सम्झनामा बेपत्ता योद्धा दण्डपाणि न्यौपाने (क.दीपेन्द्र)

साहित्य : संस्मरण (सहिदगाथा)

२००२ साल चैत १६ गते जन्मनुभएका क. दीपेन्द्र लमजुङ हुँदै चितवन, गीतानगर ३ पृथ्वीनगरमा बसाई सरी स्थायी बसोबासका रूपमा बस्दै आउनुभयो । शैक्षिक रूपमा एमएसम्मको औपचारिक शिक्षा हासिल गर्नुभएका क. दीपेन्द्र सानैदेखि भलाद्मी, तिक्ष्ण प्रकारको चेतना भएका कारण समाजमा भएका विकृति, विसङ्गति, असमानता, अन्याय, अत्याचार, शोषण, दमन, उत्पीडन र विभेद जस्ता विषयहरूप्रति अत्यन्तै गहिरो अध्ययन अनुसन्धान गर्न पुग्नुभएको पाइन्छ । समाजमा देखिएका तमाम समस्याको वैज्ञानिक रूपमा समाधान के हुन सक्छ भनेर खोज गर्दै जाँदा विश्वका कतिपय देशहरूमा चल्दै गरेका वर्ग सङ्घर्ष स्थापित हुँदै गरेका सर्वहारा वर्गीय सत्ताले स्थापित गरेका मूल्य मान्यता र उत्पादन तथा वितरण प्रणाली वैज्ञानिक भएको निष्कर्षमा उहाँ पुग्नुभएको देखिन्छ । नेपालमा गठन भएको कम्युनिस्ट पार्टी र त्यसले सञ्चालन गरेको आन्दोलनका बारेमा पनि उहाँको आकर्षण निकै महत्वपूर्ण थियो । अध्ययन अनुसन्धानसँगै उहाँ एउटा निष्कर्षमा पुग्नुभयो र २०२१ सालबाटै विद्यार्थी सङ्गठनमा सङ्गठित भई आन्दोलनमा सक्रिय सहभागी भइ आफ्नो कर्तव्य पूरा गर्न थाल्नुभयो ।

विद्यार्थी सङ्गठनका विभिन्न निकायमा काम गर्दै २०२६ सालबाट कम्युनिस्ट पार्टीमा सहभागी भई सर्वहारा वर्गको मुक्ति र समानताका निम्ति लाग्ने क्रममा अन्तर्राष्ट्रिय स्तरमा चलेका संशोधनवादी हावाहुरीका विरुद्ध मात्रै होइन देशभित्र चलेका संशोधनवादी हावाहुरीका विरुद्ध वैचारिक प्रतिवाद गर्दै उहाँ तत्कालीन नेकपा (चौथो महाधिवेशन) मा सक्रिय रहनुभएको र २०३४ सालमा नै पार्टीको जिल्ला कमिटी सदस्य भएर आफ्नो क्रान्तिकारी भूमिका निर्वाह गर्दै आउनुभयो । जिल्ला कमिटी सदस्य हुँदै २०४२ सालमा नेकपा (मशाल) को केन्द्रीय सदस्यको जिम्मेवारी तहमा पुगेर अगाडि बढ्दै जाँदा जनयुद्धको तयारीका क्रममा महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै तत्कालीन नेकपा माओवादीको केन्द्रीय सदस्य केन्द्रीय कार्यालय सचिवसम्मको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्दै आउनुभयो । दुश्मनका हिरासत, जेल जीवनबाट कत्ति पनि विचलित नभई एउटा असल क्रान्तिकारीको पहिचान बनाउनुभयो । श्रीमती, दुई छोरीहरू, एक छोराको पालन, पोषण, शिक्षा दिएर हुर्काउनुका साथै परिवारका सबै सदस्यहरूलाई राजनीतिक रूपमा प्रशिक्षित, सङ्गठित र सङ्घर्षमा हिँडाउनु पनि उहाँको अर्काे महत्वपूर्ण पक्ष थियो ।

माक्र्सवाद–लेनिनवाद–माओवादको आधारभूत सिद्धान्तलाई ठिकसँग बुझ्ने प्रश्नमा उहाँको बुझाई स्पष्ट थियो । किनकि उहाँका लेख, रचना, जीवन र व्यवहार वैचारिक थिए, क्रान्तिकारी थिए र विलक्षण थिए । टुटफुट र विभाजनको तहमा पुग्दा उहाँका लेखहरू आज पनि त्यत्तिकै महत्वपूर्ण छन् । पार्टीभित्र टुटफुट विभाजन र वैचारिक बहस हुँदा पनि उहाँको लेख क्रान्तिकारी विचारको पक्षमा क्रान्तिकारी पार्टीको पक्षमा उभिएर आफ्ना मतहरू जाहेर गर्नुहुन्थ्यो र क्रान्तिकारी पार्टीलाई मजबुत बनाउन लागिरहनु भयो जनयुद्धको तयारीका क्रममा समेत पार्टीभित्र देखा परेका संशोधनवाद, सुधारवाद र अराजकतावादका विरुद्ध लेखकीय तहबाट समेत वैचारिक सङ्घर्ष गर्दै क्रान्तिकारीको पक्षपोषण गर्दै अगाडि बढ्नुभयो । क्रान्तिको तयारीका क्रममा उच्च अनुशास, गोपनियताको अत्यन्त ठुलो महत्व थियो । त्यसलाई उहाँले अलिकति पनि कम हुन दिनुभएन । किनकि पार्टीले तयार गर्दै गरेको प्राविधिक तयारी त्यतिबेलाको समयमा अत्यन्त जोखिमपूर्ण थियो । यदि कतैबाट दुश्मनले थाहा पाएको खण्डमा क्रान्तिको थालनी नहुँदै चर्को दमनको सामना गर्नुपर्ने सम्भावना हुन सक्थो । त्यस विषयमा उहाँ सचेत, सतर्क रहँदै उच्च मनोबलका साथ आफ्नो जिम्मेवारीलाई पूरा गर्दै सम्बन्धित तहका आफ्ना सहपाठी कार्यकर्ताहरूलाई पनि यही अनुसासन सिकाउनुहुन्थ्यो । उहाँ जतिको इमान्दार, क्रान्तिकारी, परिपक्क व्यक्तिको संलग्नताले नै जनयुद्धको तयारीका क्रममा महत्वपूर्ण भूमिका निर्वाह हुन पुग्यो । अन्ततः जनयुद्धको थालनीसँगै जनयुद्धले निरन्तर विजयका कैयौँ खुड्किला पार गर्दै अगाडि बढ्दै गयो । आम साथीहरूमा त्याग, वीरता र बलिदानका कृतिमानहरू खडा भएर राष्ट्रिय स्तरमा मात्र होइन अन्तर्राष्ट्रिय स्तरमा समेत क्रान्तिकारीहरूमा उत्साह र प्रतिक्रियावादी वर्गको सत्तामा हलचल मच्चिन पुग्यो । यो काम उहाँ र उहाँ जस्तै इमान्दार नेता कार्यकर्ताको पहलकदमीको प्रतिफल थियो ।

लेखक : दिनेश शर्मा (सागर), केन्द्रीय कार्यालय सदस्य, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल

क. दीपेन्द्र पार्टीभित्र राम्रो पक्षको आत्मसातीकरण मात्र होइन गलत चिन्तन, प्रवृत्ति, आचरण, विचार, जीवन, व्यवहार, कार्यशैली र कार्यपद्धति प्रति अत्यन्तै मिहिन तवरबाट अध्ययन गर्नुहुन्थ्यो । मेल नखाने व्यवहारको जमेर आलोचना गर्न पछि पर्नुहुन्न थियो । उहाँ व्यक्ति पूजावादी चिन्तनको विरोधी हुनुहुन्थ्यो । समाजमा हुने घटना, परिघटना वा हरेक व्यक्तिलाई हेर्ने उहाँको द्वन्द्ववादी दृष्टिकोण थियो । जनयुद्धका क्रममा कार्यालय सचिवको भूमिका निर्वाह गर्दै गर्दा समग्र क्रान्तिको स्थिति र अवस्थाका विषयमा नजिकबाट विषयवस्तुलाई देख्ने मौका वाहाँले प्राप्त गर्नुभएको थियो । साथै केन्द्रीय कार्यालय तहबाट नेताको वैचारिक क्षमता, राजनीतिक विश्लेषण, कमाण्ड कन्ट्रोल, दैनिक जीवन व्यवहार, कार्यशैली जस्ता विषयहरूप्रति अत्यन्तै दुर्गामी तवरबाट नियाल्ने गर्नुहुन्थ्यो । उहाँ तत्कालीन पार्टीको मुख्य नेताको गलत कार्यशैलीप्रति आलोचना गर्नुहुन्थ्यो । वर्ग सङ्घर्षको मुख्य नेतृत्वको गलत कार्यशैलीले अन्तत क्रन्तिमा ठुलो क्षति पुग्छ भन्ने उहाँको प्रष्ट बुझाई थियो । उहाँको नेतृत्वप्रति आलोचनात्मक बुझाई देखेर नै कार्यालयबाट हटाइयो र करिब जिम्मेवारी बिहिनको अवस्था पनि बनाइयो । तर पनि उहाँ असन्तुष्टिको पोका बोकेर कहिले हिँड्नुभएन बरू क्रान्तिप्रति जिम्मेवारी बोधका साथ अध्ययन, छलफल, लेखन, प्रकाशनका कामहरू पूरा गरिरहनुभएको थियो । केन्द्रीय स्तरका कामहरू सहित उपत्यका सहित विषेश कमाण्डका कामहरू प्रकाशनका कामहरू निरन्तर रूपमा गरिरहनु हुन्थ्यो ।

उपत्यका कमाण्ड इन्चार्ज क. किरण उपचारको क्रममा हुनुभएको र कार्यवाहक भूमिका मैले पाएको अवस्थामा तत्कालीन पार्टी महामन्त्री प्रचण्डलाई रिपोर्टिङ बुझाउन र थप निर्देशन लिएर आउन २०५६ जेठ ५ गते म उपत्यका बाहिर गएको अवस्थामा २०५६ जेठ ७ गते राज्यले टेबाहाल स्थित मेरो कोठामा राज्यका प्रहरीहरूले बिहान छापा मारेर कार्यालय सचिव क. मिलन नेपाली पूर्वी कमाण्ड अन्तर्गत प्लाटुन कमान्डर क. नवीन गौतम, कार्यालय स्टाफ क. कमला शर्मा कब्जामा परेको र दुस्मनलाई छक्याएर घेरा तोड्न सफल कार्यालय स्टाफ क. कगेन्द्र मार्फत सूचना प्राप्त भएपछि क. दीपेन्द्र कार्यस्थल अध्ययन गरी सत्य, तथ्य पत्ता लगाउन क. कमलप्रसादको परिवारलाई साथमा लिएर काठमाडौँको टेबहाल स्थित मेरो डेरामा पुग्दा दुश्मनहरू कोठामा एम्बुस थापेर बसिरहेको अवस्थामा उहाँ दुस्मनको कब्जामा पर्नुभयो । यसरी उहाँ दुश्मनको कब्जामा परेको कुरा क. कमलप्रसादको परिवारबाट पार्टीमा सूचना प्राप्त भयो । तसर्थ क्रान्तिप्रति, पार्टी नेता, कार्यकर्ताप्रतिको उच्च सम्मान, चिन्ता चासो र सत्य तथ्यको गहिरो खोजीका क्रममा उहाँ दुश्मनको कब्जामा पर्नुभएको प्रष्टै छ । अर्काे अर्थमा क. दीपेन्द्र र मेरो बीचमा वैचारिक, राजनीतिक साङ्गठानिक रूपमा मात्र घनिष्टता होइन, हामी भावनात्मक रूपमा समेत अत्यन्तै नजिक थियौँ । उहाँ जत्तिको इमान्दार, वैचारिक रूपमा स्पष्ट, आदर्शवान व्यक्तित्व दुश्मनको कब्जामा पर्नु भनेको सर्वहारा वर्गका निमित्त अत्यन्तै ठुलो क्षतिको विषय हो । आज त्यो अभाव खड्किरहेको छ ।

मालेमावादको आधारभूत वैचारिक विषयलाई आत्मसात गर्दै वर्गसङ्घर्ष, नयाँ जनवादी क्रान्ति, वैज्ञानिक समाजवाद, साम्यवाद, सर्वहारा वर्गको अधिनायकत्व जस्ता विषयहरूप्रति प्रतिबद्ध व्यक्तिको अभावमा समग्र क्रान्तिले घाटा व्यहोर्न बाध्य भएको छ । त्योभन्दा पीडा उहाँले लिएको बाटो छोडेर सुधारवादको पछि लागेर व्यक्तिगत फाइदाका निमित्त मरिहत्ते गरेर दुस्मनका अगाडि लम्पसार पर्नेहरूबाट अपमानित हुनु निकै दुःखको विषय बनेको छ । हामी क्रान्तिकारीहरूका प्रश्नमा वैचारिक एकरूपता नै हामी बीचको घनिष्ठता हो । उहाँले अधुरै छाडेर जानुभएका सपना साकार पार्नु, अधुरा कामहरूलाई पूरा गर्ने अठोटका साथ अगाडि बढ्नु उहाँप्रतिको ठुलो सम्मान हो । सबै प्रकारका संशोधनवाद, अवसरवाद र लम्पसारवादको भण्डाफोर गर्दै क. दीपेन्द्रले लिएको नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्दै वैज्ञानिक, समाजवाद हुँदै साम्यवादको लक्ष्यमा पुग्न क. दीपेन्द्रले देखाएका बाटोमा अगाडि बढौँ ।

बेपत्ता योद्धा क. दीपेन्द्र लाल सलाम !
२०८१ वैशाख ४

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?