माघ १९ को सम्झना

लेखकः रामबहादुर बुढा

२०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन ल्याएको दिन थियो । राजा ज्ञानेन्द्रको त्यो कठोर प्रतिगामी कदम थियो । त्यसो त राजा ज्ञानेन्द्रले २०५९ असोज १८ गते नै प्रधानमन्त्री शेर बहादुर देउवालाई असक्षम प्रधानमन्त्री भनेर असंवैधानिक ढङ्गले पदबाट बर्खास्त गरेका थिए । असोज १८ को राजाको त्यो कदमलाई प्रतिगमनको संज्ञा दिँदै राजनीतिक दलहरू आन्दोलनमा थिए । असोज १८ पछि राजा ज्ञानेन्द्रले प्रधानमन्त्रीका लागि दरखास्त आह्वान गरेका थिए । नेकपा (एमाले) का महासचिव माधव नेपालले दरखास्त दिएका थिए भने नेपाली काङ्ग्रेसका गिरिजा प्रशाद कोइरालाले त्यसलाई प्रजातन्त्रको उपहास भनेका थिए । असोज १८ पछि लोकेन्द्र बहादुर चन्द प्रधानमन्त्री बने । त्यस पछि सूर्य बहादुर थापा र त्यस पछि नेपाली काङ्ग्रेस प्रजातान्त्रिकका नेता शेर बहादुर देउवालाई प्रधान मन्त्री बनाएका थिए । प्रतिगमन आधा सच्चियो भन्दै एमालेले भरतमोहन अधिकारीको नेतृत्वमा देउवा सरकारमा सहभागी भयो । माघ १९ गते राजा ज्ञानेन्द्रले पुनः देउवा सरकारलाई अपदस्थ गरेर आफैलाई मन्त्रीपरिषदको अध्यक्ष घोषणा गरे । तुल्सी गिरीलाई मन्त्री परिषदको उपाध्यक्ष बनाए । २०१७ सालमा उनका बुबा महेन्द्रले पनि आफैलाई मन्त्री परिषदको अध्यक्ष र तुल्सी गिरीलाई उपाध्यक्ष बनाएका थिए । बुबा महेन्द्रकै नक्कल गर्दै ज्ञानेन्द्रले शाही कदम चाले । महेन्द्रले चालेको कदमबाट ३० वर्षे पन्चायती व्यवस्थाको जग बसेको थियो तर ज्ञानेन्द्रको शाही कदमबाट सृजित उनको शासन १५ महिना नपुग्दै ढल्यो । ०६२÷०६३ को ऐतिहासिक जनआन्दोलन सफल भयो ।

प्रतिगमन विरुद्धको संघर्ष र माओवादी ज्यादतीको विरोध भन्दै प्यूठानमा जनमोर्चा नेपालले २०६१ माघमा जिल्लाब्यापी कार्यक्रम बनाएको थियो । त्यस बेला प्यूठानमा जनमोर्चा नेपालको मूल पार्टी नेकपा ( एकताकेन्द्र–मसाल)को सेक्रेटरी विमल शर्मा हुनुहुन्थ्यो । पार्टी कामले होइन घरयासी सम्बन्धका लागि मनु र म पाल्पाबाट प्यूठान पुगेका थियौं । प्यूठान पुगेको अवसर पारेर मनु र म ठूलाबेसी र मच्छीको सभामा सहभागी बनेका थियौ । प्यूठानका सभाहरूलाई एकताकेन्द्र– मसालका प्रवक्ता चित्र बहादुर के.सी.ले सम्बोधन गर्नु भएको थियो । त्यति बेला पार्टीमा अन्तर्विरोध चर्किदै गएको थियो । के सीले मच्छीको सभामा पार्टीका सहमहामन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशलाई माओवादीको प्रवक्ता भनिदिनु भयो । माओवादीको प्रवक्ता बनाएर सहमहामन्त्रीलाई मराउन खोजेको हो भनेर केही साथीहरूलाई निहुँ खोज्न विषय मिलेको थियो ।

माघ १७ मा मच्छीमा सभा भयो जस्तो लाग्छ । मच्छीको सभा सकाएर मनु र म माघ १८ गते पाल्पा पुग्ने गरी बुटवल तिर लाग्यौं । के। सी । बिमल शर्मा लगायत साथीहरू प्यूठानको पूर्बी भेग चुँजा तिर लाग्नु भयो । बुटवलमा चाँदमारीमा जनमोर्चा नेपालको पश्चिमाञ्चल कार्यालय थियो भने नजिकै अखिल ९एकीकृत० विद्यार्थी संगठनको कार्यालय थियो । जनमोर्चा कार्यालयमा लिलानाथ कुसुम हुनुहुन्थ्यो । माघ १९ गते विहान विद्यार्थी कार्यालयबाट जनमोर्चा कार्यालयमा जाँदा कुसुमजी आत्तिइरहनु भएको थियो । कुसुमजी राजाको शाही सम्बोधन पछि देशमा कु हुने भयो भनेर आत्तिनु भएकोथियो । विहान ८ (१० बजेको बीचमा राजाले शाही सम्बोधन गरे । हामी जनमोर्चा कार्यालयमा राजा ज्ञानेन्द्रको सम्बोधन टि .भि .मा हे¥यौं राजाको सम्बोधन सकिएको ५ मिनेट बित्न नपाउँदै फोनका लाईनहरू काटिए । जनमोर्चा कार्यालयको फोनको घण्टी टु टु मात्र गर्थ्यो । टि .भि. र रेडियोका नियमित कार्यक्रम रोकिएर राजाका सम्बोधनहरू ,राजाका वाणी र राजाकै स्तुति बज्न थाले ।

माघ १९ गते बुटवलमा हुस्सु लागेको थियो । आकासको घाम लागेको थिएन । बजारमा अब के हुन्छ हुन्छ भनेर सबै त्रसित थिए । चित्र बहादुर केसी अर्घाखाँचीको बाटो हुँदै भारत लाग्नु भएछ । काठमाडौंबाट मोहन बिक्रम सिँह भारत तिर जानू भएछ । केही दिन पछि फोन फेरि सन्चालनमा आयो । त्यति बेला एकताकेन्द्र –मसालमा परी थापाको एउटा भनाइ चर्चित भएकोथियो । फोनमा कसैले काठमाडौं तिर के छ भनेर सोध्यो भने परी कामरेडको भनाइ हुन्थ्यो(ू यहाँ केही छैन, जम्मा दुई चीज छ , एउटा चम्पट र अर्को दम्पट । दम्पट भनेको सहमहामन्त्री प्रकाश लुकेकाछन । चम्पट भनेको महामन्त्री सिंह भागिसके । जब माघ १९ को कुरा आउँछ फेरि चम्पट र दम्पट किस्साले साथीहरूलाई हसाउँछ ।

बुटवलबाट हामी पाल्पा तानसेनतिर लाग्यौं । पाल्पा जाँदा स्थिति उस्तै थियो । हरेकका चेहरामा कौटुहलता र त्रास झल्कन्थ्यो । केही दिन पछि पार्टी महामन्त्री मोहनबिक्रम सिंहको माघ १९ को घटनाको विरोध गर्दै प्रकाशित गरिएको वक्तव्य हात लाग्यो । त्यस पछि हामीले केन्द्रबाट आएको वक्तव्य र जिल्लाबाट निकालिएकावक्तव्यको फोटोकपी गरेर खुसु खुसु मान्छेहरूलाई बाँड्न थाल्यौ । सुरु सुरुमा त्रास यस्तो थियो कि केही सीमित विद्यार्थीहरू हामीले तानसेनमा प्रहरीलाई झुक्काएर छड्के जुलुस निकाल्थ्यौ । बजारका ब्यापारीहरू अत्तालिएर हत्तारिदै सटर बन्द गर्थे । प्रतिगमनका विरुद्धमा हिरासत, जेल, जुलुस ,झडपका कथाहरू थपिदै गए । २०६२ मा पहिले पाल्पा र पछि बुटवलमा माओदीहरूले आक्रमण गरे । माओवादीहरूले बुटवल आक्रमण गर्दा हामी केही साथीहरू रात भरी बुटवल चाँदमारी राज टेलर्सको घरको छटमा ननिदाइकन बिताएकाथियौ। हामीलाई ठूलो चिन्ताको विषय के थियो भने दिउँसो आन्दोलनबाट प्रहरीले पक्रिएर लगेका पुष्कर सापकोटा सहित करीव १२ जना साथीहरू जीबित रहेकी मरे होलान् भन्ने पीर भयो । बुटवलमा सेनाको क्याम्प सित प्रहरी ठाना थियो । पुष्कर लगायतका साथीहरूलाई त्यही राखेको थियो । दोहोरो भिडन्तमा उहाँहरू कतै मारिनु भयो कि भन्ने निकै चिन्ता भयो । विहान उज्यालो भए पछि युद्ध बन्द भयो । बजारमा चहल पहल सुरु भयो । उहाँहरूजीवीतै हुनुहुँदो रहेछ भन्ने थाहा भयो ।

आन्दोलन बढ्दै गयो । २०६२ माघ २४ मा सुरु भएको जनअन्दोलनमा भारतले राजा र आन्दोलनकारीलाई सम्झौता गराउन कोशिश गर्यो । तदनुरुप राजा ज्ञानेन्द्रले २०६३ बैशाख ८ गते शाही सम्बोधन गरे तर दलहरूले बिघटित प्रतिनिधि सभा पुनर्स्थापना नगरी आन्दोलन नरोक्ने अडान लिए ।
२०६३ बैशाख ११ गते राजा ज्ञानेन्द्र विघटित प्रतिनिधि सभा पुनर्स्थपना गर्न बाध्य भए । जन आन्दोलन कै जगमा नेपालमा गणतन्त्र घोषणा भयो । संविधान सभाबाट संविधान बन्यो। तर देश र जनताका आधारभूत समस्या समाधान भएको छैन । परिस्थितिले अर्को ठूलो संघर्षको माग गर्दैछ ।

By जन बिहानी

Related Posts