अमेरिकी साम्राज्यवादको विश्वव्यापी दादागिरीको पराकाष्ठा हो : प्रवक्ता सुदर्शन

काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले इरानमाथिको अमेरिकी आक्रमण अमेरिकी साम्राज्यवादको विश्वव्यापी दादागिरीको पराकाष्ठा भएको बताएको छ ।क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता सुशर्दनले फागुन १७ एक प्रेस वक्तव्य जारी गर्दै सो कुरा बताउनु भएको हो । वक्तव्यमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल यस प्रकारको दादागिरी र विश्वभरिका जनतामाथि थोपरिएको आतंकको तीव्र विरोध गर्दै इरानको सार्वभौमिकता तथा राष्ट्रिय स्वाधीनताको पक्षमा संघर्षरत इरानी जनतासँग ऐक्यबद्धता जाहेर गर्ने बताइएको छ । इजरायली तथा अमेरिकी आक्रमणको इरानले प्रतिरोध गर्ने क्रममा मध्यपूर्वमा मजदुरी गर्न गएका १९ लाख भन्दा बढी नेपालीहरुको जीवन खतरामा परेको कुराले पार्टीलाई गम्भीर बनाएको समेत जनाइएको छ र नेपालीहरुको सुरक्षाकालागि आवश्यक कदम चाल्न सरकारसँग जोडदार माग गरिएको छ । वक्तव्यको पूर्णपाठ यसप्रकार छ –
हिजो बिहान इरानमाथि अमेरिकी र इजरायली सरकारले संयुक्त रुपमा श्रृङखलाबद्ध क्षेप्यास्त्र आक्रमण गरी युद्ध थोपरेको घटनाले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको गम्भीर ध्यानाकर्षण गरेको छ । यसबाट हाम्रो पार्टीले संश्लेषण गरे झैँ उत्पीडित राष्ट्र र साम्राज्यवादका बीचको अन्तर्विरोध नै वर्तमान विश्वको प्रधान अन्तर्विरोध रहेको कुरा पुष्टि भएको छ ।
अमेरिकी साम्राज्यवादले आफ्नो अनुकूलको शासनसत्ता स्थापित गर्न उत्पीडित राष्ट्रका जनतालाई जल्दोबल्दो मुद्दामा उक्साएर विद्रोह गर्न लगाउने, शासक वर्गमाथिको कूटनीतिक दवावले आफ्नो स्वार्थ सिद्धगर्न नसक्ने स्थितिमा सरकारको नेतृत्व अपहरण गर्ने, सरकार अपदस्त गर्ने र त्यसले पनि नपुगे प्रत्यक्ष सैन्य आक्रमण गरी कठपुतली सरकार खडा गर्ने नवऔपनिवेशिक नीति लिएको छ । यो अमेरिकी साम्राज्यवादको विश्वव्यापी दादागिरीको पराकाष्ठा हो । हाम्रो पार्टी यस प्रकारको दादागिरी र विश्वभरिका जनतामाथि थोपरिएको आतङ्कको तीव्र विरोध गर्दै इरानको सार्वभौमिकता तथा राष्ट्रिय स्वाधीनताको पक्षमा सङ्घर्षरत इरानी जनतासँग ऐक्यबद्धता जाहेर गर्दछ ।
साथै इरानले अमेरिकी तथा इजरायली आक्रमणको प्रतिरोध गर्ने प्रक्रियामा अमेरिकी सैन्य शिविरहरुमाथि प्रहार गर्दा मध्यपूर्वमा मजदुरी गर्न गएका १९ लाख भन्दा बढी नेपालीहरुको जीवन खतरामा परेको कुराले हाम्रो पार्टीलाई गंभीर बनाएको छ । नेपालीहरुको सुरक्षाका लागि आवश्यक कदम चाल्न हाम्रो पार्टी सरकारसँग विशेष माग गर्दछ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?