जनबिहानी न्युज डेस्क / काठमाडौँ
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले देशका ४ वटा सिमाक्षेत्रबाट एकैसाथ देशव्यापी “जनसम्बन्ध विस्तार अभियान” उद्घाटन गरेको छ । देशका ४ वटा महत्वपूर्ण स्थानहरु पाँचथरको चियोभन्ज्याङ, झापाको काँकडभित्ता, बैतडीको झुलाघाटबाट र कन्चनपुरको गड्डाचौकीबाट अभियानको सोमबार एकैसाथ उद्घाटन गरिएको हो । सोमबारै क्रान्तिकारी कम्युनिस्ट पार्टीले देशैभरी अभियानको उदघाटन सभाहरु गरेको छ ।
सुदुर पश्चिममा भारतिय सिमाक्षेत्र बैतडिको झुलाघाट अभियानको उद्घाटन गरिएको छ । झुलाघाटमा पुगेको ४ नम्बर अभियान टोलीका प्रमुख हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले जनसम्वन्ध विस्तार अभियान जनतासँग आफ्नो पार्टीको मितेरी गाँस्ने अभियान भएको बताउँदै सँसदीय व्यवस्थाको गद्दीमा वसेर जनताको रगत पसिना चुस्ने शासकहरुको भण्डाफोर गर्नु पनि अभियानको उदेश्य भएको बताए । अभियानको उद्घाटन गर्दै सुदर्शनले शोषित उत्पिडित जनतालाई जागृत, सचेत र संगठित गर्दै शान्ती सुव्यवस्थित समृद्ध जनगणतत्र नेपालको स्थापना गर्ने आफ्नो पार्टीको उदेश्य भएको बताए । हरि सुवेदीको अध्यक्षता र डम्बर विष्टको संचालनमा भएको उद्घाटन कार्यक्रममा पोलिटब्युरो सदस्यहरु लालबहादुर जाग्री, केवि गुरुङ, धनेश्वर पोख्रेल लगायतले मन्तब्य राखेका थिए ।
अभियानको बारेमा जानकारी दिन उक्त टोलीले विहान ८ बजे सदरमुकाम खलङ्गामा पत्रकार सम्मेलन गरेको थियो ।

यस्तै भारतीय सिमानासँग जोडिएको कन्चनपुरको गड्डाचौकीबाट जनसम्बन्ध विस्तार अभियानको उद्घाटन गर्दै ३ नम्बर टोलीका प्रमुख कृष्णराज पौडेलले नेपालमा स्थापना भएको प्रजातन्त्र र लोकतान्त्रिक व्यवस्था जनताको नभएको बताउदै जनताको व्यवस्था स्थापना गर्नको लागि आफ्नो पार्टी क्रान्ति र विद्रोहको बाटोमा रहेको बताए । भारतीय सिमा क्षेत्रमा पुगेका नेता पौडेलले यो राज्यव्यवस्थाले महाकाली नदि, त्यसक्षेत्रको भुगोल र जनताको सुरक्षा गर्न नसकेको बताए । इतिहासको पाङग्रा सधै अगाडि बढ्ने भएकोले अव यो देशको विकल्प राजतन्त्र नभई जनवाद–बैज्ञानिक समाजवाद भएको बताए । पार्टीका पोलिटब्युरो सदस्य शेरबहादुर देउवाको अध्यक्षता र रामबहादुर महराको संचालनमा भएको उद्घाटन कार्यक्रममा पार्टीका पोलिट ब्युरो सदस्यहरु चक्रपाणी शर्मा, अम्बिका मुडभरी, रामबहादुर चौधरी, नारायण योगी, विष्णु दमाई लगायतले अभियानको बारेमा मन्तब्य राखेका थिए । उक्त अभियानको बारेमा जानकारी गराउन अघिल्लो दिन चैत्र ३ गते महेन्द्रनगरमा एक पत्रकार सम्मेलन गरिएको थियो ।

यस्तै पूर्व पाँचथरको चियोभन्ज्याङबाट पनि उक्त अभियानको उद्घाटन भएको छ । चियो भन्ज्याङमा २ नम्बर टोली नेता रामसिहं श्रीसले मशाल प्रज्वलन गरी अभियानको उद्घघाटन गरेका छन् । टोली प्रमुख श्रीसले आफ्नो पार्टीको जनसम्बन्ध अभियानले पार्टी र जनताको सम्बन्ध जोड्ने विश्वास व्यक्त गर्दै वर्तमान संसदीय व्यवस्थाले देश र जनताको समस्या समाधान गर्न नसक्ने हुनाले नयाँ जनवादी क्रान्ति—वैज्ञानिक समाजवाद आबश्यक भएको स्पष्ट पारेका छन् । कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्यहरु चन्द्रहरी सुवेदी, सुरेन्द्र भण्डारी, इश्वर तिमिल्सेना, शारदा महत, लगायतयले अभियानको बारेमा मन्तब्य राखेका थिए ।
उक्त टोलीले अघिल्लो दिन चैत्र ३ गते अभियानको बारेमा जानकारी दिन बजारमा झन्डा ब्यानर सहित माईकिङ गर्दै प्रचार गरेको थियो ।

यस्तै पुर्वकै झापाको काडकभित्ताबाट पनि जनसम्बन्ध विस्तार अभियानको उद्घाटन भएको छ । नेपाल भारत सिमाना क्षेत्र काँकडभिट्टामा गरिएको उक्त अभियानको उद्घाटनमा १ नम्बर टोली प्रमुख हरिभक्त कँडेलले जनसम्बन्ध विस्तार अभियानले क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन योगदान दिने बताए । साथै वर्तमान संसदीय व्यवस्थामा संकट आएको बताउंदै यो व्यवस्थाको बिकल्प राजतन्त्र नभएर अग्रगामी व्यवस्था नयाँ जनवाद–बैज्ञानिक समाजवाद भएको धारणा राखे ।
उद्घाटन कार्यक्रममा पार्टीका पोलिटव्युरो सदस्यहरु कृष्णदेव सिहं दनुवार, सिताराम बुढाथोकी लगायतले अभियानको बारेमा मन्तब्य राखेका थिए भने रक्तिम साँस्कृतिक अभियानका अध्यक्ष नारायण शर्मा, बाबुराम सुवेदी, क्षेत्रबहादुर थापा लगायतको सहभागीता थियो । अभियान टोलीले नारा जुलुस सहित काँकडभिट्टा बजार परिक्रमा गरेको थियो । कृष्णदेव सिहं दनुवारको अध्यक्षतामा भएको कार्यक्रमको संचालन विमल निरौलाले गरेका थिए भने उद्घाटनमा जनवादी कलाकारहरुले गित प्रस्तुत गरेका थिए ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीले सोमबार मात्रै देशका विभिन्न ठाउँमा उद्घाटन सभाहरु गरेको छ । पार्टीको ३ नम्बर ब्युरोले बाँकेको नेपालगन्ज धम्बोजी चोक, बर्दियाको मैनापोखर, सुर्खेतको बीरेन्द्रनगर, जाजरकोट र दैलेखमा सभा गरेको छ । यस्तै ४ नम्बर ब्
युरोले दाङको लमही प्युठान लगायतका ठाउमा उद्घाटन सभाहरु गरेको छ ।
यस्तै ५ नम्बर ब्युरोले रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, नवलपरासी लगायतका विभिन्न ठाउँमा सभाहरु गरेको छ ।
यस्तै ६ नम्बर व्युरोले धौलागिरिमा र ७ नम्बर व्युरोले पोखरा लगायतका ठाउँहरुमा कार्यक्रम गरेको छ । यस्तै ८ नम्बर व्युरोले धादिङको गजुरी र ९ नम्बरले ललितपुरको लगनखेल र १० नम्बरले काभ्रेमा उद्घाटन सभाहरु गरेका छन् ।
यस्तै ११ नम्बर ब्युरोले चितवन र नवलपुर, १२ नम्बरले बारा, १३ नम्बरले धनुषा र १४ नम्बरले उदयपुरमा उद्घाटन सभाहरु गरेका छन् । चैत्र ४ गते देशब्यापी रुपमा उद्घाटन गरिएको उक्त अभियान करिब २ महिना सम्म संचालन हुने सो पार्टीले जनाएको छ ।