अझै पनि

लेखक : कमला नेपाली

कविता
अझै पनि गाउँमा
सासू भनिएका आमाहरू
कसौँडीको कोरकार वा डढेको काङ्री खुवाएर
बुहारीहरूलाई सिकाइ रहेछन्‌
पाँच औँलाले जिब्रो छोयो भने
अघाएँ भन
अझै पनि गाउँ वा शहरका
छोराहरू
बाहरू
जुत्ताको मयल पखालेर
खुवाइरहेछन् चरण जल
आमाहरू/छोरीहरू र बुहारीहरू
भावी र भाग्यमा पिसिइरहेछन्‌
गहिरिएर हेर्‍यो
पुरानो सिद्धियो कि नविकरण भयो
अझै पनि गाउँमा/शहरमा
जातीय नाउँमा हेला होची
उचनिचमा र छुत–अछुतमा
थिचिएको छ मानिस ।

कानुनले निषेध गरेको चलन फेरियो कि ?
उस्तै छ मैले सास फेर्ने हावा
पानी पिउने धारो र शहरको कोठा ।

By जन बिहानी

Related Posts