
नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपरासीले निर्वाचन बहिष्कार अभियान सापेक्ष रुपमा सफल भएको निस्कर्ष निकालेको छ । आइतबार बर्दघाटमा भएको जिल्ला कार्यालयको बिस्तारित बैठकले निर्वाचन बहिष्कारको क्रममा प्रहरीले पटक पटक धरपकड गर्नुले निर्वाचन बहिष्कार कार्यक्रम सफल भएको दाबी गरेको हो ।
“निर्वाचन बहिष्कार कार्यक्रमको शुरूवातबाट नै प्रहरी प्रसाशनले शान्तिपूर्ण कार्यक्रममा धरकपड गर्नु, जिल्ला सेक्रेटरी रवि पाण्डेयलाई बहिष्कार आन्दोलन संचालन गरेको भन्दै फागुन १ गते र १८ देखि २२ गते सम्म दुइपटक हिरासतमा राख्नु , साथै जिल्लाब्यापी रुपमा घरदैलो, कोणसभा , बहिस्कार र्याली, कालो ब्यानर टाग्ने लगायतको कार्यक्रम सफल हुनुले पनि बहिष्कार आन्दोलन सफल भएको छ”-पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापाले भने- साम्राज्यवादले प्रायोजन गरेर सफल बनाइएको भनिएको निर्वाचनले सही निकास दिन सक्दैन । यो रास्ट्रघातमा परिणत हुन्छ “।
सो अवसरमा पार्टी बैकल्पिक केन्द्रीय सदस्य एवं जिल्ला सेक्रेटरी रवि पाण्डेयले नव उदारवादको बुइ चढेर आएको नयाँ पार्टी पनि साम्राज्यवादको घोडा मात्र रहेकोले देश जोगाउन सबै देशभक्त र क्रान्तिकारीको एकता आवश्यक रहेको बताए । सो अवसरमा पार्टीका जिल्ला कार्यालय सदस्य दुर्गा नारायण चौधरी, सचिवालय सदस्य रामचन्द्र पोखरेल, क्रान्तिकारी संयुक्त मोर्चाका संयोजक चुडामणि भण्डारी, लालु गिरी, टिका परियारलगायतले धारणा राखेको पार्टीले जनाएको छ ।