चे ग्वेभाराको विद्रोही जीवन

चे ग्वेभारा विश्व विख्यात गोरिल्ला योद्दा हुन् । उनी संसारभरिका शोषितपीडित वर्गका लागि महान प्रेरणाका स्रोत हुन् । उनको नाम लिँदा पनि जनताका दुष्मनहरूको मुटु काँप्दछ । उनी एक महान अन्तरराष्ट्रवादी हुन् । उनले अर्जेन्टिनामा जन्मिएर क्युबाको क्रान्तिलाई सफल बनाएर बोलिभियामा लड्दा लड्दै ज्यान गुमाएका थिए ।

चेको जन्म १४ जुन १९२८ मा पिता अर्नेस्टो ग्वेभारा लिन्च र माता सेलिया डेला सेर्नाको कोखबाट अर्जेन्टिनाको रोजारियामा भएको थियो । चे सानै देखि चिकित्सक बन्ने आकांक्षा बोकेका थिए । उनी अध्ययनका क्रममा चिकित्सक बने । समाजमा व्याप्त रोग,भोक,अन्याय ,अत्याचार देखेर उनी चिकित्सक पेशामा सीमित हुन सकेनन् । स्वास्थ्य सेवामा लागेर भन्दा अन्यायका विरुद्ध लडेर जनताको सेवा गर्नु उत्तम काम हो भन्ने उनलाई लाग्यो र उनी राजनीतिमा होमिए ।

लेखक : टेकहरि न्यौपाने

उनले दक्षिण अमेरिकामा अमेरिकी साम्राज्यवादको नाङ्गो शोषण ,दमन देखेका थिए । त्यहाँ निर्धन जनता र मजदुर माथि अमेरिका तथा विदेशी कम्पनीद्वारा भइरहेको शोषण दमनलाई नजिकैबाट नियालेका थिए । त्यसैले उनले बन्दुक समातेर अमेरिकी साम्राज्यबादका विरुद्धको क्रान्तिमा होमिए ।
क्युबाको प्रतिक्रियावादी बाटिस्टा सरकार विरुद्ध संघर्ष गरे पछि प्रवासमा रहेका फिडेल क्यास्ट्रोसँग उनको भेट भयो । बाटिस्टा सरकार अमेरिकी सम्रायवादको कठपुतली थियो । त्यतिबेला क्युबामा प्रशस्त उँखु खेती हुन्थ्यो । उँखु खेतीबाट चिनी उत्पादन हुन्थ्यो । त्यहाँको उत्पादनमा अमेरिकी कम्पनीहरूको स्वामित्व थियो । क्युबालीहरू सधैं शोषणको जाँतोमा पिल्सिएका थिए । प्रवासमा रहेका फिडेल क्यास्ट्रो र चे सहित ८२ जना योद्धाहरू समुन्द्रको बाटो हुँदै क्युबा प्रबेश गरे । जनतालाई संगठित गर्दै शोषणका विरुद्धमा मोर्चा कसे र क्युवालाई मुक्त गरेरै छाडे ।

चेले युद्धका क्रममा घाइतेको उपचार गर्थे, भारी बोक्थे,बन्दुक बोकेर लड्थे । उनी गोरिल्ला कमान्डर थिए । चेको भनाइ थियो “क्रान्तिकारी राजनेताले साधुको जीवन बिताउनुपर्छ, आडम्बरहीन भएर बाँच । समाजवादमा पुँजीवादी वातावरण सिर्जना गर्ने प्रयास नगर ।”
१९५९ जुलाई २६ मा बाटिस्टा सरकार ढल्यो र क्यास्त्रो र चेले नेतृत्व गरेको राष्ट्रवादी आन्दोलनले विजय प्राप्त गर्यो । क्यास्त्रो क्युबाका राष्ट्रपति र चे क्युबाको नेशनल ब्याङ्कको गभर्नर तथा उद्योग मन्त्री भए । चे व्यक्तिगत सम्पत्ति जम्मा गर्न लागेनन । उनी कठिन परिश्रम गर्थे, मजदुर र किसानहरुलाई प्रशिक्षित पार्थे । चे मन्त्रीको सुविधा , इज्जत सबै छोडेर क्युबाबाट बोलिभियामा क्रान्ति सम्पन्न गर्न भनी हिँडे र त्यहीँ उनी १९६७ अक्टोबर ९ मा प्रतिक्रियावादी सेनाबाट मारिए ।

बोलिभियाको ला हिगवेरा गाउँको सानो स्कूल भवनमा बन्दी बनाइएका बेला चेग्वेभारालाई बोलिभियाली लेफिटनेन्ट कर्णेल आन्द्रे सेलिचले निमर्म हत्या गर्नु केही अगाडि केरकार गर्ने क्रममा सोधपुछ गरेको थियो । तिमी क्युवाका हौ कि अर्जेन्टिनाका ? चेले जवाफ दिएका थिए,“ म क्युवाली हुँ, अजेन्टिना बासी हुँ,बोलेभियाली हुँ, पेरुभियाली हुँ । इक्वेडरवासी हुँ ।तिमीले बुझ्यौ ?“ उनको यस जवाफबाट उनी एक महान अन्तरराष्ट्रवादी थिए भन्ने बुझिन्छ । पुँजीवादले साम्राज्यवादी रुप लिइरहेको बेला चेले समाजवादी क्रान्तिलाई व्यवहार मै अन्तर्राष्ट्रियवादी आयाम दिएका थिए । आफ्नो हत्याको लागि आएका अमेरिकी र बोलेभियाली सैनिक अधिकारी समक्ष मृत्यु मुखेन्जी आफ्नो अन्तर्राष्ट्रियवादी जीवनको बारेमा सटिक जवाफ दिएका थिए । नायक चेग्वेभारा नागरिकताको आधारमा अर्जेन्टिना नागरिक भएतापनि यथार्थमा विश्वकै नागरिक थिए । अर्जेन्टिनाबाट चिकित्ससाशास्त्रमा डाक्टरी शिक्षा प्राप्त गरेका डा. चेग्वेभारा ग्वाटेमाला र मेक्सिकोमा पुँजीवादद्वारा थोपरिएको आर्थिक, राजनैतिक र सामाजिक महारोगको उपचार गर्नका लागि राजनैतिक प्रशिक्षण प्राप्त गरेका थिए । बोलेभिया पेरु, गोवाटेमाला, इक्वेडर हर देशका नागरिकहरु कष्टकर जीवन यापन गरिरहेका छन् । हरदेशका नागरिकको हक अधिकार सुनिश्चित गर्नुपर्दछ । त्यसैले मैले भौतिक सुख सुविधा पद प्रतिष्ठा सबै त्यागेर परिवर्तन र क्रान्तिको लागि विभिन्न देशमा जानु पर्दछ भन्ने उनले सोचाई राखे।

युद्धका बेला जंगलको बास, भोक प्यास, झरि, बाढी, पहिरो , खोलानाला तर्नु, दुःखकष्ट बेहोर्नु उनको दैनिकी जस्तो नै थियो । त्यसका बाबजुद पनि कहिले नथाक्ने, अदम्मे साहस र धैर्यता उनमा थियो ।आफनो विद्रोही स्वभावलाइ मिल्ने पारिवारिक संस्कृतिको जगमा उभिएर उनले जीवन,जगत परिवर्तन गर्ने खालका कितावको अध्ययन गर्दथे । त्यसैको नतिजास्वरुप उनी अन्तर्राष्ट्रिय क्रान्तिकारी बन्न सफल भए । दुई वर्षको उमेरमै दमको दीर्घरोगी भएका चेको विद्यार्थी जीवन कुनै सामान्य बालकको जस्तो भएन । दीर्घरोगी भएकाले ओछ्यानबाटै अध्ययन थाल्नु परेको क. चेले खेलकुद, साहित्यका साथसाथै अध्ययनमा काफी प्रगति गरेकाथिए । भनिन्छ उनले व्यवहारमा किशोर हुँदा युवाहरुको जस्तो युवा हुँदा प्रौढको जस्तो परिपक्वता उनमा थियो । आफ्ना स्कूलका समकालीन विद्यार्थीका आँखामा क. चे आत्मविश्वासी, विचारमा पूर्ण रुपमा स्वतन्त्र,बहुआयामिक र विद्रोही थिए । शिक्षकहरुको आँखामा क. चे अस्वभाविक रुपमा हुर्केको,बढेको प्रौढता हासिल गरेका थिए । क. चेलाई न त दमको रोगले रोक्न सक्यो नत भौतिक सुविधाले रोक्न सक्यो न त कुनै देशको सीमाले रोक्न सक्यो । उनले सबैखाले बाधा अड्चन मोहलालच माया कुनै चीजले पनि छेक्न रोक्न सकेन । नेपोलियन बोनापार्टको असम्भव भन्ने शब्द इतिहासको पानाबाट निकालेर फाल्नुपर्दछ भनेकाथिए । संसारमा असम्भव भन्ने केही पनि छैन भनेका थिए । ठिक त्यही प्रकारको निडर , साहसी, आत्मबल, आत्मविश्वासी क्रान्तिकारी कमरेड चेलाई कहिले र कसैले पनि रोक्न सकेन त्यसैले क. चे परिवर्तन र क्रान्तिका अन्तर्राष्ट्रिय नेता बन्न सफल भए । उनको त्याग ,साहस र बलिदान हरेक क्रान्तिकारीका लागि अथाह प्रेरक छ तर परिस्थितिको मूल्यांकन नगरी युद्धमा होमिन खोज्ने र उनको कतिपय अराजक चिन्तनबाट नकारात्मक पाठ पनि सिक्नु पर्ने देखिन्छ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?