
स्वाधीन संयुक्त सरकारको पक्षमा काठमाडौंमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको जनसभा सम्पन्न (फोटोफिचर)

कुमार भट्टराई/काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरवको प्रमुख आतिथ्यतामा काठमाडौंको असन चोकमा जनसभा सम्पन्न गरिएको छ । पार्टीको ९ नं. ब्यूरोको आयोजनामा सम्पन्न जनसभालाई पार्टी महासचिव सीपी गजुरेल गौरव, पोलिटब्यूरो सदस्य तथा ९ नं. ब्यूरोका इन्चार्ज दिनेश शर्मा सागर, पोलिट ब्यूरो सदस्य पवनमान श्रेष्ठ, अधिवक्ता फडिन्द्र कार्की, मजदुर नेतृ कमला चन्द लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।
जनसभाको अध्यक्षता पार्टीका पोलिटब्यूरो सदस्य तथा ९ नं. ब्यूरोका सचिव चिन्तामणि पौडेल गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पार्टी केस तथा काठमाडौंका सचिव केदार खतिवडाले गर्नुभएको थियो ।
जनसभाई सम्बोधन गर्दै महाचिव गौरवले संसदवादीहरु सत्तास्वार्थका लागि भोट कुम्ल्याउन एकता गरिरहेको भन्दै आफूहरु अपुरो क्रान्ति पूरा गर्न क्रान्तिकारीहरुबिच एकताका लागि जुटिरहेको बताउनु भयो । उहाँले सानो र ठूलो पार्टीको महत्व संख्याले नभएर सही विचार र राजनीतिले हुने भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल क्रान्तिकै प्रक्रियामा ठूलो र शक्तिशाली बन्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले जेनजीहरुलाई विचार, राजनीति, संगठन र संघर्षको आवश्यकता र महत्वको बारेमा अध्ययन गर्न सुझाब दिँदै क्रान्तिकारी र अवसरवादी, भ्रष्ट संसदवादी पार्टी र नेताहरुका विचमा भेद छुट्याउन पनि आग्रह गर्नुभयो ।

जेनजीहरुले उठाएका भ्रष्टाचारलगायतका मुद्दाहरु आफूहरुले प्रमुखताका साथ उठाउँदै आएको बताउनुहुँदै उहाँले जेनजी आन्दोलनकै तागतमा बनेको सुशिला कार्की नेतृत्वको सरकारलाई जेनजीहरुले भ्रष्टाचारीहरुलाई कारबाही गर्न माग गर्दा आफूसँग त्यसको म्याण्डेट नै नभएको बताएर जनजी विद्रहमाथि नै अपमान गर्न थालेको पनि बताउनु भयो ।
भ्रष्टाचारमुक्त सुशासन संसदीय व्यवस्थाभित्र सम्भव नरहेको भन्दै उहाँले त्यसका लागि अग्रगामी परिवर्तनको पक्षमा आफूलाई उभ्याउन स्वाधीन सरकारको पक्षमा उभ्याउन पनि जेनजीहरुलाई उहाँले आव्हान गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै ९ नं ब्यूरोका इन्चार्ज दिनेश शर्मा सागरले अहिलेको सरकार विदेशी शक्तिको कठ्पुतली सरकार रहेको भन्दै संसदीय व्यवस्था रहेसम्म जुनसुकै नामको सरकार आएपनि जेनजीले खोजेको भ्रष्टाचारमुक्त सुशासन कायम नहुने दावी गर्नुभयो ।

उहाँले साम्राज्यवाद र विस्तारवादको मक्सद पुरा हुने ग्यारेन्टी नभएसम्म चुनाव नहुने पनि ठोकुवा गर्नुभयो । उहाँले भन्नुभयो, “यथास्थितिलाई कायम राख्नु भनेको जेनजी विद्रोहमाथि घोर अपमान गर्नु हो । जेनजी युवाहरु यथास्थितिमा अल्झिने होइन, व्यवस्था बदल्नतिर अग्रसर हुनुपर्दछ ।”


कार्यक्रमका अन्य वक्ताहरुले पनि वर्तमान सुशिला कार्की नेतृत्वको कठ्पुतली सरकार विघटन गरेर स्वाधीन संयुक्त सरकारको नेतृत्वमा जनसंविधान निर्माणतर्फ जेनजी युवाहरु अग्रसर बन्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।

