
नेकपा (मशाल), नेकपा (चौथो महाधिवेशन), सर्वहारावादी श्रमिक संगठन, विद्रोही ने.क.पा.(मसाल) र रुपचन्द्र विष्ट नेतृत्वको जनमुखी विचमा एकता भएपछि बनेको नेकपा(एकताकेन्द्र)ले २०४८ सालमा एकता महाधिवेशन सम्पन्न ग¥यो ।
एकता महाधिवेशनद्वारा निर्वाचित केन्द्रीय समितिले जनताका दैनिक समस्याको समाधानका साथै मुलत भारतसँग भएका असमान सन्धि सम्झौताको खारेजीका साथै एकीकृत महाकाली सन्धिमा एमाले, कांग्रेसले भारतसँग गरेको असमान सन्धि तथा शारदा व्यारेज र टनकपुर व्यारेजमा गरिएको असमान पानी बाँडफाँडको विषयलाई लिएर संघर्ष गर्ने निर्णय ग¥यो । उक्त संघर्ष अगाडि बढाउन क. निर्मल लामाको नेतृत्वमा संयुक्त केन्द्रीय संघर्ष समिति बनेको थियो ।
उक्त संघर्ष समितिले संघर्षका विभिन्न कार्यक्रम लगायत २०४८ साल चैत्र २४ गते नेपाल बन्दको कार्यक्रमको आयोजना गरेको थियो । किनकि २०४६ साल चैत्र २४ को जनविद्रोहको उत्कर्षले पंचायती व्यवस्थाको समाप्तीसँगै राजतन्त्रात्मक सामन्ती सत्ताका विरुद्ध जनस्तरबाट सडकमा नारा लागेको ऐतिहासिक दिनको स्मरण पनि थियो ।
बन्द कार्यक्रम सफल पार्न २३ गते साँझ ६ बजे न्यूरोड पिपल बोट हुँदै तात्कालिन काठमाडौं नगरपालिका, लगनटोल, टेकु, भोटे बहाल, धरहरा, न्यूरोड गेट हुँदै पुनः न्यूरोड पीपलबोटमा समापन गर्ने कार्यक्रम थियो । तर जुलुश निकै ठूलो, सशक्त, जुझारु र अत्यधिक कार्यकर्ता र देशभक्त जनताको सहभागिताका कारण जुलुश न्यूरोडगेट हुँदै पिपलबोटतिर लाग्दै गर्दा राज्यले लाठी र गोली वर्षायो र ११ वर्षका बालक अनिस शाक्यको घटनास्थलमा हत्या र १५० भन्दा बढीलाई घाइते बनायो । तर पनि २०४८ साल चैत्र २४ गतेको नेपालबन्द शानदार रुपमा सफल भयो ।
संघर्ष समितिले कार्यक्रमको समीक्षा सहित हत्या र दमनका विरुद्ध पुनः २९ गते नेपाल बन्द कार्यक्रमको घोषणा गरेको थियो । नेपाल बन्द कार्यक्रमका विरुद्ध नेकपा (एमाले) ले माइकिङ गर्दै पाटन ढोका पुगेपछि नेकपा (एकताकेन्द्र) का कार्यकर्ता, समर्थक र शुभचिन्तक जनताले माइक खोसिदिए । शायद त्यो रिपोर्ट उनीहरु (एमाले) केन्द्रीय कार्यालयमा पुगे । विरोधस्वरुप २७ गते बेलुी ७ बजेदेखि १० बजेसम्म बत्ति निभाएर विरोध गर्ने कार्यक्रम (ब्लाक आउट) थियो । देशभक्तले निभाएर सहयोग गरे तर देशघातीहरुले बत्ति निभाएनन् । आन्दोलनकारीले जसले बत्ति निभाउँदैन गुलेलीमा गुच्चा राखेर सिसाका झ्यालहरुमा हान्ने काम गरेका थिए । नेकपा (एमाले) को कार्यालय बागबजार थियो । तात्कालिन संयुक्त जनमोर्चाको कार्यालय तथा संयुक्त जनसंघर्ष समितिको कार्यालय न्यूरोड पिपलबोट अगाडि प्यूखामा थियो । २०४८ चैत्र २८ गते एमालेको बागबजार कार्यालयबाट रंगप्रसाद ओलीले फोन गर्नुभयो । संघर्ष समितिको कार्यालयको फोन क. निर्मल लामाले उठाउनु भयो ।
खड्गप्रसाद ओली–“यो गुलेलीको कार्यालय हो ?” निर्मल लामा–“हो । तपाई को चरा बोल्नु भएको हो ?” आदि आदि प्रश्न उत्तर भए । “गुलेलीको कार्यालय” बाट “चरा”लाई जवाफ दिएको घटना मेरो सम्झनामा रहिरहेको छ ।