

बाजेको पाला सम्झिँदै
खुलेका बाटा बन्द गर्ने हो ?
केटाकेटी बाठा भए भन्दै
इन्टरनेट सेवा रोक्ने हो ?
कोठाबाटै देखिने दुनियाँलाई
फेरि नदेखिने बनाएर
जङ्गली युगमा फर्किने हो ?
फेरि मरेको राजतन्त्र फर्काउने हो ?
बकबकै सही
केही बोल्नसम्म त पाइएको छ
कति बोल्ने भनेर
मुखमा तालाचाबी ठोक्ने हो ?
हजूर नै हो भगवान् र विधाता भन्दै
मरिसकेका गाउँका मुखिया, साहू–ठालुलाई
फेरि हर्पेको घिउ र
खोरका भाले बोक्ने हो ?
विकसित चेतना र
फक्रिँदो भावना रोक्ने हो ?
अर्थात् दुर्गन्धित लासलाई
मखमली सुगन्ध भन्दै
दन्त्कथाका महादेवले
पार्वतीको कुहिएको शरीर बोकेर घुमाएझैँ
रूढि, पाखण्ड, क्रूरता र अन्धविश्वासको थुप्रो
उही सडेको राजतन्त्र बोक्ने हो ?
जनताको भलो गर्न
जनताको नेता पो चुनिन्छ !
जुन व्यवस्थामा
बादशाह नाङ्गै छ भन्दा
सत्य बोल्ने बालक थुनिन्छ
ढाकरको जमाना इतिहास बन्दैछ
आधुनिकताले घर गर्दैछ
रङरोगन गरेको थोत्रो व्यवस्था
जति तग्दा पनि आङ नढाक्ने भएको सत्य हो
सच्चिन्छु भनेर वाचा बाँधेका
उनै नेता व्यभिचारी भएको पनि सत्य हो
हामीले बोलेपछि बोल्यौँ बोल्यौँ भन्दै
शासकहरुमा भद्दा
जङ्गे सवार भएको पनि सत्य हो
नपाउनेले केरा पायो
बोक्रैसित खायो भन्ने
प्रमाणित भएको पनि सत्य हो
ठगको काम त ठग्ने नै हो
जनताले हल्का बुद्धि नपु¥याएपछि
एक छाकले जीवन जान्छ भन्ने सोचेर
भोलिको भाग नहेरेपछि
फेरिई फेरिई उनी लुटेरा सत्तामा पुगेर
माटै र कोपरै चाटेको पनि सत्य हो
मिल्नुपर्ने नमिलेको र
भनेजस्तो वार कि पारको
विद्रोह उठ्न नसकेको पनि सत्य हो
बारम्बार धोका भएपछि
जनताले केही बेर निच मारेको पनि सत्य हो
एकदुई चिम बिग्रेका परे भन्दैमा
एकदुई ट्रान्समिटर नक्कली परे भन्दैमा
केही हाइड्रोपावरले
डलरको भाउमा बिजुली बेचे भन्दैमा
बिजुली नै नबालेर अँधारोमै बस्छु भन्नु
शरीरमा लुतो आयो भन्दैमा
पेट्रोल खन्याएर शरीरै जलाइदिन्छु भन्नु
चप्पल पड्काउँदै सहर छिरेकाहरू
गोली पड्काउँदै पजेरोमा सवार भए भन्दैमा
देशै छोड्ने गल्ती गर्नु हुँदैन
घरमा मुसा पल्किए भन्दैमा
मुसा मार्न छोडेर
धराप घरमै आगो सल्काउनु हुँदैन
मरिसकेको लास हो राजतन्त्र
सर्पलाई दूधमा पल्काउनु हुँदैन
अँध्यारो त नासिन्छ नासिन्छ
उज्यालो त हुन्छ हुन्छ
नयाँ घर त बन्छ बन्छ
उज्यालो चाहिएर ल्याएको उज्यालो
अर्कैले चोरिदिएको सत्य हो
आङ ढाक्न दुःखले किनेको नाना
अर्कैले लुटिदिएको पनि सत्य हो
कसैले नाना चोरिदियो भन्दैमा
नाङ्गै बस्छु भन्नु राम्रो होइन
उज्यालो चोरिदियो भन्दै
अँध्यारै रोज्छु भन्नु राम्रो होइन
भ्रष्टाचार भएको पनि सत्य हो
व्यभिचार भएको पनि सत्य हो
जसले गरेको भए पनि
व्यभिचार व्यभिचार नै हो
बरु आउनोस्
व्यभिचार जन्माउने कारखाना फेरौँ
मातृघातीलाई कैद गर्ने
जनव्यवस्था निर्माण गरौँ
क्षतविक्षत भएर घर
त्राहीत्राही भएको पनि सत्य हो
यसैको भग्नावशेषमा
नयाँ घरको जग बसालौँ
जनघरको जग बसालौँ
समाजवादी जनघरको
जग बसेको पनि सत्य हो
मर्ने बेलाको कमिलाको
प्वाँख पलाएको पनि सत्य हो ।