कृष्ण सेन ‘इच्छुक’को चर्चित कविता – प्रतिबन्ध

हाम्रा स्वरहरूमा प्रतिबन्ध लगाउँदै
हाम्रा ओठहरूमा ताल्चा झुण्ड्याउँदै
तिमी भन्छौ- गाऊ न गाऊ
तर यो गीत नगाऊ
हामी भने त्यही गीत गाइरहन्छौ ।

हाम्रा विचारहरूमा प्रतिबन्ध लगाउँदै
हाम्रा हातहरूमा हत्कडी पहिर्याउँदै
तिमी भन्छौ- लेख्न त लेख
तर यो गीत नलेख
हामी भने त्यही गीत लेखिरहन्छौ ।

हाम्रा आस्थाहरूमा प्रतिबन्ध लगाउँदै
हाम्रा खुट्टाहरूमा नेल भिराउँदै
तिमी भन्छौ- हिँड्न त हिँड
तर यो बाटो नहिँड
हामी भने त्यही बाटो हिडिरहन्छौ ।

ओ शासक-प्रशासकहरू !
अस्वीकार्य छ हामीलाई
तिम्रा निरङ्कुश आदेशहरू
तिमी जतिसुकै हुकुम र फरमानहरू जारी गर
तिमी जतिसुकै जुलुम र उत्पिडनहरू सुरू गर
सक्छौ भने हाम्रा चेतनाहरूमा प्रतिबन्ध लगाऊ
र, सत्यलाई कैद गर
तर ओ तानाशाहहरू !
तिम्रा बर्बर स्वेच्छाचारका विरूद्ध
हामी भने निरन्तर आवाज उठाइरहन्छौ ।

उठाइरहन्छौ हामी तिम्रा विरूद्ध संघर्षका हातहरु
कसिरहन्छौ हामी तिम्रा विरूद्ध विद्रोहका मुठ्ठीहरू
ओ अत्याचारका पहरेदारहरू !
अन्तिम जीत हाम्रै हो
तिम्रो हारमाथी विजयको झण्डा गाड्दै
हामी भने अथक र अविचल
अन्तिम युद्ध लडिरहन्छौ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?