
काठमाडाैँ : देशमा क्रियाशील १४ दल तथा समुहको आयोजनामा इजरायलद्वारा प्यालेष्टाइनमाथि भइरहेको आक्रमण तथा इरानमाथि साम्राज्यवादी आक्रमणको विरोध गर्दै काठमाण्डौमा विरोध प्रदर्शन सम्पन्न भएको छ । दिनको २ बजे रत्नपार्कको शान्तिवाटिकामा भेला भएर जमल ,घण्टाघर ,बागबजार पुतलीसडक ,हुँदै प्रर्दशनी मार्गमा गएर विरोध सभामा परिणत भएको थियो ।
विरोध सभालाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य राम सिंङ श्रीसले साम्राज्यवाद भनेकै युुद्ध हो र साम्राज्यवादको अन्त्य नहुँदासम्म कुनै न कुनै रुपको युद्ध चलिरहने बताउनु भयो । वहाँले साम्राज्यवाद अत्याचारी हुने ,शोषणमा आधारित हुने ,कमजोर देशलाई शोषण दमन गर्ने ,कमजोर देशका प्राकृतिक सा्रेत साधनहरु लुट्ने भएकाले युद्ध चलिरहन्छ भन्नुभयो । वहाँले प्यालेष्टाइनी जनताको संघर्ष र इरानी जनताले साम्राज्यवादका विरुद्धमा देखाएको दृढतालाई सम्मान गर्नु भयो । त्यसै सन्दर्भमा नेता श्रीसले भन्नु भयो , “अमेरिकाले आफूले आणविक अस्त्र निर्माण गरेको छ । अरु देशहरुलाई विश्व शान्ति कायम गर्नकालागि आणविक अस्त्र नष्ट गर्नु पर्छ भन्छ ।यदि साँच्चै विश्व शान्ति कायम गर्ने हो भने आणविक अस्त्र नष्ट गर्न अमेरिकाबाट शुरु गर्नु पर्छ । ” वहाँले साम्राज्यवादको विरुद्धमा सबै साम्राज्यवाद विरोधी शक्तिहरु एक हुनु पर्नेमा जोड दिनु भयो ।
वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका महासचिव आहुतिले मध्यपूर्वको युद्धबाट दक्षिण एशियाले पनि पाठ सिक्नु पर्ने बताउनु भयो ।आहुतिले साम्राज्यवादका विरुद्धमा संघर्ष गर्न तीन तहबाट एक राजनीतिक मोर्चा ,साँस्कृतिक र आर्थिक तहबाट संघर्षको तयारी गर्नु पर्ने बताउनु भयो । राजनीतिक रुपले बलियो साम्राज्यवाद विरोधी मोर्चा बनाउनु पर्छ आर्थिक रुपले नवउदारवादलाई परास्त गर्न समुदायलाई पनि सँगसँगै लिएर आधुनिक प्रविधिको पनि प्रयोग गर्दै राष्ट्रिय स्वाधिनता र राष्ट्रिय आत्म निर्भरतालाई बलियो बनाउने नेपाली मौलिकता अनुसारको अर्थतन्त्रको विकास गर्न छलफल अगाडि बढाउनु पर्छ र तेस्रो साम्राज्यवादी उपभोक्तावादी संस्कृतिका विरुद्धमा प्रगतिशील संस्कृति निर्माणतर्फ ध्यान दिनु पर्छ । वहाँले मध्यपूर्वको पेट्रोलियम पदार्थ कब्जा गर्नकालागि दोस्रो विश्वयुद्ध सकिएसँगै बेलायत ,फ्रान्स र अमेरिकाले प्रोक्सी राज्य इजरायल खडा गरेर युद्धको बिउ रोपेर छाडेका हुन् । मध्यपूर्वबाट बेलायत निस्कनु परेपनि त्यहाँको प्राकृतिक स्रोत साधन कब्जा गर्नकोलागि उनीहरुले युद्धको बिउ रोपेका हुन् जो अहिले पनि चलिरहेकै छ । यसबाट दक्षिण एशियाले पाठ सिक्नु पर्दछ । एमसीसी जस्ता परियोजनाहरु साम्राज्यवादको नियोजित स्वार्थ अनुसार आएका हुन् –आहुतिले भन्नु भयो ।
राष्ट्रिय जनमार्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिले अघोषित रुपमा विश्वयुद्ध भइरहेको बताउनु भयो । विभिन्न विषयमा मतभेदका वाबजुत अहिले हामीले साम्राज्यवाद विरुद्ध एक भएर विरोध प्रदर्शन गरेको बताउनु भयो ।
नेकपा बहुमतका पिविएम सागर लिम्बुले इजरायली आक्रमणको निन्दा गरेर मात्रै नपुग्ने भन्दै इजरायलसँग कुटनीतिक सम्बन्धबारे पनि पुर्नविचार गर्नु पर्ने बताउनु भयो । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे , जनता समाजवादी पार्टीका राजु थापा नेपालका खालिद सिद्धिकी ,नेपाल कम्युनिष्ट पार्टीका चिरन सी ,देशभक्त समाजवादी मोर्चाका गोपाल किराँतीले आक्रमणको विरोध गरेका थिए ।
कार्यक्रममा सुशेला संगीत समुह, रक्तिम साँस्कृतिक अभियानले साम्राज्यवाद विरोधी गीत गाएका थिए । विरोध प्रदर्शनको अध्यक्षता नेकपाका अध्यक्ष ऋषि कट्टेल ,सञ्चालन नेकपा मसालका समिर सिंह र स्वागत जनता समाजवादीका लालबहादुर तामाङको रहेको थियो ।
विरोध प्रदर्शनमा निम्न नाराहरु लगाइएको थियो । विश्व साम्राज्यवाद –मुर्दावाद ! साम्राज्यवादी युद्ध– बन्द गर ! ,प्यालेष्टाइन माथिको जनसंहार – बन्द गर !, इजरायली फासीवाद – मुर्दावाद ! ,इरानको सार्वभौमिकताको – रक्षा गर ! विश्व शान्ति – कायम गर !,प्यालेष्टाइनी सार्वभौमिकताको रक्षा गर ! राष्ट्रिय स्वाधिनताको रक्षा गरौं । संयुक्त राष्ट्रसंघको वडापत्र – पालना गर ! प्यालेष्टाइन माथिको आक्रमण – बन्द गर ! र असंलग्न परराष्ट्र नीति लागू गर !

–