यात्री

कवि: राज कुमार श्रेष्ठ

प्राप्त कविता जस्ताको तस्तै 👇
कचल्टिएको सडक
मधुरो साँझ ओढेर सोँच्छ,
मलाई जलाउनेहरु मात्र कसरी
रातारात सत्तामा पुग्छन होला !


चिसो सडकमा कठ्याङ्ग्रीएर
सोँचिरहेछन दाउरेहरु,
लाश आउला र व्यापार होला
घाम हराउला बजारबाट र
फिजाउँला सपनाका बिस्कुन ।


यही सडकमा सुस्ताएर
बिसाउनु छ रफ्तारका सुस्केरा
एकलास मन्दिरको चारसुर घुमेर
बगाउनु छ सपनाका लामा हिमनदी
मान्छेबाट तल झरेर पुछ्नु छ,
युगले छर्किएका कुटिल दाग
पखाल्नु छ एउटा जिन्दगी
बिर्सनुछ हारेका खुट्किला र
रमाउनु छ गाइजात्रे हाँसो ।


यही पेटीमा उभिएर
गाउनु छ समयको वियोगान्त गीत
हेर्नु छ रीतको रमिता
ज्युँदा लासहरुको मलामी बनेर
दगुर्नु छ बागमती तीरैतीर
बग्नु छ मनुवाको ताँती फिँजाएर
उड्नुछ आकाशै ढाकी ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?