
फागुन १ गते अखिल (क्रान्तिकारी) को एकताको राष्ट्रिय सम्मेलन उद्घाटन हुँदैछ । सम्मेलनको तयारी कस्तो छ ?
–एकताको राष्ट्रिय सम्मेलनको तयारी करीव पूरा भइसकेको छ । जिल्ला सम्मेलन, जिल्ला भेला र जिल्लाका बैठकहरु करिव पूरा भइसकेका छन् र धेरै जसो जिल्लाहरुले प्रतिनिधि, पर्यवेक्षकहरु चयन गरिसकेका छन् । फागुन २९ गतेदेखि प्रतिनिधि, पर्यवेक्षक साथीहरु सम्मेलन स्थलमा आउने क्रम शुरु हुनेछ । सम्मेलनमा प्रस्तुत हुने दस्तावेज जस्तैः प्रतिवेदन, विधान आदिको लेखन कार्य पनि सकिएको छ । सम्मेलनको उद्घाटन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव कमरेड सीपी गजुरेल गौरवले गर्नु हुनेछ ।
एकताको राष्ट्रिय सम्मेलनबाट आम विद्यार्थीहरुका बीचमा के सन्देश दिन खोजिएको छ ?
–हामीले तय गरेको सम्मेलनको मूल नारामा नै हाम्रो संगठनले दिन खोजेको मूल सन्देश अभिव्यक्त भएको छ । मूल नारा यसप्रकार छ–“विद्यार्थी एकता, स्वाधीनता, भ्रष्टाचारीलाई कार्वाही, सुशासन, समग्र शैक्षिक अधिकारका लागि हाम्रो आन्दोलन ! जुझारु संगठन निर्माण र जनवादी–वैज्ञानिक समाजवादी शिक्षाको लागि एकताको राष्ट्रिय सम्मेलन ! !”
अहिले देशको राष्ट्रिय स्वाधीनता खतरामा छ । भ्रष्टाचारले देश आक्रान्त छ । जनताका छोराछोरीहरु विशेषतः गरिवका छोराछोरीहरु शैक्षिक अधिकारबाट बञ्चित भएका छन् । यस्तो अवस्थामा सचेत र जागरुक विद्यार्थी आन्दोलनको आवश्यकता छ भन्ने सन्देश हामीले एकताको राष्ट्रिय सम्मेलनबाट दिन खोजेका हौं ।
सम्मेलन उद्घाटनको दिन फागुन १ गतेलाई नै किन रोज्नुभयो ?
– २०५२ फागुन १ गते महान जनयुद्ध प्रारम्भ भएको ऐतिहासिक दिन हो । जनयुद्धले उठाएका जनताका एजेण्डा, जनताका माग अझै अपूरै छन् । नेपाल स्वाधीन हुनुपर्दछ । जनताले स्वतन्त्रता र समानताको अधिकार पाउनुपर्दछ भन्ने जनयुद्धको मुख्य उद्देश्य थियो । जनयुद्धले उठाएका मागहरुप्रति विद्यार्थी र आम जनतालाई पुन : ध्यान आकर्षण गराउन हामीले सम्मेलनको उद्घाटनको दिन फागुन १ लाई रोजेका हौं ।
दुईवटा अखिल (क्रान्तिकारी) र अखिल (छैठौं) गरी तीन संगठनको एकताको मर्मलाई संरक्षण र विकासबारे के सोच्नु भएको छ ?
– हामीले संगठनको नीति, कार्यक्रम, योजना र नेतृत्व चयन मार्फत् एकताको मर्मलाई संरक्षण र विकास गर्ने छौं ।
सबै पार्टीका विद्यार्थी संगठनहरु निर्वाचनमा भोट माग्न हिंडेका छन् तर तपाईहरु त सम्मेलनतिर लाग्नु भयो ?
– गत भाद्र २३ र २४ को जेनजी विद्रोहपछि नेपालको राजनीति फरक ढंगले अगाडि बढेको प्रष्टै छ । ०८४ मा गर्नुपर्ने चुनावलाई २ वर्ष अगावै सारिएको छ । जनताको आवश्यकताले हैन, साम्राज्यवादीहरुको स्वार्थ सिद्धिका लागि २वर्ष अगाडि सारेर चुनाव गरिंदैछ । जेनजीहरुले भ्रष्टाचारको अन्त्य र सुशासनको माग गरेका थिए । चुनाव उनीहरुको माग थिएन । जेनजीको आन्दोलनलाई साम्राज्यवादीहरुले हाइज्याक गरेका छन् । हाम्रो संगठन कसैलाई भोट माग्न जाँदैन । निर्वाचनको बहिष्कार गर्दछ । सम्मेलन सकिएपछि हामी देशव्यापी रुपमा निर्वाचन बहिष्कारको आन्दोलनमा केन्द्रित हुनेछौं ।
यहाँकाको एकताको राष्ट्रिय सम्मेलन सफलताको शुभकामना छ ?
–धन्यवाद ! हाँकको उन्नति, प्रगति र निरन्तरताको कामना गर्दछु ।