
काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरवले जनेजी आन्दोलनपछि मुलुकको स्वाधीनतामाथि गम्भीर संकट पैदा भएको विश्लेषण गर्दै देशको स्वाधीनता र सार्वभौमिकताको रक्षाका लागि स्वाधीनताको लडाइँ लड्नै पर्ने बताउनु भएको छ । उहाँले आज ललितपुरको कुपण्डोल पार्टी कार्यालयमा पार्टी सम्बद्ध अखिल नेपाल तामाङ राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा यस्तो बताउनु भएको हो ।
महासचिव सीपी गजुरेलले स्वाधीनताको लडाइँमा अमेरिकी साम्राज्यवादका विरुद्ध ग्रिनल्याण्डका जनताको विशाल प्रदर्शनबारेमा चर्चा गर्दै नेपालको स्वाधीनताको लडाइँमा पनि जनताको देशप्रेम नै आफ्नो पार्टीको तागत भएको बताउनु भयो । अमेरिकी राष्ट्रपति डानाल्ड ट्रम्पले ग्रिनल्याण्ड कब्जामा लिने धम्की दिएपछि ग्रिनल्याण्डका लाखौलाख जनता सडकमा उत्रिएर देशको स्वाधीनता, सार्वभौमिकता र क्षेत्रीय अखण्डतामा पक्षमा विशाल प्रदर्शन गरेपछि अमेरिकाको साम्राज्यवादी शासकले समेत सोच्न बाध्य भएको भन्दै उहाँले नेपालमा पनि अमेरिकी साम्रज्यवादी हस्तक्षेपका विरुद्ध स्वाधीनताको पक्षमा सशक्त रुपमा उभिनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।

अमेरिकाले नेपालमाथि एमसीसी र एसपीपीमार्फत् कब्जामा लिने छिमेकी मुलुक चीनका विरुद्ध नेपाली भूमि प्रयोग गर्ने रणनीति बनाएको भन्दै उहाँले त्यसै रणनीति अनुसार अहिले आफ्ना खाँटी दलालहरुशोषित उत्पीडित आदिवासी जनजाति समुदाय पनि देशको स्वाधीनताका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकता औल्याउनु भयो ।
त्यसैगरी क्रान्तिकारी किसान महासंघका संयोजक तथा आदिवासी जनजातिविज्ञ सीताराम तामाङले अहिले देशै रहन्छ कि रहन्न भन्ने स्थिति पैदा भएको भन्दै चुनाव बहिस्कार आन्दोलन राष्ट्रियता र स्वाधीनतासँग जोडिएको छ भन्नुभयो । दलालहरुले देशलाई कुनैपनि बेला विदेशीको हातमा बुझाउन सक्ने खतरा रहेको भन्दै स्वाधीनताको लडाइँ धेरै गम्भिर अवस्थामा पुगेको औल्याउनु भयो । र, उहाँले यो अवस्थामा सबै आदिवासी जनजातिहरु एकताबद्ध भएर निर्वाचन बहिस्कार आन्दोलनमा लाग्नुपर्ने र देशी विदेशी षड्यन्त्रलाई जनताको बिचमा सशक्त रुपले भण्डाफोर गरिनुपर्ने पनि बताउनु भयो । उहाँले अब नेपाली जनताले नयाँ जनवादी क्रान्तिको आवश्यकतालाई बोध गर्ने र क्रान्तिकारी शक्तिलाई साथ दिने दावी गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले अहिलेको नेपालको राजनीतिको एकमात्र सही र क्रान्तिकारी वैकल्पिक शक्ति रहेको र यसलाई यही रुपमा स्थापित गर्न संघर्षलाई संगठित रुपमा अगाडि बढाउनुपर्ने आवश्यकतामाथि पनि जोड दिनुभयो ।

त्यसैगरी आदिवासी जनजाति महासंघका संयोजक पवनमान श्रेष्ठले पनि सम्पूर्ण आदिवासी जनजातिहरु एकताबद्ध भएर देशको स्वाधीनता र राष्ट्रियताको लडाइँलाई एकसाथ अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा क्रान्तिकारी महिला संगठनको तर्फबाट नेतृ शारदा महत, मगर राष्ट्रिय मुक्ति मोर्चाको तर्फबाट भरत बुर्जा मगर लगायतका नेताहरुले पनि भेला सफलताको शुभकामना मन्तव्य राख्नुभएको थियो ।

मोर्चाका संयोजक फुर्नाम्गेल मोक्तानको अध्यक्षता र रंगवीर दोङको सञ्चालनमा सम्पन्न कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य रामसिंह श्रीस, पीवीएम तथा ९ नं ब्यूरो इन्चार्ज दिनेश शर्मा सागर, सेक्रेटरी चिन्तामणि पौडेल, क्रान्तिकारी ट्रेड युनियन महासंघका संयोजक इश्वर तिमिल्सिना, विगेसो अध्यक्ष पदमसुन्दर लिम्बू लगायतका नेताहरुको आतिथ्यता रहेको थियो । कार्यक्रममा सुरेश तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो ।