संस्कृति र सांस्कृतिक रूपान्तरण

लेखक : गौरी देवकोटा

विषय परिचय
ल्याटिन भाषाको कल्तुरा (अगतिगचब) शब्दबाट अगतिगचभ (संस्कृति) शब्द बनेको र यसको अर्थ खेती गर्नु रहेको पाइन्छ भने यसको बनावटमा संस्कृत भाषाको ‘कृ’ धातुमा ‘सम्’ उपसर्ग र ‘क्त’ प्रत्यय लागेको हुन्छ । संस्कृतिलाई भौतिक र आत्मिक दुई किसिमले विश्लेषण गरिन्छ । भौतिक संस्कृतिमा श्रमका औजार उपकरणहरू, उत्पादनमूलक गतिविधि, सङ्घर्ष आदिलाई मानिन्छ भने आत्मिक संस्कृतमा मानवीय आचरण, कला, सौन्दर्य, चेतना, शिक्षा आदिलाई लिने गरिन्छ । मानव समुदायले जीवन जिउने क्रममा अवलम्बन गरेका चालचलन, रीतिरिवाज, रहनसहन आदि स्थापित हुँदै जाँदा कालान्तरमा संस्कृति बन्दछ । हरेक राष्ट्र, समुदाय र जातजातिमा आ–आफ्नै अकूलताका संस्कृतिहरू निर्माण भएका हुन्छन् । यसको निर्माणका आधारहरू अर्थ उपार्जन, चेतना र भूगोललाई मुख्य मान्न सकिन्छ । कृषि युगमा प्रकृतिपरक संस्कृति स्थापित थियो । संस्कृति शब्दको अर्थ पनि ल्याटिन भाषामा ‘खेती गर्नु’ भन्ने रहेकाले कृषियुगदेखि स्थापित भएका प्रचलन नै संस्कृति हो भन्न सकिन्छ । त्यतिबेला बालीनाली, पशुपंक्षी र कृषिजन्य उपकरणहरू पुज्ने र सही समयमा सही ढङ्गले उपभोग गर्ने प्रचलन रहेकाले त्यही संस्कृतिको निर्माण भयो । बिस्तारै मान्छेले अर्थ आर्जन गर्न थाल्यो, अर्थ आर्जनसँग वर्ग जन्मियो । अर्थ र वर्गको प्रभावमा कृषियुगमा स्थापित मूल्य मान्यतालाई विकृत बनाउन थालियो र संस्कृतिमाथि धन दौलत र वर्ग हावी हुन थाल्यो । त्यही हावी भएको वर्गले धर्म जन्मायो । धर्मसँगै मठ मन्दिर र प्रतिमाहरू बन्न थाले । राजा महाराजाले आफ्नै र आफ्ना प्रियजनका नामका प्रतिमा र मन्दिरहरू स्थापना गरे । पुस्तान्तर हुँदै जाँदा उनै प्रतिमाहरू, मूर्तिहरू आस्थाकासाथ पुज्न थालियो, धार्मिक स्थलका नामले परिचित हुन थाल्यो । बिस्तारै धर्मलाई माध्यम बनाएर संस्कृतिको नाममा मानव हित विपरीतका क्रियाकलापहरू हुन थाले । नरबली, दासप्रथा, सतीप्रथा आदि यसैका उदाहरणहरू हुन् ।

निम्न वर्ग, समुदाय र महिलाहरू शदिऔँदेखि यिनै कुप्रथा र कुसंस्कृतिको घानमा पिसिँदै आए । उच्च भनिने वर्ग, जाति र लिङ्गद्वारा प्रताडित रहँदै आए । जब मान्छेको चेतना परिस्कृत हुन थाल्यो मान्दै आएका संस्कृति र प्रथामाथि सोच्न थाल्यो । सही या गलत छुट्याउन थाल्यो र शिक्षासँगै तर्क र सान्दर्भिकताको खोजी गर्न थाल्यो । गलत नजिरहरू विरुद्ध आवाज उठाउन र विद्रोह हुन थाल्यो । त्यही आवाज र विद्रोहको प्रतिफलमा सांस्कृतिक रूपमा स्थापित कतिपय अमानवीय कुप्रथाहरू परिमार्जित हुँदै आए भने कतिपय संस्कृति र प्रथाहरूमा नीतिगत रूपमा प्रतिबन्ध लगाउन सफल भएको इतिहास हामीले पढ्दै आएका छौँ ।

देश काल परिस्थिति अनुसार संस्कृति परिमार्जित परिवर्तित र विस्थापित हुने गर्छ । वर्तमानमा प्रचलनमा रहेका सांकृतिक विषयको सान्दर्भिकता क्षीण हुँदै जाँदा भविष्यमा मूल्यहीन वा मान्यता विपरीत नहोला भन्न सकिँदैन । सञ्चार, साधन र प्रविधिले विश्वलाई साँघुरो बनाएको छ भने संस्कृतिलाई विश्वव्यापी पनि बनाएको छ । आजको विश्वमा एउटा देश, जाति र समुदायको संस्कृति तत् स्थान, जाति र समुदायमा मात्र सीमित छैन एक अर्कामा अन्तरघुलित हुँदै जाँदा मिश्रीत संस्कृतिको विकास हुँदै गएको अवस्था छ ।

संस्कृति निर्माण गर्ने र प्रभावित पार्ने तत्वहरू मध्ये यहाँ तीन वटा प्रमुख तत्वलाई लिइएको छ र त्यसैमा केन्द्रित रहेर अवधारणा प्रस्तुत गरिएको छ ।

क) आर्थिक आधार र प्रभाव
संस्कृतिको विकास र प्रभावमा अर्थको महत्त्वपूर्ण भूमिका रहन्छ । जब अर्थ व्यवस्थाको प्रचलन सुरु भयो वर्ग विभाजन, जात विभाजन र काम विभाजनको सुरुवात भयो । अर्थोपार्जनका आधारमा वर्ग छुट्टियो भने कामका आधारमा उँच नीचको संस्कृति विकास भयो । यही कुसंस्कृतिलाई उच्च भनिने जाति र समुदायद्वारा सयौँ वर्षदेखि संरक्षित गरिरहे जसका कारण छुवाछुत प्रथा लामो समयसम्म जब्बर बनेर समाजमा रह्यो । वर्तमान कानुनले छुवाछुत प्रथालाई कानुनी दायरामा ल्याए पनि अक्षरस पालना हुन नसकेको अवस्था छ । अर्थकै कारण विभाजित समाज वर्गीय छ । वर्गीय समाजमा संस्कृति र जीवनशैली पनि वर्गीय नै हुन्छ । पुँजीपतिवर्ग आफ्नो नाफाका लागि अनेक अफवाह फैलाउँदै विश्व बजार कब्जा गर्न उद्धत छ । ऊ धर्मको नाममा, संस्कृतिको नाममा र सुन्दरताको नाममा ‘जसरी पनि कमाउ’ नीतिलाई सबल पारिरहेछ भने उपभोक्ताहरू विनासुझबुझ उनीहरूकै लहैलहैमा कुदिरहेको देखिरहेका छौँ । जसको उदाहरण साउने फेसन, तीजे भोज, मेहन्दी, बेबी सावर, अनेक धार्मिक अनुष्ठान र गुरुमहाराजहरूद्वारा गराइने कार्यहरू पर्दछन् । यी सबै व्यापार व्यवसायसँग जोडिएका हुन्छन् र नाफा कमाउने उद्देश्यले रचना गरिएका संस्कृतिहरूमा पर्दछन् ।

पुँजीवादले निम्नवर्गलाई जिउनै नसक्ने बनाउँदै लगेको छ भने जो जससँग पुँजी छ उसको हरेक क्षेत्रमा अधिपत्य छ । न्याय र समानता निम्नवर्गको पहुँचमा छैन । कम्युनिस्ट हौँ भन्नेहरूले पनि मध्यम वा उच्चवर्गकै हितमा काम गर्दा आफू सुरक्षित र समृद्ध हुने भएकाले त्यसैतर्फ लालायित छन् जसले गर्दा जनयुद्धले निर्माण गरेको वर्गसङ्घर्षको संस्कृति नाजुक बन्दै गएको अवस्था छ । विज्ञान र प्रविधिले श्रमको स्वरूप फेरिदिएको छ । स्वरुप फेरिएसँगै सङ्घर्षको स्वरुप र क्षेत्र पनि नयाँ नयाँ निर्माण र विकास गर्दै लैजानुपर्ने हुन्छ । यसरी हेर्दा पुँजीपतिवर्गसँग सङ्घर्ष गर्न ‘निम्नवर्गीय सङ्गठन’को सञ्जाल आवश्यकता परेको पो हो कि ? यो आजको अर्थ परिवेशले जन्माएको धारणा हो र वहस गर्न सकिने विषय पनि हो ।

ख) वैचारिक आधार र प्रभाव
विचार यस्तो हतियार हो जसले हरेक किसिमका असर र प्रभावहरूलाई पनि प्रभावित पार्न सक्छ । समाजमा जरा गाडेर बसेका कुप्रथा, कुसंस्कृति र कुविचारहरूको जरा चुँडाउन सक्छ । साथै सही विचारको सही प्रयोगबाट समुन्नत संस्कृति र समाज निर्माण गर्न पनि सक्दछ । अशिक्षित र पुरातन समाजले निर्माण गरेका कतिपय रुढिगत संस्कृति विरुद्ध आवाज उठ्नु, वैज्ञानिक आधारहरूको खोज हुनु र कुप्रथाहरू समाजबाट उखेलिन थाल्नु चेतना अर्थात् विचारबाट प्रभावित भएर नै सम्भव भएको हो ।

नेपालको इतिहासमा सामाजिक, आर्थिक, सांस्कृतिक र लैङ्गिक रूपमा रहेका विसङ्गती विरुद्ध सङ्घर्ष गर्ने पहिलो महिला योगमाया थिइन् । तत्कालीन सामान्तवादी संस्कृति र विभेदकारी मूल्य मान्यतामाथि सोझै धावा बोल्ने हिम्मत राख्ने योगमायाले जातीय उत्पीडन, बालविवाह, विधवामाथिको दुव्र्यवहार÷अमानवीय क्रियाकलाप, आर्थिक शोषण आदि विषयलाई मुद्दा बनाएर सामाजिक अभियान चलाएकी थिइन् (पाण्डेय, २०७६, पृ.१०५) । राणा शासनभित्र गलत पक्ष विरुद्ध बोल्ने साहस र योजना योगमायामा पलाएको चेतना अथवा विचारबाट विकास भएको हो । यदि योगमायामा गलतलाई गलत देख्ने दृष्टिकोण र चेतना नहुँदो हो त परिवर्तनका निम्ति आवाज उठ्ने नै थिएन । राणाकालदेखि प्रजातान्त्रिककाल, पञ्चायतकाल, बहुदलकाल हुँदै लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा समय र व्यवस्थाले पटकपटक कोल्टे फेरेको छ । कोल्ट फेर्ने क्रममा जनयुद्धले निर्माण गरेको सुल्टो कोल्टे फेराइको संस्कृति पुनः उल्टोतिर फर्किन थालेको यथार्थ हाम्रो सामु छ । माक्र्सवादी विचारद्वारा स्थापित मूल्य र मान्यताप्रति स्वयम् सिर्जनकर्मी विमुख हुनु र पुरानै मूल्य मान्यताले स्थान पाउनु दुःखको विषय हो ।

माक्र्सवादी पार्टीको सदस्य बन्दैमा माक्र्सवादी चेतना विकास हुने र सांस्कृतिक रूपमा क्रान्तिकारी हुने भ्रम केही माक्र्सवादीहरूले पालेको पनि पाइन्छ । उनीहरू आफ्ना श्रीमती वा छोरी÷बुहारी परम्परागत संस्कारी होस् भन्ने चाहन्छन् र बाहिर महिला मुक्ति र अधिकारका विषयमा बोलिरहेका लेखिरहेका भेटिन्छन् । उनीहरू नीतिमा सकारात्मक देखिए तापनि वास्तवमा व्यवहारमा विपरीतध्रुवी बनिरहेका हुन्छन् । उनीहरूले पितृसत्तात्मक संस्कृतिको पक्षपोषण गरिरहेका हुन्छन् र खासमा यस्ता प्रवृत्ति महिला विरोधी प्रवृत्ति हो र रूपान्तरणका बाधक प्रवृत्ति हुन् । भौतिकवादी द्वन्द्ववादले संस्कृति र समाजलाई गुणात्मक उचाइमा पु¥याउनका लागि निरन्तर गतिशील रहन सिकाउँछ तर वर्तमानमा हामीले कस्ता संस्कृति अवलम्बन गर्दैछौँ र त्यसले हामीलाई कता लैजाँदै छ भन्नेतिर भने ध्यान दिइरहेका हुँदैनौँ । विचारमा क्रान्तिकारी पार्टी, भौतिकवादको अनुशरण गर्ने पार्टी भनेर चिनिँदै गर्दा माक्र्सवादीहरूबाट हुने गरेका कमी कमजोरीहरूमाथि समाजले निगरानी गरिरहेको हुन्छ । द्वन्द्वात्मक भौतिकवादबाट यताउता लाग्ने बित्तिकै प्रश्न उठ्छ । अहिले त प्रश्न मात्रै उठ्दैन सामाजिक सञ्जालमा सप्रमाण खुइल्याउन सुरु गरिन्छ । त्यसैले हामीले आध्यात्मिक गतिविधिमा सामेल हुनअघि आफ्नो वैचारिक धरातल बारे सोच्नु पर्ने हुन्छ । आफू भौतिवादी हो वा आध्यात्मवादी पहिला आफैं स्पष्ट हुनु जरुरी छ । आध्यात्मिक हुन पाइन्छ तर भौतिकवादी हुँ पनि भन्ने र आध्यात्म पनि अङ्गाल्ने द्वैध चरित्रले निर्माण गर्ने जोकर संस्कृति आजको समस्या हो र सांस्कृतिक रूपान्तरणको समस्या हो । पार्टीको नीति विपरीतको जीवनशैली र व्यवहार सिङ्गो कम्युनिस्ट आन्दोलन र उद्देश्यको बाधक हो । यो जोकर संस्कृतिबाट क्रान्तिकारीहरू रूपान्तरित हुन र विचारमा स्पष्ट हुन जरुरी छ ।

ग) भौगोलिक आधार र प्रभाव
संस्कृति निर्माण हुने आधार र प्रभावित पार्ने विषय मध्ये भूगोल पनि एक हो । हरेक क्षेत्र वा राष्ट्रको पहिचान त्यहाँको संस्कृतिले दिलाउँछ । कुन देशको वा कुन क्षेत्रको नागरिक हो भन्ने भेउ उसको भाषाशैली, भेषभूषा र जीवनशैलीबाट खुट्याउन सकिन्छ । भू–बनोट र पर्यावरण अनुसार उसको संस्कृति निर्माण भएको हुन्छ भने सीप विकास पनि सोही अनुसार भएको हुन्छ र सामाजिक यथार्थको प्रतिबिम्बन संस्कृतिमा झल्किन्छ । तर आजको विश्वलाई सञ्चार र प्रविधिले एकाकार बनाएको छ भने संस्कृतिलाई फैलाएको छ । यसले नेपालको परम्परा र संस्कृति नेपाली पुगेका मुलुकहरूमा प्रसारित भएका छन् भने विदेशी संस्कृति भित्रिएका पनि छन् ।

बसोवास र जीवनशैली भूमण्डलीकृत हुँदै जाँदा झालेमाले संस्कृतिको विकास भएको छ । जसले गर्दा यो जाति वा यो समुदायको यो संस्कृति भनेर एकिन गर्न गाह्रो पर्दै गएको अवस्था छ । ‘क्रिसमस ट्रि’मा बत्ती टाँगेर ‘नारायण पुजा’ गरिरहेका दृष्यहरू सामान्य लाग्न थालेका छन् । यो विषय भौतिकवादीहरूको चिन्ताको विषय होइन तर संस्कृति कसरी निर्माण गरिँदैछ र भूमण्डलीकृत बसोवासले संस्कृतिमा कसरी प्रभाव पारिरहेको छ भन्ने कुराको उदाहरण हो । क्रिसमस ट्रिमा बत्ती टाँगेर सत्यनारायणको पुजा गर्ने पुस्ताको अनुशरण पुजा गरेको देख्नेले गर्ने हो र उसको सन्तानले गर्ने हो । त्यसैले अबको संस्कृति निर्माणका आधार र प्रभावमा भूमण्डलीकरणको अझ वृहत् भूमिका देखिन्छ । साथसाथै संस्कृतिले पहिचानको शाख गुमाउने सम्भावना पनि बलियो बनेको देखिन्छ तर यो परिस्थितिमा माक्र्सवादी संस्कृतिको विकास गरेर विश्वव्यापी बनाउन सकिने सम्भावना पनि उत्तिकै छ । त्यसैले सच्चा कम्युनिस्टहरूद्वारा प्रगतिशील र वैज्ञानिक समाजवादी संस्कृति निर्माण हुन आवश्यक देखिन्छ ।

सांस्कृतिक रूपान्तरण

मानवीय गतिविधिको समग्रता नै संस्कृति भएको हुँदा यसमा असल र खराव दुबै पक्ष समेटिएको हुन्छ । संस्कृतिमा रहेका गलत, अवैज्ञानिक र मानवता विरोधी गतिविधिमा सुधार ल्याउनु, त्यसलाई समयसापेक्ष बनाउँदै लैजानु वा व्यवहारत कठिनाई देखिएका गतिविधिमा परिवर्तन गर्दै लैजानु रूपान्तरण हो । संस्कृतिको जन्म सामुहिकताबाट हुने भएकाले व्यक्तिगत प्रयासबाट भन्दा सामुहिक प्रयत्नबाट रूपान्तरणमा जोड दिनुपर्ने हुन्छ अर्थात् समूहगत रूपमा गरेको रूपान्तरण दिगो र प्रभावकारी हुन्छ । यद्यपि शदिऔँदेखि प्रचलनमा रहेका गतिविधिलाई रूपान्तरण गर्न त्यति सजिलो भने छैन तर राजनीतिक उथलपुथल सँगसँगै सांस्कृतिक पक्षलाई पनि जोडेर अगाडि बढाउन सकेको खण्डमा सांस्कृतिक रूपान्तरण असम्भव विषय पनि होइन । नेपालको सन्दर्भमा राजनीतिक परिवर्तन क्रमशः हुँदै आए तापनि सांस्कृतिक परिवर्तनमा ध्यान नदिएको भने पक्कै हो । यद्यपि समय, सन्दर्भ र सोचाइमा आएको परिवर्तनले सांस्कृतिक गतिविधिमा फेरबदल भने आएका छन् ।

हामीले अनुशरण गर्दै आएका सांस्कृतिक पाटाहरूमा सच्याउनुपर्ने र त्याग्नुपर्ने पक्षहरू प्रसस्तै छन् । वर्षभरि मनाइने चाडपर्व र रीतिरिवाजमा मानव हित विपरीत र अग्रगमनका निम्ति बाधक पक्षहरू पहिचान गरेर रुपान्तरण गर्नु गराउनु माक्र्सवादी संस्कृति निर्माणको निम्ति पहिलो शर्त हो । यसै प्रसङ्गमा क.किरण भन्नुहुन्छ– “हामीले नयाँ जनवादी सांस्कृतिको पक्षमा सशक्त आवाज उठाउन आवश्यक छ । माक्र्सवाद–लेनिनवाद–माओवादको आलोकमा सांस्कृतिक रूपान्तरणको प्रक्रियालाई वैचारिक र भावनात्मक ढङ्गले प्रभावकारी बनाउन जरुरी छ र सांस्कृतिक रुपान्तरणका लागि प्रचारात्मक र क्रियात्मक दुवै क्षेत्रमा ध्यान दिन आवश्यक हुन्छ (वैद्य. २०६७. पृ.३५५) ।” हामीले अपनाउँदै आएका हरेक संस्कृतिमा भावनात्मक सम्बन्ध स्थापित गरिएका हुन्छन् । जसलाई धर्मसँग वा पितृसँग जोडाएर अजर बनाउने चालबाजी गरिएको पाइन्छ । यो चालबाजीलाई चिर्न सक्ने सामाथ्र्य द्वन्द्वात्मक भौतिकवादी विचारधाराले मात्रै राख्दछ । त्यस्तै गरेर साम्राज्यवाद र पुँजीवादले हाम्रो जस्तो विकासोन्मुख मुलुकका क्षमतावान जनशक्तिलाई आफ्नो अनुकूल उपयोग गरिरहेछ र विश्व बजारले दास बनाइरहेछ । यसका विरुद्ध लड्न सानोतिनो प्रयास र राष्ट्रिय सङ्गठनको बलले मात्र पुग्दैन । विश्वव्यापी सङ्गठन निर्माण गरेर त्यो शक्तिलाई एकाकार गर्न सकेमा वर्गसङ्घर्षको संस्कृति सम्भव छ । वर्गसङ्घर्षद्वारा पुँजीवादले सिर्जना गरेको दास–मालिकको स्वरूपबाट मुक्ति सम्भव छ र परिवर्तन सम्भव छ ।

निष्कर्ष
संस्कृति सामाजिक चेतनाको प्रतिबिम्ब हो । कुन समाजको चेतना कस्तो थियो भनेर अध्ययन गर्नुपर्दा त्यो समाजको सांस्कृतिक पक्षको अध्ययन गरिन्छ । समाजको चेतना अनुसार संस्कृति पनि रूपान्तरण हुँदै अगाडि बढ्छ तर सबै रूपान्तरण सकारात्मक ढङ्गबाट मात्रै हुन्छ भन्ने हुँदैन । सकारात्मक रूपान्तरणले समाजलाई अझ समृद्ध बनाउँछ भने नकारात्मक रूपान्तरणले समाज, परिवार र राष्ट्रलाई समेत विखण्डनमा लैजाने खतरा हुन्छ । त्यसैले संस्कृतिले कस्तो दिशा पकड्दै छ भनेर समयमै सचेत हुन र जनवादी संस्कृतितर्फ समाजलाई हिडाउने प्रयत्न गर्नु क्रान्तिकारीहरूको दायित्त्व भएकाले संस्कृतिमा आएका केही निम्न परिवर्तनहरूलाई नकारात्मक परिवर्तनका उदाहरणका रूपमा लिन सकिन्छ ।
– मान्दै आएका चाडवाड र रीतिरीवाजहरू सांस्कृतिक रूपमा रुढीग्रस्त, विभेदकारी र आर्थिक रूपमा बोझिला र भड्किला बन्दै जाँदा समाजमा धर्म परिवर्तनको लहर चलेको छ ।
– संयुक्त परिवारको संस्कृतिबाट समाज एकल परिवारमा रूपान्तरीत हुँदै गएको छ ।
– सन्तान अशक्त अभिभावकप्रति गैरजिम्मेवार बन्दै गएका छन् ।
– महिला पीडक संस्कृति बिस्तारै पुरुष पीडक बन्दै गएको अवस्था छ ।
– बाह्य संस्कृतिको प्रभावले पहिचानको संस्कृति लोप हुँदै गएको छ ।
– अहिले पनि व्यवहारमा पुरुष पुज्य र महिला त्याज्य मान्ने संस्कृति जीवित छ ।
– श्रमसंस्कृति घट्दै गएको छ र चाकडी चाप्लुसी तथा भ्रष्टाचारको संस्कृति मौलाउँदै गएको अवस्था छ ।
सकारात्मक रूपान्तरण अध्ययन गर्दा निम्न उदाहरणहरू पाइन्छन् ।
– जनयुद्धको प्रभावले सामन्तवादी संस्कृति निरुत्साहित र लोकतान्त्रिक गणतन्त्रको यात्राले निम्न वर्ग, क्षेत्र र जातिमाथिको अधिकारमा केही सुधार भएको अवस्था छ ।
– केही समय अघिसम्म तल्ला भनिएका वर्ग वा जातिले गर्ने कामलाई हेलाँको भावमा हेरिने पेशा व्यवसाय आज तोकिएको जातिमा मात्र सीमित छैन, जसले गर्दा हेलाँको श्रमसंस्कृति सम्मानजनक संस्कृतिमा रूपान्तरण हुँदैछ ।
– महिलाका पक्षमा बनेका कानुन र शिक्षित हुन पाउने अधिकारले महिला साक्षरता र आत्मनिर्भताको ग्राफमा सुधार भएको छ । अन्य पनि केही सुधार भएका छन् तर पर्याप्त छैनन् । त्यसैले जनवादी संस्कृति निर्माण गर्ने उद्देश्यसहित निम्नवर्गले पनि गर्वका साथ बाँच्न पाउने संस्कृति निर्माण गर्नतिर क्रान्तिकारी तथा समाज सुधारकहरूले ध्यान दिन आवश्यक छ । राष्ट्रिय नीति र कार्यक्रमहरू बनाउन सत्तापक्षलाई दबाब दिने र हरेक क्षेत्रमा बढ्दै गएको चाकरी चाप्लुसी र भ्रष्टाचारको संस्कृतिलाई दण्डित गर्ने वातावरण निर्माण गर्न आवश्यक छ । सहयोग चन्दा या दानबाट चल्ने संस्कृतिलाई निरुत्साहित गर्न ढिला गर्नु हुन्न । जीवन बाँच्ने आधार अर्थ हो । सांस्कृतिक रूपान्तरण गर्न गराउन प्रथमतः जीवन बाँच्नु पर्दछ, बचाउनु पर्दछ त्यसैले हरेकले आफ्नै खुट्टामा उभिन सक्ने र गौरवकासाथ बाँच्न सक्ने श्रमसंस्कृति निर्माणमा लाग्न जरुरी छ ।

सन्दर्भसूचि
पाण्डेय, ताराकान्त. (२०७६). नेपाली कवितामा गणतान्त्रिक चेतना. इच्छुक.६(६). काठमाडौँः इच्छुक सांस्कृतिक प्रतिष्ठान. पृ.९६–१३१ ।
वैद्य, मोहन ‘किरण’.(२०६७).माक्र्सवादी दर्शन. काठमाडौः प्रगतिशील अध्ययन केन्द्र. पृ.३५५ ।

(क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नौ नम्बर ब्यूरोद्वारा २०८२ असार ६–८ मा आयोजित कार्यशालामा प्रस्तुत अवधारणा)
जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?