
–सुदर्शन
आजको परिस्थितिले क्रान्तिकारी कम्युनिष्टहरूको एकता माग गर्दछ । तर व्यावहारिक जीवनमा फुट भइरहेको छ । क्रान्तिकारीहरू र अवसरवादीहरूका बीचको फुट राम्रो कुरा हो । तर क्रान्तिकारी कम्युनिष्टहरूका बीचमै फुट हुनु राम्रो कुरा होइन । समस्या कस्तो छ भने आज साँझ अमुक कम्युनिष्ट पार्टीबाट अमुक–अमुक कम्युनिष्टहरू विद्रोह गर्छन र अर्को पार्टी जन्मेको घोषणा गर्दछन् । भोलि बिहान फेरि ती पनि दुई टुक्रा हुन्छन् । आफूलाई खाँटी क्रान्तिकारी घोषणा गर्दै र अरुलाई अवसरवादी आरोप लगाउँदै जान्छन् । तर अर्को दिन त घोर नवप्रतिक्रियावादी र संशोधनवादीहरूसँग गएर एकताको घोषणा गर्दछन । उनीहरु जीवनभर क्रान्तिकारी बाटोमा हिँडिरहेका कमरेडहरूमाथि ‘बुढाहरूले क्रान्ति गर्दैनन्’ भन्ने आरोप लगाउँदै आफू कम्युनिष्ट र युवा क्रान्तिकारी भएको घोषणा गरेर जान्छन् । तर उहिल्यै क्रान्तिकारी बाटोबाट हात धोइसकेकाहरूसँग गएर हात मिलाउँछन् । यदि उ क्रान्तिकारी हो भने त क्रान्तिकारीहरूसँग एकता गरेर क्रान्तिका लागि तयारी पो गर्नुपर्ने हो, क्रान्तिको बाटोबाट फर्केर संसदवादी बनिसकेकासँग पुगेर क्रान्तिकारी भएको दाबी गर्नु विडम्बना भएको छ । यसका कारणहरू र निदानका उपायहरू खोज्नैपर्दछ । होइन भने नेपाली शोषित–उत्पीडित जनताको बिचल्ली हुनेछ । यो नेपालको विशिष्ट समस्या मात्र होइन । यो त विश्व कम्युनिष्ट आन्दोलनमा नियाल्दा देखिने आम समस्या पनि हो ।
यो समस्यालाई ऐतिहासिक ढङ्गले खोतल्ने कोसिस गरौं । कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले कम्युनिष्ट लिग बनाएदेखि नै फुटपरस्त, अवसरवादी र संशोधनवादी प्रवृत्तिका विरुद्ध लड्नुभयो । प्रुँधोको निम्न पुँजीवाद, बाकुनिनको अराजकतावाद, लासालको संसदवादका विरुद्ध जीवनभर संघर्ष गरेर नै उहाँहरुले माक्र्सवादको विकास गर्नुभयो । पेरिस विद्रोह र पेरिस कम्युनको ७२ दिनले दुनियाँलाई नमूना प्रदान ग¥यो । लेनिन र स्टालिनले वर्नस्टिनको संशोधनवाद, काउत्स्कीको मध्यपंथी अवसरवाद, प्लेखानेभको जडसूत्रवाद, मार्तोभ तथा मार्तिनेभको अराजकतावाद, ट्राट्स्की, बुखारीन, जिनोभेभ र कामेनेभको अवसरवाद र संशोधनवादका विरुद्ध दुईलाइन संघर्ष गर्नुभयो । अन्ततः अक्टोवर क्रान्ति भयो र वैज्ञानिक समाजवाद आयो । माक्र्सवाद लेनिनवादमा विकास भयो । माओले छन् तु स्यूको दक्षिणपंथी अवसरवाद, लिउ जेनचिङको ट्राट्स्कीवाद, चु चिउपाईको धोकाधढी, लि–लिशान र वाङमिङको वामपंथी अवसरवाद, लो चाङ लुङको दक्षिणपंथी फूटवाद, चाङ क्वथाओको युद्धसर्दारवादी प्रवृत्ति, ल्यू साओची र तेङस्याओपिङको पूँजीवादी सुधारवाद अनि लिन–प्याओको छद्म अवसरवाद तथा प्रसंशावादका विरुद्ध भिषण दुई लाइन संघर्ष लड्नुभयो । परिणामस्वरुप चीनमा नयाँ जनवादी क्रान्ति, वैज्ञानिक समाजवादी क्रान्ति र महान सर्वहारा साँस्कृतिक क्रान्ति विजयी भए र माक्र्सवाद–लेनिनवाद माओवादमा विकास भयो ।
अर्कोतिर, नेपालमा हामी मनमोहन र केशरजंग रायमाझीको राजावादी र संशोधनवादी प्रवृत्ति, मोहनविक्रमसिंहको जडसुत्रवाद, मदन भण्डारीको बहुदलीय जनवाद र प्रचण्डको नवसंशोधनवादका विरुद्ध लड्दै आएका छौँ । दश वर्षको महान् जनयुद्ध पराजित भएको छ । क्रान्तिलाई नयाँ विचारधारात्मक संश्लेषण सहित पुनः अघि बढाउन सकिएको छैन ।
नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासलाई सरसर्ती नियाल्ने हो भने वि.सं. २००६ साल देखि २०१९ को तेस्रो महाधिवेशनसम्म सिंगो नेपाल कम्युनिस्ट पार्टी थियो । त्यसपछि गुटवाद र फुटवादको शूरुवात भयो । वि.सं.२०२३ मा केशरजंग रायमाझीले राजावादी तथा संशोधनवादी धाराको शुरुआत गरे र आफ्नो नेतृत्वमा खु्रश्चेभी राष्ट्रिय प्रजातन्त्रको कार्यदिशा सहित नेपाल कम्युनिस्ट पार्टी बनाए । यसबाट पनि मानन्धर, बर्मा र अमात्य समूह बने । अन्तर्राष्ट्रिय रुपमा सोभियत सामाजिक राम्राज्यवादको विघटन र नेपालमा राजतन्त्रको अन्तपछि यो धाराको विघटन भएको छ । हाल चन्द्रदेव जोशीको नेकपा (संयुक्त) अवशेषका रुपमा रहेको छ । वि.स. २०२५ मा पुष्पलालले पार्टी पुनर्गठनको प्रयत्न गरे । त्यसबाट फुटेर जीवित समूहहरुमध्ये नेमकिपा भक्तपुरमा खुम्चिएर रहेको छ । ऋषि कट्टेल नेतृत्वको नेकपा र लोकनारायण सुवेदी नेतृत्वको नेकपा भएर अलगअलग रहेका छन् । झापा विद्रोहको धाराबाट पनि तीन समूहहरु बनेका छन्–नेकपा(एमाले), नेकपा(एकीकृत समाजवादी) र नेकपा(माले) । नेकपा(माले) चौथो महाधिवेशनबाट दुई शिविर बनेका छन् ः क्रान्तिकारी शिविर र संशोधनवादी शिविर । क्रान्तिकारी शिविरको नेतृत्व क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र महासचिव कमरेड किरणले गर्नुभएको छ भने संशोधनवादी शिविरको नेतृत्व नेकपा (माके) र पुस्पकमल दाहालले गरेका छन् । आज चौथो महाधिवेशनको धारामा नै सबैभन्दा बढी फूट भएर नाङ्ले पसलहरु देखा परेका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेकपा(माओवादी केन्द्र), विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, नेकपा(मसाल), वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा(बहुमत), नेकपा (माओवादी), समाजवादी पार्टी नेपाल, अखिल नेपाल कम्युनिष्ट पार्टी सहित कैयौं टुक्रामा देखापरेका छन् ।
कम्युनिष्ट पार्टीमा यस प्रकारको व्यापक फुटको पछाडिका कारणहरू पत्ता नलगाइकन हामीले क्रान्तिकारीहरुबीच एकता गर्न सक्दैनौँ । एकता नगरिकन र क्रान्तिकारी कार्यदिशा नभइकन हामी सर्वहारा क्रान्ति गर्न सक्दैनौँ । फुटको जरो कारण हामीले विद्यमान अर्थव्यवस्थामा खोज्नुपर्दछ । हाम्रो नेपालमा विशिष्ट अर्थतन्त्र छ । यहाँको अर्थव्यवस्था दलाल तथा नोकरशाही पुँजीवाद हो । दलाल तथा नोकरशाही पुँजीवाद भनेको यस्तो आर्थिक प्रणाली हो जसमा दलाल र नोकरशाहहरूको प्रमुख भूमिका रहन्छ । दलालहरूले आर्थिक क्रियाकलापमा बिचौलियाको काम गर्दछन् र नोकरशाहहरूले नीतिहरू बनाएर व्यवस्थापन गर्दछन् । यी दुवैको उद्देश्य व्यक्तिगत फाइदा लिन पुँजीको संकेन्द्रण गर्नु हो । दलालहरूले बाह्य लगानी र स्रोतहरूको व्यवस्थापनमा निर्णायक भूमिका खेल्दछन् । दलाल पुँजीवादको जगमा नेपालको सामाजिक व्यवस्था रहेको छ । त्यो सामाजिक व्यवस्थाले पार्टीहरूमा व्यक्तिवादी र नोकरशाही प्रवृत्ति जन्माउँछ । त्यो सामाजिक व्यवस्थाबाट जन्मेका विचारहरुलाई क्रान्तिकारीकरण गर्न सकिएन भने अवसरवादी विचारहरु जन्मिन्छन् । माक्र्सवादको तोडमरोड हुन्छ र पार्टी फुट्छ । दलाल तथा नोकरशाही पुँजीवादबाट जन्मेको आत्मकेन्द्रित व्यक्तिवादले आफूलाई धुरी बनाउँछ र व्यक्तिगत नाफाका लागि पार्टी फुटाउँछ । आत्मकेन्द्रित व्यक्तिवादीहरूले सामाजिक हित चाहँदैनन् । फुटको दोस्रो कारण भनेको साम्राज्यवाद हो । नेपाल अर्थसामाजिक हिसाबले नवऔपनिवेशिक देश हो । साम्राज्यवादीहरूले गुटबन्दी गरेर एकातिर नेटो बनाए भने अर्कातिर वार्सा बनाए । क्रमशः अमेरिका र रूसको गुटमा थुप्रै औपनिवेशिक देशहरूका उपगुटहरू पनि बने । लेनिनका अनुसार संशोधनवाद अभिन्नरूपले साम्राज्यवादसँग जोडिएको हुन्छ । दलाल पुँजीवाद भनेको नवऔपनिवेशिक देशहरूमा रहेको साम्राज्यवादको कारिन्दा हो । साम्राज्यवादी कारिन्दाहरू कम्युनिष्ट पार्टीलाई फुटाउन त्यसैभित्र घुसपैठ गर्नुका साथै पैसा पद र शक्ति प्रयोग गर्दछन । यसको परिणाम पनि फूट भएको छ ।
तेश्रो कारण भनेको क्रान्ति असफल हुनु र क्रान्तिकारी आन्दोलन नहुनु हो । हाम्रो देशमा दुईवटा क्रान्ति भए तर दुवै असफल भए । एउटा क्रान्ति वि.सं. २०२८ मा पूर्वको झापाबाट शुरु भयो । त्यसलाई देशीविदेशी प्रतिक्रियावादीहरुले जन्मनेबित्तिकै किचीमिची पारेका थिए । त्यसलाई अन्ततः राष्ट्रिय तथा अन्तर्राट्रिय दक्षिणपंथी अवसरवाद र प्रतिक्रियावादले नवप्रतिक्रियावादमा पु¥यायो । अर्को क्रान्ति बीस वर्षपछि वि.सं. २०५२ मा योजनाबद्ध र परिपक्वताका साथ शुरु भयो जुन दशवर्षीय महान् जनयुद्धका नामले प्रख्यात छ । यसमा प्रचण्ड, बाबुराम र बादल लगायतका नेतारुले गरेको विश्वासघातले गर्दा व्यापक टुटफूट ल्याएको छ । यसले नेपालमा कम्युनिष्टहरुप्रति व्यापक अविश्वास पनि पैदा गरेको छ । क्रान्तिकारी आन्दोलन नहुनु भनेको पार्टी गफ गर्ने अखडा मात्र बन्नु हो । यस्तो अवस्थामा घूसपैठको संभावना पनि बढेर जान्छ । पार्टी विजातीय र अपरिपक्व तत्वहरुले भरिन्छ । यसकारणले पनि फूट हुन्छ ।
त्यसकारण दलाल तथा नोकरशाही पुँजीवाद र साम्राज्यवादको भण्डाफोर गर्दै क्रान्तिकारीहरू बीच एकताबद्ध हुनु आजको आवश्यकता बन्न गएको छ । निच स्वार्थमा अल्झिएर नेपाली जनताका सर्वोत्तम छोराछोरीहरूको रगतमा होली खेल्नु, अघि बढिरहेको क्रान्तिलाई प्रतिगामी दिशामा धकेल्नु, क्रान्तिकारीहरूको एकतालाई फुटमा लैजानु महाअपराधी कार्य हो । पद, प्रतिष्ठा र पैसाका लागि पार्टी फुटाउनु क्रान्तिका नाममा जनताप्रतिको गद्दारी हो । कमरेडहरू आउनुहोस् ! मालेमावादको आलोकमा हँसिया–हथौडा अंकित झन्डामुनि क्रान्ति गर्ने प्रतिबद्धताका साथ एकताबद्ध भएर अघि बढौं ।