संस्कृतिभित्रको प्रदुषण

लेखक : मोदनाथ मरहट्टा

सँस्कृति भन्ने बित्तिकै हाम्रो सामु हामीले मान्दै आएका चालचलन रहनसहन भेषभुषा आदिलार्इ बुझ्ने गर्दछौँ तर संस्कृतिको क्षेत्र व्यापक छ ।धेरै समयदेखि देश, काल सापेक्ष भइ आन्तरिक वैचारिक तथा परम्परागत धारणाका रुपमा विकसित हुँदै आएको र आचार विचार, रहनसहन आदिको स्वरुप खुट्टिने यावत मान्यता,भवाना,चिन्तन,मनन र भौतिक अभिव्यक्तिहरू समेतको समूह वा साधन(बृहत् नेपाली शब्दकोश)
(कुनै वस्तुलाई परिमार्जन गरेर वा संस्कृत रुप दिएर चम्किलो उज्यालो र निख्खरा बनाउने काम –(उहीँ)कला,साहित्य,इतिहास,भाषा,धर्म,दर्शन आदि विभिन्न विषय वा मूल्यपरम्पराको समष्टी नाम –उहीँ)
(कुनै राष्ट्र वा जातिको सामाजिक जीवन, राजनीति,अर्थ व्यवस्स्था आदिमा प्रती बिम्बित हुने र तिनका कला कौशल बौध्दिक आदिमा प्रकट हुने सम्पुर्ण क्रियाकलपको परिष्कृत रुप –उहीँ)
संस्कृतिबारे नेपाली शब्दकोशले अर्थ्याएको विषयलाई आधार मानेर वर्तमानमा चलनचल्तिले संस्कृतिमाथि पारेको प्रभाव बारे यो आलेखमा छोटो चर्चा गरिने छ ।
संस्कृतिको क्षेत्र निकै फराकिलो छ । यसले पुस्तौँ पुस्ताको सम्बन्धलाई जोड्छ यो इतिहास र धर्मसित पनि जोडिएकोले यसभित्र अति परम्परित चाल चलन र मान्यताहरु रहेका छन ।
समाज विकासका खास खास चरणमा सामाजिक जीवनसित केही कर्महरू र पर्वहरुको स्थापना गरिए । ॠतु , मास वा जन्म ,मृत्यु जस्ता प्राकृतिक घटनाका दिनहरुको सम्झनालाई निरन्तरता दिने क्रममा संस्कृति बनेर लोक जीवनमा बसे ।त्यस्तै पर्वहरुको सुरुवात कृषि युगमा श्रम कार्यबाट सुरु भएको मानिन्छ ।श्रम कार्यमा लिप्त सामाजिक रहनसहनमा मनोरञ्जनकालागि पर्वहरुको प्रचलन आयो । मानव चेतनाको विकास हुदै आएपछि नाता कुटुम्बसित भेटघाट र उत्पादन अनुसारका खाद्य वस्तुले आफन्तहरुको स्वागत गरिने परम्परा बस्यो । ॠतु परिवर्तन , नयाँ अन्न बालीको उत्पादन , श्रम अभियानको थालनी र समापनजस्ता दिन वा मासहरुलाई उत्सवमय बनाउँदै लगियो । परिवारमा नया सदस्यको जन्म , उनीहरुको पास्नी,विवाह जस्ता कर्महरुलाई चाड पर्वको रुपमा मनाउने परम्परा बस्यो । जब समाजलाई बुझ्ने मान्यतामा इश्वरीय शक्तिको विश्वास पैदा भयो अनि उनीहरुको पूजा अर्चना , स्तुति जस्ता कर्महरुको जन्म भयो र तिनीहरु साँस्कृतिक पर्वको रुप लिएर स्थापित गरिए । तात्कालिक युगमा उत्पादनको सिमितता सामाजिक बन्धुत्वको भावनाले सामान्य किसिमले पर्वहरुको समापन गरिन्थ्यो । त्यस्ता पर्वहरुले आत्मियता र आफन्तिपनलार्इ दिगो राख्न मद्दत पुग्थ्यो । अर्कोतर्फ कुनै शासक वा चिन्तकको रुढिग्रस्त चेतनाले जात प्रथा, मालिक र दास प्रथा शासक र शासित प्रथाहरु पनि जन्मने र विकास हुने गर्दै आए र ती संस्कृतिकै रुपमा जरा गाडेर बसे । वर्तमानसम्म आउदा कतिपय संस्कृति विकृत बनेर समाजलाई सताइरहेका छन ।
जात ,वर्ण, लिङ्ग र स्थान विशेषले पनि संस्कृतिको निर्माणमा भुमिका खेलेको हुन्छ । संस्कृतिभित्रका कतिपय मान्यताहरु विज्ञानसम्मत पनि छन त कतिपय चाहिँ विज्ञान विरोधी मात्र होइन जन विरोधी पनि छन । हाम्रोजस्तो बहुल जाती बहुल भाषी मुलुकमा मानिँदै आएका संस्कृतिहरु कुन जनपक्षिय र कुन जन विरोधी छन यसबारे विमर्श हुनु जरुरी छ । सतिप्रथा, दासप्रथा जस्ता मानवता विरोधी संस्कृतिहरु पनि हाम्रो सामाजिक इतिहासमा कलङ्क बनेर उभिएको थियो । मानव चेतनाको विकासले सतिप्रथा जस्तो कुरुप संस्कृतिको त अन्त्य गर्यो तर दासप्रथा भने विभिन्न स्वरुपमा अहिले पनि बाँचिरहेकै छ ।समाज वर्गीय भए झैँ संस्कृति पनि वर्गीय हुने नै भयो । सामन्त, उच्च कुलीन वर्ग वा पुँजिले सम्पन्न वर्गले मान्दै आएको संस्कृति श्रमिक वर्गकालागि अहितकर छ यस्तो संस्कृतिको अन्त्य र श्रमिकहरुको हितको संस्कृति निर्माणतिर अब हामीले सोच्नु पर्दछ ।
अहिले हाम्रो मुलुकभित्रका शासक, पुँजिपतिहरुले जनसंस्कृतिलाई निषेध गर्ने र बजारमुखी वा उपभोक्तामुखी संस्कृतिलाई जबरजस्त स्थापित गराउनतर्फ उद्दत छन । हामीले व्यहोर्दै र देख्दै आएको संस्कृति हो मन्दिर संस्कृति। धर्म वा देवी देवताको नाममा वैधानिक ठगी गर्ने र आफ्नो प्रभुत्व जोगाइराख्ने यो संस्कृतिलार्इ बढवा दिइनु हुन्न भनेर जान्दा जान्दै पनि हरेक गाउँ टोल र सार्वजनिक स्थलहरुमा मन्दिर निर्माणको अभियान चलेको चल्यै छ । यतिसम्म कि आफ्ना गोतिया बन्धुहरुको कुलायन मन्दिर निर्माणमा समेत राज्यकोषकोधनराशी समेत लगानी हुन थालेको छ । सम्बिधान मै धर्म निरपेक्षताको घोषणा भै सक्दा पनि मन्दिर सँस्कृति मौलाइरहनु युग सम्मत ठहर्दैन ।धर्म ,मन्दिर र पूजापाठसित जोडिएको अर्को कर्मकाण्डिय संस्कार संस्कृति जबरजस्त बाँचिरहेको छ । एकातिर यसको वैज्ञानिकता शून्य छ र अन्धविश्वासले पुर्ण छ भने अर्कोतिर पुँजिवादले प्रचलनमा ल्याएको उपभोक्तावादलार्इ भित्र्याउदो छ । यो संस्कृतिले आफुलाई कम्युनिष्ट बताउने नेता कार्यकर्तालाई पनि आफ्नो वशमा पारेको छ । मानिस जन्मनु वा मृत्यु हुनु जस्ता प्राकृतिक घटनामा सबैभन्दा अगाडि आएर यो संस्कृति उभिएको हुन्छ । यस सँस्कृतिका अधिष्ठाता पुरोहित वा पण्डितलार्इ समेत यसले निर्दिष्ट गरेका कर्मप्रति विश्वास छैन तर धन आर्जन हुने माध्यम बनेकाले उनीहरु यस सँस्कृतिलार्इ जोगाइ राख्न कसरत गरिरहेछन । यो कर्मकाण्डिय संस्कृति पुँजिवादसित पनि मिल्छ शामन्तवादसित झन नमिल्ने कुरै भएन । जन्म ,मृत्यु ,विवाह जस्ता कर्महरुमा अनिवार्य उपस्थितको दाबी गर्ने यो सँस्कृतिमा तडक भडकले गहिरो प्रभाव पार्न थालेको छ । यो कर्मकाण्डिय संस्कृतिभित्र पुँजिवादी उपभोक्तावाद यति व्यापक बन्दै गएको छ कि साधारण आर्थिक हैसियत भएका किसान, मजदुरहरुले धान्नै नसक्ने अवस्थामा पुगेका छन । यो प्रचलनलाई भत्काउन ढिला भैसकेको छ ।
संस्कृति बचाउने नाउमा अनावश्यक ढर्रा दर्शन हुन थालेको छ । बाह्य आयातित पोशाक , खाद्य परिकार , गीत संगीतका भद्दा प्रस्तुति र दान पुण्यका नाउमा बढ्दै गएको मोल मोलाउ अहिलेको यथार्थ हो ।हिन्दु संस्कृतिभित्र जबरजस्त मौलाएको अर्को मान्यता पुराण संस्कृति हो । पौराणिक कालिक मिथकहरुको आधारमा बनेका पुराणहरु अहिले पनि जब्बर संस्कृति बनेर हाम्रो समाजमा जमिरहेछन । धर्मको जलप लागेको पुराण संस्कृति धनको आडम्बर सिवाय अरु केही होइन भनेर जान्दाजान्दै पनि मानिसहरुमा पुराणमोह जरा गाडेर बसेको छ । पुराण संस्कृतिले विशेषगरी महिलाहरुमा प्रभाव छोडेको छ । एकातिर महिलाहरु घरेलु उत्पीडनमा परेका र लैङ्गिक हिंसामा परेर पनि पुराण संस्कृतिबाट मुक्त हुन नसक्नु विडम्वना नै मान्नुपर्दछ ।
साँस्कृतिक रुपमा मानिदै आएका साँस्कृतिक पर्वहरु पनि खर्चिलो र भड्किलो बन्दै गएका छन यसरी भड्किदै जाँदा पर्वहरुको महत्व घट्दै जाने र पुँजिवादको अर्को स्वरुप स्थापित हुने खतरा नजिकिँदो छ । विवाह व्रतबन्ध पास्नी वा जन्मोत्सवहरुमा दिइने महङ्गा उपहार र तडकभडकपुर्ण खानपानले हाम्रो परम्परित संस्कृति हराउदै गएको छ । आस्थालाई आधार बनाएर घुसपैठ भएका परसंस्कृतिले आफ्नोपन हराउनु अशोभनीय खतरा हो ।
युगको विकाससँगै उत्पादनका क्षेत्र र उत्पादित वस्तुहरुको विकास हुनु स्वभाविक मानिन्छ तर उत्पादित वस्तु उपभोगको नाउँमा हामी परमुखी बन्दै गएका छौँ । यो हाम्रो सँस्कृतिमा आएको विचलन हो । यसले हाम्रो आफ्नोपन नष्ट गर्दै आइरहेको छ । एकातिर स्वदेशी उत्पादनमा ह्रास आउदै जानु र अर्कोतिर विदेशी उत्पादनले हाम्रो बजार कब्जा गर्दै आउनु यो शुभ सङ्केत मान्न सकिँदैन ।वैज्ञानिक र व्यवहारिक संस्कृतिको जगेर्ना गर्नु र प्रदुषित संस्कृतिलाई भित्रिन नदिनुको मुख्य दायित्व राज्यको हो तर यो हाम्रो विकृत संसदवादी राज्य व्यवस्था नै प्रदुषित संस्कृतिको शिकार बनेको छ । नेपालका सबैजसो संसदवादीहरु चालु व्यवस्थालाई लोकतन्त्र भन्ने गरेका छन । लोकतन्त्र भनेको लोकहितमा चल्ने व्यवस्था हो तर के अहिलेको व्यवस्था लोक हितमा चलेको छ त ? होइन यसको लक्षण कतै देखिदैन । २०७२ को संविधान लागु भएपछि गठन भएका संघ वा प्रदेशका संसदहरुका निर्णयहरु र गतिविधि लोक कल्याणमा भन्दा दल कल्याणमा उद्दत देखिएका छन । संसद गठन हुने प्रारम्भिक प्रकृयालार्इ गहिरिएर हेरौँ ,लोक कल्याणको चरित्र कतै पनि देखिदैन । लोकतन्त्रमा जनताको स्वतन्त्र अभिमत निर्णायक हुनु पर्नेमा त्यस्तो छैन । अहिलेको संसदको चुनाबलार्इ पैसा र पावरले प्रभावित बनाएको छ । जब राजनीतिमा पैसा र शक्तिको प्रदर्शन हुन्छ त्यहाँ लोकको भलो सोचिएको हुदैन त्यहाँ व्यक्ति वा दलको मात्र स्वार्थ सोचिएको हुन्छ र यो नै अहिलेका संसदवादीहरुको साझा संस्कृति बनेको छ ।
राज्य सञ्चालनका नाउमा हुने गरेका बेथिति र अराजक गतिविधि राज्यको मुल संस्कृति बनेको छ । दलीय व्यवस्थाले आत्मसात गरेको संरचना र अधिरचनाका मान्यता कुल्चिएर अराजनीतिक गठजोड गर्नु सरकार टिकाउने नाउँमा विधायकहरुको किनबेच गरिनु सत्ताको मूल चरित्र बनेको छ । सरकार सञ्चालनको जिम्मेवारी लिएका राजनैतिक दलहरु नै संविधानको भावना र मर्मको विपरित गतिविधि गर्नुले मुलुकभित्र अराजकता बढ्दै जानु मूल कारण हो । अहिलेको संसदवादी व्यवस्थाले मलजल गरेको विद्रुप संस्कृति देश र जनताको हित विपरित छ यसका विरुद्ध खबरदारी गर्नु आम संस्कृतिकर्मीको दायित्व हो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?