बिभिन्न पार्टीहरुमा संगठन सुधारको प्रश्न

नेपालमा पछिल्लो समयमा सबै पार्टीमा संगठन सुधारको आवाज उठ्न थालेको छ । नेपाली कांग्रेसको गगन थापा समूहले त पार्टी सुधारका लागि नेता तथा कार्यकर्ताहरुबाट सुझावनै मागेको छ । त्यसैगरी गत फागुन २१ गतेको निर्वाचनपछि संसदवादी कम्युनिष्ट पार्टीहरु एमाले र नेपाली कम्युनिष्ट पार्टीमा पनि संठन सुधारकै प्रश्न उठेको देखिएको छ । एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीलाई पहिलेकै लयमा फर्काउन र अझ शक्तिशाली बनाउन तीनवटा प्रस्ताव अघि सार्नुभएको छ । सामाजिक सञ्जालमा लेख्दै उहाँले पार्टी रुपान्तरणका लागि अब केवल राजनीतिक शक्तिमात्र नभई देशका जटिल समस्या समाधानगर्ने विज्ञता र प्रविधिसहितको गतिशील संस्था बन्नुपर्नेमा जोड दिनुभएको पाइन्छ । उहाँले पार्टी संगठनको सुधारका लागि विज्ञतामा आधारित राजनीतिमा जोड दिनुभएको छ । त्यसैगरी उहाँले व्यक्तिगत पहुँचका आधारमा जिम्मेवारी दिने प्रथा अन्त्यगर्दै डिजिटल मेरिटोक्रेसी लागूगर्नुपर्ने, जसका लागि आधुनिक प्रविधि र पारदर्शी मूल्यांकन प्रणालीमार्फत् हरेक कार्यकर्ताको क्षमता र योगदानको निष्पक्ष मापन हुनुपर्ने तथा संरचित पुस्तान्तरणको मोडल बनाइनुपर्ने अघि सार्नुभएको छ । अनुभवी नेताहरुको ज्ञानलाई प्रयोगगर्दै नयाँ पुस्तालाई नेतृत्वमा ल्याउन को–लिडरसिप र मेन्टरसिपको वैज्ञानिक प्रणाली शुरु गर्नुपर्ने उहाँको भनाइ रहेको पाइन्छ । हुन त संसदवादी र क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुका पार्टी संगठनसम्बन्धी आआफ्ना अलल, अलग प्रणालीहरु रहेका छन् ।
भौतिकवादी दर्शनमा आधारित कम्युनिष्ट पार्टीका पार्टी संगठन सम्बन्धी आफ्नै बिश्वब्यापि नीतिहरु पनि छन् । जसको स्मरण आजको प्रमुख आवश्यकता भएको छ । नेपालको राजनीतिक सन्दर्भ हेर्दा, बिचारधारात्मक विभाजन, नेतृत्व विवाद, गुटबन्दी, र जनतासँगको दूरी बढ्दै जानु मुख्य चुनौती रहेका छन् । जसको समाधानगर्न केही व्यावहारिक कदमहरु आवश्यक हुन्छन् । जस्तो पार्टी संगठनमा आन्तरिक लोकतन्त्र सुदृढ बनाउने कुरा धेरै महत्वपूर्ण हुन्छ । त्यसैका लागि कम्युनिष्ट पार्टीहरुमा जनवादी केन्द्रियताको नीति रहेको हुन्छ । तलबाट सुझावहरु माथिसम्म पठाउने र माथिका निर्णय तथा नीति तथा कार्यक्रमहरु तलसम्म सञ्चार गराउन बलियो संयन्त्रको निर्माण र परिचालन गरिएको हुनुपर्छभन्ने रहेको छ । तर पछिल्लो समयमा सञ्चार र त्यसमा पनि अनलाइन प्रबिधिको विकास भएपछि कम्युनिष्ट पार्टीहरुमासमेत सर्कुलर प्रणाली हराउँदै गएको देखिएको छ । पार्टीभित्र निर्णय प्रक्रिया पारदर्शी र सहभागीमूलक बनाउनुपर्छ भन्ने मान्यता पनि रहेको छ । पार्टीमा नेतृत्व चयन, नीति निर्माण, र जिम्मेवारी बाँडफाँडमा सबै तहका कार्यकर्ताको आवाज सुन्ने प्रणाली विकास गर्नुपर्छ । त्यसैगरी पार्टीहरुमा गुटबन्दी जटिल रोगकारुपमा रहँदैआएको छ । जससँग जोडिएर निषेधको राजनीति पनि हुनेगरेको छ । सबै तहका नेतृत्वले आफन्त र आफूलाई मनपरेकाहरुलाई माथि उठाउने र अन्यलाई किनारा लगाउने प्रबृत्ति पनि बढ्दो छ । जसले पार्टीहरुलाई कमजोर बनाउने काम गरेको छ । त्यसैले पार्टीहरुमा पनि ठीक नेता तथा कार्यकर्तालाई ठीक ठाउँमा जिम्मेवारी दिने कुरामा ख्याल गरिएको हुनुपर्छ । पार्टीहरुमा देखिने आन्तरिक अन्तर्बिरोधको सही र पार्टी हित अनुकूल हलगर्दै एकता कायम गराउन निरन्तर प्रयास गरिएको हुनुपर्दछ ।
त्यसैगरी व्यक्तिगत स्वार्थ वा गुटगत राजनीतिले पनि पार्टी संगठनलाई कमजोर बनाउँछ । जुन कुरालाई नेतृत्वमा रहेकाहरुले सधै ख्याल गरेको हुनुपर्दछ । त्यसैगरी पार्टीहरुमा साझा बिचार, नीति र लक्ष्यमा आधारित एकता निर्माणगर्न आवश्यक छ । तर पछिल्ला दिनमा ब्यक्तिगत बिचारको प्रधानता बढिरहेको छभने नीति र लक्षमा आधारित एकता कसरी कायम गर्ने÷गराउने भन्ने कुराको ख्यालगर्न छाडिएको देखिएको छ । पार्टी भनेकै एक प्रकारको बिचारको संगठन हो । तर पछिल्लो समयमा पार्टीलाई निहित स्वार्थ पूर्तिको संगठन बनाउने कामहरु हुनथालेका छन् । माक्र्सवाद र लेनिनवादलाई अवसरवादले बिस्थापित गर्दैलगेको देखिएको छ । पार्टीहरुमा वैचारिक स्पष्टता र प्रशिक्षणको पनि त्यतिकै दरकार पर्दछ । माक्र्सवादी सिद्धान्तलाई समय सापेक्षरुपमा प्रयागगर्ने कलाको विकास गरिनु पनि त्यतिकै आवश्यक रहेको छ । पार्टीहरुले आफ्नो पार्टीका नीति तथा कार्यक्रम र बिभिन्न सन्दर्भहरुकाबारेमा पार्टीका सबै तहमा निरन्तर प्रशिक्षण र छलफल चलाएको हुनुपर्दछ । कार्यकर्तालाई नियमित वैचारिक तथा प्राविधिक प्रशिक्षण दिनु जरुरी छ, ताकि उनीहरु समाजका बदलिँदा आवश्यकतासँग जोडिन सकून् । त्यसैगरी पार्टीहरुमा युवाको सक्रिय सहभागिताको प्रवन्ध गरिएको हुनुपर्दछ । किनकी युवामा केही गरौंभन्ने चाहना र जाँगर दुबै रहेको हुन्छ । जसलाई अनुभवी नेताहरुले आफ्नो अनुभवका आधारमा परिचालन गर्न÷गराउन सक्ने होभने त्यसबाट राम्रो उपलब्धी हाँशिलगर्न सकिने हुन्छ । युवा पुस्तालाई नेतृत्वमा ल्याउने, उनीहरुको नयाँ शोच र ऊर्जा उपयोगगर्ने वातावरण बनाउनु आवश्यक छ । जसले पार्टीलाई दीर्घकालीनरुपमा बलियो बनाउँछ । त्यसैगरी पार्टी राजनीतिमा जनतासँग प्रत्यक्ष सम्बन्ध कायमगर्ने कुरा पनि धेरै महत्वपूर्ण हुन्छ । पार्टीका हरेक नेता तथा कार्यकर्ताहरुले आआफ्नो क्षेत्रका जनताको दैनिक समस्यासँग प्रत्यक्ष जोडिनुपर्छ । रोजगारी, शिक्षा, स्वास्थ्य, महँगीजस्ता जन सरोकारका मुद्धामा स्पष्ट र निरन्तर कार्यक्रमहरु ल्याइएको हुनुपर्छ । त्यसैगरी पार्टीहरुमा पारदर्शिता र जवाफदेहिताको पनि त्यतिकै महत्व रहन्छ । पार्टीका आर्थिक तथा ब्यवस्थापकीय गतिविधिमा पारदर्शिता कायमगर्नु अत्यन्त जरुरी छ ।
पार्टीभित्र र बाहिरसमेत भ्रष्टाचार वा आर्थिक लगायतका दुरुपयोगका विरुद्ध कडा कदम चाल्नुपर्छ । त्यसैगरी पछिल्लो समयमा संसारमा नयाँ, नयाँ प्रविधिको प्रविधिको विकास भैरहेको छ । त्यसबारे नेतृत्वले तत्काल जानकारी हाँशिल गरेर आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षित गरेको हुनु पर्दछ । डिजिटल प्लेटफर्ममार्फत संगठन विस्तार, सूचना प्रवाह, र जनसम्पर्कलाई आधुनिक बनाउनु पर्छ । गत फागुन २१ को निर्वाचनमा रास्वपाले डिजिटल प्लेटफर्ममार्फत चुनाव प्रचार गरेर अनपेक्षित परिणाम हात पारेको उदाहारण सबैका सामु छ । खासगरी कम्युनिष्ट पार्टीहरुमा बर्ग र बर्गसंघर्ष, जनताका अन्तर्बिरोधहरुको सही सञ्चालन गर्ने÷गराउने, पार्टी समितिहरुको नेतृत्व र परिचालन कसरी गर्ने÷गराउने, समाजवाद र साम्यवाद के हो ?, राजनीतिक काम कस्तो हुनुपर्छ ?,देशभक्ति र अन्तराष्ट्रिवाद भनेको के हो ? स्वाबलम्बन र गाह्रो संघर्षको सञ्चालन कसरी गर्ने÷गराउने ?, समाज र पार्टीमा ब्याप्त गलत बिचारहरुलाई कसरी सच्याउने ?, पार्टीको एकता र अनुशासन के हो ?, आलोचना र आत्मालोचना कसरी गर्ने ?, पार्टीका कार्यकर्ता, युवा तथा संस्कृति र कलासम्बन्धी नीतिहरु के के हुन् ?, लगायतका कुरामा निरन्तर ख्याल गरेर सबै तहमा प्रशिक्षण र मूल्यांकन गरिएको हुनुपर्दछ । तर नेपालमा पछिल्लो समयमा खासगरी ०४६ सालको परिवर्तनपछि कम्युनिष्ट पार्टीहरु पनि नेपाली कांग्रेसको सिको गरेर बढी स्वतन्त्र र प्रजातान्त्रिक हुनखोज्दा उपरोक्त कुराहरुबाट बिमुख बन्दैगएको देखिएको छ । जसले पार्टी संगठनलाई कमजोर बनाउने काम गरेको छ । नेपालमा पटक, पटक वामपन्थी शक्तिकाबीच एकताको कुरा चलेपनि त्यो असम्भवजस्तो देखिने गरेको छ । उपरोक्त कारणलेगर्दा नै कतिपय पुराना क्रान्तिकारी र परिवर्तनकारी शक्तिहरुमा क्रमश क्षयिकरण हुँदैगएको छ । कतिपय कम्युनिष्ट नामधारी पार्टीहरुलेनै अन्य कम्युनिष्ट पार्टीहरुलाई टुटाउन र फुटाउन अभियाननै सञ्चालन गर्नेगरेको पनि देखिएको छ ।
नेपालमा पूर्ब माओवादी केन्द्र र एमालेकाबीचमा बेलाबखत हुने एकता र फुटको लुकामारीले धेरै कुराहरु स्पष्ट गरेका छन् । नेपालमा कम्युनिष्टहरु एक हुन नसक्नुको मुख्य कारणनै निजी स्वार्थ हाबी हुनु होभन्ने धेरैको निचोड रहेको छ । संसदवादी कम्युनिष्ट नेताहरुमा निजी स्वार्थ यति धेरै बढ्योकि प्रधानमन्त्रीमा पुगेपछि पैसा कमाइने, पैसा कमाएपछि फेरि चुनाव जितिने भएकाले चुनावदेखि चुनावसम्म र प्रधानमन्त्रीदेखि प्रधानमन्त्रीसम्मको शोचले बिभिन्न पार्टी र शक्तिहरुलाई एक हुन दिइरहेको छैन । हिजोका कतिपय क्रान्तिकारी नेताले त निहित स्वार्थका कारण कम्युनिष्ट पार्टी र राजनीतिनै छाडेका उदाहारणहरु पनि रहेका छन् । त्यसैले सही क्रान्तिकारीहरुले त्यसरी पतनमा गएका नेता तथा कार्यकर्ताहरुकोसमेत निरन्तर अध्ययन र बिश्लेषणगर्न सक्नुपर्दछ । बिचार छाडेर हिँडेपछिनै कतिपय नेताहरुमा व्यक्तिगत स्वार्थ हाबी भएको देखिएको छ । २६ वटा दल र समूह मिलेर बनेको भनिएको नेपाली कम्युनिष्ट पार्टीले गत निर्वाचनमा २६ सिटमा पनि बिजय हुन नसकेपछि बिभिन्न स्थानमा सभागर्दै हिँडिरहेको देखिन्छ । तर पार्टीको नेतृत्व र संगठनको प्रारुपबारे सो पार्टीले अझैपनि निश्चित बाटो तयगर्न सकेको छैन । सो पार्टीका कतिपय नेताहरुलेनै आफ्नो पार्टीका नेताहरुको व्यवस्थापनगर्न चुनौती भएको बताउने गर्नुभएको छ । त्यसैलेगर्दा नेपालका सन्दर्भमा प्रायः सबै पार्टीमा पुनरगठन र आफ्नै पार्टीको पुनरमूल्यांकन आवश्यक देखिएको छ । त्यसबाटमात्र पार्टीको सुधारका सूत्रहरु पत्तालगाउन सकिन्छ । यसतर्फ सबैको समयमै ध्यान जानुपर्दछ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?