

हिजो उज्यालो ल्याउन नेपाल बन्द गर्दा
विद्रोहीहरूलाई गोली हान्ने कुख्यात हातहरूले
आज अँध्यारो जन्माउन खुला देश बन्द गर्ने रे !
हिजो स्वतन्त्रता माग्दा,
भोक मार्न
भात माग्दा
कन्चटबाट ताता गोली ख्वाउनेले
आज अन्याय जन्माउन
जनताविरुद्ध
हडताल गर्ने रे !
दमन र हत्याको भाषाबाहेक
विवेकको भाषा नजान्नेले
आज मानवअधिकारको कुरा गर्ने रे !
बाँचिराखे केके सुन्नुपर्छ ?
केके देख्नुपर्छ ?
(हुनत यो तिनीहरूले मार्दामार्दै पनि
संयोगले बचेको
नाफाको जीवन न हो)
बाँच्ने अधिकार मारेर
गोली ठोक्न पाउने अधिकार खोज्नेलाई
नथुनेर
के पाउपूजा गर्नुपर्ने थियो ?
लासको चाङमाथि सुत्ने बानी परेकाहरूलाई
के फूलैफूलको डसना राखिदिनुपर्ने थियो ?
जनताको चेतना बन्धक बनाएर
फेरि उही हत्यारो शासनको पुकारा गर्नेलाई
के जयजयकार गर्दै
रथमा चढाएर
पन्चैबाजा बजाउँदै
सहर परिक्रमा गराउनुपर्ने थियो ?
हाम्रा प्रियजनहरूको रगत र
हाम्रा सुन्दर सपनाको चिहान बनाउने तन्त्र हो त्यो
हामीलाई बगरमा पुरेर
त्यहाँ महल बनाउने अपराधतन्त्र हो त्यो
स्वतन्त्रताको झुप्रो जलाएर
फेरि कङ्कालमाथि महल बनाउने
त्यही क्रूरता र अमानवताको प्रतीक
मानव बधशाला भैरवनाथ जन्माउन
आफ्नै चेतनाको खिल्ली उडाउँदै
सडकमा तमासा देखाउँदै
नग्नतापूर्वक लाम लाग्ने हो ?
यो त ‘बाइप्रोडक्ट’ गणतन्त्र हो
जनगणतन्त्र ल्याउन युद्धको भट्टीबाट निस्केको
पत्रु र कट हो
यो बिहारीतन्त्रका कुडाकर्कट जलाएर
जनगणतन्त्रको बगैँचा निर्माण गर्न
फेरि हिजोजस्तै एकपल्ट
अँध्यारो फार्न, बत्ती बाल्न
आफैँ जल्नुपर्ने समय हो
आफैँलाई पुर्न खाडल खन्न
बेल्चा–गैँची बोक्दै
विद्रोहको यात्रा थाल्ने समय हो !
आऊ, लामबद्ध बनौँ
र पुर्दै यो क्रूरतापन्थलाई
कोरौँ नयाँ खाका नयाँ यात्राको
त्यसपछि देख्नुपर्नेछैन फेरि
कमल थापाहरूको कलाविहीन नग्न नाटिकाहरू सडकमा
किनकि
नयाँ मार्गले बिस्तरा बनाइसकेको हुनेछ
इतिहासका भग्नावशेष काला कुडाकर्कटहरूलाई !