भ्रष्टाचार विरोधी अभियान–२०८२

शालिकराम भण्डारी
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भ्रष्टाचार विरोधी अभियान संचालन गर्ने निर्णय गरेको छ । यही असार ५ गते पत्रकार सम्मेलन गरी यसको उद्घाटन गरियो । यो अभियान ३ चरणमा गरिने प्रष्ट पारिएको छ । (१) प्रचारप्रसार (२) भण्डाफोर (३) जनकार्वाही पार्टी भ्रष्टाचारलाई नेपाली समाजको निम्ति महारोग भएको ठान्दछ । धेरै लामो समयदेखि जिल्ला, क्षेत्र इलाकामा नेता तथा कार्यकर्ता उपस्थित भै गहिरो अध्ययन गरिएको छ ।
त्यसैको प्रतिवेदनअनुसार पार्टीको स्थायी समितिले जनचतेना जगाउन, भ्रष्टाचारीबाट आफ्नो रक्षा आफै गर्न सक्ने बनाउन, पार्टी सधै तिम्रो साथमा छ भन्ने सन्देश दिन यो निर्णय गरेको हो । क्रान्तिकारी कम्युनिस्ट पार्टीको अरु स्वार्थ छैन, ती सबै पीडितलाई भ्रष्टाचारबाट मुक्त गराउनु नै यसको मुख्य स्वार्थ हो । पार्टीले जनताबाट ठूलो आशा राखेको छ । त्यो भनेको अरु केही हैन, जनताले जहाँ जहाँ जे जस्ता भ्रष्टाचार भएका छन् । पार्टीको तत् सम्बन्धित निकायलाई गोप्य सूचना दिने, जानकारी दिने मात्र हो, अरु सब पार्टीले आफै गर्छ । सुुसुचित गर्ने जनताको इमान्दारिताको मात्र खाँचो छ । त्यसपछि हेर्नुस्, मूल्यांकन गर्नुस् पार्टीले लिएको भ्रष्टाचार विरोधी अभियानको महत्व के रहेछ ? पार्टीले कसैमाथि जनकार्वाही प्रतिशोधपूर्ण व्यवहार गर्ने नीति राख्दैन । यहाँ त जस्तालाई त्यस्तै गर्नुपर्ने हुन्छ । क्रान्तिकारी पार्टीको काम जसरी तसरी लोकप्रियता प्राप्त गर्ने हैन, जनतामाथि हैकम राख्ने, जालझेल, षडयन्त्रद्वारा संसदमा बहुमत ल्याउन सधै अवसरको खोजी गर्न अग्रसर हुने, ठूलाठूला दलाल पुँजीपति र देशभित्रका नोकरशाही पुँजीपतिको रक्षा सेवा गर्ने मात्र हैन । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल वास्तविक आधारभूत जनताको हित निम्ति गठित भएको पार्टी हो ।
यसको प्रमाण दक्षिणपन्थी संशोधनवादीबाट छुट्टिएर अलग पार्टी गठन भएपछिको यसको इतिहास हेरे पुगिहाल्छ । यसले सत्ताको सुखभोग गर्नको निम्ति लुछाचुँडी गरेको छैन । प्रतिक्रियावादीहरुसँग साइनो लगाएको रेकर्ड छैन, भ्रष्टाचारको निन्दा गर्दै आएको छ । तर निन्दा, विरोधी प्रचारले मात्र पीडित जनतालाई सचेत, जागृत गराउन सम्भव हुन नसक्ने लागेर यो अभियान संचालन गर्न परेको हो । जनतालाई भ्रष्टाचारको पीडाबाट मुक्त गर्ने दायित्व राजनीतिक पार्टीको हो । तर सत्ता प्राप्तिबाट निजी पार्टीको सुख सम्वृद्धिको निम्ति सकेसम्मका जालझेल, भ्रष्टाचार गरी संसदमा पुगेका प्रजातान्त्रिक गणतन्त्रवादी पार्टीहरु आफै भ्रष्टाचारका नयाँ नयाँ खोजहरु गर्न आपसैमा हानथाप, भैmझगडा, आरोपप्रत्यारोपमा अग्रसर छन् र अर्को एउटा पार्टी २५० वर्षसम्म निरंकुश सामन्ती राजतन्त्रले नेपाली जनतालाई लुटनसम्म लुटेर वाक्क परेका जनताले हुत्ताएका थिए । त्यही राजसंस्थाले फेरि फर्किन पाउनु की भनेर प्रजातन्त्र र राष्ट्रियताको नाम राखेर खोलेको पार्टी (राप्रपा) समेत यी सबैबाट भ्रष्टाचारका कमी आउने कतैबाट देखिएन । उन्मूलनको आशा राख्नु मूर्खता मात्र हो । हिजो कम्युनिस्ट पार्टीको नाम सुन्दा यसले बहुसंख्यक जनतालाई स्वतन्त्रता, समानता दिलाउने, दुःख, कष्ट, भ्रष्टाचारबाट मुक्त गर्ने पार्टी यही नै हो भन्ने ठूलो आशा, भरोसा लाग्थ्यो अहिले सबै मरेर गएको छ । संसदमा तिनले खेलेको भूमिका होहल्ला देख्दा पुँजीवादमा विश्वास राख्ने ठूलो पार्टी नेपाली कांग्रेससँग बराबर भएको छ । त्यसैले भ्रष्टाचार उन्मूलन, कमी भन्ने प्रश्नै आएन । त्यसले नै भ्रष्टाचार विरोधी अभियानमा कदम चाल्न परेको हो ।
अर्को कुरा भ्रष्टाचार कमी, उन्मूलन गर्न, जनतालाई सजग पार्न र शिक्षा दिने कामको जिम्मेवारी राज्यको चौथो अंग मानिने पत्रकारिता हो तर नेपालको पत्रकारिताले स्वतन्त्र भूमिका खेल्ने सकेको छैन सबै सत्तामुखी छन् , पुँजी भक्त छन् । केही स्वतन्त्र छन्, उनको पिठो राम्रोसँग विक्दैन । यसरी राज्यका सबै निकाय कार्यकारिणीको अघि छन् । अर्कोतिर नेपालको संविधान अनुसार ३ तहका सरकार छन् । (१) केन्द्र (२) प्रदेश (३) स्थानीय । यी सबैमा भ्रष्टाचार चरमोत्कर्षमा पुगेको छ । अरु पुराना पुराना कुराहरु छोडेर एक दुई महिनाका कुरा मात्र उठाऔं ।
केन्द्रमा सांसद, मन्त्री, उच्च तहका प्रशासक भू.पू. प्रधानमन्त्रीमाथि कार्वाही गरेको जस्तो देखाइन्छ । वर्तमान प्रधानमन्त्री विरुद्ध संसदमानै भाँडभैलो भइराखेको छ । प्रदेशको हालत त्यस्तै छ । स्थानीय पालिकाहरुमा, मेयर, उपमेयर, वडाअध्यक्ष, प्रशासकहरुमाथि कार्वाहीको निम्ति उजुरी प्रशस्त परेका छन् । कसैमाथि कार्वाही गरिएको जस्तो गरिएको छ । के यो भ्रष्टाचारको तथ्यगत नक्सा हैन र ? सत्तामा बसेर शक्ति प्रयोग गर्ने विरुद्ध, संसद, सडक, अदालतमा उजुरी परे भने पहिला सुनिदै सुनिदैन, सुन्न बाध्य हुनुप¥यो भने जालझेल षडयन्त्रबाट त्यसलाई रोक्न प्रयास गरिन्छ, त्यो पनि सफल भएन भने कार्वाही गरेको नाटक गरिन्छ, त्यो कार्वाहीले आखिरमा त्यस भ्रष्टाचारीलाई अझ चोखो पवित्र बनाएर बाहिर पठाउँछ र राजनीतिमा सम्मानित व्यक्ति भएर काम गर्न पाउँछ । सबै मुद्दामा भुटानी शरणार्थी, ललिता निवास, वाइडवोडी काण्ड, पतञ्जली जग्गा प्रकरण, टिकापुर जग्गाकाण्ड, यस्तायस्ता, तमाम ।
अहिले भिजिट भिसाकाण्डबारे संसदमा एकाध महिनादेखि चर्को चर्को बहस हुने गरेको छ । त्यस मुद्दाको पनि आखिरमा पवित्रतामा गएर टुंगिने होला । अचम्म छ नेपालमा भ्रष्टाचारको कथा । जीवनभर भ्रष्टाचारबाट भरिपूर्ण भएकाहरु नयाँ भ्रष्टाचारीहरुको काम देख्दा रिसले चुर भएका छन्। तिनीहरुको पालो समाप्त भयो चुप लागेर वस्तुपर्छ– अब जनताले विरोध गर्ने भनेको नयाँहरुसँग मात्र हो ।
अर्को कुरा नेपालको अर्थतन्त्र तीन श्रेणीमा विभाजित छ (१) राज्य (२) निजी (३) सहकारी । राज्यपुँजीको लगानी त्यति सक्रिय ढंगले गएको छैन । समय समयका सरकारहरु । जिम्मेवारी आफ्नो काँधमा लिन चाहँदैनन् । पहिलो पुँजी छैन । दोस्रो सरकार झन्झट बेहोर्न तयार हुँदैन । जे भएको छ, त्यहाँ कसैको निगरानी हुँदैन । त्यहाँ भ्रष्टाचार नभए के हुने ? अहिलेसम्मका सरकारहरुले निजी पुँजीलाई प्राथमिकतामा राखेका छन् । तिनैको मनपरी छ । किनकि भ्रष्टाचारको जरो नै निजी पुँजी हो । तेस्रो सहकारी पुँजी हो । यसको खास मतलव समूह समूहमा मानिसहरुले सानो तिनो रकम जुटाएर आर्थिक संकलन गरेर उज्यालो भविष्यको निम्ति साना तिना उद्योग व्यापार संचालन गर्ने हुन आएको मुनाफा लगानी रकम अनुसार सबैमा वितरण गर्ने हो । तर यसले नेपालमा व्यक्तिगत उज्यालो भाऊ ल्याईदियो । लगानीकर्ताको अरबौं रकम डुबाई दियो । उनीहरुको रुवावास छ । यसलाई सरकार र सहकारी वचत संचालकको मिलोमतोमा गरिएको भ्रष्टाचार नभनेर के भन्ने ? यसैले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले अन्य सबै क्रान्तिकारी पार्टी र भ्रष्टाचार विरोधी जनतालाई यस अभियानमा सक्रिय सहभागिता जनाउने अपेक्षा राख्दै विज्ञप्ति प्रकाशित गरिसकेको छ ।

By जन बिहानी

Related Posts