क्रान्तिको भ्रम किन छर्दै छौ

लेखक : हुकुमबहादुर सिंह

रोल्पा, रूकुमका जनता सोध्दैछन्

जनयुद्धका ‘नायकहरू’लाई

क्रान्ति भन्थ्यौ

खै त्यो कहाँ गयो ?

गरीबको सत्ता भन्थ्यौ,

खै त्यो कहाँ आयो ?

सुरुङ युद्ध भन्दै हजारौ सुरुङ खन्न लगायौ

सुरुङ खन्नेलाई न ज्याला दियौ,

न परिश्रमको कुनै मूल्य चुकायौ ।

तिमी भन्ने गर्दथ्यौ,

राजतन्त्रको जरो दिल्लीसम्म फैलिएको छ

त्यसको हात न्युयोर्कसम्म तन्किएको छ

राजाको जरो र हात काट्न

सुरुङको खांँचो छ

त्यसैले,

विस्तारवादका विरूद्ध लडाइँ लड्नुछ

राजा हटाउँदा, भारत आउँछ

त्यसलाई रोक्नु छ ।

दुई दशक नवित्दै हामीले देख्यौं

राजाको जरोसँगै

तिम्रो शरीर दिल्लीमा टाँसिएछ

राजाको हातसँगै

तिम्रो दिमाग अमेरिकन भएछ

क्रान्तिको बेडा उठाएको

नाटक मात्रै ग¥यौ होइन ?

अहिले थाहा भयो र हुँदैछ

क्रान्ति रोल्पा रुकुमका झुपडीका लागि

साँच्चै क्रान्ति भएता पनि

बल्ल थाहा हँुदैछ

तिम्रा लागि त फगत नाटक रहेछ ।

तिम्रा ती भनाईहरू

तिम्रा ती दौडधुप

सबथोक कृतिम रहेछन्

आफ्नै स्वार्थ प्राप्तीमा टाँसिएका रहेछन् ।

भन्ने गर्दथ्यौ,

काठमाडौं जनताका शत्रुहरूको गुँड र कोटरी हो

काठमाडौं दिल्ली र न्युयोर्कको दास हो

तर तिम्रा लागि अहिले,

त्यही काठमाडौ प्यारो भएको छ

त्यही काठमाडौ सुन्दर देखिन थालेको छ

काठमाडौका सुकिलामुकीला टाउकाहरु

तिम्रा विश्वासिला विचारक भएका छन्

सिंहदरवारका अटालिकाहरु तिम्रा लागि चुम्बक बनेका छन् ।

रोल्पा, रूकुमले सोध्दैछन्—

क्रान्ति भन्थ्यौ

खै त्यो कहाँ गयो ?

गरीबको सत्ता भन्थ्यौ,

खै त्यो कहाँ आयो ?

युद्धनायक छिट्टै खलनायक भयौ !

संसदवादको झोलमा डुबेरै पनि

किन अझै क्रान्तिको भ्रम छर्दै छौ ?

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?