेकपा एमाले बन्यो । म नेकपा (एमाले) को कपिलवस्तु जिल्ला सदस्य भएर काम गरें । माथिल्ला पद पाएका माक्र्सवादीहरु मनमोहन, भरतमोहन, साहना प्रधान पद पाएर मख्ख परेर बसें । माक्र्सवादीहरुलाई मालेहरुले धेरै हेपे । अत्याचार नै गरे । एमालेको नेतृत्वका विरुद्धमा २०४८ को संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारका नाममा हामी विद्रोही उम्मेवार थियौं । काभ्रेबाट देवराज लामा, उदयपुरबाट भीम चापागाई, सिन्धुलीबाट बोधराज काफ्ले, कपिलवस्तु ४ नं. क्षेत्रबाट म ध्रुव रुपाखेती सहित २५ जना विद्रोही उम्मेदवार बन्यौं । मेरो १५१ मत आएको थियो । तिनीहरुले कार्वाही । तिमीहरुको कार्वाही फुकुवा हुन्छ भनेर पनि आश्वासन दिइएको थियो । नेकपा (एमाले) को २०५४ मा नेपालगञ्जमा छैठौं महाधिवेशन हुनुभन्दा पहिले नै कपिलवस्तुमा मेघराज ज्ञवालीको नेतृत्वमा ३५ सदस्यीय विद्रोही जिल्ला समिति बनाइयो । नेकपा (माले) गठन भएपछि म कपिलवस्तु जिल्ला समितिको सल्लाहकार बने ।
० अनि माओवादीमा कहिले आबद्ध हुनुभयो त ?
–मालेबाट साथीहरु माओवादीमा जाने सल्लाह रहेछ । त्यही भएर मलाई पनि सल्लाह गर्न मेघराज ज्ञवाली, भानु श्रेष्ठले बुटवल बोलाए । बोलाएको सम्बन्धित स्थानमा जाँदा सम्पर्क व्यक्तिले उहाँहरु यहाँबाट हिंडिसक्नु भयो भन्नुभयो र माओवादीमा जाने कार्यबाट म छुटें । पछि म २०५७ मा काठमाडौं आएँ । काठमाडौं आएका बेला माओवादी साथीहरु सित सम्पर्क भयो । हामीलाई सहयोग गर्नुस् भन्नुभयो । अनि म माओवादी पार्टीमा जोडिएँ ।
० नेकपा (माओवादी) मा आबद्ध भएपछि तपाईको जिम्मा के थियो ?
–मलाई “आन्तरिक सम्पर्क र कुटनीति” भन्ने जिम्मा थियो । मैले काठमाडौंमा त्यही काम गरें ।
० ०६३ मा पार्टी खुला भएपछि यहाँको भूमिका ?
–पार्टी खुला भएपछि मलाई एरिया कमिटीमा राखियो । त्यसपछि काठमाडौं जिल्ला कमिटीमा राखे । मलाई अवध प्रदेश र मधेश प्रदेशको सम्पर्क मञ्चको जिम्मा दिइयो । त्यसमा मैले भूमिका खेलें ।
० २०६९ मा पार्टी विभाजन हु“दा किन प्रचण्डतिर नलागेर बैद्यले नेतृत्व गरेको विद्रोही धारमा लाग्नु भयो ?
–क्रान्तिकारी धारलाई जोगाउने कि संसदवादी आहालमा भासिएर समाप्त हुने भन्ने प्रश्न कम्युनिस्ट आन्दोलनमा आएको छ । प्रचण्डले विस्तारै पार्टीलाई प्रतिक्रियावादी व्यवस्थामा नै समाहित गर्ने भएपछि त्यो कुरालाई बुझेर पार्टीमा सचेत विद्रोह भयो र म पनि क्रान्तिकारी धारमा लागें । क्रान्तिकारी विचारलाई जोगाएर राखेमा अहिले नै क्रान्ति नभए पनि आउँदो पुस्ताले क्रान्ति गर्ला । २०७० मा राज्य समितिमा आए । ०७१ देखि अहिलेसम्म म लगातार केन्द्रीय सल्लाहकार समिति सदस्य छु ।
० २०७१ मा विप्लवले पार्टी विभाजन गर्दा पनि तपाई विप्लवतिर नलागेर बैद्यले नेतृत्व गरेकै पार्टीमा रहनुभयो । विप्लवतिर किन लाग्नु भएन ?
–विप्लवजीले कता लाँदै हुनुहुन्छ भन्ने बुझेर त्यता लागिएन । उहाँले क्रान्ति गर्ने होइन, के गर्न खोज्नु भएको रहेछ भन्ने कुरा अहिले देखिएको छ ।
० अहिले पूर्व माओवादीहरु सबै एक होऔं भन्ने अभियान पनि चलाइएको छ नि ?
–अहिले त्यो अभियान चलाइएको छ । तर एकता त हुने, केका लागि एक हुने ? यही संसदीय व्यवस्थालाई जोगाउन एक हुने वा आमूल परिवर्तनका लागि ? प्रचण्डले त यही व्यवस्थालाई जोगाउने भनेका छन् । हामी यो व्यवस्थाबाट देश र जनताको मुक्ति हुँदैन भनेका छौं । त्यसरी मैले पूर्व माओवादीहरु एक ठाउँमा आउने देखेको छैन । बरु आमूल परिवर्तन चाहने संसदीय व्यवस्था फाल्ने उद्देश्य राख्नेहरुसित सबै सित एक हुने अभियान चलाउनु पर्दछ ।
० अहिलेको राजनीतिक परिस्थिति झन–झन् खराव हुँदै गएको हो ?
–हो, भ्रष्टाचार, बेथिति सारा समस्या छ । युवाहरु विदेश पलायन भएका छन् । राष्ट्रिय स्वाधीनता कमजोर हुँदै गएको छ । नेपालका संसदवादी राजनीतिक पार्टीहरु विदेशी शक्तिहरुको आडमा सत्तामा जान खोज्ने र सत्तामा टिक्ने उद्देश्य राख्ने हुँदा यिनीहरुबाट राष्ट्रिय स्वाधीनताको रक्षा नहुने निश्चित छ । यिनीहरुबाट जनहितको कार्य पनि नहुने प्रष्ट भइसकेको छ । तसर्थ क्रान्तिकारी आन्दोलनलाई संगठित गर्नुको विकल्प मैले देखेको छैन । भिजिट भिसामा स्वयं गृहमन्त्रीले समेत नेपाली युवाहरुले बेच्ने काम गरेका छन् ।
हाम्रो नेपालको भुराजनीतिक अवस्था विशिष्ट प्रकारको छ । पहिले नेपालको राजनीतिमा भारतको प्रभाव बढी प्रभाव थियो । अहिले भारतका साथै चीन, यूरोपियन युनियन र अमेरिकाको समेत प्रभाव बढेर गएको छ । यहाँ नेपालमा विदेशी शक्तिकेन्द्रहरुले आफ्नो खेल खेलिरहेका छन् । सीमा, धर्म, संस्कृति, प्राकृतिक स्रोत साधन, यी यावत विषयमा विदेशीहरुले आप्mनो स्वार्थ अनुसारको खेल खेलिरहेका छन् । तिनीहरुको खेललाई सहयोग गर्ने काम यहाँका पार्टीका नेता कार्यकर्ताहरुले गरिरहेका छन् ।
भ्रष्टाचार कति मौलाएको छ , बेथिति बढेको छ । भर्खरै संसदको राज्यव्यवस्था समितिबाट पारित भएको कर्मचारी सम्बन्धी विधेयकमा एउटा चीज पारित भयो, अर्को चीज लेख्ने काम भयो । संसदीय व्यवस्थामा कतिसम्म अनैतिक काम हुन्छ भन्ने कुरा प्रष्ट हुन्छ ।
० भ्रष्टाचारीहरुलाई कुर्चीबाट थुतेर सडकमा ल्याई घिसारी घिसारी कुट्नु पर्छ र भ्रष्टाचार न्यूनीकरण हुन्छ भन्ने मत राख्ने पनि छन् नि । त्यसरी मात्र हुन्छ र?
–यदि भ्रष्टाचार यही रुपमा बढ्दै गयो भने त्यो दिन नआउला भन्न सकिन्न । भ्रष्टाचार मुख्य रुपले केन्द्रबाटै, केन्द्रीय नेताबाट, सरकारको केन्द्रमा रहेका कर्मचारीहरुबाटै भएको छ । यदि माथिका नेताहरुबाट भ्रष्टाचार रोकिने हो भने ५० प्रतिशत भ्रष्टाचार रोकिन सक्छ । तल्लो तह स्थानीय तहमा भ्रष्टाचार न्यूनीकरण गर्न स्थानीय स्तरमा हाम्रो पार्टीले भ्रष्टाचार विरोधी अभियान चलाउनु पर्दछ ।
० क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले अब के गर्नुपर्दछ भन्ने ठान्नुहुन्छ ?
–पहिलो काम पार्टीले गाउँमुखी, जनमुखी कार्यक्रम ल्याउनु पर्दछ । पार्टीका नेता, कार्यकर्ता जनतामा जानुपर्दछ । पार्टीले लामो समयपछि जागरण अभियान संचालन ग¥यो । असाध्य राम्रो काम ग¥यो । अहिले फेरि भ्रष्टाचार विरोधी अभियान संचालन गर्दैछ । यसलाई पनि प्रभावकारी रुपमा अगाडि बढाउनु पर्दछ । दोस्रो काम पार्टीमा नेता, कार्यकर्ताहरुको सही पहिचान गर्नुपर्दछ । यो मेरो मान्छे, त्यो मेरो मान्छे भनेर कसैको मूल्यांकन गर्नु हुँदैन । काममा लाग्ने, खट्ने इमान्दार, त्याग गर्न तयार हुने साथीहरुलाई उचित मूल्यांकन गर्नुपर्दछ । तेस्रो कुरा, नेपाली कम्युनिष्ट आन्दोलनलाई तितरवितर पार्न देशी विदेशी शक्ति केन्द्रहरु लागिरहेका हुन्छन् । कम्युनिस्ट आन्दोलनलाई तहसनहस पार्न कहाँ, कसरी काम भइरहेको छ भन्ने कुराको गहिरो अध्ययन हुनुपर्दछ ।
० अन्त्यमा हाँक मार्फत् भन्नु केही छ कि?
–क्रान्तिकारी धारलाई बलियो बनाउने दिशामा काम अगाडि बढाउनु पर्दछ ।