आर्थिक प्रणाली (क्लास नोट)

लेखक : गंगा पौडेल

जीवनको हरेक क्षेत्रमा आर्थिक पक्ष अगाडि आउँछ । उद्योगधन्दा, संघसंस्था, घरपरिवार, पार्टी, संगठन, स्वास्थ्य, शिक्षा, व्यापार, व्यवसाय संचालन गर्न आर्थिकको आवश्यकता पर्दछ । आर्थिक तमाम प्रकारका कारोवारहरुलाई सूचारु रुपमा संचालन गर्ने एक प्रणाली हो । सबै कारोवार मध्ये पार्टी, संगठन पनि जनपरिचालन गर्ने कारोवारी संस्था हो । पार्टी, संगठन परिचालन गर्नका लागि आर्थिक प्रणाली त्यत्तिकै आवश्यक हुन्छ । विद्यमान पुँजीवादी राज्य व्यवस्थाको हरेक क्षेत्रमा आर्थिक कारोवार कैयौं गुणा बढेर गएको छ । राजनीतिक पार्टी संगठनको क्षेत्रमा पनि यो कुरा सत्य हो कि पार्टीको आर्थिक आवश्यकता पूरा गर्न आर्थिक व्ययभार अत्यन्त बढेर गएका छन् । हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र यस मातहतको आम जनवर्गीय संगठनहरु चलाउन आर्थिक पक्षमा निरन्तर छलफल गर्न र आर्थिक उपार्जनको लागि हामीले पहल गर्नुपर्दछ । यसका लागि निश्चित योजनाहरुलाई कार्यान्वयन गर्दै सफलता हासिल गर्नुको विकल्प छैन । पार्टी संगठनलाई आर्थिक जुटाउने कुरा त्यति सहज पनि छैन । तर निश्चित उद्देश्य पूरा गर्नका लागि यो काम नगरिकन हुँदैन ।

हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको एउटा लामो र अलग पहिचान सहितको इतिहास छ । हाम्रो पार्टीले उठाएका राजनीतिक मुद्दाहरु हाम्रो देशको हकमा समयानुकूलअनुसार सही सावित हुँदै आएका छन् । राष्ट्रियताको पक्षमा लडाई लड्न हामीलाई आर्थिक व्ययभार पनि झन् धेरै थपिएको छ । आर्थिक समस्यालाई समाधान गर्नको लागि हामीले जनताको बीचमा जानुपर्दछ । सबै समस्याको समधान जनताले नै गर्दछन् । यसका बाबजुद हामी पार्टी र क्रान्तिको अभियानमा निरन्तर लागिरहेका पार्टीका आम कार्यकर्ता, शुभचिन्तक र समर्थकहरुले पनि व्यक्तिगत रुपमै पनि केही न केही त्याग गर्नैपर्दछ । यसो गरेर मात्र हामीले हाम्रो पार्टीको आर्थिक व्ययभारलाई पूर्ति गर्न सक्दछौं । हामी अहिलेसम्म त्यसरी नै पार्टीको आर्थिक समस्या समाधान गर्दै आएका छौं ।  सबै परिस्थितिमा पनि हामीलाई आम सर्वसाधारण जनता, पार्टीका कार्यकर्ताहरुले नै आर्थिक, नैतिक, भौतिक रुपमा सहयोग गर्दै आएको स्थिति हो । हाम्रो पार्टी निकट प्रवासमा भएका पार्टी, संगठनका कार्यकर्ताहरुबाट पनि त्यत्तिकै सहयोग हुने गरेको छ । नेपालमा भएका सबै प्रकारका आन्दोलनहरुमा प्रवासमा रहेका पार्टी कार्यकर्ता, समर्थक र शुभेच्छुकहरुबाट उल्लेखनीय रुपमा आर्थिक, नैतिक र भौतिक सहयोग, समर्थन हुँदै आएको छ ।

हाम्रो पार्टीको हकमा पार्टी संचालनको लागि खर्चका शीर्षकहरुमा बृद्धि भएको छ । पार्टी पेशेवर कार्यकर्ताहरुको उपचारमा पार्टीले विशेष ध्यान दिनुपर्ने हुन्छ । बैठक, सभा, सम्मेलन, अधिवेशन, कार्यालय व्यवस्थापन, विपत व्यवस्थापन, यातायात खर्च, आन्दोलन, संघर्षका कार्यक्रम, पार्टी प्रकाशन, भइपरी आउने खर्च आदि तमाम खर्चहरुको पार्टीले नियमित व्यवस्था गर्नुपर्दछ । राजनीतिक काम, सांगठनिक कामको तुलनामा आर्थिक जुटाउने काम अलि अप्ठेरो पनि छ । आर्थिक प्रणाली बलियो भएन भने संगठनलाई असर पर्दछ । पार्टीमा सयौं होलटाइमरको खाँचो छ । होलटाइमरको कमीले हामी देशका कतिपय भूभागमा संगठन गर्नको लागि पुग्न सकेका छैनौं । यदि हामीमा पर्याप्त होलटाइमर र उनीहरुको न्यूनतम खर्च पूर्ति गर्न सकेमा देशैभरी र प्रवासमा पनि अझ सशक्त संगठन निर्माण गर्न सक्ने थियौं । पार्टी संगठनका हरेक कामको अगाडि आर्थिक पक्ष नै आएर उभिन्छ । ठीक त्यसैगरी पार्टीको जनवर्गीय संगठनहरुको हकमा पनि यो नियम लागु हुन्छ । हाम्रो पार्टीको मुख्य आम्दानीका स्रोत मध्ये कार्यकर्ताबाट प्राप्त लेभी, सहयोग र जनताको सहयोग हो । कार्यकर्ता संरक्षण कोषमा ऐच्छिक रुपमा जम्मा हुने रकम, मौसमी चन्दाबाट प्राप्त हुने रकम आदि हुनुपर्दछ । यसमध्ये नियमित स्रोत भनेको लेभी मात्र हो । अन्य शीर्षकको रकमहरु आवधिक हुन् ।

पार्टीका तल्लो कमिटीदेखि केन्द्रसम्म स्थायी प्रकारको आयस्रोतको व्यवस्था नगर्ने हो भने संगठन संचालनमा ठूलो आर्थिक संकट पर्दछ । हाम्रो पार्टीको हकमा सबै समस्याको हल जनताबाट नै हुने गरेको परम्परा छ । हाम्रो पार्टीलाई सामन्त, दलाल, नोकरशाही, पुँजीपतिवर्ग, सम्भ्रान्त वर्गले आर्थिक सहयोग गर्दैनन् । हाम्रो टेक्ने धरातल भनेको सर्वसाधारण जनता र पार्टीका आम कार्यकर्ता नै हुन् । यी पेरिफेरिभित्रबाट नै हामीले पार्टी संचालनको लागि स्थायी प्रकार र अस्थायी प्रकारका आर्थिक योजना बनाउनुपर्दछ । कार्यकर्ताहरुले पार्टीलाई नियमित रुपमा दिने मासिक लेभीलाई पार्टीको आर्थिक नियमावलीअनुसार मासिक आम्दानी मध्ये १ दिनको आम्दानीको आधा भाग पार्टीलाई बुझाउने नीतिलाई व्यवहारमा लागु गर्नुपर्दछ । त्यो बाहेकका अन्य उपरोक्त उल्लेख भए अनुसारको आर्थिक स्रोतहरुलाई निरन्तरता दिनुको साथै बेलाबखतमा देशव्यापी आर्थिक अभियान संचालन गर्नुपर्दछ । श्रम शिविर संचालन गरेर पार्टीको लागि आर्थिक जुटाउने काम गरिन्थ्यो । बेलाबखत मौसमी चन्दाका रुपमा अन्नवाली संकलन गर्ने गरिन्थ्यो । केही वर्ष यता यसप्रकारका कामहरु हुन्  सकिरहेको अवस्था छैन । मौसमी चन्दा र श्रम शिविर पनि पार्टीको एउटा महत्वपूर्ण स्रोत हो । हामीले यसप्रकारका स्रोतहरुलाई पनि जोडेर अभियानकै रुपमा संचालन गर्नुपर्दछ ।

उपरोक्त स्रोत जुटाउनुका साथै प्रत्येक पार्टी सदस्यहरुले आफ्नो जीविकोपार्जनका लागि कतै न कतै आर्थिक आयआर्जनको काममा जोडिन जरुरी छ । आयमूलक काममा नजोडिएका परिवारको सामान्यभन्दा सामान्य खर्च जुटाउन समस्या हुन्छ । पेशेवर कार्यकर्ताहरु पनि आफ्नो जीविकोपार्जनको लागि कतै न कतै आयमूलक काममा जोडिन सकिने पार्टीको नीति लाइन पनि मध्यनजर गर्नुपर्ने आवश्यकता छ । पार्टी आर्थिक समस्याको कारणले पनि पार्टीका होलटाइमर कार्यकर्ता पछाडि हट्नेसम्मको स्थिति भएको हाम्रा अगाडि कैयौं उदाहरणहरु पनि छन् । पार्टीमा हाल कायम रहेको स्रोत लेभी, सदस्यता, चन्दा, मौसमी चन्दा, आदि बाहेक पनि अन्य स्थायी प्रकारका स्रोतहरु जुटाउन जरुरी छ । जस्तैः कार्यकर्ता संरक्षण कोटाको लागि व्यक्तिगत राम्रो आय आर्जन भएका दाताहरु खोज्ने र उनीहरुबाट नियमित मासिक, अर्धवार्षिक वा वार्षिक रुपमा सहयोग माग्ने गर्नुपर्दछ । यो कोषमा जम्मा हुने रकमलाई जिल्लामा र केन्द्रमा नियमावलीअनुसार वितरण गर्नुपर्छ । यतिले मात्र पुग्दैन । पार्टीमा अन्य नयाँ नयाँ स्रोतहरुको पनि पत्ता लगाउनुपर्दछ र पार्टीको आर्थिक समस्याको पूर्ति गर्नुपर्दछ ।

उपर्युक्त उल्लेखित पार्टीका आयस्रोतहरुलाई कार्यान्वयनको पाटोमा गइसकेपछि सबै प्रकारका आम्दानीहरुलाई पारदर्शी ढंगबाट आर्थिक प्रणालीभित्र सिस्टममा लैजानुपर्दछ । सही प्रकारले लेखा राख्ने, लेखापरीक्षण गर्ने, आर्थिक नियमावली अनुसारका अलगअलग कोषमा जम्मा गर्ने, रकमान्तर नगरी खर्च गर्ने पद्धतिलाई कडाइपूर्वक लागु गर्नुपर्दछ । हिसाबमा इमान्दारिता, पारदर्शिता र लेखा परीक्षण, वार्षिक बजेट बनाएर आम्दानी खर्च गर्ने र रकमान्तर नगर्ने पद्धतिलाई आर्थिक अनुशासन भनिन्छ । कम्युनिस्ट पार्टीले आर्थिक अनुशासनलाई कडाईका साथ पालना गर्नुपर्दछ । आर्थिक पारदर्शिता भएन भने पार्टीभित्र तीव्र असन्तोष उत्पन्न हुन्छ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?