फर्केर हेर्दा

लेखक : भीमकान्त भण्डारी

संस्मरण


त्यो बेलामा मोटरेबल सडकहरू नभएकाले गाडी मोटरहरू कतै देखिदैनथे । कोही बिरामी भयो भने डाक्टर अस्पताल भन्ने थाहा थिएन । उही झारफुक, धामीझाँक्री, पात्लो फाल्ने, कुखुरा चल्ला, बाख्रा पाठा काट्ने हो । अहिलेका मान्छेलाई बिदेशको लहर चलेजस्तो उबेलामा बसाइँसराईंको लहर चल्थ्यो । विशेष गरेर पाहाडबाट तराईतिर बसाईं सर्ने चलन व्यापक थियो । त्यो बेलाका मान्छेलाई लाहुर जाने भनेर भारततिर जाने भन्दा अन्य ठाउँमा बिदेश जाने भन्ने कुरा थाहा थिएन र अहिले जस्तो सजिलोसँग जान पनि पाइँदैनथ्यो । त्यसैले कोही गएको थाहा पाइँदैनथ्यो । घरमा उत्पादन भएको बस्तु बिक्री गर्न भारी बोकेरै धेरै दिन लगाएर हाटबजार जानू पथ्र्याे । कसैले आफैले भारी बोक्थे भने कसैकसैले घोडा पालेका थिए र तिनै घोडालाई बोकाउने गर्थे । घोडाबाट सामान वसारपसार गर्नेहरूलाई घोरलद्दी भनिन्थ्यो । केही सिमित ५% मान्छे ठूला ठालु भनिनेहरू तथा तराइका जमिन्दारहरूले घोडामा चढेर हिंड्ने गर्थे । घरमा कामगर्ने हली, कमैयाहरू राखेका हुन्थे । आफुले काम गर्दैनथे । तिनीहरूका घरका श्रीमती, बुहारीहरू कतै जानू परेमा (घर–माइती गर्नु परेमा) पैदल हिंड्दैनथे । ताम्झाम सहित डोलीमा चढेर पाउरपात बोक्ने भरिया अघिपछि लगाएर हिंड्ने गर्थे । अहिले जस्तो बाटाघाटा, कुलानाला, आदि इत्यादिमा सरकारी बजेट आउँदैनथ्यो । तत्कालीन शासकहरूले लाठी लगाएर पशुलाई जस्तो व्यवहार गरेर हरेक बर्स गाउँलेहरूलाई श्रमदानमा काम गराउने गर्थे । म आफैले तुलसीपुर–सल्यान, तुलसीपुर–सुर्खेत, तुलसीपुर–अमिलियाका बाटो खन्न श्रमदानमा हप्तौँ काम गर्न गएको घटना ताजै छ । यस्तै अवस्था देशैभरीको थियो । यो अबस्था नेपालमा सैयौं बर्स पहिलेदेखि चल्दै आएको थियोे र तत्कालीन शासकहरूले यसैलाई निरन्तरता दिन चाहन्थे ।

सञ्चार माध्यम भनेका रेडियो नेपाल बाहेक अरु केही थिएन । २०४१÷०४२तिर नेपाल टेलिभिजन त खुलेको थियो तर त्यसको पहुँच पनि देशभर थिएन । ठूला सहरहरूमा आवा सेवा थिए । तुलसीपुरमा पनि आवा थियो । अहिले त्यसलाई दूरसञ्चार भनिन्छ । रेडियो नेपाल र एनटिभिले सरकारी सञ्चार माध्यम भएकाले तिनीहरूले तत्कालीन शासकहरूको गुणगान गाउने मात्रै गर्थे । अन्य कुराहरू कहाँ के भइरहेको छ भन्ने कसैलाई थाहा हुँदैनथ्यो । वास्तवमा भन्ने हो भने त्यो बेलामा देशका ९५% जनता कुवाको भ्यागुता जस्तै थियौं । जब यो देशमा पञ्चायत ब्यवस्थाको पतन भयो र खुल्ला सञ्चार माध्यम चल्न थाले तव मानिसहरू भारत बाहेक अन्य देशमा जान थाले र ती देशमा बिकासको गतिविधि देखे त्यसपछि बल्ल थाहा भयो की हामी नेपालीहरू र हाम्रो देश नेपाल अरू देशको दाँजोमा धेरै पछाडि परेका रहेछौं । तर समय धेरै ढिलो भइसकेको थियोे । कतिपय अहिलेका मान्छेहरूले जसले कि त्यो बेलामा नेपालीहरूको जीवनस्तर कस्तो थियो भन्ने बारेमा देख्दै देखेनन् । तिनै ५% मान्छेहरू जसले ९५% मान्छेलाई पशुलाई जस्तै लादेर आफुुले मोजमस्ती गरेका थिए । उनैका कुुरा सुनेर चुरीफुरी गर्दै अहिलेका नेतालाई गाली गलोज गर्छन् । जुन नेताहरूले प्राणको बाजी लगाएर, दुःख, कष्ट, भोक निद्रा, लाठी मुङ्ग्रा, जेलनेल सहेर देशमा परिवर्तन ल्याएका छन् । यस्को सही सदुपयोग गर्ने अबका मान्छेहरूको जिम्मेवारी हो । यद्यपि नेताहरूले कमजोरी गरेकै छैनन् भन्ने होइन, उनीहरू सत्तामा गएपछि सत्ताको दूरूपयोग गरेर भ्रष्ट र नैतिक पतन भएका पनि छन् । तर तिनलाई आवश्यक सजायँ दिएर नयाँले सही रूपमा शासन सत्ता चलाउने हिम्मत र आँट पनि त गर्नुपर्छ ।

जहाँ सम्म बिदेश जाने कुरा छ त्यो बेलाका मान्छे बिदेश नगएको थाहा नपाएर मेलोमेसो नजाने र जान नपाएर नगएका हुन् । त्यो बेलामा सुख पाएर र अहिले दुःख पाएर होइन । अर्को कुरा अहिले जसरी भ्रष्टाचार, अनियमितता, शोषण, उत्पीडनको कुरा व्यापक रूपमा आम जनताले थाहा पाएका छन् त्यो सञ्चार माध्यमका कारण र जनता सचेत भएकाले हो, अहिलेको ब्यवस्थामा सबैलाई थाहा हुन्छ । मनमा लागेका कुरा बोल्न खुल्ला छ । त्यसैले कुरा जनमासमा आउँछ । तर त्यो बेलामा तत्कालीन शासकको बारेमा चुँइक्क कोही बोल्न पाइदैनथ्यो । बोल्यो कि त्यो मान्छे गयो परमधाम । सञ्चार माध्यम सराकारी मात्रै भएकाले उसले भन्दैनथ्यो । त्यसैले कुरा बाहिर आउँदैनथ्यो । नत्र अहिलका भन्दा त्यो बेलाका शासकहरू कैयौं गुणा बढी भ्रष्टाचारी थिए । केही पाउनलाई केही कुरा गुमाउनु पनि पर्छ । यसको अर्थ अहिले भ्रष्टाचार अनिमियतता, शोषण उत्पीडन गर्न पाउनुपर्छ भन्ने मेरो आसय होइन, तिनलाई जनताले ठाउँका ठाउँ सजायँ दिने हिम्मत राख्नु पर्छ र त्यस्ता नेता कार्यकर्ताहरूलाई गलहत्याउन सक्नुपर्छ । केवल गफमा गालिगलोज गरेर मात्रै हुँदैन । राम्रालाई राम्रो र नराम्रालाई नराम्रो भन्न सक्नुपर्छ । यहाँ त आफ्नो पार्टीका नेताले गरेका गल्ती पनि ढाकछोप गर्ने कार्यकर्ता जनाता भएर गडवड भएको हो । पार्टीमा आलोचनात्मक चेतलाई बन्धक बनाउनु हुँदैन ।

अहिले हाम्रा केही मौलिकता अथवा मौलिक पहिचान धरापमा नपरेका भने होइनन् । त्यसैले धेरै कुरामा सजग रहेर समयको सदुपयोग गर्नुपर्छ । जब पृथ्वीनारायणले धेरै स–साना राज्यहरूलाई यो अहिलेको नेपाल भन्ने देश निर्माण गरे त्योदेखि पछाडि जति पनि शासकहरू भए सबैले देशको सम्पूर्ण शक्ति देशको संरक्षणमा समय खर्च गर्नुपर्ने र दरबारीया झैझगडामा अल्झििनुपर्ने अबस्था भयो । लगभग दुई सय बर्स लामो इतिहासमा नेपाल भन्ने देशले सिमा सुरक्षा बाहेक अरू कुनैपनि बिकास गर्न सकेन । सुगौली सन्धी, १९५० का असमान सन्धीहरूले त झन् देशको सीमा र आन्तरिक सुरक्षा पनि गर्न सकेन । देश औपनिवेसिक अवस्थामा रह्यो । दुई सय बर्स लामो इतिहासमा बिकाश भन्ने कुरा कहिँ कतै केही पनि भएन । शासकहरूको सुविधाका लागि केही बाटाघाटाहरू खोलिए र विदेशीहरूले निर्माण गरिदिएका उद्योग कलकारखानाहरू पनि पञ्चायतको पछिल्लो खण्डदेखि समाप्त पार्ने दिशामा उन्मुख भए । जबकी अन्य मुलुक हरूले त्यसै समयमा बिकासको धेरै अगाडि फड्को मार्न सफल भइसकेका थिए । अन्य देशको तुलनामा नेपाल दुई सय बर्स पछाडि पर्यो । अहिलेलाई विगतको अनुभूतिको पाना यति नै ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?