माघ २५ गते । हुम्लाकाे सर्केगार्ड गाउँपालिका– ५ को गोठी गाउँमा पहिलो पटक गाडी पुगेपछि स्थानीयले खुसीयाली मनाएका छन्। स्थानीयको वर्षौँदेखि गाउँमा गाडी गुडाउने सपना यति बेला आएर पुरा भएकाे हाे ।
उक्त गाउँका स्थानीयकाे वर्षौँदेखिको घरआगनमा सडक सञ्जाल जोडिएको हेर्ने चाहाना पुरा भएकाले यसबाट हरेक कुरामा सहज हुनेछ । यसरी सडक सञ्जाल चाँडै जोडिएला भन्ने नसोचेकै बेला सडक निर्माण भएर एक साथ छ वटा बोलेरो जिप गाउँमा आई पुगेपछि स्थानीय अचम्मित मात्र नभएर खुसी समेत देखिएका छन । अब गोठी गाउँमा गाडी मात्र पुगेको छैन गाउ नै राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ ।
गाउँमा ताँती लागेर आएका यात्रुले भरिएका बोलेरो जीपलाई बाजा बजाएर स्वागत गर्दै चालक तथा यात्रुहरूलाई अबिर, फुलमाला र अक्षता लगाउने कार्य गरिएको थियो । दुर्गम गाउँमा गाडी पुगेपछि अब बिरामीदेखि सबै खाले यात्रुहरूलाई यात्रामा सहज मात्र नभएर सामान ढुवानी गर्न पनि सजिलो हुने छ ।
यसअघि नै प्रतिनिधि सभामा दुई दुई जना सांसद बनाउन सफल भएको गोठी गाउँमा हालसम्म सडक सञ्जाल नजोडिएकोमा आलोचना हुने गरेको थियो । सर्केगार्ड, गोठी, रोडिकोट, फुचा, राहदेब, पंङ्खा हुँदै मारघोरसम्मको सडक निर्माणका लागि पूर्वाधार विकास कार्यालयले चार करोड ४९ लाख बजेटको व्यवस्था गरेको थियो । अघिल्लो आर्थिक वर्षबाट सो सडकको निर्माण काम सुरु भएको भए पनि विस्फोटक पदार्थ व्यवस्था गर्न निर्माण कम्पनीलाई समस्या भएको कारण हाल आएर सडक निर्माण कार्य पुरा भएको हो । सडक पाँच देखि दश मिटर चौढाई रहेको छ ।