
रोल्पा, रूकुमका जनता सोध्दैछन्
जनयुद्धका ‘नायकहरू’लाई
क्रान्ति भन्थ्यौ
खै त्यो कहाँ गयो ?
गरीबको सत्ता भन्थ्यौ,
खै त्यो कहाँ आयो ?
सुरुङ युद्ध भन्दै हजारौ सुरुङ खन्न लगायौ
सुरुङ खन्नेलाई न ज्याला दियौ,
न परिश्रमको कुनै मूल्य चुकायौ ।
तिमी भन्ने गर्दथ्यौ,
राजतन्त्रको जरो दिल्लीसम्म फैलिएको छ
त्यसको हात न्युयोर्कसम्म तन्किएको छ
राजाको जरो र हात काट्न
सुरुङको खांँचो छ
त्यसैले,
विस्तारवादका विरूद्ध लडाइँ लड्नुछ
राजा हटाउँदा, भारत आउँछ
त्यसलाई रोक्नु छ ।
दुई दशक नवित्दै हामीले देख्यौं
राजाको जरोसँगै
तिम्रो शरीर दिल्लीमा टाँसिएछ
राजाको हातसँगै
तिम्रो दिमाग अमेरिकन भएछ
क्रान्तिको बेडा उठाएको
नाटक मात्रै ग¥यौ होइन ?
अहिले थाहा भयो र हुँदैछ
क्रान्ति रोल्पा रुकुमका झुपडीका लागि
साँच्चै क्रान्ति भएता पनि
बल्ल थाहा हँुदैछ
तिम्रा लागि त फगत नाटक रहेछ ।
तिम्रा ती भनाईहरू
तिम्रा ती दौडधुप
सबथोक कृतिम रहेछन्
आफ्नै स्वार्थ प्राप्तीमा टाँसिएका रहेछन् ।
भन्ने गर्दथ्यौ,
काठमाडौं जनताका शत्रुहरूको गुँड र कोटरी हो
काठमाडौं दिल्ली र न्युयोर्कको दास हो
तर तिम्रा लागि अहिले,
त्यही काठमाडौ प्यारो भएको छ
त्यही काठमाडौ सुन्दर देखिन थालेको छ
काठमाडौका सुकिलामुकीला टाउकाहरु
तिम्रा विश्वासिला विचारक भएका छन्
सिंहदरवारका अटालिकाहरु तिम्रा लागि चुम्बक बनेका छन् ।
रोल्पा, रूकुमले सोध्दैछन्—
क्रान्ति भन्थ्यौ
खै त्यो कहाँ गयो ?
गरीबको सत्ता भन्थ्यौ,
खै त्यो कहाँ आयो ?
युद्धनायक छिट्टै खलनायक भयौ !
संसदवादको झोलमा डुबेरै पनि
किन अझै क्रान्तिको भ्रम छर्दै छौ ?